शान्ति समाज काठमाण्डौँ शाखाको २२ औँ साधारणसभा सम्पन्न

शान्ति समाज काठमाण्डौँ शाखाको २२ औँ साधारणसभा सम्पन्न

शान्ति समाज काठमाण्डौँ शाखाको २२ औँ साधारणसभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज काठमाण्डौँ शाखाको २२ औँ जिल्ला साधारण सभा २०७६ साउन १५ गते नयाँ नेतृत्व चयन गर्दै काठमाण्डौँमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले गर्नुभएको थियो भने विशिष्ठ अतिथि प्रदेश सभा सांसदहरु नरोत्तम वैद्य र छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकको मेयर सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, उपमेयर विन्दु पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठमाण्डौँ शाखाका का.वा सभापति जगन्नाथ पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कवि सुदेश सत्यालले कविता वाचन गर्नुभएको थियो । यसैगरी कार्यक्रमको सञ्चालन काठमाण्डौ शाखाका सदस्य ईश्वर पुडासैनीले र स्वागत मन्तव्य काठमाण्डौँ शाखा सदस्य नानीकाजी गिरीले गर्नुभएको थियो ।
कार्यक्रमका दौरान ३५ जना शान्ति समाजको आजीवन सदस्य बन्नुभएको थियो । नयाँ आजीवन सदस्य हरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
साधारण सभाको दोश्रो सत्रमा जिल्ला शाखाको तर्फबाट इश्वरा लिङदेनले शाखाको गतिविधि सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष विष्णु खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै बन्द सत्रले जगन्नाथ पुडासैनीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ जुन निम्न बमोजिम छ :
जगन्नाथ पुडासैनी सभापति
नानीकाजी गिरी उपसभापति
ईश्वर पुडासैनी सचिव
ईश्वरा लिंदेन सहसचिव
दुर्गा रानामगर कोषाध्यक्ष
राम सुधार महतो सदस्य
रमेश प्रसाद वराल सदस्य
उमा गोतामे सदस्य
प्रिति रमण सदस्य
विकास थापा सदस्य
रमेश कुमार वराल सदस्य
तारा रसाइली सदस्य
दिवाकर पुडासैनी सदस्य
सुरज कुमार वोहरा सदस्य
भगवान पुडासैनी सदस्य

शान्ति काव्य प्रवाहमा असारे गीत

शान्ति काव्य प्रवाहमा असारे गीत
को कस्तो छ मान्छे कुल हेरे पुग्छ, के कस्तो छ पानी मुल हेरे पुग्छ,
भौतारिनु पर्दैन जीवन बुझ्नलाई, बगैचामा फूलेको फुल हेरे पुग्छ,

दरौदिमा मादी मिसायौ कि कसो? नम्वरीमा चाँदी मिसायौ कि कसो?
तिम्लाई माँया गर्दा विरामी भए म, मायामै विषादी मिसायौ कि कसो?

प्रकाश बस्नेत गफाडीले शान्ति काव्य प्रवाहको ८१ औँ श्रृंखलामा वाचन गरेको गजलको अंश हो यो ।
मानव अधिकार तथा शान्ति समाजद्वारा प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गरिने शान्ति काव्य प्रवाहको ८१ औँ श्रृंखला २०७६ असार २६ गते काठमाण्डौँमा सम्पन्न भएको छ । काव्य प्रवाहमा कविहरुले गीत, कविता, गजल, मुक्तक वाचन गर्दै असारे गीत समेत घन्काएका थिए । समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न काव्य प्रवाहमा ३३ जना कविहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।

शान्ति काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, वेदमणी घिमिरे, डा. जीवन अधिकारी, मदन कार्की, मेनुका पोखरेल आचार्य, ऋचा, मञ्जुश्री प्रधान, शर्मिला कार्की, शारदा पराजुली, पुष्पा धमला, कुशुम शर्मा, त्रिभुवनचन्द्र वाग्ले, उर्मिला पन्त पाण्डेय, देवकी ढुंगाना, रश्मी रिमाल, रुद्र अधिकारी, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, विजयध्वज थापा, जसध्वज गुरुङ, भुवन शिवाकोटी, बाबुराम लामिछाने, अच्युतप्रसाद पौडेल, विजयराज न्यौपाने, अतृप्त पाण्डे, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, शेरबहादुर अधिकारी, रविन्द्र ढुङ्गेल, प्रकाश बस्नेत गफाडी, बसन्त रिजाल सहित कविहरुको सहभागिता रहेको थियो ।

चलायो कस्ले यो पशुबलि प्रथा रोक अब ता

चलायो कस्ले यो पशुबलि प्रथा रोक अब ता

मानव अधिकार तथा शान्ति समाजद्वारा प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गरिने शान्ति काव्य प्रवाह शृङ्खलाको ८० औँ कार्यक्रम २०७६ जेठ ३० गते काठमाण्डौँमा सम्पन्न भएको छ । समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न काव्य प्रवाहको सञ्चालन कोषाध्यक्ष रामकृष्ण बरालले गर्नुभएको थियो । शान्ति काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, डा. जीवन अधिकारी, मदन कार्की, रत्ननीधि रेग्मी, मेनुका पोखरेल आचार्य, ऋचा, मञ्जुश्री प्रधान, कल्पना काफ्ले, शर्मिला कार्की, शान्ति रिसाल, दुर्गा वनवासी, सुमी लोहनी, कुशुम शर्मा, उर्मिला पन्त पाण्डेय, पुनम घिमिरे, रुद्र अधिकारी, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, जसध्वज गुरुङ, जनार्दन अधिकारी, भुवन शिवाकोटी, बाबुराम लामिछाने, अच्युतप्रसाद पौडेल, गगनदीप सर्व, निर्मल पराजुली, रविन्द्र आशिष शैली, टि एन भट्ट, नमराज घिमिरे, मुकुन्द न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, रविन्द्र ढुङ्गेल, बलराम सापकोटा, ओमप्रसाद कोइराला, कृष्ण पहाडीसहित ३४ जना कविहरुले कविता, मुक्तक, गजल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पशुबलि प्रथा अन्त्य गर्न आह्वान गरिएको कवि राजेन्द्र ढुंगानाको कविता यस प्रकार छ ः

अहो कस्तो पिडा सहनु कसरी शान्त रहँदै
करायो म्याँ म्याँको करुण स्वरले चोट सहँदै
सुनी चित्कारेको थरथर भए जाउँ म कता
चलायो कस्ले यो पशुबलि प्रथा रोक अब ता

छ डोरी घाँटीमा नयन छ बगेको जिउभरी
खसाली मान्छेको पछि पछि हिड्यो त्यो भरपरी
दिँदै दाना पानी परपर लग्यो घाँस छ जता
चलायो कस्ले यो पशुवलि प्रथा रोक अब ता

जहाँ छन देवीका चरण प्रभुका मूर्ति थपना
घिसार्यो घिच्चायो बलिदिन गर्यो ध्यान जपना
दया माँया सेवा वरिपरी कतै देख्दिन म ता
चलायो कस्ले यो पशुवली प्रथा रोक अब ता

दियो घाँटी रेटी रगत पशुको भाकल गरी
भयो धर्मात्मारे अबुझ शठ भै दानव सरी
लियो ज्यानै खायो पयर मदिराको मदकता
चलायो कस्लो यो पशुवली प्रथा रोक अब ता

न देवीले खाइन लतपत भएको रगतमा
मुछ्यो टीका लायो पशुवलि चढायो फगतमा
अहिंसाले मान्छे प्रिय जन हुनेछन् सरलता
चलायो कस्ले यो पशुवलि प्रथा रोक अब ता

कतै बोका राँगा फुलछ कुखुराका सिउरमा
छिनाल्यो छुटयायो अवयव उनेको छ झिरमा
सबै प्राणी बाँचुन जगत सबको प्रेम समता
चलायो कस्ले यो पशुवलि प्रथा रोक अब ता

गिर्यो मान्छे आफैँ पशु ह्ृदयले हिंस्रक बनी
गर्यो हत्या हिंसा धरपकडले बर्बर बनी
बनौँ मान्छे मान्छे असल नभए मर्छ क्षमता
चलायो कस्ले यो पशुवलि प्रथा रोक अब ता

मिडिया काउन्सिल विधेयक : स्वतन्त्रता विरोधी

मिडिया काउन्सिल विधेयक : स्वतन्त्रता विरोधी

प्रेस विज्ञप्ति
मिडिया काउन्सिल विधेयक : स्वतन्त्रता विरोधी

सरकारले अघि सारेको मिडिया काउन्सिल विधेयक स्वतन्त्रता विरोधी भएकोले आपत्तिजनक छ । सञ्चार जगत, सरोकारवाला संस्था÷निकायहरुसँग परामर्श नगरि हठात प्रस्तुत गरिएको यो विधेयक समग्रमा सरकारको स्वतन्त्रता विरोधी नीतिको एक अंश हो भन्ने मानव अधिकार तथा शान्ति समाजको ठहर छ । प्रेस÷सामाजिक सञ्जाल माथिको सरकारी वक्रदृष्टिको शान्ति समाजले बारम्बार विरोध गर्दै आएको छ । नियमनका नाममा प्रेसलाई नियन्त्रण गर्ने, पत्रकारलाई दण्डित गर्ने र निर्देशित पत्रकारितालाई बढावा दिने नियतले प्रस्तुत मिडिया काउन्सिल विधेयकको विरोधमा स्वतन्त्रताका पक्षधर सबै एकजुट भएर अघि बढ्न शान्ति समाज आग्रह गर्दछ । यसैगरी आधारभुत स्वतन्त्रता र मानव अधिकार सम्वद्ध विषयमा सरोकारवाला संस्था÷निकायहरुसँग परामर्श पश्चात कानुन बनाउने प्रक्रिया अघि बढाउन शान्ति समाज सरकारलाई पुन आग्रह गर्दछ ।

समाजका तर्फबाट

सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
मिति : २०७६ वैशाख २९

नयाँ वर्ष आउनु लाली गुराँस भएर

नयाँ वर्ष आउनु लाली गुराँस भएर
मानव अधिकार तथा शान्ति समाजद्वारा प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गरिने
शान्ति काव्य प्रवाह शृङ्खलाको ७९ औँ कार्यक्रम २०७६ वैशाख २६ गते काठमाण्डौँमा सम्पन्न भएको छ । समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न शान्ति काव्य प्रवाहमा कविहरु राम बहादुर पहाडी, डा. जीवन अधिकारी, मदन कार्की, रत्ननीधि रेग्मी, ऋचा, मञ्जुश्री प्रधान, पुष्पा धमला, प्रिति कौर, कुशुम शर्मा, उर्मिला पन्त पाण्डेय, पुनम घिमिरे, रुद्र अधिकारी, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, अतृप्त पाण्डे, जसध्वज गुरुङ, जनार्दन अधिकारी, भुवन शिवाकोटी, अच्युतप्रसाद पौडेल, पुन्य गौतम, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, ओमप्रसाद कोइराला, विजयराज न्यौपाने, चन्द्र श्री कार्की, नारायण भण्डारी, कृष्ण पहाडीसहित २९ जना कविहरुले कविता, मुक्तक, गजल र गीत प्रस्तुत गर्नुभएको थियो ।
काव्य प्रवाहमा कवि ऋचाले प्रस्तुत गर्नुभएको नयाँ वर्ष आउनु लाली गुराँस भएर शिर्षक कविता यस्तो छ ः
अवसरहरू आउँछन् आश भएर
प्रिय तिमी आउनु विश्वास भएर

नबनाउनु यहाँ सपनाको महल
अचानक ढल्नेछ घर तास भएर

मैदान फाँट बनाऔं यो हाम्रो मन
प्रेमपुष्प झुल्नेछ तब काँस भएर

रोप्नु इमान बीज अनि गर्नु स्याहार
अग्लिने छ त्यो एकदिन बाँस भएर

बाटेर चुल्ठी सजाउँछु थुङ्गा थुङ्गा
नयाँ वर्ष आउनु लाली गुराँस भएर

 

लोकतन्त्र दिवसका उपलक्षमा डिनर रिसेप्सन सम्पन्न/६५० को सहभागिता

लोकतन्त्र दिवसका उपलक्षमा डिनर रिसेप्सन सम्पन्न/६५० को सहभागिता

लोकतन्त्र दिवसका उपलक्षमा डिनर रिसेप्सन सम्पन्न/६५० को सहभागिता
१४ औँ लोकतन्त्र दिवसका उपलक्ष्यमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७६ वैशाख ११ गते काठमाण्डौँमा डिनर रिसेप्सन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना, लोकतान्त्रिक आन्दोलनका अग्रज डा. देवेन्द्रराज पाण्डे, सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, पूर्व उपप्रधानमन्त्री भिम रावलसहित नेकपाका नेताहरु, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व मन्त्री नरहरी आचार्यसहित नेपाली कांग्रेसका नेताहरु, नेकपा मालेका महासचिव सिपी मैनालीसहित विभिन्न राजनीतिक दलका नेताहरु, नेपालस्थित इजरायली राजदुतसहित कुटनीतिक नियोगका प्रतिनिधिहरु, पूर्व प्रधानन्यायाधीश शुसिला कार्की, सांसदहरु, पूर्व मन्त्रीहरु, नागरिक आन्दोलन÷समाजका अगुवाहरु, पूर्व प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरु, पत्रकारहरु, प्राध्यापक, वरिष्ठ अधिवक्ता, लेखक कवि, कलाकार, चिकित्सक, सामाजिक अभियन्ता र अधिकारकर्मीहरु गरी कार्यक्रममा ६ सय ५० भन्दा बढीको सहभागिता थियो ।
२०६२÷६३ को ऐतिहासिक जन आन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको संस्था मानव अधिकार तथा शान्ति समाजले लोकतन्त्र दिवसका उपलक्ष्यमा प्रत्येक वर्ष वैशाख ११ गते डिनर रिसेप्सन कार्यक्रम गर्दै आएको छ । यस वर्षको कार्यक्रम पनि शान्ति समाजका ३५० भन्दा बढी सदस्य तथा शुभचिन्तकहरुको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

मानव अधिकार आयोगलाई कमजोर बनाउने नियतप्रति आपत्ति

प्रेस विज्ञप्ति
मानव अधिकार आयोगलाई कमजोर बनाउने नियतप्रति आपत्ति
सरकारले राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन गर्नका लागि संसदमा अघि बढाएको विधेयकमा निहित आयोगको क्षेत्राधिकारलाई खुम्च्याउने, महान्यायाधीवक्ता कार्यालयमा सिफारीस गर्नुपर्ने जस्ता केही प्रावधानहरुप्रति मानव अधिकार तथा शान्ति समाज आपत्ति व्यक्त गर्दछ ।
२०५३ साल पुस २४ गते तत्कालिन संसदले मानव अधिकार आयोग ऐन बनाएपछि पनि साढे ३ वर्षसम्म तत्कालिन सरकारहरु÷सत्ताले आयोग गठन गर्न चाहेन । त्यसबेला शिघ्र आयोग गठनको मागसहित शान्ति समाजले निरन्तर दबाबमुलक अभियान सञ्चालन गरेको थियो । आयोग गठनको मागसहित २०५६ मंसिरमा समाजका संस्थापक सभापति कृष्ण पहाडी अनसन समेत बस्नुभएको थियो । ऐन बनेको साढे तीन वर्ष पछि आयोग गठन भएता पनि एकातिर विभिन्न काल खण्डमा सत्ताद्वारा त्यसलाई निस्तेज गर्ने, राजनीतिकरण गर्नेे काम भइरह्यो भने अर्कोतिर २०६१ माघ १९ को शाही कदमपछि आयोगका तत्कालिन अध्यक्षले शाही कदमको स्वागत गर्नुका साथै आयोगको गरिमामाथि आच पुर्याउने काम गरेका थिए । वर्तमानमा पनि आयोगका केही पदाधिकारीहरुका पर्दा अगाडि र पछाडिका केही संदिग्ध क्रियाकलापका कारण पनि आयोगलाई विवादास्पद बनाउने कार्य भयो । यसैबीच सरकारले समग्र आयोगलाई अझ कमजोर बनाउने नियतले संसोधन विधेयक अगाडि सारेको देखिन्छ जबकि आयोगलाई अझ स्वायत्त र प्रभावकारी बनाउन पहल गर्नु सरकार÷राज्यको दायित्व एवं अहिलेको आवश्यकता हो ।
मानव अधिकार तथा शान्ति समाज राष्ट्रिय मानव अधिकार आयोग जस्तो संवैधानिक निकाय स्वायत्त, ससक्त, निष्पक्ष र प्रभावकारी हुनुपर्छ भन्ने मान्यतामा दृढ छ । यस्ता संरचनाहरु प्रभावकारी हुन सके मानव अधिकार संरक्षणमा बल पुग्ने तथ्य सरकारलाई स्मरण गराउँदै आयोगलाई निरिह होइन अझ सशक्त बनाउनका लागि उचित पहल गर्न र अब उप्रान्त आयोगका पदाधिकारी नियुक्त गर्दा राजनीतिक भागवण्डाका आधारमा होइन, स्वतन्त्र, दक्ष र उच्च नैतिक चरित्रका व्यक्तिहरुलाई नियुक्त गर्न आग्रह गर्दछ ।

समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
मिति ः २०७६ वैशाख ५ गते

स्वास्थ्य सेवा ठप्प पार्नु अमानवीय

स्वास्थ्य सेवा ठप्प पार्नु अमानवीय
चैत तेस्रो साता बारा, पर्सा लगायतका जिल्लामा विनाशकारी हुरीका कारण भएको जन धनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै चैत २८ गते ७८ औँ शान्ति काव्य प्रवाह काठमाण्डौँमा सम्पन्न भएको छ ।
मानव अधिकार तथा शान्ति समाजद्वारा प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गरिने शान्ति काव्य प्रवाह शृङ्खलाको ७८ औँ कार्यक्रममा प्रमुख अतिथि लेखक तथा विचारक नरहरी आचार्य हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै आचार्यले विगत ८ वर्षदेखी निरन्तर शान्ति समाजको शान्ति काव्य प्रवाहको ७८ औँ कार्यक्रममा प्रस्तुत रचनाहरु विविधतासहित उत्कृष्ट भएको धारणा व्यक्त गर्नुभयो । शान्ति समाजका सभापति उत्तम पुडासैनीले आन्दोलनका नाममा सरकारी चिकित्सकहरुले स्वास्थ्य सेवा ठप्प पार्नु अमानवीय भएको धारणा व्यक्त गर्नुभयो ।
काव्य प्रवाहमा कविहरु राम बहादुर पहाडी, डा. जीवन अधिकारी, मदन कार्की, रत्ननीधि रेग्मी, मेनका पोख्रेल आचार्य, जयन्ता पोख्रेल, ऋचा, शारदा पराजुली, कल्पना काफ्ले, शर्मिला कार्की, शुशिला खड्का हसिना, प्रिति कौर, कुशुम शर्मा, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल, कमला रिसाल, पुनम घिमिरे, रुद्र अधिकारी, प्रकाशमणी दाहाल, भाग्यशाली अधिकारी, अतृप्त पाण्डे, बाबुराम लामिछाने, रविन्द्र आशिष शैली, त्रिभुवनचन्द्र वाग्ले, जनार्दन अधिकारी, विजयध्वज थापा, भुवन शिवाकोटी, पुन्य गौतम, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, गुप्तबहादुर श्रेष्ठ, परशुराम पराशर, कृष्ण पहाडीसहित ३६ जना कविहरुले कविता, मुक्तक, गजल र गीत प्रस्तुत गर्नुभएको थियो ।

पच्चीस आलेख : कृष्ण पहाडीको नयाँ पुस्तक

पच्चीस आलेख : कृष्ण पहाडीको नयाँ पुस्तक
……..किन यो समाजमा पटक–पटक राधाहरूको चीरहरण हुन्छ ? किन मीराहरू बलात्कृत हुन्छन् ? किन सीताहरूको अपहरण हुन्छ ? के यो समाज बौलाइसक्यो ? किन यो समाजमा ताराहरूको सतित्व हरण हुन्छ ? किन यो समाजमा सरस्वतीहरूलाई मानव मलमूत्र खुवाइन्छ ? किन यो समाजमा पार्वतीहरूलाई जिउँदै जलाइन्छ …… (पच्चीस आलेखबाट)।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको २८ औँ कृति ‘पच्चीस आलेख’ प्रकाशित भएको छ । ८ जना सदस्यहरुको सहयोगमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रकाशित १३२ पृष्ठको ‘पच्चीस आलेख’मा २०७४÷७५ मा विभिन्न सञ्चारमाध्यममा प्रकाशित पहाडीका पच्चीस वटा विशेष आलेखहरु रहेका छन् । रु. ३०० मुल्य रहेको पुस्तक विक्रिबाट प्राप्त रकम शान्ति समाजको अभियान तथा कार्यक्रमहरुमा खर्च गरिनेछ ।

परराष्ट्रमन्त्री भन्नुहुन्छ : थप पहल आवश्यक

परराष्ट्रमन्त्री भन्नुहुन्छ : थप पहल आवश्यक

परराष्ट्रमन्त्री भन्नुहुन्छ : थप पहल आवश्यक
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०७५ चैत १७ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटी अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्न ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले रोम विधान अनुमोदन गर्ने सम्बन्धमा विगतमा रहेको संसय अहिले हट्दै गएको हुँदा उक्त विधान अनुमोदनका लागि सकारात्मक वातावरण बन्दै गएको बताउनुभएको छ । साथै उहाँले रोम विधान भुतप्रभावि नभई अनुमोदन पछिका घटनामा मात्र आकर्षित हुने तथ्य बुझाउनका लागि शान्ति समाजले थप पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिमण्डलमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, कोषाध्यक्ष रामकृष्ण बराल सहित अधिकारकर्मीहरुको संलग्नता थियो ।
विगत २१ वर्षको अवधिमा रोम विधान अनुमोदनका लागि शान्ति समाजले सञ्चालन गरेको अभियानप्रति प्राय हरेक सरकारहरुले सकारात्मक धारणा व्यक्त गर्दै आएता पनि अझसम्म नेपालले अनुमोदन गरेको छैन र शान्ति समाजको अभियान निरन्तर छ ।