सुन र सहकारी प्रकरणः सौदावाजीको घिनलाग्दो राजनीतिको निन्दा

प्रेस विज्ञप्ति
सुन र सहकारी प्रकरणः सौदावाजीको घिनलाग्दो राजनीतिको निन्दा

विवाद हल गर्ने थलोका रुपमा समेत रहेको सार्वभौम संसद सामान्यतया कसैले पनि अवरुद्ध गर्नु हुदैँन भन्ने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । लोकतन्त्रको प्राण भनेकै सुशासन हो । सुशासनका लागि ठोस संकल्प भनेको दागी सांसदहरुलाई पदिय जिम्मेवारिबाट मुक्त गर्नु हो ।
बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष एवं प्रभावकारी छानविन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ ।
केही भ्रष्टाचार÷घोटाला प्रकरणमा अनुसन्धान भएता पनि सौदाबाजीका कारण मूल दोषीहरुले उन्मुक्ति पाउँदै आएको देखिन्छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका माथिल्लो तहका नेताहरु संलग्न सुन काण्ड त्यसको पछिल्लो उदाहरण हो जसमा उपप्रधान एवं गुहमन्त्री रवि लामिछानेले आफुतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सौदावाजी गरेको धारणा शान्ति समाजको छ ।
यसैगरी नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्य (समानुपातिक तर्फबाट सांसद समेत)माथि कुनै पनि प्रकारको छानविन नहोस भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाउँछ ।
सुशासन र सदाचार विपरित विभिन्न घोटालाका मूल दोषीहरुलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदावाजीको घिनलाग्दो राजनीतिको शान्ति समाज निन्दा गर्दछ ।

समाजका तर्फबाट

रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०८० चैत १२

सर्वसत्तावादी सोच आधारभूत स्वतन्त्रताका लागि खतरा

प्रेस विज्ञप्ति
सर्वसत्तावादी सोच आधारभूत स्वतन्त्रताका लागि खतरा

२०८० चैत ६ गते गृह मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीहरुलाई पठाइएको निर्देशनसहितको परिपत्रप्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ । उक्त परिपत्रको बुँदा १ को १.३ र बुँदा नम्बर २ को २.१ मा उल्लेखित निर्देशन आधारभूत स्वतन्त्रता विशेषतः अभिव्यक्ति स्वतन्त्रताको वर्खिलाफ भएको तथ्य स्वयं गृह मन्त्रालयले स्विकार गरेको छ र चैत्र ८ गते गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आम सञ्चारकर्मी तथा संवद्ध पक्षले व्यक्त गरेको चासोलाई मध्यनजर गर्दैै सो परिपत्रमा उल्लेख भएका ति दुई वटा बुँदाहरु हटाई पुन परिपत्र गरेको जनाएको छ ।
मन्त्रालय स्वयंले त्रुटी स्विकार गरि सच्याउनु सकारात्मक पक्ष हो तर संविधानको प्रस्तावनामा नै लिपिवद्ध पूर्ण प्रेस स्वतन्त्रताप्रति घात गर्दै गृह मन्त्रालयले स्वतन्त्रता विरोधी प्रावधानसहितको परिपत्र किन जारी गर्यो? यसको जबाफ दिन शान्ति समाज उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेलाई आग्रह गर्दछ । आधारभूत स्वतन्त्रता र मानव अधिकार विरोधी कुनै पनि सरकारी चिन्तन र निर्देशनको शान्ति समाज विरोध गर्दछ र यस्ता सर्वसत्तावादी सोच लोकतान्त्रिक संस्कार एवं मूल्य विपरित भएको स्मरण गराउँछ ।
स्मरणीय छ, चैत ६ गते गृह मन्त्रालयले जारी गरेको परिपत्रमा अनलाइन न्युज पोर्टल, फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट प्रशारण गरिने कतिपय समाचार÷अभिव्यक्तिका सन्दर्भमा त्यस्ता कार्यहरु नियन्त्रण गरि दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक एक जना अधिकृत स्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्ने, कानूनी कारवाही गरि सो को सार्वजनिकरण गर्ने उल्लेख थियो ।
कानूनलेनै निषेध गरेका सामग्री सम्प्रेषण गर्नेहरुलाई कानून सम्मत कारवाही गर्न विभिन्न निकायहरु अस्तित्वमा रहेको सरकारलाई स्मरण गराउँदै सर्वसत्तावादी सोचबाट मुक्त हुन शान्ति समाज आग्रह गर्दछ ।
मानव अधिकार तथा शान्ति समाज प्रेस स्वतन्त्रताको संरक्षणका लागि क्रियाशील संस्था हो र सदैव अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको छ तर घृणात्मक अभिव्यक्ति भने अभिव्यक्ति स्वतन्त्रता नभएर अपराध भएको धारणा शान्ति समाजले विगतमा पनि स्पष्ट गर्दै आएको छ ।
समाजका तर्फबाट

रेनुका पौडेल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
९ चैत २०८०

सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म?

प्रेस विज्ञप्ति
सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म?
जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस २१ मार्चका सन्दर्भमा सामाजिक न्यायका लागि क्रियाशील मानव अधिकार तथा शान्ति समाजले छुवाछुत, भेदभावका घटनामा संलग्नहरुलाई दण्डीत गर्न जोड दिँदै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । “सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म?” भन्दै २०८० चैत ८ गते बिहान शान्ति समाजका काठमाण्डौ शाखाले जोरपाटीमा, चितवन शाखाले भरतपुरमा प्रदर्शन गरेका छन् । यसैगरी सुर्खेत शाखाले वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस्तै पाल्पा, दाङ, नवलपुर लगायत शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।
सन् १९६० को मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिलमा रंगभेदी कानून विरुद्ध आयोजित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । सो बर्बरताको विरोध र त्रासदीको स्मरण गर्दै यो दिवस विश्वव्यापी रुपमा मनाउने गरिएको छ भने सन् १९६६ मा राष्ट्रसंघ महासभाले सबै प्रकारका जातीय विभेद अन्त्यका लागि आफ्नो प्रयास दोब्बर गर्न आह्वान गरेको थियो ।
यसैगरी शान्ति समाजले काभ्रे जिल्ला चौंरिदेउराली गाउँपालिकास्थित बच्छेस्वरि प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई रु ४५ हजारको सहयोग (स्टेसनरी सामग्री) गरेको छ । शान्ति समाजका सभापति रामकृष्ण बराल, कोषाध्यक्ष किरण ढकाल, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेलसहितले २०८० चैत ७ गते उक्त विद्यालयमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
८ चैत २०८०, मध्यान्ह् १२ बजे

डा. विष्णुमाया परियारलाई बद्री पहाडी समाजसेवा पुरस्कार

प्रेस विज्ञप्ति
डा. विष्णुमाया परियारलाई बद्री पहाडी समाजसेवा पुरस्कार

मानव अधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु अधिकारकर्मी डा. विष्णुमाया परियारलाई वर्ष २०८० को ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ प्रदान गर्ने निर्णय मानव अधिकार तथा शान्ति समाजले गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने रु. १ लाख १० हजार राशीको यो पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सुपरिचित डा. परियारलाई प्रदान गर्ने निर्णय २०८० फागुन ३० गते सम्पन्न शान्ति समाजको पुरस्कार छनौट समितिले गरेको हो । साढे दुई दशक भन्दा बढी अधिकारको आन्दोलनमा योगदानका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सम्मानित सामाजिक न्यायका लागि क्रियाशील अभियन्ता डा. विष्णुमाया परियारले विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा अतिथि वक्ताको रुपमा मन्तव्य व्यक्त गर्दै आउनुभएको छ ।
सन् १९७३ को डिसेम्वर १९ मा गोरखामा जन्मनुभएकी डा. परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ । यसैगरी उहाँको जीवन संघर्षको गाथा विश्व चर्चित एक प्रकाशनगृहद्वारा प्रकाशित पुस्तकमा समेत समावेश छ ।
अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एड्वान)का संस्थापक अध्यक्ष डा.परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ भने पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि.लिट (डक्टर अफ लेटरस्) ले सम्मान गरेको थियो । हाल अमेरिकामा रहनुभएकी डा. परियारका दुई वटा कृति प्रकाशित छन् ।

समाजका तर्फबाट

रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०८० चैत १

महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार विरुद्ध केन्द्रीत रहि काव्य प्रवाह सम्पन्न

प्रेस विज्ञप्ति
महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार विरुद्ध केन्द्रीत रहि काव्य प्रवाह सम्पन्न
नेपालमा यस वर्ष पनि महिलामाथि हिंसा र यौन दुव्र्यवहारका दर्जनौ घटनाहरु प्रकाशमा आएका छन् । त्यस्ता घटनामा संलग्नहरुलाई कानूनी कारबाही गर्नुको साटो दबाउने र दोषीलाई उन्मुक्ति दिने कार्यले त्यस्ता घटनामा बढोत्तरी भइरहेको देखिन्छ ।
महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार विरुद्ध केन्द्रीत रहि २०८० फागुन २४ गते काठमाण्डौमा शान्ति काव्य प्रवाह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्ध्यामा मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित काव्य प्रवाहको ९४ औँ श्रृंखलामा स्रष्टाहरुले महिलाहरुको मानव अधिकारका पक्षमा रचना प्रस्तुत गर्नुभएको थियो ।
मानव अधिकार तथा शान्ति समाजका सभापति रामकृष्ण बरालको सभापतित्व र महासचिव रेनुका पौडेलको सञ्चालनमा सम्पन्न शान्ति काव्य प्रवाहमा मेनका पोखरेल आचार्य, ऋचा, शान्ति शर्मा, प्रीति कौर, ललिता दोषी, सरला तिमल्सीना, सुशीला खड्का हसिना, रश्मि रिमाल, रत्ननिधि रेग्मी शुक्राचार्य, भाग्यशाली अधिकारी, विजयध्वज थापा, भुवन शिवाकोटी, विजयराज न्यौपाने, रविन्द्र आशिष शैली, डिल्लीप्रसाद मुलतिहुन, गगनदीप सर्व, जनार्दन अधिकारी, निर्मल पराजुली, अच्युतप्रसाद पौडेल, जगदीश्वर पोखरेलसहित २० जना स्रष्टाहरुले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२४ फागुन २०८०