सम्भावित अनिष्टलाई रोक्न लोकतान्त्रिक राजनीतिक शक्तिहरु चनाखो हुनुपर्ने

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०७३ पुस ९ गते नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलसँग भेटी शान्ति समाजले अघि सारेको १० वुदेँ अवधारणाबारे ध्यानाकर्षण गराउँदै छलफल गरेको छ । छलफलमा देशमा विद्यमान राजनीतिक समस्यालाई शान्तिपुर्ण तवरले हल गर्न स्थानिय स्तरमै राजनीतिक समाज र नागरिक समाजको पहललाई घनिभुत बनाउदैँ नागरिक संवादलाई तिव्र बनाउनुपर्ने, संसद कहिल्यै पनि कसैले पनि अवरुद्ध गर्न नहुने र लोकमानसिंह कार्की विरुद्ध संसदमा प्रस्तुत महाअभियोग प्रस्ताव पारित गरि निजलाई पदमुक्त गर्नुपर्ने तथा भविष्यमा मानव अधिकार उल्लंघनका घटनामा दोषी कसैलाई पनि कुनै पनि संवैधानिक वा अन्य पदमा नियुक्त गर्नु नहुने लगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो । साथै लोकतन्त्र विरुद्ध हुनसक्ने कुनै पनि षडयन्त्रलाई निस्तेज पार्न र सम्भावित अनिष्टलाई रोक्न लोकतान्त्रिक राजनीतिक शक्तिहरु चनाखो भई एक हुन आग्रह गरिएको थियो ।
यसै गरी समाजको प्रतिनिधिमण्डलले २०७३ पुस ९ गते नेकपा मालेका महासचिव तथा पुर्व उपप्रधानमन्त्री सिपी मैनालीसँग भेटी शान्ति समाजले अघि सारेको १० वुदेँ अवधारणाबारे ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।
प्रतिनिधिमण्डलहरुमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेंल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष वटुकृष्ण ढुङ्गेल, समाजका आजीवन सदस्य यमुना कडेंल लगायत अधिकारकर्मीहरु संलग्न हुनुहुन्थ्यो ।