दागी नेताहरुलाई कारबाहीको माग गर्दै लोकतन्त्र दिवसमा कार्यक्रम

प्रेस विज्ञप्ति
दागी नेताहरुलाई कारबाहीको माग गर्दै लोकतन्त्र दिवसमा कार्यक्रम
१. मानव अधिकार तथा शान्ति समाजले आफ्नो केन्द्रीय कार्यालयका लागि भवन खरिद गरेको छ । काठमाण्डौ महानगरपालिका वडा नम्बर ८, वाग्मतीनगर, वाग्मती करिडोरमा ११२.१८ वर्गमिटर (साढे तीन आनाभन्दा केही बढी) क्षेत्रफलमा बनेको साढे दुई तले घर लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा २०८१ वैशाख १० गते रजिष्ट्रेसन पास भएको छ । सो घर जग्गाको मुल्य रु. २ करोड ९५ लाख र रजिष्ट्रेसन शुल्क रु. १५ लाख ६३ हजार ५ सय गरी ३ करोड १० लाख ६३ हजार ५ सय परेको छ ।
शान्ति समाज केन्द्रीय कार्यालय भवन खरिदका लागि सहयोग गर्ने १८ सय भन्दा बढी सदस्य तथा शुभचिन्तक सबैप्रति शान्ति समाज आभार व्यक्त गर्दछ । यस क्रममा सबैभन्दा बढी सहयोग समाजसेवी बद्रीप्रसाद पहाडीले रु. १ करोड, सभापति रामकृष्ण बरालले ९ लाख ८० हजार, शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले ८ लाख, पूर्व सभापति होमकान्त चौलागाईले ६ लाख र विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले रु. ३ लाख रहेको छ । यसैगरी शान्ति समाजका १७५५ जना आजीवन सदस्यको सदस्यता शुल्क (प्रत्येकको रु. ५ हजार) बाट जम्मा भएको रु. ८७ लाख ७५ हजार भवन खरिदमा खर्च गरिएको छ ।
२.१८ औँ लोकतन्त्र दिवसको अवसरमा दागी नेताहरुलाई कारबाहीः लोकतन्त्र र सुशासनका लागि नागरिक खबरदारी, एनसेल महाघोटाला सम्बन्धमा उच्च स्तरीय न्यायीक छानविन आयोग गठन गर भन्दै मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा १७ जिल्लामा कार्यक्रम सम्पन्न भएको छ । यस क्रममा २०८१ वैशाख ११ गते दाङ शाखाले अन्तरक्रिया कार्यक्रम र पाल्पा, चितवन, नवलपुर, सुर्खेत, बारा, कैलाली, महोत्तरी र काभ्रे शाखाले प्रदर्शन गरेका थिए भने, म्याग्दी, ललितपुर, संखुवासभा, दैलेख, कपिलवस्तु, तेह्रथुम, रुपन्देही र झापा शाखाले दीप प्रज्वलन कार्यक्रम गरेका थिए ।
समाजका तर्फबाट

रेनुका पौडेल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
१२ वैशाख २०८१

स्वतन्त्रता, समानता र सामाजिक न्यायको आन्दोलनमा डा. विष्णुमाया परियार

प्रेस विज्ञप्ति
स्वतन्त्रता, समानता र सामाजिक न्यायको आन्दोलनमा डा. विष्णुमाया परियार
वर्ष २०८० को “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार” मानव अधिकार, सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदानका लागि डा. विष्णुमाया परियारलाई प्रदान गरिएको छ । वैशाख ८ गते मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले डा. विष्णुमाया परियारलाई रु. एक लाख १० हजार राशीको सो पुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले डा.विष्णुमाया परियारले मानव अधिकार, समानता र सामाजिक न्यायको आन्दोलनमा गरेको योगदानबारे चर्चा गर्दै डा. परियारले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रतिष्ठा अभिवृद्धि गरेको र उहाँको योगदान सबै नेपालीका लागि गौरवको विषयको भएको बताउनुभएको थियो ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले डा. विष्णुमाया परियारले स्वतन्त्रता, समानता र सामाजिक न्यायको आन्दोलनमा निर्वाह गर्नुभएको विशिष्ट भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. विष्णुमाया परियारले मानव अधिकार र सामाजिक न्यायको आन्दोलनबारे प्रकाश पार्नुभएको थियो ।
समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसदहरु कान्तिका सेजुवाल, विष्णुदेवी पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, पिस कोरका नेपाल निर्देशक ट्रोय कोफ्रोत, उच्च अदालतका पूर्व का.मु मुख्य न्यायाधीश शेषराज शिवाकोटी, वरिष्ठ पत्रकार अखण्ड भण्डारी, शान्ति समाजका पूर्व सभापति होमकान्त चौलागाई, शान्ति समाजका वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापतिद्वय पुष्पा मल्ल र राजेन्द्र पौडेलले मन्तव्य र कवि अर्जुन पराजुलीले कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सामाजिक संस्थाहरुद्वारा डा. विष्णुमाया परियारलाई सम्मान समेत गरिएको थियो ।

समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
९ वैशाख २०८१

संक्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुग्नु दुखद्, २० जिल्लामा प्रदर्शन

प्रेस विज्ञप्ति
संक्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुग्नु दुखद्, २० जिल्लामा प्रदर्शन
संक्रमणकालीन न्याय प्रक्रिया राजनीतिक लेनदेनको विषय बनाउन खोजिएकोप्रति चिन्ता व्यक्त गर्दै मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १८ वर्ष पुग्न लाग्दा पनि संक्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुग्नु दुखद रहेको छ । यसै सन्दर्भमा पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर, संक्रमणकालीन न्याय सम्बन्धी संसोधन विधेयकलाई पहिले मानव अधिकारमैत्री बनाउ र सोही अनुरुप मात्र प्रक्रिया अगाडि बढाउ, मानव अधिकारको गम्भीर उल्लंघन र मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई दण्ड सुनिश्चित गर, संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको विषय बनाउन पाइदैँन भन्दै २०८० चैत १७ गते शान्ति समाजका काठमाण्डौ, रुपन्देही, पाल्पा, दाङ, चितवन, सुर्खेत, ललितपुर, महोत्तरी, गुल्मी, संखुवासभा, नवलपुर, बागलुङ, तेह्रथुम, म्याग्दी, बाँके, सल्यान, बारा, कपिलवस्तु, दैलेख, कैलाली शाखाले प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागिहरुले द्वन्दकालिन मानव अधिकार गम्भीर उल्लंघनका दोषीलाई कारवाही गर, द्वन्दकालमा भएका मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई कारवाही गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष चैत १७ गते हिंसाको खारेजी र दण्डहीनताको अन्त्यमा जोड दिँदै कार्यक्रम गर्दै आएको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
१७ चैत २०८०