संक्रमणकालीन न्यायका विषयमा देशव्यापी अन्तरक्रिया आयोजना गरिने

प्रेस विज्ञप्ति
संक्रमणकालीन न्यायका विषयमा देशव्यापी अन्तरक्रिया आयोजना गरिने
अहिंसाको मूल्यप्रति प्रतिवद्ध एवं अहिंसात्मक संस्कृति प्रवद्र्धनका लागि क्रियाशील मानव अधिकार तथा शान्ति समाजले लामो समयदेखि चैत्र १७ गते ‘दण्डहीनताको अन्त्य तथा हिंसाको खारेजी’ का लागि केन्द्रित रही अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनमा जोड दिँदै अभियान सञ्चालन गर्दै आएको छ । यसै अभियानको सिलसिलामा शान्ति समाजले २०७९ चैत्र १७ गते ‘लोकतन्त्रको १७ बर्ष : संक्रमणकालीन न्याय अलपत्र’ शिर्षकमा देशब्यापी रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा शान्ति समाजद्वारा तयार गरिएको ६ पृष्ठको १० वुँदे अवधारणापत्र समेत प्रस्तुत गरिने छ ।
कार्यपालिकाको सिलसिलेवार आपत्तिजनक निर्णय, व्यवस्थापिकाको भूमिकालाई गौण बनाउने प्रयास र न्यायपालिका विरुद्धको मोर्चाबन्दीले लोकतन्त्रलाई नै धरापमा पार्न सक्नेप्रति शान्ति समाजले गहिरो चिन्ता व्यक्त गरेको छ ।
अवधारणापत्रमा विस्तृत शान्ति सम्झौता, संक्रमणकालीन न्याय र सत्य निरुपण तथा मेलमिलाप आयोगको सन्दर्भ, कार्यपालिकाको आपत्तिजनक निर्णयको सिलसिला, व्यवस्थापिकाको विवेकलाई बन्दी बनाउने सिलसिला, न्यायपालिकामाथि नियोजित प्रहारको सिलसिला, संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन प्रमुख दलहरुको अनिच्छा, बालसैन्य प्रयोगको सन्दर्भ, अनमिनको प्रमाणिकरण र माओवादीद्वारा बाल सैन्य प्रयोगको पुष्टी, दण्डहीनताको अन्त्यका लागि अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधान, लोकतन्त्र र शान्तिका खातिर १० बुँदे सुझाव कार्यान्वयन गर्न आग्रहसहित १० बुँदा समेटिएको छ ।
विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुने गरि संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन दबाब दिने उद्देश्यले देशव्यापी तवरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
समाजका तर्फबाट

रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
१३ चैत २०७९

तीन तहको सरकारसँग जवाफ माग्दै विभिन्न जिल्लामा प्रदर्शन

प्रेस विज्ञप्ति
तीन तहको सरकारसँग जवाफ माग्दै विभिन्न जिल्लामा प्रदर्शन
“जातीय विभेद: छुवाछुत : मानवता बिरुद्धको अपराध, दोषी माथि किन कारवाही हुँदैन ? जवाफ देउ तीन तहको सरकार “भन्दै विभिन्न जिल्लामा प्रदर्शन लगायत कार्यक्रमहरु सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (२१ मार्च) का सन्दर्भमा स्थापना कालदेखी नै “दलित अधिकारः मानव अधिकार” भनेर अभियान सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा चैत्र ७ गते १७ जिल्लामा कार्यक्रम सम्पन्न भएको हो । यस क्रममा शान्ति समाजका गोरखा, पाल्पा, संखुवासभा, तेह्रथुम, काठमाडौं, रुपन्देही, चितवन, दाङ, सल्यान, बाँके र कैलाली शाखाले जातीय विभेद उन्मूलन गरौँ, समतामुलक समाज निर्माण गरौँ, छुवाछुत ः मानवता बिरुद्ध अपराध हो, छुवाछुतमा संलग्नलाई कानुनी कारवाही गर लेखिएका प्लेकार्डहरुसहित प्रदर्शन गरेका थिए भने वीरेन्द्रनगरमा संयुक्त रुपमा आयोजित र्यालीमा सुर्खेत शाखाको सहभागीता रहेको थियो । यसैगरी शान्ति समाजका दैलेख, गुल्मी, अछाम, कपिलवस्तु र अर्घाखाँची शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।
काठमाडौंको जोरपाटीमा आयोजित प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बरालले सभ्य समाज निर्माणका लागि जातीय विभेदको उन्मूलन गर्नुपर्ने भन्दै नेपाली समाजमा रहेको सबै प्रकारका विभेदको अन्त्य नभई देश समृद्ध नहुने धारणा राख्नु भएको थियो । कार्यक्रममा संघीय सांसद सन्तोष चालिसे, वाग्मति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा लगायत जन प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शान्ति समाजका पुर्व सभापति होमकान्त चौलागाइ, कोषाध्यक्ष किरण ढकाल, केन्द्रिय सदस्य दिवाकर पुडासैनी, काठमाडौं शाखा सभापति भगवान पुडासैनीसहित दर्जनौ अधिकारकर्मीहरुको सहभागीता थियो ।
यसैगरी रुपन्देहीको तिलोत्तमामा आयोजित प्रदर्शनमा बोल्दै संविधानसभा सदस्य बिनोद पहाडीले कानुनको पालना गर्नु नै सबैको दायित्व भएको र अझैपनि जातीय विभेद÷छुवाछूतका घटना बाहिर आउनु दुखद रहेको बताउनुभयो ।
शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार गोबिन्द खनालले समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो । रुपन्देही शाखा सभापति खिमप्रसाद भट्टराई (कृष्ण)ले विभेदका घटनाका दोषीमाथि कारबाही नभएको भन्दै तीन तहकै सरकारले यसको जवाफ दिनुपर्ने माग गर्नुभएको थियो ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
८ चैत २०७९

शान्ति काव्य प्रवाहको ९० औँ श्रृखला/नारी दिवसमा १७ जिल्लामा कार्यक्रम

प्रेस विज्ञप्ति
शान्ति काव्य प्रवाहको ९० औँ श्रृखला/नारी दिवसमा १७ जिल्लामा कार्यक्रम
मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित मासिक शान्ति काव्य प्रवाहको ९० औँ कार्यक्रम २०७९ फागुन २५ गते काठमाण्डौमा सम्पन्न भएको छ । शान्ति काव्य प्रवाहमा कविहरुले महिला अधिकार लगायत समसामयिक सन्दर्भमा केन्द्रीत रहि आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।
शान्ति समाजका सभापति रामकृष्ण बरालको सभापतित्व र महासचिव रेनुका पौडेलद्वारा सञ्चालित शान्ति काव्य प्रवाहमा मेनका पोखरेल, ऋचा, शारदा पराजुली, दुर्गाकिरण तिवारी, शान्ति न्यौपाने रिसाल, विमला दाहाल, प्रिति कौर, कुसुम शर्मा, उर्मिला पन्त पाण्डेय, भाग्यशाली अधिकारी, रत्ननीधि रेग्मी शुक्राचार्य, जीवन अधिकारी, त्रिभुवनचन्द्र वाग्ले, जसध्वज गुरुङ, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद ढुंगाना, निर्मल पराजुली, जनार्दन अधिकारीसहित २१ जना स्रष्टाहरुको सहभागिता थियो ।
यसैगरी ११३ औँ अन्तराष्ट्रिय नारी दिवस (८ मार्च) का अवसरमा “महिला अधिकार मानव अधिकार ः व्यवहारमा समानता, अवसरमा समानता” भन्ने आह्वानसहित २०७९ फागुन २४ गते मानव अधिकार तथा शान्ति समाजका कैलाली, बाँके, सल्यान, दाङ, कपिलवस्तु, रुपन्देही ( २ वटा कार्यक्रम), नवलपुर, चितवन, गोरखा, पाल्पा, बाग्लुङ, काठमाडौं, मोरङ, संखुवासभा, झापा, इलाम र सुर्खेत गरी १७ जिल्ला शाखाहरुले गोष्ठी, अन्तरक्रिया, प्रदर्शन, शान्ति र्याली, दिप प्रज्वलन, श्रमिक महिलालाई स्वास्थ्य सामग्री सहयोग र निशुल्क स्वास्थ्य शिविर लगायत कार्यक्रम आयोजना गरेका थिए ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
२५ फागुन २०७९

शान्ति समाजद्वारा सल्लाहकार र केन्द्रीय सदस्य मनोनयन

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा सल्लाहकार र केन्द्रीय सदस्य मनोनयन

२०७९ फागुन १२ गते स्याङ्जामा बसेको मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले समाजको सल्लाहकारहरुमा निवर्तमान सभापति गोविन्द खनाल र पूर्व सभापति उत्तम पुडासैनीलाई नियुक्त गरेको छ । समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न बैठकले ६ जना केन्द्रीय सदस्यहरुमा अरुण ज्ञवाली पाल्पा, अनुजा सैजु कास्की, निर्मला गुरुङ संखुवासभा, ज्योति बाल्मिकी बाँके, प्रतिमा महतो महोत्तरी, र दिवाकर पुडासैनी काठमाण्डौलाई मनोनित गरेको छ । साथै अनुशासन समितिको संयोजकमा समाजका पूर्व सचिव विकास थापा मोरङ र सदस्यहरुमा पूर्व केन्द्रीय सदस्यद्वय सरस्वती ढकाल र दिलबहादुर कार्की कपिलवस्तुलाई तथा सदस्यता अपिल समितिको संयोजकमा समाजका पूर्व सचिव मदनबहादुर कुँवर अछाम र सदस्यहरुमा भवानी अधिकारी स्याङ्जा र सिताराम कोइराला सुनसरीलाई नियुक्ति गरेको छ ।
बैठकले विश्व प्रेस स्वतन्त्रता दिवस लगायत असारसम्म मनाइने ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसमा कार्यक्रम आयोजनाका लागि संयोजनको जिम्मेवारी समेत तोकेको छ ।
समाजको १५४ औँ केन्द्रीय कार्यसमिति बैठकको सेरोफेरोमा फागुन १२ गते पुतलीबजारमा स्याङ्जा शाखा सभापति हरि रेग्मीको सभापतित्वमा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
फागुन १२ गते राति शान्ति काव्य प्रवाह, १३ गते बिहान पुतलीबजारमा वृक्षरोपण र सांकेतिक रुपमा आँधीखोला नदी सफाई पनि गरिएको थियो । यसैगरी स्याङ्जा पुतलीबजार १४ स्थित पाणिनि आश्रम संस्कृत गुरुकुलमलाई शान्ति समाजका तर्फबाट रु. २५ हजार नगद सहयोग प्रदान गरिएको थियो ।
फागुन १२ गते साँझ युद्ध निषेध ः शान्ति विशेष अभियान अन्तर्गत स्याङ्जामा प्रदर्शन गर्नुका साथै विश्व शान्तिको कामनासहित दिप प्रज्वलन गरिएको थियो । सोही दिन शान्ति समाजका जिल्ला शाखाहरुले रुस युक्रेन युद्ध तत्काल अन्त्य गर्न आग्रह गर्दै २२ जिल्लामा प्रदर्शन गरेका थिए ।

समाजका तर्फबाट

रेनुका पौडेल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति ः २०७९ फागुन १४

रुस युक्रेन युद्धको एक वर्ष : मानवता पराजित, इतिहास लज्जित

प्रेस विज्ञप्ति
रुस युक्रेन युद्धको एक वर्ष : मानवता पराजित, इतिहास लज्जित

२४ फेव्रवरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरे पश्चात शुरु भएको रुस युक्रेन युद्धको १ वर्ष पुरा भएको छ । यो युद्धका कारण मानवता पराजित भएको र इतिहास लज्जित भएको छ । शान्तिका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले युद्ध निषेध ः शान्ति विशेष भन्ने आह्वानसहित युद्ध तत्काल अन्त्य गर्न आग्रह गर्दै विगत एक वर्षमा नेपालभरि १ सय भन्दा बढी प्रदर्शन गरिसकेको छ ।
कहालिलाग्दो रुस युक्रेन युद्ध शुरु भएको एक वर्ष पुगेको दिन फागुन १२ गते शान्ति समाजले यो विध्वंसकारी युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने आग्रहसहित महोत्तरी, रुपन्देही, अछाम, चितवन, नवलपुर, इलाम, संखुवासभा लगायत एक दर्जन बढी जिल्लामा प्रदर्शन गरेको छ । प्रदर्शनमा शान्तिवादीहरुले रुस ः युद्ध तत्काल रोक, रुस ः शान्ति प्रवद्र्धन गर, युक्रेनमाथिको आक्रमण तत्काल बन्द गर लगायत शान्तिका पक्षमा प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले यो युद्ध समाप्तिका लागि संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७९ फागुन १२

गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा लगायत विषयमा केन्द्रीत रहि देशव्यापी अभियान प्रारम्भ

प्रेस विज्ञप्ति
गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा लगायत विषयमा केन्द्रीत रहि देशव्यापी अभियान प्रारम्भ
मानव अधिकार तथा शान्ति समाजको २४ औँ र २५ औँ राष्ट्रिय परिषद् बैठकद्वारा पारित नीति कार्यान्वयन सम्बन्धमा देशव्यापी अभियान प्रारम्भ भएको छ । यस क्रममा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार, महिला अधिकार : मानव अधिकार, विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृति लगायतका विषयमा केन्द्रीत रहि प्रदेश १ का ८ जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सभापति रामकृष्ण बरालले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुभएको अन्तरक्रिया कार्यक्रमहरुमा शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनाल, पुर्व सभापति उत्तम पुडासैनी, प्रदेश १ सचिव लक्ष्मी नारायण मिश्र, केन्द्रिय सदस्य ज्ञानेन्द्र निरौला, काठमाडौं शाखा सभापति भगवान पुडासैनी लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमहरुमा शान्ति समाजद्वारा तयार गरिएको ४ पृष्ठको जानकारी पत्र प्रस्तुत गरिएको थियो भने राजनीतिक समाज, नागरिक समाज लगायत विभिन्न क्षेत्र र पेसागत संस्थाका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
माघ २४ गते सुनसरी शाखा सभापति डा. विकास साहको सभापतित्वमा २५ गते झापा शाखा सभापति सुशिला रिजालको, २६ गते रामकृष्ण बरालको सभापतित्वमा २७ गते पाँचथर शाखा सभापति क्षोमाया तामाङ, २८ गते धनकुटा सभापति हरि लम्जेल र तेह्रथुम शाखा उपसभापति डिल्लीराम रेग्मी, २९ गते संखुवासभा शाखा उपसभापति निर्मला गुरुङ र फागुन १ गते मोरङ शाखा सभापति प्रा.डा. जीवन ढकालको सभापतित्वमा पहिलो चरणको अन्तरक्रिया इटहरी, चारआली, इलाम, फिदीम, धनकुटा, म्याङ्लुङ, खाँदवारी र विराटनगरमा कार्यक्रम सम्पन्न भएको थियो । दोस्रो र तेस्रो चरणमा गरि ३५ जिल्लामा अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।
यसैगरी टर्की र सिरियामा हालै आएको भुकम्पका कारण जीवन गुमाउने हजारौ नागरिकप्रति श्रद्धाञ्जली एवं चीर शान्तिको कामनासहित मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले माघ २८ गते साँझ शान्ति स्तुपा बौद्ध अगाडि मैनबतीसहित मौन प्रदर्शन गरेको थियो भने तेह्रथुम शाखाले म्याङ्लुङमा र संखुवासभा शाखाले खाँदबारीमा सोही सन्दर्भमा कार्यक्रम गरेका थिए ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
५ फागुन २०७९

फागुन १ गते “जनयुद्ध दिवस”का नाममा सार्वजनिक विदा दिने निर्णयप्रति आपत्ति

प्रेस विज्ञप्ति
फागुन १ गते “जनयुद्ध दिवस”का नाममा सार्वजनिक विदा दिने निर्णयप्रति आपत्ति
वाग्मती प्रदेश सरकार, मन्त्रीपरिषद्को मिति २०७९ माघ २४ को बैठकले (त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले पनि) “जनयुद्ध दिवस”को अवसरमा भन्दै २०७९ फागुन १ गते सोमबारका दिन वाग्मती प्रदेशभर सार्वजनिक विदा दिने निर्णयप्रति मानव अधिकार तथा शान्ति समाज तिव्र असहमति र गम्भीर आपत्ति व्यक्त गर्दछ ।
यो विवादास्पद निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल छ भन्ने शान्ति समाजको धारणा रहेको छ ।
यसैगरी माघ २७ गते काठमाण्डौमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको शान्ति समाज निन्दा गर्दछ । राजतन्त्र उन्मुलन भइसकेपछि पनि त्यसैको अवशेषका रुपमा नागरिकलाई सास्ती दिनेगरी कायम रहेको कथित “सवारी” प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित छ ।
समाजका तर्फबाट

रेनुका पौडेल (अधिवक्ता)
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२९ माघ २०७९

बालिका छात्रवृत्ति अभियान : ३४ जनालाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान

प्रेस विज्ञप्ति
बालिका छात्रवृत्ति अभियान : ३४ जनालाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान
मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिका प्रत्येकलाई रु. १२ हजारका दरले रु.४ लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको छ । मोरङ जिल्लाको थलाहामा माघ २५ गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा.वि का २७ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का सात जना गरि ३४ जना बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो । पाँच वर्षे छात्रवृत्ति अभियान अन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सो मध्ये यस वर्ष ३ जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ जना बालिकालाई प्रदान गरिएको हो ।
‘छोरी पढाऔ ः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकाहरुलाई रु. १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ ।
शान्ति समाज मोरङ शाखाका सभापति प्रा.डा जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, निवर्तमान सभापति गोविन्द खनाल, पूर्व सभापति उत्तम पुडासैनी, सचिव लक्ष्मीनारायण मिश्र, जनता मा वि का प्र अ रामनारायण बिश्वास, सरस्वती मा वि का अध्यापक हरी कट्टेल, भगवान पुडासैनी, धन थापा, लगायतले शान्ति समाजले थालेको शिक्षा र स्वास्थ्यको अभियानबारे प्रकाश पार्नुभएको थियो ।
पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गर्नु भएको छ ।
यसैगरी रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले यो छात्रवृत्ति अभियानका लागि सहयोग गर्नुभएको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७९ माघ २५

वैज्ञानिक शिक्षामा जोड र विज्ञान दिवस मनाउनेसहित प्रस्ताव पारित गर्दै परिषद् बैठक सम्पन्न

प्रेस विज्ञप्ति
वैज्ञानिक शिक्षामा जोड र विज्ञान दिवस मनाउनेसहित प्रस्ताव पारित गर्दै परिषद् बैठक सम्पन्न
मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक १० वटा प्रस्ताव पारित गरि पुस २९–३० गते नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न भएको छ । राष्ट्रिय परिषद्ले वैज्ञानिक शिक्षामा जोड दिँदै “शान्ति र विकासका लागि विश्व विज्ञान दिवस”– १० नोभेम्वर विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । सूचना प्रविधिमा पहुँच र उपभोग सबै नागरिकको अधिकार भएको तथ्यलाई मनन गर्दै, राष्ट्रिय परिषद् बैठकले सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित  गर्न र सूचना प्रविधि शिक्षालाई प्रारम्भिक तह देखि नै पाठ्यक्रममा समावेश गर्न र सूचना प्रविधि संस्कृतिको निर्माण र विस्तारमा योगदान गर्न सबैलाई आग्रह गरेको छ ।
परिषद् बैठकले विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृतिमा जोड दिँदै सोही अनुरुपको नीति, निष्ठा र नियम तर्जुमा एवं कार्यान्वयन गर्न राज्य÷समाजका सबै तह र तप्कालाई आह्वान गरेको छ ।
यसैगरी नेपालका दुई भीमकाय छिमेकी राष्ट्रहरू चीन र भारतबीचको द्वन्द र चीन र भारतको विभिन्न राष्ट्रहरूसँगको तनाबले निम्तिन सक्ने कुनै पनि युद्धको संभावनालाई निस्तेज÷खारेज गर्न नागरिक स्तरमै प्रभावकारी सहकार्यमा पुन जोड दिँदै दक्षिण एशियामा नेपालले शान्तिका लागि सेतुको भूमिका निर्वाह गर्नुपर्ने र नेपालको परराष्ट्र नीतिको आधार शान्ति र अहिंसा बनाउन विशेष आग्रह गरेको छ ।
शान्ति समाजको स्थापनार्थ २०५३ सालमा जारी भएको विधानको उद्देश्यमध्ये “महिलाहरूको राजनीतिक अधिकार तथा बाल बालिकाको अधिकार संरक्षणका लागि क्रियाशील रहने तथा महिलाहरू विरुद्ध हुने भेदभावलाई अन्त्य गर्न अभियान सञ्चालन गर्ने” रहेको स्मरण गर्दै परिषद् बैठकले महिला अधिकार मानव अधिकार भन्ने मूल आह्वानसहित महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं मन्त्रीमण्डल, संवैधानिक, कुटनीतिक लगायत नीति निर्माणका तहमा महिलाहरूको न्युनतम ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीत रही यो अभियानलाई सशक्त बनाउने र निरन्तर जारी राख्ने निर्णय पनि गरेको छ ।२७ वर्ष अघि शान्ति समाजको स्थापनार्थ जारी गरिएको विधानको उद्देश्यमा “छुवाछुत, भेदभाव, वालश्रम, कमैया लगायत मानव गरिमा विरुद्ध घात पु¥याउने प्रवृत्तिहरू अन्त्य गर्न कार्य गर्ने रहेको” र सोही उद्देश्य अनुरुप सामाजिक न्यायका लागि अभियानलाई निरन्तरता दिँदै सामाजिक न्यायको आन्दोलनमा उदाहरण बन्ने प्रतिवद्धता समेत राष्ट्रिय परिषद् बैठकले गरेको छ ।

यसैगरी चुरे विनास रोक्न शान्तिपूर्ण तवरमा सामुहिक हस्तक्षेप आवश्यक भएकोतर्फ ध्यानाकर्षण गराउँदै परिषद् बैठकले चुरे बचाउन, जंगल जोगाउन राज्यले ओठे प्रतिवद्धता होइन सार्थक नीति अवलम्वन गरि प्रभावकारी कार्यान्वयन गर्न विशेष आग्रह गरेको छ । परिषद् बैठकले “मेरो फोहोर मेरो जिम्मेवारी” भन्ने आहावान सहित अभियान सञ्चालन गर्ने, शान्ति समाजका सदस्यहरूले आफ्नो जन्मदिनमा वृक्षारोपण गर्ने र रोपिएका बिरुवा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै असहाय अवस्थामा सडकमा छाडिएका प्राणीहरूको उद्धार र संरक्षणका लागि राज्य÷समाजका जिम्मेवार निकायहरूको ध्यानाकर्षण गराउँदै यस सम्बन्धमा ठोस नीति सहित कार्य योजना लागू गर्न आग्रह समेत गरेको छ ।
दुई दिन सम्म चलेको २५ औँ राष्ट्रिय परिषद् बैठकको सम्पूर्ण खर्च आतिथेय नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाले सदस्य तथा शुभचिन्तकको सहयोगमा बहन गरेको थियो भने यातायात खर्च सहभागिहरु आफैले व्यहोरेका थिए ।
समाजका तर्फबाट
रेनुका पौडेल (अधिवक्ता)
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२०७९ माघ ४

शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित

प्रेस विज्ञप्ति
शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा रामकृष्ण बराल काठमाण्डौँ र वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल पाल्पा निर्वाचित हुनुभएको छ ।
शान्ति समाजको २०७९ पुस ३० गते नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न २५ औँ राष्ट्रिय परिषद् बैठकका दौरान सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा उपसभापतिमा राजेन्द्र पौडेल चितवन र उपसभापति महिलातर्फ पुष्पा मल्ल सुर्खेत निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी महासचिवमा काठमाण्डौका रेनुका पौडेल, कोषाध्यक्षमा काठमाण्डौका किरण ढकाल, प्रदेश १ सचिवमा लक्ष्मीनारायण मिश्र तेह्रथुम, मधेश प्रदेश सचिवमा अमरबहादुर गौतम पर्सा, वाग्मती प्रदेश सचिवमा चन्द्रमणी बञ्जारा ललितपुर, गण्डकी प्रदेश सचिवमा सिताराम तिवारी गोरखा, लुम्बिनि प्रदेश सचिवमा सन्तोष अधिकारी क्षेत्री नवलपरासी पश्चिम, कर्णाली प्रदेश सचिवमा प्रकाश शाही सुर्खेत, सुदुरपश्चिम प्रदेश सचिवमा भक्तबहादुर विश्वकर्मा कैलाली, सचिव आदिवासी÷जनजाती रामप्रसाद जोशी नुवाकोट, सचिव मधेशीमा सन्तोष कुमार रौनियार सुनसरी, सचिव दलितमा निर्मल नेपाली दाङ र सचिव महिलातर्फ मीना ढकाल रुपन्देही निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी ४ जना महिला सदस्यमा नम्रता खरेल काठमाण्डौ, फूलमाँया सुनार रुपन्देही, जानुका अधिकारी नुवाकोट, मिरादेवी अधिकारी बारा र सदस्य खुलातर्फ ६ पदमा धनपति खनाल (डि.पी) रुपन्देही, ज्ञानेन्द्र निरौला झापा, तुलसीराम सुनार दाङ, विनोद अधिकारी चितवन, दिल्लीप्रसाद जैसी सल्यान र देवराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित सबै पदाधिकारी÷सदस्यहरुलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले पुस ३० गते अपरान्ह् आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७९ माघ १