१५ स्रष्टा सम्मान पुरस्कार घोषणा

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा १५ स्रष्टा सम्मान पुरस्कार घोषणा
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
यस क्रममा वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान– धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान– गोपाल अश्क (गोपालप्रसाद सर्राफ) (पर्सा), चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.नारायणप्रसाद खनाल (बागलुङ), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान– हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान– गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ (काठमाण्डौ), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान– त्रिभुवनचन्द्र वाग्ले ,(तनहुँ), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान– सीमा आभास (ओखलढुंगा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी पद्यप्रसाद दाहाल स्रष्टा सौगात– अशोक थारु (दाङ), राधादेवी दाहाल स्रष्टा सौगात–उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात–शशीकला मानन्धर (काठमाण्डौ), भुमीप्रसाद बराल स्रष्टा सौगात–गणेशकुमार राई (ओखलढुंगा), जनककुमारी रेग्मी स्रष्टा सौगात– गंगा कर्माचार्य पौडेल (स्याङ्जा), जोगमाया बराल स्रष्टा सौगात– हेमन्ती जोशी (डोटी), श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर (तनहुँ), श्रीनारायण दाहाल स्रष्टा सौगात– मनमाया विश्वकर्मा (भोजपुर) लार्ई प्रदान गर्ने निर्णय गरिएको छ ।
सात प्रदेशबाट सात जना महिलासहित पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, लोकतन्त्र, शान्ति र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुभएको छ भने संस्कृत, मैथिली, भोजपुरी, थारु, नेवारी, वाम्वुले राई र मगर भाषाको प्रवद्र्धनमा उल्लेखनिय योगदान गर्नुभएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
एक दशक अगाडिदेखी मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।

पुरस्कृत स्रष्टाहरुबारे :
१. धीरेन्द्र प्रेमर्षि : वि.स. २०२३ भाद्र १८ गते सिरहामा जन्मनुभएका स्रष्टा धिरेन्द्र प्रेमर्षिका ‘कोन सुर सजाबी?’ (मैथिली गीत संग्रह) र ‘समयलाई सलाम’ (गजल संग्रह)प्रकाशित छन् । स्रष्टा प्रेमर्षिका एक दर्जन अनूदित र आधा दर्जन सम्पादित कृति तथा दर्जनभन्दा बढी साङ्गीतिक एल्बमहरू प्रकाशित छन् । कक्षा १ देखि १२ सम्मका मैथिली र हिन्दी विषयक पाठ्यपुस्तक तथा शैक्षिक सन्दर्भ पुस्तकहरूका लेखकसमेत रहनुभएका प्रेमर्र्षि साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका त्रिवेणी व्यक्तित्व हुनुहुन्छ । २०६२÷६३ को जन आन्दोलनमा महत्वपूर्ण योगदान गरेको ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’का एक अभियन्ता समेत रहनुभएका पत्रकार एवं संस्कृतिविद प्रेमर्षिले मैथिली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको छ ।
२. गोपाल अश्क (गोपालप्रसाद सर्राफ) : वि.स. २०१८ मा पर्सामा जन्मनुभएका स्रष्टा गोपाल अश्कका भोजपुरी भाषामा ‘घंघोर’ (महाकाव्य), ‘फुलवा’ (उपन्यास), ‘कजरी’ (खण्डकाव्य)सहित १० वटा, नेपालीमा ‘निदाउन नसकेका रातहरु’ (कथा संग्रह)सहित ४ र हिन्दीमा ४ गरी १८ कृतिहरु प्रकाशित छन् । यसैगरी स्रष्टा अश्कले १० वटा पुस्तकको अनुवाद गर्नुका साथै ९ वटा सोध अनुसन्धान प्रकाशित छन् । भोजपुरी व्याकरणको सहलेखनका साथै अश्क लिखित नेपाली, भोजपुरी र हिन्दी भाषाका रचनाहरु विभिन्न विश्व विद्यालय÷विद्यालयहरुको पाठ्यपुस्तकमा समावेश छ भने अश्कले एक दर्जन पुस्तक÷ पत्रिकाको सम्पादन समेत गर्नुभएको छ ।
३. प्रा.डा.नारायणप्रसाद खनाल : वि.स. २००९ साल पुस २३ गते बागलुङमा जन्मनुभएका स्रष्टा प्रा.डा. नारायणप्रसाद खनालको ‘गुराँस’ (काव्य) ‘नारायणीका लहरहरु’ (निबन्ध संग्रह), ‘समीक्षाका आकारहरु’ (समालोचना संग्रह)सहित एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । ३४ वर्ष प्राध्यापन गर्नुभएका संस्कृत भाषाका विद्वान प्राध्यापक खनालको संस्कृतमा एउटा काव्य समेत प्रकाशित छ ।
४. हरिबहादुर थापा : वि.स. २०२९ वैशाख १० गते काभ्रेपलाञ्चोकमा जन्मनुभएका स्रष्टा हरिबहादुर थापाका वहुचर्चित कृति ‘रजगज’, ‘भ्रष्टाचारको सल्यक्रिया’, ‘विदेशी सहायताको विसंगती’, ‘दलिय द्वन्द’ लगायत आधा दर्जन कृतिहरु प्रकाशित छन् । वरिष्ठ पत्रकार थापाद्वारा भ्रष्टाचार विरुद्ध लिखित पुस्तकहरुको अंग्रेजी संस्करण समेत प्रकाशित भएको छ भने सुशासनका विषयमा विभिन्न पुस्तकहरुको समेत सम्पादन गर्नुभएको छ ।
५. गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ : वि.स. २००७ साल वैशाख ९ गते काठमाण्डौँमा जन्मनुभएका स्रष्टा गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’का ‘वाग्मती’ (महिमा काव्य), ‘मृत्युचक्र’ (महाकाव्य), ‘शहीद’ (कविता संग्रह)सहित खण्डकाव्य, उपन्यास र बालकथा संग्रह गरी ४८ कृतिहरु प्रकाशित छन् । स्रष्टा घिमिरे अभिनव साहित्य समाजका संस्थापक एवं वर्तमान अध्यक्ष हुनुहुन्छ ।
६. त्रिभुवनचन्द्र वाग्ले : वि.स २०२४ साल माघ ६ गते तनहुँ जिल्लामा जन्मनुभएका स्रष्टा त्रिभुवनचन्द्र वाग्लेको ‘नेपालको विकासमा दलित’, ‘दलित स्रष्टा र प्रतिभा’, ‘अकीर्ण आँखा’ (कविता संग्रह) र ‘अबिर’ (उपन्यास) गरी ५ पुस्तकहरु प्रकाशित छन् । दलित मुक्ति र सामाजिक न्यायको विषयमा कलम चलाउँदै आउनुभएका पत्रकार वाग्लेले करिव तीन दर्जन पुस्तकको सम्पादन समेत गर्नुभएको छ ।
७. सीमा आभास : वि.स. २०३९ साल साउन २० गते ओखलढुंगामा जन्मनुभएकी स्रष्टा सीमा आभासका ‘म स्त्री अर्थात आइमाई’, ‘साँझको संघारबाट’ (कविता संग्रह), ‘टापुका स्वरहरु’ कथा संग्रहसहित तीन पुस्तकहरु प्रकाशित छन् । लोकतन्त्रका लागि भएको आन्दोलनका क्रममा पटक पटक गिरफ्तार हुनुभएकी स्रष्टा आभासका स्वतन्त्रता र अधिकारका विषयमा दर्जनौ लेख रचनाहरु प्रकाशित छन् ।
८. अशोक थारु : वि.स २०११ असार १६ मा दाङमा जन्मनुभएका स्रष्टा अशोक थारुका थारु लोक साहित्यिक महाकाव्य ‘बर्किमार एक संक्षिप्त तुलनात्मक अध्ययन’ (थारु भाषामा परिमार्जित संस्करण समेत), ‘थारु लोक साहित्यमा इतिहास कला र दर्शन’, ‘थारु संस्कृति अन्तर्गतका लोक कलाहरुको शास्त्रीय पहिचान र विश्लेषण’, ‘गुर्बाबा थारु–नेपाली–अंग्रेजी शब्दकोष’, गरी आधा दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । थारु संस्कृतिको अध्ययन अनुसन्धानमा विशेष योगदान गर्नुभएका स्रष्टा थारुले थारु भाषामा प्रचलित लोक काव्यहरुको सम्पादन, भावानुवाद, विश्लेषण तथा समालोचना समेत गर्नुभएको छ ।
९.उषा हमाल : वि.स २०१६ कार्तिक १९ मा सल्यानमा जन्मनुभएकी स्रष्टा उषा हमालका ‘समय समुन्द्र ’(कविता संग्रह), ‘भिक्षुसंग प्रेम’ (यात्रा निबन्ध), ‘धानसँगै छमछमी’ (बाल कथा), सहित ११ वटा पुस्तकहरु प्रकाशित छन् । स्रष्टा हमालका रचनाहरु विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रिकामा ५ दशकदेखी प्रकाशित हुँदै आएको छ ।
१०. शशिकला मानन्धर :वि.स २०१६ साल असोज ६ गते काठमाण्डौमा जन्मनुभएकी स्रष्टा शशिकला मानन्धरका नेपाल भाषा (नेवारी) मा ‘नमि’ (कथा संग्रह), ‘जल्लथीगु लँपु’ (उपन्यास), ‘न्हूगु परसि’ (पूर्णाङ्की नाटक) सहित ९ र नेपालीमा दुई गरी ११ वटा कृतिहरु प्रकाशित छन् । नेपाल भाषामा पहिलो महिला उपन्यासकार, पहिलो पूर्णाङ्की नाटककारका रुपमा परिचित स्रष्टा मानन्धरले ४ वटा कृतिको अनुवाद समेत गर्नुभएको छ । वैज्ञानिक अधिकृतको रुपमा कार्य गरी अवकास प्राप्त गर्नुभएकी मानन्धरका दर्जनौ लेख रचनाहरु प्रकाशित छन् ।
११. गणेशकुमार राई : वि.स २०२७ साल जेठ २४ गते ओखलढुंगामा जन्मनुभएका स्रष्टा गणेशकुमार राईका ‘इक हिर्कटी’ (निबन्ध संग्रह), ‘वाम्विर’ (कविता संग्रह), ‘उङ रान्चो बाकिमे’ (बाल कविता संग्रह)सहित वाम्वुले राई भाषामा आधा दर्जन बढी कृतिहरु प्रकाशित छन् । यसैगरी स्रष्टा राईले वाम्वुले राई जाति : भाषा र संस्कृतिसहित ८ वटा कृतिको सम्पादन गर्नुभएको छ । स्रष्टा राईको सम्पादनमा ‘लिब्जु –भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिका तीन दशकदेखी प्रकाशन हुँदै आएको छ ।
१२. गंगा कर्माचार्य पौडेल : वि.स २०११ भदौ ३० गते स्याङ्जामा जन्मनुभएकी गंगा कर्माचार्य पौडेलका ‘गंगाका केही छालहरु’, ‘आँधीखोलाको सम्झना’ (कविता संग्रह), ‘भुइँचालो’ (बाल कथा संग्रह) लगायत बालकाव्य, बालउपन्यास, बाल कथासंग्रहका ३० भन्दा बढी पुस्तक र सह लेखनमा २६ पुस्तकहरु प्रकाशित छन् । कर्माचार्य पौडेलका आधा दर्जन बढी रचनाहरु पाठ्यपुस्तकमा समेत समावेश भएका छन् । कर्माचार्यले अपांग प्रतिभा पुरस्कार लगायत दर्जन बढी पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएको छ ।
१३. हेमन्ती जोशी : वि.स २०१८ साल भाद्र १८ गते डोटीमा जन्मनुभएकी स्रष्टा हेमन्ती जोशीका ‘प्रतिविम्व’ (कथा संग्रह), ‘पत्र पत्र जिन्दगी’(कथा संग्रह) सहित ५ कृतिहरु प्रकाशित छन् । हाल धनगढी निवासी स्रष्टा जोशी ५० को दशकदेखी निरन्तर लेख्दै आउनुभएको छ ।
१४. फूलकुमारी थापा मगर : वि.स २०१६ जेठ २६ मा तनहुँमा जन्मनुभएकी स्रष्टा फूलकुमारी थापा मगरका मगर भाषामा ‘इटन लेसा मास्टोकुङ’ (उपन्यास), ‘कानुङ कुरा;’ (संवाद), झोरले लाफाको, विम्व प्रतिविम्व (नेपाली उपन्यास) लगायत कृतिहरु प्रकाशित छन् । स्रष्टा थापा मगरका विभिन्न पत्र पत्रिकाहरुमा दर्जनौ रचना प्रकाशित छन् ।
१५. मनमाया विश्वकर्मा ( मनु विश्वकर्मा) ः २०३८ भदौ ८ गते भोजपुरमा जन्मनुभएकी स्रष्टा मनमाया विश्वकर्मा को ‘ऐजेरु बिज बुकी’ (कविता संग्रह) प्रकाशित भएको छ । स्रष्टा विश्वकर्माले कविता, गीत तथा कथाको क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७९ भदौ ३१

जलमा हलचल सूक्ष्मको–कृष्ण पहाडीको कविता संग्रह प्रकाशित

प्रेस विज्ञप्ति
जलमा हलचल सूक्ष्मको–कृष्ण पहाडीको कविता संग्रह प्रकाशित

मानव अधिकार तथा शान्ति समाजले समाजका संस्थापक सभापति कृष्ण पहाडीको कविता संग्रह “जलमा हलचल सूक्ष्मको” प्रकाशित गरेको छ । संस्थापक सभापति पहाडीको परिकल्पना अनुसार जगत्मुखी जीवनमुखी र सेवामुखी उद्देश्यले स्वयंसेवी तवरमा मानव अधिकार तथा शान्ति समाज क्रियाशील छ भने पहाडीका कविताहरु पनि जगत्मुखी जीवनमुखी सेवामुखी चेतले निर्दिष्ट छन् । संस्थापक सभापति पहाडीको यो ३० औँ पुस्तक हो । ६२ वटा कविता रहेको यस संग्रहमा समाविष्ट कुनै कविता ब्रम्हाण्डको बारेमा त कुनै अन्तरिक्ष कुनै तारा र ग्रहहरुको बारेमा छन् । कुनै कविता मृत्युकालिन अवस्थाको बारेमा छ, कुनैमा मृत्युपश्चातको कल्पनातित अनुभुति चित्रित छ । कहि अनन्तको बारेमा त कहि अन्त्यको बारेमा केन्द्रीत कविता पनि छन् । अधिकांश कविता जीव, जगत र प्रकृतिको अन्तरसम्बन्धबारे छन् । कुनै कविताहरु विज्ञानका बारेमा छन्, कुनै गहिरो ज्ञानका बारेमा छन् । समग्रमा भन्नुपर्दा संस्थापक सभापति पहाडीद्वारा लिखित यो कविता संग्रह पृथक छ । सायद त्यसैले स्रष्टा पहाडीले यो कृतिलाई दोस्रो पारीको पहिलो पुस्तक बताउनुभएको छ ।
शान्ति समाजका दुई जना सदस्य÷शुभचिन्तकको सहयोगमा प्रकाशित यो पुस्तकको मुल्य रु. २०० रहेको छ भने पुस्तक विक्रिबाट हुने सम्पूर्ण आम्दानी मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन खरिद÷निर्माणमा लगाइने छ ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति ः २०७९ जेठ २४

सन्दर्भ ५० औँ विश्व वातावरण दिवस

प्रेस विज्ञप्ति
सन्दर्भ ५० औँ विश्व वातावरण दिवस
शान्ति समाजद्वारा एक दर्जन जिल्लामा वृक्षारोपण
५० औँ विश्व वातावरण दिवस ५ जुनका  अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षारोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । जेठ २२ गते शान्ति समाज काठमाण्डौ शाखाद्वारा ’मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामुलक कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी जेठ २२ गते बिहान शान्ति समाजका शाखाहरुको आयोजनामा संखुवासभाको खाँदवारी, सुनसरीको धरान, रुपन्देहीको वुटवल, दाङको तुलसीपुर, चितवनको भरतपुर, मोरङको विराटनगर, महोत्तरीको जलेश्वर, पाल्पाको तानसेन, पर्साको विरगञ्ज, काठमाण्डौको गोठाटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
यसैगरी विभिन्न निकायसंगको सहकार्यमा सुर्खेत र ललितपुर शाखाले पनि वृक्षारोपण कार्यक्रम गरेका थिए ।
वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापी रुपमा जनचेतना फैलाउँदै संयुक्त राष्ट्रसंघको आह्वानमा ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७९ जेठ २२

शान्ति समाज स्थापना दिवसमा ३० जिल्लामा कार्यक्रम

प्रेस विज्ञप्ति
शान्ति समाज स्थापना दिवसमा ३० जिल्लामा कार्यक्रम

मानव अधिकार तथा शान्ति समाजले “ शान्ति समाजको कार्यक्षेत्र ःजगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य” भन्ने मूल नारासहित दर्जनौ कार्यक्रम आयोजना गरि जेठ १९ गते स्थापना दिवस मनाएको छ । २०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउँ आन्दोलन, युद्ध निषेध ः शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियानलाई तिव्रता दिँदै आएको छ । ३८ जिल्लामा शाखा, १५१० आजीवन सदस्य र स्थापनाकालदेखि हालसम्म गरि १० हजार ६ सय ६० जनाले सदस्यता लिएको मानव अधिकार तथा शान्ति समाजको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ ।
स्थापना दिवसका अवसरमा २०७९ जेठ १९ गते बिहान शान्ति समाज रुपन्देही शाखाले वुटवलस्थित नेपाल अपागं आश्रमलाई खाद्यान्न सहयोग र सैनामैनास्थित सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ भने काठमाण्डौ शाखाले गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण अभियानलाई रु. २० हजारको पिठो सहयोग गर्नुका साथै सोही स्थलमा वृक्षारोपण समेत गरेको छ ।
यसैगरी सुनसरी शाखाले स्थानीय शान्ति वृद्धाश्रमलाई, गोरखा शाखाले गुरुकुल आश्रमलाई र नवलपुर शाखाले अपांग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गर्नुका साथै दाङ शाखाले तुलसीपुरस्थित आश्रमका लागि भोजन सहयोग गरेको छ ।
यसैगरी शान्ति समाज चितवन शाखाले एक वृद्धाश्रमलाई नगद सहयोग, संखुवासभा शाखाले फलफुल वितरण गर्नुका साथै सिरहा शाखाले लहानमा र कपिलवस्तु शाखाले वाणगंगामा वृक्षारोपण कार्यक्रम गरेका थिए भने कैलाली शाखाले कर्णाली नदी पाताभार घाटमा सफाई कार्यक्रम गरेको थियो ।
यस्तै शान्ति समाज पाल्पा शाखाले तानसेनमा श्रवणशक्ति कम भएका विद्यार्थीलाई र कास्की शाखाले जेठ १८ गते पोखरास्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो ।
शान्ति समाज स्थापना दिवसकै अवसरमा थप १७ वटा शाखाले जेठ १९ गते सेवामुखी लगायत विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।

समाजका तर्फबाट

रामकृष्ण बराल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केकास
मिति ः २०७९ जेठ १९ मध्यान्ह् १२ बजे

विनोद पहाडीलाई २०७८ सालको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

प्रेस विज्ञप्ति

विनोद पहाडीलाई २०७८ सालको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ श्री विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ । संविधानसभा सदस्य (२०६४–६९) समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी श्री विनोद पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७९ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पहाडीलाई पुरस्कृत गरिने छ ।
तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ पर्नुभएका श्री विनोद पहाडी डा. भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भईसक्नुभएको छ ।
पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा आवद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष (२०६१), नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य (२०५६) एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल ( २०५३–५८) सभापति रहिसक्नुभएको छ ।

दलित समुदायको अधिकार र उत्थानका लागि विभिन्न संघसंस्थाहरुमा क्रियाशील पहाडीले सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान÷अध्ययन कार्यमा समेत योगदान गर्नुभएको छ । उहाँ लेखक तथा विश्लेषक हुनुका साथै विभिन्न मानव अधिकार संस्थाहरुमा पनि क्रियाशील हुनुहुन्छ ।
अभियानकै क्रममा पहाडीले ब्रिटेन, फ्रान्स, जापान, स्विजरल्याण्ड, साउथ अफ्रिका, मेक्सिको, बेल्जियम, रुवाण्डा, बुरुण्डी, युगाण्डा, केन्यासहित १९ देशको भ्रमण गर्नुभएको छ ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७९ जेठ १६

नागरिक अपेक्षा अनुरुप योगदान गर्न राजनीतिक दलहरुलाई आग्रह

प्रेस विज्ञप्ति
नागरिक अपेक्षा अनुरुप योगदान गर्न राजनीतिक दलहरुलाई आग्रह
१५ औँ गणतन्त्र दिवसको अवसरमा २०७९ जेठ १५ गते मानव अधिकार तथा शान्ति समाजको आयोजनामा विभिन्न जिल्लामा कार्यक्रमहरु सम्पन्न भएको छ । शान्ति समाज काठमाण्डौ शाखाद्वारा आयोजित “लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरु” विषयक गोष्ठीमा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले राजनीतिक दलहरुले नागरिक अपेक्षा अनुरुप भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताउनुभयो ।
शान्ति समाज काठमाण्डौ शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा जोरपाटीमा सम्पन्न गोष्ठीमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा. गंगाधर अधिकारी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा, पूर्व उपमेयर शान्ति नेपाल, गोकर्णेश्वर वडा न. ५ का अध्यक्ष नारायण सुवेदी, ६ का अध्यक्ष नवराज लामा, समाजसेवी श्रीराम चालिसे, सार्जन चापागाईले मन्तव् य व्यक्त गर्नुभएको थियो ।
यसैगरी शान्ति समाज पाल्पा शाखाद्वारा जेठ १५ गते आयोजित “लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरु” विषयक विचार गोष्ठीमा जिल्ला न्यायाधीश खड्गबहादुर केसी, शान्ति समाजका उपसभापति कृष्णबहादुर रावल, पत्रकार महासंघ जिल्ला अध्यक्ष रेखिराम राना, नेपाली कांग्रेस पाल्लाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष घनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका प्रतिनिधि मथुरा ढकाल लगायत राजनीतिक समाज र नागरिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । पाल्पा शाखा सभापति अरुण ज्ञवालीको सभापतित्वमा सम्पन्न विचार गोष्ठीमा उपसभापति रेणुका देवकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित विचार गोष्ठीमा तुलसीपुर उपमहानगरपालिकाका मेयर (प्रमुख) टिकाराम खड्का, उपमेयर स्यानी चौधरी, दङगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा बुढाथोकी, शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली, पूर्व उपसभापति मोहन धिताल, दाङ शाखा सभापति तुलसीराम सुनार, नव निर्वाचित जनप्रतिनिधिहरु दुजमान भण्डारी, रामबहादुर जिसी, शिवानन्द डाँगी, नागरिक समाजका अगुवा टिकाराम रेग्मी, जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारी,महिला मानव अधिकार रक्षक सञ्जालकी पदमा चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साथै १५ औँ गणतन्त्र दिवसका अवसरमा शान्ति समाज ललितपुर शाखाद्वारा आयोजित कार्यक्रममा स्रष्टा व्याकुल माइला, डा लालबहादुर पुन, शान्ति समाजका केन्द्रीय सदस्य चन्द्रमणि बन्जारा, पूर्व सचिव बलबहादुर गाहा मगर, शाखा सभापति संजोग चाम्लिङ राईले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
१५ औँ गणतन्त्र दिवसकै अवसरमा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा जितपुरमा आयोजित सुशासन र गणतन्त्र विषयक कोण सभामा शान्ति समाजका केन्द्रीय सदस्य दिलबहादुर कार्की, कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी १५ औँ गणतन्त्र दिवसका अवसरमा शान्ति समाजका शाखाहरुले जेठ १५ गते साँझ विभिन्न जिल्लामा दिपावली गर्दैछन् ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७९ जेठ १५ दिउँसो १ बजे

पत्रकारको सुरक्षामा जोड दिँदै मनाइयो प्रेस स्वतन्त्रता दिवस

प्रेस विज्ञप्ति
पत्रकारको सुरक्षामा जोड दिँदै मनाइयो प्रेस स्वतन्त्रता दिवस
विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाजले प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षामा जोड दिँदै प्रदर्शन गरेको छ ।
२०७९ वैशाख २० गते वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो भन्दै प्रेस स्वतन्त्रता सदा सर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डे, शान्ति समाजका केन्द्रिय सचिव एवं पत्रकार मिना ढकाल, रुपन्देही शाखा सभापति डिपी खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै शान्ति समाज दाङ शाखाको आयोजनामा दाङको तुलसीपुरमा वैशाख २० गते प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न भएको छ । शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपसभापति एवं पत्रकार सुशिल बस्नेतले सञ्चारक्षेत्रमा क्रियाशील ब्यक्तिहरुको मनोवल उच्च बनाउन सबैले योगदान गर्नुपर्नेमा जोड दिनुभयो । ब्यवसायिक पत्रकारिताका लागि पेशागत सुरक्षा चुनौतिपूर्ण रहेको धारणा व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले पेशागत तथा भौतिक असुरक्षाका कारणले केही पत्रकारहरु पेशाबाट बिस्थापित हुन पुगेको र त्यो क्रम अझै बढदै गएको र राज्यले तोकेको न्युनतम पारिश्रमिक समेत उपलब्ध गराउन संचार संस्थाहरुले नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ अन्तराष्ट्रिय सम्बन्ध बिभागका सदस्य गोपाल शर्मा भट्टराई, नेपाल पत्रकार महासंघका सदस्य उमा भण्डारी र दिपक बोहरा, पत्रकार आशिष केसी, जितसागर जिएम, शान्ति समाजका सचिव निर्मल नेपाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय मजदुर दिवस १ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा २०७९ वैशाख १८ गते ‘श्रमिकहरुको सामाजिक सुरक्षाको प्रत्याभूति’ बिषयक बिचार गोष्ठी तुलसीपुरमा सम्पन्न भएको थियो ।
साथै शान्ति समाज कास्की शाखाको आयोजनामा वैशाख १८ गते पोखरामा ‘श्रमको सम्मान ः सम्मृद्विको आधार ः श्रमिकको अधिकार मानव अधिकार’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो । शान्ति समाज कास्की शाखा सभापति तिर्थराज न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७९ वैशाख २०

भ्रष्टाचारमुक्त शासनको आह्वान गर्दै शान्ति समाजले मनायो लोकतन्त्र दिवस

प्रेस विज्ञप्ति
भ्रष्टाचारमुक्त शासनको आह्वान गर्दै शान्ति समाजले मनायो लोकतन्त्र दिवस
विगत २६ वर्षदेखि लोकतन्त्रका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गदैै सोह्रौ लोकतन्त्र दिवस मनाएको छ । २०७९ वैशाख ११ गते सोह्रौ लोकतन्त्र दिवसका उपलक्ष्यमा शान्ति समाजद्वारा रुपन्देहीको वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायीत्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सहभागिहरुले लोकतन्त्र जिन्दावाद, मितव्ययी निर्वाचन ः भ्रष्टाचारमुक्त शासन, दिगो लोकतन्त्रका लागि सुशासन, आजको आवश्यकता ः प्रविधिमैत्री निर्वाचन, लोकतन्त्रको आधार ः शान्ति र मानव अधिकार, लोकतन्त्रको गन्तव्य ः दण्डहीनताको अन्त्य, वैज्ञानिक शिक्षा ः सबैको अधिकार, गुणस्तरीय स्वास्थ्य सेवा ः सबैको अधिकार, लोकतान्त्रिक संस्कृति ः अहिंसात्मक जीवनधारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यसैगरी वैशाख ११ गते शान्ति समाज तेह्रथुम शाखाले सदरमुकाम म्याङ्लुङमा आयोजना गरेको प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सदस्य लक्ष्मीनारायण मिश्र र शाखा सभापति टिकाराम खुलालले लोकतन्त्रको स्थायीत्व र सम्मानका विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शान्ति समाज काठमाण्डौ शाखाद्वारा लोकतन्त्र दिवसका अवसरमा वैशाख ११ गते काठमाण्डौमा आयोजित शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन विषयक गोष्ठीमा शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी लोकतन्त्र दिवसकै अवसरमा शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित अन्तरक्रियामा शान्ति समाजका वरिष्ठ उपसभापति शुसील बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनार, सह सचिव उषा गौतम लगायत नागरिक समाज र राजनीतिक समाजका गरि एक दर्जन वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शाखा सचिव निर्मला डाँगीले गर्नुभएको थियो ।
लोकतन्त्र दिवसकै अवसरमा शान्ति समाज कास्की शाखाद्वारा वैशाख ११ गते पोखरामा निर्वाचन आचारसंहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । कास्की शाखा सभापति तिर्थराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण शाखा सचिव सावित्री पौडेल शर्माले गर्नुभएको थियो ।
सोह्रौ लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते साँझ शान्ति समाजका एक दर्जन शाखाले दिप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् ।
२०६२÷६३ को ऐतिहासिक जन आन्दोलनको पृष्ठभूमीमा योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले वैशाख ११ गते लोकतन्त्र दिवस देशव्यापी रुपमा कार्यक्रम आयोजना गरि मनाउँदै आएको छ ।

समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७९ वैशाख ११

विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

प्रेस विज्ञप्ति

विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

१. विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै २०७८ चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दिप प्रज्वलनमा युद्धलाई निषेध र शान्ति प्रवद्र्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउँन र नदी जोगाउन समेत आह्वान गरिएको थियो । यसैगरी चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै दिप प्रज्वलन गरिएको थियो ।
२. २० जिल्लामा हिमालय बचाउँ आन्दोलन अन्तर्गत कार्यक्रम ः २०७८ चैत १७ गते गोरखाबाट शुरु भएको शान्ति समाजको हिमालय बचाउँ नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध ः शान्ति विशेष र लागू औषध÷मदिरा दुव्र्यसन विरुद्धको अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दिप प्रज्वलनसहित समापन भएको छ । यस अभियान अन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमानथाङ्गसहित लुम्बिनी, वाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरि २० जिल्लाका २२ स्थानमा दर्जनौ सभा सम्पन्न भएको थियो । अभियानको विभिन्न चरणमा शान्ति समाजका संस्थापक सभापति, सभापति, सल्लाहकारहरु र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको सहभागिता थियो ।
अभियानका दौरान जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारण हिमालय क्षेत्रमा अनपेक्षित रुपमा तापक्रममा वृद्धि भई हिमाल नाङ्गीन थालेको र नदीको अत्यधिक दोहनका कारण थप खतरा उत्पन्न भएको हुँदा करोडौ जीवनको स्रोत हिमालय बचाउँन र नदी जोगाउँन ठोस इच्छाशक्ति नीति र योजना स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै आवश्यक भएकोतर्फ ध्यानाकर्षण गराइएको थियो ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केकास
मिति ः २०७८ चैत २५

लोमानथाङ्गमा हिमालय बचाउँ अभियान कार्यक्रम

प्रेस विज्ञप्ति

लोमानथाङ्गमा हिमालय बचाउँ अभियान कार्यक्रम

मानव अधिकार तथा शान्ति समाजद्वारा २०७८ चैत २० गते मुस्ताङको लोमानथाङ्गमा हिमालय बचाउँ ः नदी जोगाउँ भन्ने आह्वानसहित जागरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति कृष्ण रावल र आजीवन सदस्य मणीराज घिमिरे लगायतको सहभागिता थियो भने कार्यक्रमका दौरान जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाउँ अभियान र युद्ध निषेध ः शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु वितरण गरिएको थियो ।२०७८ चैत १७ गते गोरखाबाट शुरु भएको शान्ति समाजको हिमालय बचाउँ ः नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार विषयक अभियानका क्रममा गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङमा प्रदर्शन एवं कोणसभा सम्पन्न भएको थियो । सोही अभियानका दौरान लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध जनचेतना र युद्ध निषेध ः शान्ति विशेष अभियानमा केन्द्रीत रहि अवधारणापत्रहरु समेत वितरण गरिएको थियो । कोण सभाहरुलाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति कृष्णबहादुर रावल, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य किरण ढकाल र काठमाण्डौ शाखा का.वा सभापति भगवान पुडासैनी लगायत शान्तिवादीहरुले सम्बोधन गर्नुभएको थियो ।
यसैगरी रुकुम पुर्व, रुकुम पश्चिम र सल्यानमा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति सुशिल बस्नेत, केन्द्रीय सचिव निर्मल नेपाली, दाङ शाखा सभापति तुलसीराम सुनारले संवोधन गर्नुभएको थियो ।

समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति : २०७८ चैत २०