सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म?

प्रेस विज्ञप्ति
सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म?
जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस २१ मार्चका सन्दर्भमा सामाजिक न्यायका लागि क्रियाशील मानव अधिकार तथा शान्ति समाजले छुवाछुत, भेदभावका घटनामा संलग्नहरुलाई दण्डीत गर्न जोड दिँदै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । “सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म?” भन्दै २०८० चैत ८ गते बिहान शान्ति समाजका काठमाण्डौ शाखाले जोरपाटीमा, चितवन शाखाले भरतपुरमा प्रदर्शन गरेका छन् । यसैगरी सुर्खेत शाखाले वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस्तै पाल्पा, दाङ, नवलपुर लगायत शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।
सन् १९६० को मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिलमा रंगभेदी कानून विरुद्ध आयोजित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । सो बर्बरताको विरोध र त्रासदीको स्मरण गर्दै यो दिवस विश्वव्यापी रुपमा मनाउने गरिएको छ भने सन् १९६६ मा राष्ट्रसंघ महासभाले सबै प्रकारका जातीय विभेद अन्त्यका लागि आफ्नो प्रयास दोब्बर गर्न आह्वान गरेको थियो ।
यसैगरी शान्ति समाजले काभ्रे जिल्ला चौंरिदेउराली गाउँपालिकास्थित बच्छेस्वरि प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई रु ४५ हजारको सहयोग (स्टेसनरी सामग्री) गरेको छ । शान्ति समाजका सभापति रामकृष्ण बराल, कोषाध्यक्ष किरण ढकाल, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेलसहितले २०८० चैत ७ गते उक्त विद्यालयमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
८ चैत २०८०, मध्यान्ह् १२ बजे