रुस युक्रेन युद्धको दुई वर्षः युद्ध तत्काल अन्त्य गर्न आह्वानसहित विभिन्न जिल्लामा प्रदर्शन

प्रेस विज्ञप्ति
रुस युक्रेन युद्धको दुई वर्षः युद्ध तत्काल अन्त्य गर्न आह्वानसहित विभिन्न जिल्लामा प्रदर्शन

सन् २०२२ को फेव्रुवरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपश्चात शुरु भएको रुस युक्रेन युद्ध दुई वर्ष पुगेको छ । कहालिलाग्दो युद्ध तत्काल अन्त्य गर्न रुसलाई पुन आग्रह गर्दै २३ फेव्रुवरी अर्थात २०८० फागुन ११ गते मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुले काठमाण्डौ, दाङ, संखुवासभा, चितवन, इलाम र ललितपुर जिल्लामा प्रदर्शन गरेका छन् ।
यसैगरी मानवीय युद्धविराम घोषणा गरि तत्काल युद्ध रोक्न इजरायललाई आग्रह गरिएको छ । प्रदर्शनमा रुस अति भयोः युद्ध तत्काल अन्त्य गर, युक्रेनमाथि आक्रमण बन्द गर, रुसः युद्ध रोक, शान्ति रोज, रुसी सेनामा नेपालीलाई भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य बन्द गर, रुस–युक्रेन युद्धको दुई वर्षः उपलब्धि ध्वंस र विनास मात्र, इजरायलः तत्काल युद्धविराम गर, इजरायलः मानवता विरुद्धको अपराध बन्द गर, हमासः आतंकवाद बन्द गर, हमासः विपिन जोशी लगायत बन्धक बनाएका सबैलाई विना सर्त रिहा गर, इजरायल–हमास युद्धको १२८ दिनः सभ्यता लज्जित, मानवता पराजित लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
यस्तै शान्ति समाजका अन्य जिल्ला शाखाहरुले पनि फागुन ११ गते साँझ प्रदर्शन गर्दैछन् ।
स्मरणीय छ, मानव अधिकार तथा शान्ति समाजले स्थापनाकालदेखि नै युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गरिरहेको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
११ फागुन २०८०

३४ बालिकालाई तेस्रो वर्षको छात्रवृत्ति प्रदान

प्रेस विज्ञप्ति
३४ बालिकालाई तेस्रो वर्षको छात्रवृत्ति प्रदान
‘छोरी पढाऔ: गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको पाँच वर्षे बालिका छात्रवृत्ति अभियान अन्तगर्त ३४ जना विपन्न दलित समुदायका बालिकालाई तेस्रो वर्षको छात्रवृत्ति प्रदान गरिएको छ । मोरङ जिल्लाको थलाहामा २०८० फागुन ८ गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा.वि का २७ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का सात जना गरि ३१ जना बालिकालाई वर्ष २०८० को तेस्रो वर्षको छात्रवृत्ति रकम प्रत्येकलाई रु. १२ हजार प्रदान गरिएको हो ।
शान्ति समाज मोरङ शाखाका सभापति प्रा.डा जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल र सविच लक्ष्मीनारायण मिश्रले शान्ति समाजद्वारा सञ्चालित बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पार्नुभएको थियो ।
२०७८ सालबाट प्रारम्भ भएको पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुले चार जना, रामप्रसाद जोशीले दुई जना, अपूर्वा शर्माले दुई जना र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गर्नु भएको छ । यसैगरी अधिकारकर्मीहरु रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बरालले यो छात्रवृत्ति अभियानका लागि सहयोग गर्नुभएको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक,मानव अधिकार तथा शान्ति समाज
मिति: ८ फागुन २०८०

इजरायल सिर्जित त्रासदी विरुद्ध शान्ति समाजको प्रदर्शन

प्रेस विज्ञप्ति
इजरायल सिर्जित त्रासदी विरुद्ध शान्ति समाजको प्रदर्शन

सन् २०२३ को अक्टोवर ७ का दिन हमासले दक्षिणी इजरायलमा गरेको आतंकी हमला पश्चात शुरु भएको हमास इजरायल युद्धको चार महिनामा २८ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यसमध्ये २७ हजार प्यालेष्टिनी र १२ सय बढी इजरायली छन् । ६४ हजार बढी घाइते भएका छन् । यसैगरी कमिटि टु प्रोटेक्ट जर्नलिष्टका अनुसार ८५ जना पत्रकार मारिएका छन् जसमध्ये ७८ जना प्यालेष्टिनी, ४ जना इजरायली र ३ जना लेबनानी छन् । १६ जना पत्रकार घाइते ४ जना हराएका र २५ जना पक्राउ परेका छन् । इजरायल सिर्जित त्रासदीका कारण गाजामा १९ लाख बढी प्यालेष्टिनीहरु विस्थापित भएको समाचार प्रकाशमा आएको छ । एकातिर युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको बारम्बारको आग्रहलाई इजरायलले वेवास्ता गर्दै आएको छ भने अर्कोतिर युद्धका कारण निर्दोष प्यालेष्टिनी नागरिकहरु मारिने र विस्थापित हुने क्रम बढ्दो छ ।
यसै सन्दर्भमा आणविक अस्त्रको विश्वव्यापी उन्मुलन र युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले २०८० माघ २९ गते दिउँसो काठमाण्डौस्थित इजरायली राजदुतावास अगाडि युद्ध विरोधी प्रदर्शन गरेको छ । इजरायललाई तत्काल युद्धविरामको घोषणा गर्न र मानवता विरुद्धको अपराध बन्द गर्न आग्रहसहित गरिएको आधा घण्टाको प्रदर्शनमा सहभागिहरुले इजरायलः तत्काल युद्धविराम घोषणा गर, इजरायलः निर्दोष प्यालेष्टिनीहरुको हत्या बन्द गर, इजरायली बर्बरताले मानव सभ्यता लज्जित, युद्ध समस्याको समाधान होइन, इजरायलः मानवता विरुद्धको अपराध बन्द गर, इजरायल युद्ध रोकः शान्ति प्रवद्र्धन गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शन पश्चात इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र नेपालस्थित इजरायली दुतावासले बुझ्न नमानेका कारण हुलाकबाट पठाइएको छ । पत्रमा “इजरायल सिर्जित त्रासदीका कारण गाजामा १९ लाख बढी प्यालेष्टिनीहरु विस्थापित भएको, हमासको आतंक निन्दनीय भएको तर कहालिलाग्दो यो युद्धले झनै ठूलो आतंक सिर्जना गरेको दुखद अनुभव मानव अधिकार तथा शान्ति समाजले गरेको उल्लेख गर्दै तत्काल युद्धविरामको घोषणा गर्न, मानवता विरुद्धको अपराध बन्द गर्न, युद्धलाई सदा सदाको लागि अन्त्य गर्न र शान्ति प्रवद्र्धन हेतु ठोस योगदान गर्न” इजरायललाई आग्रह गरिएको छ । प्रदर्शनमा ३० जना शान्तिवादीहरुको सहभागिता थियो ।
स्मरणीय छ, मानव अधिकार तथा शान्ति समाजले इजरायलको बर्बरता र हमासको आतंक दुवै विश्व शान्तिका लागि खतरा बताउँदै आएको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२९ माघ २०८०

आलु प्याजमा कर लगाउने सरकार स्वयं अरबौको कर घोटालामा लिप्त

प्रेस विज्ञप्ति
आलु प्याजमा कर लगाउने सरकार स्वयं अरबौको कर घोटालामा लिप्त

एनसेल महाघोटालादेखि भ्रष्टाचारका अनेकौ घोटाला विरुद्ध प्रहार गर्दै ९३ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा २०८० माघ २५ गते काठमाण्डौमा आयोजित शान्ति काव्य प्रवाहमा रचना प्रस्तुत गर्दै स्रष्टाहरुले ४० अरब वार्षिक आम्दानी हुने कम्पनी ६ अरबमा विक्री भएको भनिएकोप्रति व्यङ्ग गर्दै नेताहरु स्वयं विक्री हुन थालेको भाव व्यक्त गरेका थिए । जनतालाई आलु प्याजमा कर लगाउने सरकार अरबौको कर घोटालामा स्वयं लिप्त भएको भन्दै स्रष्टाहरुले आक्रोश व्यक्त गरेका थिए । काव्य प्रवाहमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पणसहित कवितासमेत वाचन गरिएको थियो ।
समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न भ्रष्टाचार विरुद्ध केन्द्रीत ९३ औँ शान्ति काव्य प्रवाहमा रामबहादुर पहाडी, रामेश्वरी पन्त, मेनका पोखरेल आचार्य, दुर्गाकिरण तिवारी, ललिता दोषी, लक्ष्मी एडी, रत्ननीधि रेग्मी, डा. बमबहादुर जिताली, भाग्यशाली अधिकारी, बाबुराम लामिछाने, रुद्र अधिकारी, भुवन शिवाकोटी, गगनदीप सर्व, विजयराज न्यौपाने, निर्मलरमण पराजुली, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, टेकबहादुर लौहारी, कृष्ण पहाडी सहित १९ जना स्रष्टाहरुले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।

समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२५ माघ २०८०

रुसी सेनामा नेपालीहरुको भर्ती र युद्धमा प्रयोग विरुद्ध प्रदर्शन

प्रेस विज्ञप्ति
रुसी सेनामा नेपालीहरुको भर्ती र युद्धमा प्रयोग विरुद्ध प्रदर्शन

नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । २०८० माघ २२ गते दिउँसो काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि भएको प्रदर्शनमा नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।
स्मरणीय छ, रुसी सेनामा भर्ती भएका एक दर्जन बढी नेपालीहरु सो युद्धमा मारिएको, सय भन्दा बढी नेपालीहरु वेपत्ता भएको र ठूलो संख्यामा नेपालीहरु रुसी सेनामा भर्ती भएको तथ्य प्रकाशमा आएको छ ।
सन् २०२२ को फेव्रुवरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपश्चात शुरु भएको रुस युक्रेन युद्धको ७१२ औँ दिन आयोजित प्रदर्शनमा शान्तिवादीहरुले रुसः क्षति अति भयो–युद्ध तत्काल अन्त्य गर, रुसः युद्ध रोक–शान्ति रोज, RUSSIA: STOP WAR PROMOTE PEACE, RUSSIA: END ENMITY SAVE HUMANITY, RUSSIA: STOP WAR IN UKRAINE, RUSSIA: STOP THE RECRUITMENT OF NEPALI NATIONALS IN RUSSIAN ARMY, RUSSIA: SEND BACK ALL NEPALESE RECRUITED TO FIGHT IN UKRAINE, 712 DAYS OF WAR : NOTHING ACHIEVED EXCEPT DEVASTATION, 712 DAYS OF WAR : GAINED NOTHING, LOST MANY THINGS लगायतका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
प्रदर्शन पश्चात रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । ज्ञापनपत्रमा युद्धबाट सर्वनाश बाहेक केही हासिल नभएको भन्दै कहालिलाग्दो युद्धको सिलसिला तत्काल अन्त्य गर्न आग्रह गरिएको छ । यसैगरी नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, पूर्व सभापतिहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, शान्तिवादीहरु डा. केदारनरसिंह केसी, चन्द्रमणी बञ्जारा, किरण ढकाल, दिवाकर पुडासैनी, बटुकृष्ण ढुंगेल, जगन्नाथ पुडासैनी, भगवान पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, उमा गौतम, यमुना कँडेल, रोज विष्ट, रिता अधिकारी, सुप्रिया सापकोटा, जानुका पन्त, ईश्वर पुडासैनी, नानीकाजी गिरी, सार्जन चापागाई, मणिराम दाहाल, वुद्ध रिसाल, मधु पुडासैनी, लक्ष्मण पुडासैनी, बाबुराम न्यौपाने, केशव पुनसहित शान्तिवादीहरुको सहभागिता थियो ।
यसैगरी शान्ति समाजद्वारा सञ्चालित युद्ध निषेधः शान्ति विशेष अभियानका क्रममा माघ २१ गते शान्ति समाजका चितवन, सुर्खेत, पाल्पा, दाङ र रुपन्देही शाखाले प्रदर्शन गरेका थिए ।
विगत २८ वर्षदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको आह्वानसहित युद्धको विरोध गर्दै शान्ति समाजले युद्ध निषेध शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको छ । स्मरणीय छ, रुसले युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै सन् २०२२ को प्रारम्भमा युद्धको कुनै पनि संभावनालाई टार्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले पटक पटक प्रदर्शन गरेको थियो । सन् २०२२ को फेव्रुवरी २३ मा काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि प्रदर्शन गर्दै युक्रेनमाथि आक्रमण नगर्न शान्ति समाजले ध्यानाकर्षण गराएको थियो भने युद्ध शुरु भएपछि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै नेपालभरि सय भन्दा बढी प्रदर्शन गरिसकेको छ ।

समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२२ माघ २०८०