स्वयंसेवी आन्दोलनहरुलाई हिमालय बचाउँ अभियानमा सरिक हुन आग्रह

मानव अधिकार तथा शान्ति समाज र अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिको आयोजनामा २०७३ मंसिर २० गते काठमाण्डौँमा “हिमालय बचाउँ अभियान र स्वयंसेवी आन्दोलन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय स्वयंसेवक दिवस ( ५ डिसेम्बर) का सन्दर्भमा आयोजित उक्त कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले स्वयंसेवी आन्दोलनहरुलाई हिमालय बचाउँ अभियानमा केन्द्रीत गराउनुपर्ने कुरामा जोड दिदैँ हिमालमा हिउँ कम हुनु र नदिमा पानीको मात्रा घट्नु अनिष्टको संकेत भएको हुदाँ हिमालय बचाउँ आन्दोलनमा सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । समाजका सभापति गंगाधर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिद्धय  सांसदहरु दिपकप्रसाद कुइकेल र रामेश्वर फुयालले वन जलाधार तथा वातावरण संरक्षणका लागि आ आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने बताउनुभयो ।
कार्यक्रममा समाजका तर्फबाट तयार गरिएको अवधारणापत्र उपसभापति रेनुका पौडेलले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव उत्तम पुडासैनीले गर्नुभएको थियो ।
यसै गरी कार्यक्रममा डा. माधव कार्कीले जलवायु परिवर्तन विश्वव्यापी उष्णता र त्यसले कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा पारेको प्रभाव र संरक्षणका विषयमा केन्द्रीत रहि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष किशोर शाक्य, आयोजना प्रमुख राजेश प्रसाद सिहं, उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष सञ्जीव विक्रम राणा, जलवायु परिवर्तन सम्बन्धी विज्ञ ज्ञानेश बजाचार्यसहित एक दर्जन सहभागीहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।