भारतीय र पाकिस्तानी दुतावास अगाडी शान्ति समाजको धर्ना सम्पन्न

६८ औँ विश्व मानव अधिकार दिवसको पुर्व सन्ध्यामा मंसिर २४ गते शुक्रबार (९ डिसेम्बर) मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाण्डौँस्थित भारतीय दुतावास र पाकिस्तानी दुतावास अगाडि “युद्ध निषेध ः शान्ति विशेष” ( भन्ने मुल नारासहित धर्ना सम्पन्न भएको छ ।
युद्ध गर्न पाइदैँन भन्ने नारासहित शान्तिवादीहरुले बिहान ११ बजेदेखी पाकिस्तानी दुतावास अगाडी र दिउँसो १२ ः ४० देखी भारतीय दुतावास अगाडी धर्ना दिएका थिए ।
धर्नामा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले युद्धमा सबैको क्षय हुने र शान्तिमा सबैको जय हुने हुदाँ शान्तिका पक्षमा खबरदारी जारी रहने बताउनुभयो । पहाडीले शान्तिका लागि समयमै पसिना नबगाए अनर्थ हुन सक्ने हुदाँ दक्षिण एशियाको नागरिक समाज  शान्तिको पक्षमा अझ क्रियाशील हुनुपर्ने कुरामा जोड दिनुभयो । मानव अधिकार तथा शान्ति समाज युद्ध विरोधी संस्था हो र युद्धका कुनै पनि संम्भावनालाई अन्त्य गर्न नागरिक पहल तिव्र पार्नुपर्छ भन्ने मान्यता अनुरुप धर्ना आयोजना गरिएको समाजका सभापति गंगाधर अधिकारीले बताउनुभयो । धर्ना प्रदर्शनको मुल उद्देश्य युद्ध, हिंसा एवं आतंकवादको खारेजी र शान्ति, सद्भाव तथा समझदारीको विस्तार मा जोड दिनु रहेको महासचिव उत्तम पुडासैनीले बताउनुभयो ।