प्रशस्त खुला स्थान र वैकल्पिक आश्रयस्थलको निर्माणमा जोड

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०७३ मंसिर २० गते शहरी विकास मन्त्री अर्जुननरसिंह केसी संग भेटी शहरी विकास लगायतका समसामायिक विषयमा छलफल गरेको छ । छलफलमा अव्यवस्थित शहरी क्षेत्र विस्तारको साटो व्यवस्थित साना शहरहरुको स्थापना र विकासका लागि पुर्वाधार खडा गर्नु उपयुक्त हुन्छ भनी शान्ति समाजले विगत एक दशकदेखी आवाज उठाउँदै आएको स्मरण गराउँदै आवश्यक पुर्वाधारसहित विशिष्ट मापदण्ड अवलम्वन गरी अत्याधुनिक शहर विकास र विस्तारसहितको राष्ट्रिय कार्य योजना लागु गर्न आग्रह गरेको थियो ।
साथै प्राकृतिक तवरमा विपत्तिको जोखिममा रहेका शहरहरु पहिचान गरी त्यस्ता शहरहरुको  विस्तारको प्रक्रियालाई रोक्नुपर्ने र प्रत्येक शहरहरुमा विपत्तिको बेला आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने प्रशस्त खुला स्थान र वैकल्पिक आश्रयस्थलको निर्माणमा जोड दिएको थियो ।
यसै गरी नयाँ शहरहरु विकास र विस्तार गर्दा हरितपट्टी, साइकललेन, पदयात्री लेन, प्रशस्त पार्क र बगैँचाको व्यवस्था अनिवार्य हुनुपर्ने र फोहोरमैला र ढलको व्यवस्थापन र प्रशोधनको समुचित व्यवस्थापनतर्फ ध्यानाकर्षण गराइएको थियो ।
समाजको प्रतिनिधिमण्डलमा समाजका सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेंल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव पुष्पा केसी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, आजीवन सदस्य डा. केदारनरसिंह केसी र सदस्य गोकर्णमणी पुडासैनी लगायत संग्लन हुनुहुन्थ्यो ।