संघीय समाजवादी फोरम, तमलोपा र सद्भावना पार्टीका शिर्ष नेताहरुसँग छलफल

मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७३ कात्र्तिक २४ गते संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका शिर्ष नेताहरुसँग समसामायिक विषयमा छलफल गरेको छ । यस क्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग फोरमको केन्द्रीय कार्यालय तिनकुनेमा, तमलोपा अध्यक्ष महन्थ ठाकुर लगायत पदाधिकारीहरुसँग तमलोपा केन्द्रीय कार्यालय विजुलीबजारमा र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग पार्टी कार्यालय वानेश्वरमा छुट्टाछुट्टै छलफल सम्पन्न भएको थियो । छलफलका दौरान संविधान संसोधनको प्रकृया अघि बढाइदा संविधानको प्रस्तावनामा प्राथमिकताका साथ “अहिंसा” शब्दावली थप्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो । उपरोक्त दलका नेताहरुले यो विषयलाई अघि बढाउने सन्दर्भमा व्यक्त गर्नुभएको धारणाले शान्ति समाज उत्साहित भएको छ ।
साथै लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा उभिन र भविष्यमा कुनै पनि मानव अधिकार उल्लंघनकर्तालाई कुनै पनि पदमा नियुक्त गर्न नहुने विषयमा समेत ध्यानाकर्षण गराइएको थियो ।
संवैधानिक एवं राजनीतिक रिक्तता उत्पन्न हुन नदिन समयमै निर्वाचन हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउदैँ प्रतिनीधिमण्डलले संविधानमा जीवनचक्र परिस्थिति सन्तुलनको विषय समावेश हुनुपर्ने कुरामा पनि जोड दिएको थियो । छलफलका दौरान तीनै दलका नेताहरुले मधेसप्रति राज्यद्धारा गरिएको विभेद, विगतको मधेस आन्दोलन, संविधान संसोधनका क्रममा अघि सारिएका कार्यसुचि र नागरिक समाज एवं अधिकारकर्मीहरुबाट गरिएको अपेक्षा आदी बारे चर्चा गर्नुभएको थियो ।
समाजको प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल सदस्यहरु रामकृष्ण बराल लगायत संलग्न हुनुहुन्थ्यो ।