मानव अधिकार लगायत समसामायिक विषयमा मन्त्री तथा राजनीतिक दलका नेताहरुसँग छलफल

मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७३ कात्र्तिक २३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जवरासँग उहाँको निवास महाराजगञ्जमा समसामायिक विषयमा छलफल गरेको छ । छलफलका दौरान संविधान संसोधनको प्रकृया अघि बढाइदा संविधानको प्रस्तावनामा प्राथमिकताका साथ “अहिंसा” शब्दावली थप्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो । साथै लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा उभिन आग्रहसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको धारण सार्वजनिक गर्न पनि आग्रह गरिएको थियो ।
समाजको प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, सदस्यहरु रामकृष्ण बराल, जयराम पुडासैनी, हरिभक्त पुडासैनी लगायत संलग्न हुनुहुन्थ्यो ।
यसैगरी समाजको प्रतिनिधिमण्डलले शान्ति तथा पुननिर्माण मन्त्री सीतादेवी यादवसँग कात्र्तिक २३ गते छलफल गरेको छ । शान्ति तथा पुननिर्माण मन्त्रालय सिंहदरबारमा भएको छलफलमा शान्ति प्रक्रियाका बाँकी रहेका विषयहरुलाई टुङ्ग्याउने दिशामा तदारुकताका साथ कार्य गर्नुपर्ने, सशस्त्र द्धन्दका दौरान मानव अधिकार उल्लंघन र ज्यादतिका शिकार भएकाहरुलाई न्याय र राहत प्रदान गर्ने तथ्य सुनिश्चित गर्नुपर्ने, द्धन्दकालमा माओवादीले कब्जा गरेका नागरिकहरुको जग्गा लगायत सम्पत्ति शिघ्र फिर्ता हुनुपर्ने, मेलमिलापका नाममा दण्डहिनतालाई संस्थागत गर्ने काम नहुने र त्यस्तो कार्यमा सत्य निरुपण आयोग र वेपत्ता छानविन आयोग माध्यम बन्नु नहुने र राष्ट्रिय शान्ति आयोग गठन गर्नुपर्ने लगायत विषयमा ध्यानाकर्षण गराइएको थियो ।
प्रतिनिधिमण्डलमा समाजका संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, सदस्यहरु रामकृष्ण बराल, जयराम पुडासैनी, हरिभक्त पुडासैनी लगायत संलग्न हुनुहुन्थ्यो ।
यस्तै समाजको प्रतिनिधिमण्डलले कात्र्तिक २३ गते जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशी सँग पनि छलफल गरेको छ । संविधान संसोधनको प्रकृया अघि बढाइदा संविधानको प्रस्तावनामा जीवनचक्र परिस्थिति सन्तुलन संम्बोधन हुनुपर्ने, हिमालय क्षेत्रको संरक्षणको लागि विशेष कार्ययोजना सार्वजनिक गर्नुपर्ने, जलवायु परिवर्तन र विश्वव्यापी उष्णताको दुष्प्रभावबाट हिमालय क्षेत्रलाई बचाउन हिमालयको सेरोफेरोको संरक्षणका लागि क्षेत्रीय स्तरमा समेत विशेष संरचना निर्माणका लागि नेपालले पहल गर्नुपर्ने, वायु प्रदुषण, भुमि प्रदुषण र जल प्रदुषणलाई रोक्न प्रभावकारी नीति अवलम्वन गर्नुपर्ने, मानव अधिकार, शान्तिका साथसाथै वातावरणीय शिक्षा विद्यालयका पाठ्यक्रममा यथेष्ट रुपमा समावेश गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो ।
प्रतिनिधिमण्डलमा समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कडेंल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, सदस्यहरु रामकृष्ण बराल संलग्न हुनुहुन्थ्यो ।