वन तथा भूः संरक्षण मन्त्री शंकर भण्डारीसँग छलफल

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०७३ पुस १३ गते वन तथा भूः संरक्षण मन्त्री शंकर भण्डारीसँग भेटी शान्ति समाजले अघि सारेको १० वुदेँ अवधारणाबारे ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।
वन तथा भूः संरक्षण मन्त्रालयमा भएको छलफलमा तीव्र गतिमा भइरहेको वन विनाशले पारिस्थितिकीय चक्रमा नराम्रो असर पारिरहेको, जनसंख्या वृद्धि एवम् परम्परागत उर्जाको स्रोतका रुपमा वनपैदावरमा अत्यधिक निर्भरताले नेपालमा वन विनाश तीव्र हुदैँ गएको स्थितिमा वैकल्पिक उर्जाको व्यवस्थामा जोड दिन आग्रह गरिएको थियो । छलफलमा वन विनाशका कारण भुमिगत पानीको मुहान सुक्दै गएको र माटोलाई कसेर राख्ने वृक्षहरुको कटानका कारण वर्षात्का दिनमा पहिरो जाने तथा माटोको पानी सोस्ने क्षमतामा ह्रास भई भु–क्षयीकरण तथा लाखौ घनमिटर माटो बगेर जाने स्थितिलाई रोक्न विशेष पहल गर्नुपर्ने, वृक्षारोपण एवम् भएका वनहरुको संरक्षण र भु (माटो) व्यवस्थापनमार्फत् वायुमण्डलमा भएको कार्बनडाइअक्साइडको मात्रालाई घटाउनका लागि वृक्षारोपण तिव्र पार्न विशेष पहल गर्नुपर्ने, बढ्दो वन विनाशलाई रोक्न ठोस इच्छा शक्तिको प्रदर्शन गर्नुपर्ने र वन विनाश÷ फडानीमा संलग्नहरुलाई कानुनी कारवाही गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।
प्रतिनिधिमण्डलहरुमा समाजका सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिवहरु पुष्पा केसी र बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुङ्गेल, केन्द्रीय सदस्य कृष्ण बहादुर रावल लगायत ८ जना अधिकारकर्मीहरु संलग्न हुनुहुन्थ्यो ।