शान्तिपुर्ण तवरले चाडैँ निकास खोज्नुपर्ने कुरामा राजनीतिक समाज र नागरिक समाजको जोड

६८ औँ विश्व मानव अधिकार दिवस (१० डिसेम्बर) को अवसरमा  मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७३ मंसिर २५ गते काठमाण्डौँमा “राष्ट्रिय आवश्यकता ः सुशासन र पारदर्शिता” विषयक  प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हाल देशमा उत्पन्न राजनीतिक जटिलताबारे समेत चर्चा गर्दै  राजनीतिक समाज र नागरिक समाजका वक्ताहरुले शान्तिपुर्ण तवरले चाडैँ  निकास खोज्नुपर्ने कुरामा जोड दिनुभएको छ । उक्त कार्यक्रममा शान्ति समाजका तर्फबाट निषेधको राजनीति कसैले पनि गर्न नहुने, आरोप प्रत्यारोपको शिलशिला अन्त्य गरेर संवादलाई घनिभुत पार्दै अधिकारलाई केन्द्रविन्दुमा राखेर सहमति खोजिनुपर्ने कुरामा जोड दिदैँ समस्या बल्झाउन होइन सुल्झाउन नागरिक स्तरमा बहस अगाडि बढाइएको जानकारी समेत गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता सांसद भरतमोहन अधिकारीले र विशिष्ट अतिथिहरुको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री तथा सांसद डा. मिनेन्द्र रिजाल,  नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारी, संघीय समाजबादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ, सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सांसद नरसिंह चौधरीले सहमतिको राजनीतिमा जोड दिदैँ नेपालको एकता र अखण्डतालाई बल पु¥याउन संविधानमा सबैको अपनत्व र स्वामित्वको अनुभुति हुनु आवश्यक रहेको र वार्ता र संवादको माध्यमबाट राजनीतिक शक्तिले नै चाडैँ निकास दिनुपर्ने लगायतका विषयमा चर्चा गर्नुभएको थियो ।
कार्र्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नेपाल आदीबासी जनजाति महासंघका पुर्व अध्यक्ष राजकुमार लेखीसहित नागरिक अगुवाहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सभापति गंगाधर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सचिव पुष्पा केसी, सचिव बलबहादुर गाहा मगर, काठमाण्डौँ शाखाका कार्यबाहक सभापति रामकृष्ण बरालले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव उत्तम पुडासैनीले गर्नुभएको थियो ।