जातीय विभेद उन्मुलन हुन नसक्नुमा राजनीतिक नेतृत्वमा दृढ इच्छा शक्तिको अभाव

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजद्धारा जातीय विभेद उन्मुलनका लागि अन्तराष्ट्रिय दिवस (२१ मार्च) का सन्दर्भमा “आवधिक निर्वाचन, समावेशी संरचना र सामाजिक न्याय” विषयक विचार गोष्ठी चैत ८ गते काठमाण्डौँमा सम्पन्न भएको छ । समाजका सभापति गंगाधर अधिकारीको सभापतित्वमा सम्पन्न गोष्ठीमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, सांसद तथा पुर्व राज्यमन्त्री जित बहादुर (दर्जी) गौतम, पुर्व सांसद माओवादी केन्द्रका विश्वभक्त दुलाल आहुती, समाजका सल्लाहकार होमकान्त चौलागाई, समाजका संस्थापक सदस्य कृष्ण कडँेल, विभागीय संयोजक रत्नलक्ष्मी श्रेष्ठले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरुले नेपालमा विभिन्न काल खण्डमा ऐतिहासिक आन्दोलनहरु भएको उल्लेख गर्दै  राजनीतिक सत्ता परिवर्तन भएतापनि व्यवहारमा जातीय विभेद उन्मुलन हुन नसक्नुमा राजनीतिक नेतृत्वमा दृढ इच्छा शक्तिको अभाव नै कारण भएको औल्याएका थिए । सभासद र राजदुत नियुक्तिमा पैसाको चलखेल हुनु तर दलित र पिछडीएका समुदायलाई वेवास्ता गर्नु दुखद् भएको भन्दै वक्ताहरुले राज्य संयन्त्रलाई समावेशी बनाउन र दलित र पिछडीएकाहरुको उत्थानमा जोड दिन आग्रह गरेका थिए । विचार गोष्ठीमा उपसभापति रेनुका पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कवि रत्ननीधि रेग्मीले जातीय विभेद विरुद्ध कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन समाजका सचिव पुष्पा केसीले गर्नुभएको थियो ।