३७ बालिकालाई शान्ति समाजद्वारा रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान

प्रेस विज्ञप्ति
३७ बालिकालाई शान्ति समाजद्वारा रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान
मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई रु. १२ हजारका दरले रु.४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ । मोरङ जिल्लाको थलाहामा पुस १३ गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा.वि का २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का आठ जना गरि ३७ जना बालिकालाई वर्ष २०७८ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
‘छोरी पढाऔ ः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेल यिनै बालिकाहरुलाई रु. १२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने छ । मोरङको थलाहास्थित श्री जनता मा.वि.मा २०७८ पुस १३ गते आयोजित छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सभापति गोविन्द खनालले शान्ति समाजको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पार्दै यो अभियानले आर्थिक÷सामाजिक रुपमा पछि परेकाहरुको उत्थानमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
शान्ति समाज मोरङ शाखाका सभापति भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण विश्वास, जनता मा.वि.सञ्चालक समितिका अध्यक्ष बम राई, शान्ति समाजका केन्द्रीय सदस्य सुदीप रिजाल, मोरङ शाखा सचिव अशोक लामा, समाजसेवीहरु रामबाबु दाहाल, राजेन्द्र खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र उर्मिला पराजुलीले २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नु भएको छ ।
यसैगरी गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनाल गरी ३२ जनाले पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र रु. २२ लाख २० हजार सहयोग गर्नुहुने छ ।
समाजका तर्फबाट
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७८ पुस १३

अनैतिक प्रधानन्यायाधीश जबराको शिघ्र राजिनामा/बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

प्रेस विज्ञप्ति
अनैतिक प्रधानन्यायाधीश जबराको शिघ्र राजिनामा/बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन
७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस–१० डिसेम्बरका दिन २०७८ मङ्सिर २४ गते मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा/बहिर्गमनको माग गर्दै काठमाण्डौमा धर्ना प्रदर्शन सम्पन्न भएको छ । मानव अधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएको र अनैतिक प्रधान न्यायाधीश पदमा रहिरहनु आपत्तिजनक भएको हुँदा प्रधान न्यायाधीश जबराले शिघ्र राजिनामा दिनुपर्ने, राजिनामा नदिए बहिर्गमनका लागि महाभियोग लगाउन पनि शान्ति समाजले सम्वद्ध सबै दलहरुलाई आग्रह गरेको छ ।
धर्नामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कुकर्मले लोकतन्त्रको उपहास गरेको र यस्तो संवेदनशील विषयमा दलहरु मौन रहनु दलहरुको कमजोरी भएको बताउनुभयो ।
कार्यक्रममा शान्ति समाजका सल्लाहकार एवं पूर्व सभापति अधिवक्ता होमकान्त चौलागाईले मानव अधिकारको संरक्षणका लागि अन्तिम निकायको रुपमा रहेको सम्मानित सर्वोच्च अदालतको नेतृत्वमा हाल विचलन आएकोले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र बहिर्गमन आवश्यक भएको बताउँदै यसलाई न्यायालय शुद्धिकरणको प्रारम्भका रुपमा लिनुपर्ने बताउनुभयो ।
समाजका सल्लाहकार एवं पूर्व सभापति उत्तम पुडासैनीले न्यायालयमा भएको राजनीतिक नियुक्ति, न्यायीक विचलन आदीका कारण न्याय क्षेत्र प्रदुषित भएको भन्दै न्यायालय शुद्धिकरणका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
धर्ना प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु किरण ढकाल, उमा गौतम, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, ईश्वर पुडासैनी, प्रमोद फुयाल लगायतको सहभागिता थियो ।
यसैगरी मानव अधिकार दिवसकै दिन मंसिर २४ गते अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा÷बहिर्गमनको माग गर्दै शान्ति समाजका चितवन, दाङ, संखुवासभा, महोत्तरी, रुपन्देही, नवलपुर, तेह्रथुम लगायत शाखाहरुले प्रदर्शन गरेका छन् भने शान्ति समाज जिल्ला शाखाको आयोजनामा थप ५ जिल्लामा मंसिर २४ गते अपरान्ह् प्रदर्शन हुदैँछ ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ मङ्सिर २४

उमादेवी वादीलाई पुरस्कार प्रदान

प्रेस विज्ञप्ति

मानव अधिकार/सामाजिक न्यायका लागि योगदान हेतु उमादेवी वादीलाई पुरस्कार प्रदान
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७७ मानव अधिकार र सामाजिक न्यायका लागि उल्लेखनीय योगदान हेतु श्री उमादेवी वादीलाई  प्रदान गरिएको छ । ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा २०७८ मंसिर २३ गते शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले श्री वादीलाई रु. १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले मानव अधिकार, सामाजिक न्यायका लागि योद्धा उमादेवी वादीले निर्वाह गर्नुभएको विशिष्ट भूमिकाको चर्चा गर्नुभएको थियो ।
शान्ति समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्व सुदुरपश्चिम प्रदेश सभा सदस्य उमादेवी वादी, प्रदेश १ सांसद एवं पूर्व प्रदेशमन्त्री उषाकला राई, शान्ति समाजका पूर्व सभापतिहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी र पूर्व उपसभापति रेनुका पौडेलले पुरस्कार सन्दर्भ र सामाजिक न्यायको आन्दोलनमा शान्ति समाजको भूमिकाबारे  प्रकाश पार्नुभएको थियो ।
२०७६ सालमा स्थापित यो पुरस्कार गत वर्ष पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७८ मंसिर २३

प्रधानन्यायाधीशको राजिनामा/बर्हिगमनको माग गर्दै शान्ति समाजको जुलुस प्रदर्शन

प्रेस विज्ञप्ति
प्रधानन्यायाधीशको राजिनामा/बर्हिगमनको माग गर्दै शान्ति समाजको जुलुस प्रदर्शन
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा/बर्हिगमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । २०७८ कार्तिक २७ गते बिहान चितवनको पुलचोकमा आधा घण्टासम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा न्यायालयलाई प्रदुषित बनाउन पाइदैँन, सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिदैँन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश ः शिघ्र राजिनामा देउ, प्रधानन्यायाधीशले राजिनामा नदिए महाअभियोग लगाउ, वर्तमानको आवश्यकता ः न्यायालयको शुद्धिकरण, न्यायालय दुषित भो ः शुद्धिकरण आवश्यक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरु कृष्ण कँडेल र लिला खनाल, वरिष्ठ उपसभापति सुशिल बस्नेत, उपसभापतिहरु कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउत लगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र ३२ जिल्ला शाखाबाट प्रतिनिधिहरु सम्मिलित दुई दिवसीय अभिमुखिकरण कार्यक्रम कार्तिक २६ गते समाजको चितवन शाखाको आतिथेयमा गैडाकोटमा प्रारम्भ भएको छ भने २६ गते राति शान्ति काव्य प्रवाह सम्पन्न भएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७८ कार्तिक २७

शान्ति समाजद्वारा १६ स्रष्टाहरुलाई पुरस्कार अर्पण

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा १६ स्रष्टाहरुलाई पुरस्कार अर्पण
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरु २०७८ कार्तिक १६ गते काठमाण्डौमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ । वर्ष २०७८ को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणीमाधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान रामरिझन यादव, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल र वर्ष २०७७ को राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान निलम कार्की निहारिकालाई प्रदान गरिएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा आयोजित कार्यक्रमको सभापतित्व शान्ति समाजका सभापति गोविन्द खनालले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुरस्कृत स्रष्टाहरुलाई रु. २० हजार नगद राशीसहित ताम्रपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरुले कविता प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य समाजको उपसभापति रत्नलक्ष्मी श्रेष्ठले गर्नुभएको थियो ।

यसैगरी कार्तिक १५ गते शान्ति समाजद्वारा नेपालगञ्जमा आयोजित कार्यक्रममा पवित्रादेवि चौलागाई मानव अधिकार स्रष्टा सम्मान स्रष्टा विष्णुलाल कुमाल र श्रीनारायण दाहाल स्रष्टा सौगात स्रष्टा रविना चौधरीलाई प्रदान गरिएको थियो भने कार्तिक १२ गते इटहरीमा आयोजित कार्यक्रममा स्रष्टा मनु मञ्जिललाई भूमिप्रसाद बराल स्रष्टा सौगात प्रदान गरिएको थियो ।

समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ कात्र्तिक १६

प्रधानन्यायाधीश राणाले शिघ्र राजिनामा दिनुपर्छ

प्रेस विज्ञप्ति
प्रधानन्यायाधीश राणाले शिघ्र राजिनामा दिनुपर्छ
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको न्यायिक आचरणमाथि प्रश्न उठाउँदै राजिनामा÷बहिर्गमनको माग तिव्र भइरहेको छ । पछिल्लो चरणमा प्रधानन्यायाधीश राणा नैतिक रुपमा झनै च्युत भएको सत्य हो ।
यावत कारणले एकातिर न्यायिक क्षेत्रका जिम्मेवार व्यक्ति एवं निकायसहित न्यायालयको निष्पक्षताप्रति गम्भीर चासो व्यक्त गर्ने अधिकांशले प्रधान न्यायाधीशको राजिनामाको माग गरेको, अर्कोतिर प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको छ । यस्तो अवस्था उत्पन्न हुनु दुर्भाग्यपूर्ण छ र यसको निरन्तरताले निम्त्याउन सक्ने अव्यवस्था र अराजकता, लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुनसक्छ । यो असामान्य अवस्थालाई सामान्यिकरण गर्ने प्रमुख दायित्व प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको भएको हुँदा प्रधान न्यायाधीश राणाले शिघ्र राजिनामा दिई निकास दिन मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ । प्रधानन्यायाधीशले राजिनामा नदिएको खण्डमा महाअभियोगको प्रक्रिया अघि बढाइ वर्तमान प्रधान न्यायाधीशको बर्हिगमन सुनिश्चित गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतक दलहरुलाई शान्ति समाज आग्रह गर्दछ ।
यसैगरी न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरु अन्त्य गर्न शुद्धिकरणका लागि सबै क्षेत्रबाट व्यापक पहल हुनुपर्छ भन्ने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । न्यायिक क्षेत्रमा यस्तो स्थिति उत्पन हुनुका पछाडि लामो समयदेखि हुँदै आएको अस्वस्थ अभ्यास, तिव्र राजनीतिकरण, विचौलियाको विगविगिदेखि अनेकौ कारणहरु रहेका छन् । त्यसका लागि सबै प्रमुख दलहरु धेर थोर जिम्मेवार छन् ।
मानव अधिकार तथा शान्ति समाजले लामो समयदेखि न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शिताबारे न्यायिक नेतृत्वहरुलाई ध्यानाकर्षण गराउँदै आएको थियो भने राजनीतिक वा अन्य दवाव वा प्रलोभनबाट न्यायाधीशहरुको नियुक्ति र बढुवा प्रभावित हुनु हुदैँन भन्नेमा जोड दिँदै आएको थियो ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा÷बर्हिगमन न्यायिक क्षेत्रमा शुद्धिकरणको पहिलो पाइला हुन सक्छ । त्यसपछि राजनीतिक पहुँचको आधारमा नियुक्त भएका अन्य न्यायाधीशहरुको बर्हिगमन पनि त्यत्तिकै आवश्यक छ भन्ने शान्ति समाजको धारणा छ । यसैगरी न्यायालयमा राजनीतिक स्वार्थ प्रेरित नियुक्ति लगायत राजनीतिक दलहरुले गरेको गम्भीर त्रुटिका बारेमा पनि सार्वजनिक बहस प्रारम्भ गरि भविष्यमा त्यस्तो गम्भीर त्रुटि नदोहोरिने प्रक्रिया सुनिश्चित गर्नुपर्छ ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केकास
मिति ः २०७८ कार्तिक १२

अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजको प्रदर्शन

प्रेस विज्ञप्ति
अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजको प्रदर्शन
संयुक्त राष्ट्रसंघ स्थापना दिवस २४ अक्टोवरका अवसरमा कात्र्तिक ७ गते मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाई आग्रहसहित काठमाण्डौ माइतिघर मण्डलामा धर्ना÷प्रदर्शन गरेको छ । धर्नामा राष्ट्रसंघ ः अफगानिस्तानलाई नरक हुनबाट बचाउ, तालिवानको शासनमा मानव अधिकार कहाँ छ ?, तालिवानको शासनमा स्वतन्त्रता कहाँ छ ?, तालिवानको पहिचान ः महिलाको अपमान, तालिवानको शासनमा असुरक्षित महिला लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
धर्ना प्रदर्शनमा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिव नम्रता खरेल, अपिल समिति संयोजक बलबहादुर गाहा मगर, काठमाण्डौ शाखा का.वा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, पूर्व केन्द्रीय कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, पूर्व केन्द्रीय सदस्य गीता तिमल्सिना लगायत अधिकारकर्मीहरुको सहभागिता थियो ।

यसैगरी संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा कात्र्तिक ७ गते शान्ति समाजका चितवन, दाङ, रुपन्देही शाखाहरुले प्रदर्शन गरेका छन् । वुटवलमा आयोजित प्रदर्शनमा केन्द्रीय सभापति गोविन्द खनालले तालिवानी शासन क्रुरताको पर्याय भएको बताउँदै अफगानीस्तानका नागरिकको मानव अधिकार रक्षाका लागि राष्ट्रसंघले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
द्वितिय विश्वयुद्धको समाप्ती लगत्तै १९४५ अक्टोवर २४ को दिन संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने उद्देश्यले स्थापित संयुक्त राष्ट्रसंघलाई विश्व शान्तिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न मानव अधिकार तथा शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ ।

समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत मानव अधिकार तथा शान्ति समाज
मिति ः ७ कात्र्तिक २०७८

अहिंसा दिवसमा आठ जिल्लामा प्रदर्शन : जेष्ठ नागरिक दिवसमा सहयोग

प्रेस विज्ञप्ति
अहिंसा दिवसमा आठ जिल्लामा प्रदर्शन : जेष्ठ नागरिक दिवसमा सहयोग
अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ, रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा  अहिंसा ः पवित्र एवं गौरवमय मार्ग भन्ने सन्देशसहित असोज १६ गते ८ जिल्लामा प्रदर्शन भएको छ ।
१५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोवर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो । मनाउने निर्णय गरेको थियो । अक्टोवर २ महात्मा गान्धी को जन्मजयन्ती पनि हो । सन् २००७ मा राष्ट्रसंघले अहिंसा दिवस मनाउने निर्णय गरेपछि मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोवर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस १ अक्टोवरका सन्दर्भमा  शान्ति समाज काठमाण्डौ शाखाले असोज १५ गते निजानन्द आश्रम (टौदह)लाई खाद्य सामग्री सहयोग गरेको छ भने रुपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको थियो ।
यस्तै शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि जेष्ठ नागरिक दिवसमा सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।

समाजका तर्फबाट

सरिता पौडेल
कार्य कार्यक्रम अधिकृत
मनव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ असोज १७

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने

प्रेस विज्ञप्ति
शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरिएको छ । यस क्रममा वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणी माधव ढकाल पाल्पा, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान वरिष्ठ पत्रकार रामरिझन यादव सिरहा, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल बाँके, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी पाल्पा, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी संखुवासभा र मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त रुपन्देहीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी मानन्धर भक्तपुर, भुमीप्रसाद बराल स्रष्टा सौगात मनु मञ्जिल सुनसरी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ मकवानपुर, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक पाल्पा, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य काठमाण्डौ, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया हुम्ला, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल तनहुँ र श्रीनारायण दाहाल स्रष्टा सौगात रविना चौधरी कैलालीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
सम्मानित स्रष्टाहरुका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृतिहरु प्रकाशित छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
एक दशक अगाडिदेखी मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।

पुरस्कृत स्रष्टाहरुबारे ः

१. श्रवण मुकारुङ ः वि.स. २०२५ जेठ २६ गते भोजपुरमा जन्मनुभएका स्रष्टा श्रवण मुकारुङका वहुचर्चित कवितासंग्रह बिसे नगर्चीको बयान, देश खोज्दै जाँदा कवितासंग्रह, यलम्बर नाटक, हिउँको दरबार गीतसंग्रह गरि ९ वटा कृतिहरु प्रकाशित छन् ।

२. प्रा.डा.वेणीमाधव ढकाल ः वि.स. २००६ साल पुस २६ गते पाल्पामा जन्मनुभएका स्रष्टा वेणीमाधव ढकालका नेपालीमा आधा दर्जन महाकाव्य र खण्डकाव्यहरु प्रकाशित छन् । संस्कृत भाषामा ढकालले आधा दर्जन बढी पाठ्यग्रन्थ लेख्नुभएको छ भने संस्कृत विश्वविद्यालयमा पाठ्यक्रम निर्माण एवं पुर्नलेखनमा समेत योगदान गर्नुभएको छ । ढकालका लिच्छिविकालिकानामभिलेखानां साहित्यिकमनुशीलनम्, मल्लकालिकानां नाटक्रानां विश्लेषणात्मकमध्ययनम्सहित तीन वटा सोधप्रबन्ध रहेका छन् भने विद्यावारीधिप्रयुक्तका क्रममा १० वटाको सोधनिर्देशक समेत रहनुभएको छ । यसैगरी उहाँले आधा दर्जन बढी संस्कृत ग्रन्थको अनुवादसमेत गर्नुभएको छ ।

३. रामरिझन यादव ः वि.स २०१६ साल फागुन १७ गते सनहैठा सिरहामा जन्मनुभएका स्रष्टा रामरिझन यादवका लेखन तथा सम्पादनमा मैथिली तथा नेपाली भाषामा वातावरणीय समस्या र समाधान, विज्ञान र वातावरण, मधेसी मुक्ति आन्दोलन, नेपालको मधेसी समुदायको समस्या र समाधानको बाटोसहित ८ वटा कृतिहरु प्रकाशित छन् । वरिष्ठ पत्रकार यादवले १७ वर्षसम्म वनस्पती शास्त्रको प्राध्यापन गर्नुभएको थियो ।

४. बिष्णुलाल कुमाल(प्रजापती) ः वि.स. २००५ साल जेठ २० गते कुम्हारन टोल नेपालगञ्जमा जन्मनुभएका स्रष्टा विष्णुलाल कुमालका अशान्ति केर अगिया अवधी कविता÷गीत संग्रह, यादो के अवषेश हिन्दी कवितासंग्रह गरि ३ वटा कृति प्रकाशित छन् भने अवधि भाषाका विभिन्न पुस्तकको सम्पादन गर्नुभएको छ । स्रष्टा कुमाल अवधी सांस्कृतिक प्रतिष्ठानको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने विगत १७ वर्षदेखि अवधि भाषामा निरन्तर रेडियो कार्यक्रम चलाइरहनु भएको छ ।

५. रामबहादुर पहाडी ः वि.स १९९८ जेठ २९ गते पाल्पामा जन्मनुभएका स्रष्टा रामबहादुर पहाडीका घाउ रहेछ जिन्दगी यो, पहाडीका गजलसहित ३ वटा पुस्तक प्रकाशित छन् । पहाडीले अंग्रेजी, नेवारी र हिन्दी भाषाबाट अनुवाद गरेका १७ वटा पुस्तकहरु प्रकाशित छन् ।

६. रत्ननिधि रेग्मी ः वि.स. २०२१ भदौ १२ गते वाना संखुवासभा वानामा जन्मनुभएका स्रष्टा रत्ननिधि रेग्मी शुक्राचार्यका आन्दोलन कविता भाग १ र २, कविता कुसुम, निर्मला खण्डकाव्य, नारी आवाजसहित एक दर्जन कृतिहरु प्रकाशित छन् ।

७ रामेश्वरी पन्त ः वि.स २०२५ भदौ १२ गते पर्वतमा जन्मनुभएकी स्रष्टा रामेश्वरी पन्तको घाउ चह¥याइनै रह्यो शिर्षकमा कथा संग्रह प्रकाशित भएको छ । राष्ट्रिय दैनिकहरुसहित विभिन्न छापाहरुमा स्रष्टा पन्तका दर्जनौ लेख रचनाहरु प्रकाशित भइसकेका छन् ।

८. प्रतिसरा सायमी ः वि.स २०१२ साल असार १६ गते भक्तपुरमा जन्मनुभएकी स्रष्टा प्रतिसरा सायमि (मानन्धर)का नेपाल भाषा (नेवारी) मा जि छकू नालिस भौँ, तिकिनंगु मि, रंग दुने प्रतिसरा, प्रेसर कुकर चिल्लाय् कविता संग्रहहरु गरी आधा दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

९. मनु मञ्जिल ः वि.स २०२७ असार १५ गते साल्मे काभ्रेमा जन्मनुभएका हाल सुनसरी निवासी स्रष्टा मनु मञ्जिलका ल्याम्प–पोष्टबाट खसेको जुन, आँधीको आवेग कवितासंग्रह प्रकाशित छन् । मञ्जिलले अंग्रेजी भाषाबाट अनुवाद गरेका ४ वटा पुस्तकहरु प्रकाशित छन् ।

१०. बिना थिङ तामाङ ः वि.स २०३७ साल भाद्र १० गते हेटौडा मकवानपुरमा जन्मनुभएकी स्रष्टा विना थिङ ‘सुनगाभा’ का छुकि र याम्बुनेर गरी २ कथा संग्रह र रातो घर कविता संग्रह गरी तीन वटा कृतिहरु प्रकाशित छन् । यसैगरी रातो घर कविता संग्रह वालाधिम शिर्षकमा तामाङ भाषामा समेत प्रकाशित भएको छ ।

११.मनु वि.क ः २०४१ माघ १५ गते पाल्पा जिल्लाको गेझामा जन्मनुभएकी स्रष्टा मनु वि.क. का युगको आह्वान कविता संग्रह, भान्से महिला र कालीको वेग खण्डकाव्य गरी ३ वटा कृतिहरु प्रकाशित भएका छन् ।
१२. मेनका पोखरेल आचार्य ः वि.स २०२२ साल चैत ४ गते धरानमा जन्मनुभएकी हाल जोरपाटी काठमाण्डौ निवासी स्रष्टा मेनका पोखरेल आचार्यको अनुभूतिका तरंगहरु कविता संग्रह, पिडाका वृत्तहरु र रित्ता आँखाभित्र कथासंग्रह गरी ३ वटा कृति प्रकाशित छन् ।

१३. देवकी तिमल्सिना रोकाया ः वि.स. २०४० साल असार २० गते जन्मनुभएकी हाल सर्के गाँउ हुम्ला निवासी देवकी तिमल्सिना रोकायाका योद्धाको सपना र छुटेका सपनाहरु गरी २ वटा कृति प्रकाशित छन् । स्रष्टा देवकी कर्णाली साहित्य समाजको उपाध्यक्ष समेत हुनुहुन्छ ।

१४. सुदेश सत्याल ः वि.स. २०५१ साल वैशाख २० गते देवघाट तनहुँमा जन्मनुभएका स्रष्टा सुदेश सत्याल (नारायण सत्याल)का अन्तरिक्षको धर्ती कविता संग्रहका साथै संयुक्त रुपमा छन्द कविता संग्रह समेत प्रकाशित भएको छ ।

१५.रविना चौधरी ः वि.स २०४७ फागुन ५ गते कैलालीमा जन्मनुभएकी स्रष्टा रविना चौधरी ‘रब्बु’को थारु भाषामा ओंरी गजलसंग्रह प्रकाशित भएको छ ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७८ असोज १३

श्रष्टा सम्मान अभियान : शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना

प्रेस विज्ञप्ति
श्रष्टा सम्मान अभियान : शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात र जनककुमारी रेग्मी श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।
यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि दोर्पु सोलुखुम्बुका प्रसिद्ध समाजसेवी स्व. गणेशबहादुर श्रेष्ठकी छोरी मानव अधिकार तथा शान्ति समाजकी उपसभापति रत्नलक्ष्मी श्रेष्ठले रु. दुई लाख र स्व. जनककुमारी रेग्मी (मार्से खोटाङ)की नातिनी तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने हुनुभएको छ । यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा यसै वर्ष (२०७८) देखी प्रदान गरिने छ ।
वि.स १९५८ चैत २२ गते सोलुखुम्बुको दोर्पु बजारमा जन्मनुभएको शिक्षासेवी गणेशबहादुर श्रेष्ठको २०५१ पौष १४ गते निधन भएको थियो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको मावली हजुरआमा जनककुमारी रेग्मी र उहाँकी सानी छोरीको वि.स २०१८ सालमा मार्से खोटाङस्थिति आफ्नै निवासमा अज्ञात समुहले हत्या गरेको थियो भने आजसम्म पनि हत्याराको पहिचान हुन सकेको छैन ।
यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १५ पुगेको छ ।
समाजका तर्फबाट
गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७८ असोज ७