शान्ति समाजको चौवीसौ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा प्रारम्भ

प्रेस विज्ञप्ति
शान्ति समाजको चौवीसौ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा प्रारम्भ
मानव अधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) “गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार” भन्ने मूल आह्वानसहित २०७८ फागुन २७ गते कपिलवस्तुको वाणगंगामा प्रारम्भ भएको छ । विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले चार वटा मैनवत्ती प्रज्वलीत गरि राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले मानव अधिकार, लोकतन्त्र, र शान्तिका लागि शान्ति समाजको खबरदारी निरन्तर रहोस भन्दै उत्पीडित र उपेक्षितहरुको उत्थानमा सबै समर्पित हुनुपर्ने .धारणा व्यक्त गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र शान्तिका पक्षमा उभिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि डा. देवेन्द्रराज पाण्डेले वर्ष २०७७÷७८ मा शान्ति समाजको उत्कृष्ट शाखा का रुपमा रुपन्देही शाखालाई र वर्ष २०७७ मा पोखरामा २३ औँ  राष्ट्रिय परिषद् बैठक सफलतापूर्वक आतिथेय गर्ने समाजको कास्की शाखालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पूर्व मन्त्री एवं पूर्व राजदुत नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्याय, संविधानसभा सदस्य विनोद पहाडी, नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, जनता समाजबादी पार्टीका प्रतिनिधि अब्दुल रसिद खान, वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी शान्ति समाजका पूर्व सभापति डा. गंगाधर अधिकारीले संक्रमणकालिन न्याय प्रक्रिया, सल्लाहकार होमकान्त चौलागाईले न्यायालय शुद्धिकरणका लागि अभियान, सल्लाहकार उत्तम पुडासैनीले वैज्ञानिक शिक्षा सबैको अधिकार, संस्थापक सदस्य कृष्ण कँडेलले शान्ति समाजको युद्ध निषेध ः शान्ति विशेष अभियान, युवा अधिकारकर्मी प्रताप पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा ः सबैको अधिकार, शान्ति समाजका सचिव पुष्पा मल्लले सामाजिक न्यायका विषयमा केन्द्रित रहि मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य २४ औँ रा.प.बैठक मूल तयारी समितिका संयोजक तथा शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलले गर्नुभएको थियो ।
यसैगरी फागुन २६ गते राती वाणगंगामा रुसलाई तत्काल युद्ध रोक्न आग्रह र विश्व शान्तिको आह्वान गर्दै दिप प्रज्वलन गरिएको थियो भने २७ गते दिउँसो वाणगंगामा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित युक्रेनी जनता र युक्रेनमा रहेका सबैको जीवन रक्षाको आग्रहसहित शान्ति र्याली सम्पन्न भएको थियो । शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् बैठकको सन्दर्भमा फागुन २७ गते विहान शान्ति समाज कपिलवस्तु शाखा र नेपाल नियमित रक्तदाता संघको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभएको थियो  ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ फागुन २७