वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम माओवादी सरकारले गरिरहेको छ–पहाडी

प्रेस विज्ञप्ति
वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम माओवादी सरकारले गरिरहेको छ–पहाडी
माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको धारणा कृष्ण पहाडीले व्यक्त गर्नुभएको छ । २०८० पुस २० गते वीरगञ्जमा मानव अधिकार तथा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठककको उद्घाटन सत्रमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले क्षेत्रीय, जातीय, धार्मिक लगायत संवेदनशिल विषयतर्फ इङ्गीत गर्दै मन्त्रीहरु अराजक भएको र सरकारले समाजलाई जोड्ने होइन तोड्ने काम गरिरहेको बताउनुभएको हो ।
उद्घाटन सत्रमा सहभागिहरुको जिज्ञासालाई सम्बोधन गर्दै पहाडीले भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकार नागरिकसँग डराएर निषेधात्मक, दण्डात्मक, प्रतिबन्धात्मक र प्रतिशोधात्मक मार्गमा अघि बढेको हुँदा लोकतन्त्र धरापमा परेको भन्दै पहाडीले भ्रष्ट नेतालाई कारबाही गरि लोकतन्त्र जोगाउन सबैलाई आह्वान गर्नुभयो ।
यसैगरी पुस २० गते साँझको सत्रमा परिषद् बैठकलाई सांसद डा. अमरेशकुमार सिंहले भ्रष्टाचारका हरेक ठूला काण्डमा शिर्ष नेताहरुको संलग्नता रहेको र भ्रष्टाचारमा सर्वदलिय सहमति हुने गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीको संलग्नता रहेका भ्रष्टाचारका दर्जनौ घटनाको बारेमा प्रकाश पार्नुभएको थियो । सहभागिहरुको प्रश्नको जबाफ दिँदै सांसद सिंहले एनसेल महाघोटालामा कुन नेताले कति खाएका छन् र कति प्रतिशत सेयरमा देश विरुद्ध घात गरेका छन् भन्ने फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।
दलित, जेष्ठ नागरिक, एकल र विपन्न सिमान्तिकृत समुदायका चार जना महिलाहरुले मैनवत्ती प्रज्वलित गरि उद्घाटन गरेको २६ औँ राष्ट्रिय परिषद् बैठकको सभापतित्व समाजका सभापति रामकृष्ण बरालले गर्नुभएको थियो भने मूल तयारी समितिका संयोजक अमरबहादुर गौतमले स्वागत र पर्सा शाखा सभापति प्रेम पटेलले धन्यवाद ज्ञापन एवं महासचिव रेनुका पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उद्घाटन सत्रमा निवर्तमान सभापति गोविन्द खनालले चुरे बचाउँ अभियान, पूर्व सभापतिहरु उत्तम पुडासैनीले वातावरणीय अभियान, डा. गंगाधर अधिकारीले कानून कार्यान्वयन गर्ने अधिकारीका लागि आचारसंहिता, होमकान्त चौलागाईले लोकतन्त्रको प्राण सुशासन र सद्भाव एवं संस्थापक सदस्य कृष्ण कँडेलले जीवनको अधिकार, वरिष्ठ उपसभापति कृष्ण बहादुर रावलले विकट कर्णालीको उत्थान र केन्द्रीय सदस्य प्रतिमा महतोले हुलाकी सडकका विषयमा केन्द्रीत रहि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वर्ष २०७९÷८० को उत्कृष्ट शाखाका रुपमा पाल्पा शाखालाई र वर्ष २०७९ मा रा.प.बैठक आतिथेय गर्ने समाजको नवलपरासी पश्चिम शाखालाई प्रशंसापत्र जिल्ला सभापतिहरु क्रमशः रेनुका देवकोटा र गणेश न्यौपानेलाई प्रदान गरिएको थियो ।
राष्ट्रिय गानबाट प्रारम्भ भएको उद्घाटन सत्रमा राज्यद्वारा पुस १३ गते मारिएका दुई जना होनहार युवा, र जाजरकोट, रुकुममा राज्यको संवेदनहिनताका कारण चिसो लगायत कारणले जीवन गुमाउन पुगेका भुकम्प पिडितहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।
यसैगरी पुस २० गते बिहान वीरगञ्जमा वृक्षारोपण, सांकेतिक रुपमा नगर सफाई र एनसेल महाघोटाला लगायत भ्रष्टाचार विरुद्ध केन्द्रित रहि प्रदर्शन भएको थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२२ पुस २०८०