“युद्ध निषेध ः शान्ति विशेष” अभियान र दक्षिण एशियाली नागरिक सदभाव यात्राप्रति नेपाल र परराष्ट्रमन्त्री डा. महतको ऐक्यवद्धता

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०७३ माघ १४ गते परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतसँग भेटी “दक्षिण एशियाली नागरिक सदभाव यात्रा” लगायतका विषयमा छलफल गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको “युद्ध निषेध ः शान्ति विशेष” अभियानको उद्देश्य युद्ध, हिंसा एवं आतंकवादको खारेजी र शान्ति सद्भाव तथा समझदारीको प्रवद्र्धन गर्नु रहेको छ ।
दक्षिण एशियामा भारत र पाकिस्तानबीच विद्यमान तनाव र बढ्दो दुरीलाई घटाउन, युद्धका कुनै पनि संभावनालाई निस्तेज पार्न र दक्षिण एशियाली राष्ट्र एवं जनतामाझ शान्ति सद्भाव र समझदारीको प्रवद्र्धन गर्न नागरिक स्तरबाटै व्यापक पहल आवश्यक छ भन्ने ठानेर शान्ति समाजले यो अभियान प्रारम्भ गरेको हो । यो अभियानको क्रममा शान्ति समाजले दक्षिण एशियाली राष्ट्रहरुलाई भावनात्मक रुपमा जोड्ने उद्देश्यले “दक्षिण एशियाली नागरिक सद्भाव यात्रा”को प्रारुप अघि बढाएको छ ।
परराष्ट्रमन्त्री डा. महतसँगको छलफलमा दक्षिण एशियाली राष्ट्रहरु “युद्ध निषेध ः शान्ति विशेष” नीतिमा केन्द्रीत हुनुपर्ने र नेपालले अन्तराष्ट्रिय÷क्षेत्रीय मञ्चहरुमा यस विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो । छलफलमा विगतका तिक्ततालाई हटाउन र शान्तिका लागि थप पहल गर्न समेत सार्कको १९ औँ शिखर सम्मेलन आयोजनाका लागि वातावरण बनाउन नेपालले विशेष पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
छलफलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युद्ध निषेध ः शान्ति विशेष” अभियान र दक्षिण एशियाली नागरिक सदभाव यात्राप्रति आँफु र नेपाल सरकारको समर्थन र ऐक्यवद्धता रहेको बताउँदै शान्ति र सदभावका लागि नागरिक स्तरमा थालिएको प्रयास प्रसंसनीय रहेको धारणा व्यक्त गर्नुभयो । उक्त छलफलमा लागु औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि शान्ति समाजले थालेको अभियान अन्तर्गत परराष्ट्र मन्त्रालयलाई दिइएका तीन वटा सुझावहरु पनि हस्तान्तरण गरिएको थियो ।
प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, महासचिव उत्तम पुडासैनी, सचिवहरु पुष्पा केसी र बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुङ्गेल, जयराम पुडासैनी लगायत ८ जना अधिकारकर्मीहरु संलग्न हुनुहुन्थ्यो ।