कसैको परिवारको सदस्यको इसारामा प्रहरी संगठन चल्न थालेकोबारे

कसैको परिवारको सदस्यको इसारामा प्रहरी संगठन चल्न थालेकोबारे मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीद्वारा प्रहरी महानिरीक्षकलाई लेखिएको पत्र यस प्रकार छः

श्रीमान प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरज्यू,
प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौँ, नेपाल
विषयः कसैको परिवारको सदस्यको इसारामा प्रहरी संगठन चल्न थालेको गुनासोबारे ।
महोदय,
१. लोकतान्त्रिक पद्धतिबाट स्थापित विधि एवं मान्यता र पेशागत मुल्य अनुरुप कानून कार्यान्वयन गर्ने निकायहरुले इमान्दारिताका साथ कार्य सम्पादन गर्नुपर्छ । पछिल्लो चरणमा सत्तारुढ दलभित्रका पनि कसैको परिवारको सदस्यको इसारामा प्रहरी संगठन चल्न थालेको हो कि भन्ने गुनासो सुनिन थालेको छ जुन दुर्भाग्यपूर्ण छ । प्रहरी संगठन देशको संविधान, कानूनको अधिनमा रहि विधिद्वारा स्थापित मुल्य अनुरुप चल्नुपर्छ र कुनै पनि स्वेच्छाचारी कार्य गर्नुहुदैँन भन्ने विनम्रतापूर्वक ध्यानाकर्षण गराउँछु ।
२. २०८० मंसिर महिना यता भएका विभिन्न प्रदर्शन लगायत कतिपय घटनाका सिलसिलामा प्रहरी संगठनको दुरुपयोग भएको धारणा बढ्दै गइरहेको छ । म संस्थापक सभापति रहेको मानव अधिकार तथा शान्ति समाजले ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सेरोफेरोमा आयोजित नागरिक संवाद कार्यक्रमका लागि प्रस्तुत गरेको अवधारणापत्रमा समेत प्रहरी प्रशासनको दुरुपयोग बन्द गर्न आग्रह गरिएको छ । यसैगरी पछिल्लो चरणमा प्रहरीले अवलम्वन गरेको कतिपय शैलीप्रति प्रश्न उठेको छ । विशेषतः केही प्रदर्शनको सिलसिलामा प्रदर्शनस्थल वरिपरिका चियापसलसहित सार्वजनिक स्थानमा समेत प्रहरीले धावा बोल्ने र नागरिकहरुलाई केरकार गर्ने लगायत आक्रामक शैली अवलम्वन गरेको देखिएको छ । यसैगरी नागरिकको सेल फोनमा रहेका सन्देशहरु प्रहरीले स्वेच्छाचारी तवरले चेक गर्ने कार्य मानव अधिकार सम्मत हुन सक्दैन । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १२ मा “कुनै पनि व्यक्तिको गोपनियता, परिवार, घर वा पत्राचारमा स्वेच्छाचारी वा गैरकानूनी हस्तक्षेप गरिने छैन न त निजको प्रतिष्ठा तथा ख्यातिमा गैर कानूनी आक्रमण नै गरिनेछ ।” भन्ने व्यवस्था रहेको विनम्रताका साथ स्मरण गराउँछु ।
३. संयुक्त राष्ट्रसंघ महासभाद्वारा १७ डिसेम्वर १९७९ मा पारित भई लागू भएको (प्रस्ताव नम्बर ३४÷१६९) “कानून कार्यान्वयन गर्ने अधिकारीका लागि आचारसंहिता”को सदैव पालना एवं सम्मानका लागि ध्यानाकर्षण गराउँछु । सो आचारसंहिताको धारा २ मा रहेको “आफ्नो कर्तव्य पालनामा कानून कार्यान्वयन गर्ने अधिकारीले मानव प्रतिष्ठाको सम्मान र सुरक्षा गर्नेछन् र सबै व्यक्तिको मानव अधिकार कायम एवं रक्षा गर्नेछन्” भन्ने हेक्का सदैव राख्न समेत आग्रह गर्दछु ।
भवदीय

कृष्ण पहाडी
८ पुस २०८०
फोनः ४५७२१०४
इमेलः kpahadi@gmail.com
बोधार्थः माननीय उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू