एनसेल जस्ता महाघोटालामा संलग्नलाई दण्डीत गर्न देशव्यापी आन्दोलन थाल्ने संकल्प

प्रेस विज्ञप्ति
एनसेल जस्ता महाघोटालामा संलग्नलाई दण्डीत गर्न देशव्यापी आन्दोलन थाल्ने संकल्प
“एनसेल जस्ता महाघोटालामा प्रधानमन्त्री÷पूर्व प्रधानमन्त्रीहरु समेतको संलग्नताको तथ्य प्रकाशमा आएको छ, नागरिक स्तरबाट समेत यस्को छानविन गर्नुपर्छ र दोषीहरु जो कोही हुन कारबाही गर्नुपर्छ र यस्का लागि देशव्यापी रुपमा शान्तिपूर्ण आन्दोलन थाल्नुपर्छ ” भन्ने संकल्पसहित विराटनगरमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । २०८० मंसिर २८ गते मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाद्वारा एलिट क्लबको सभाकक्षमा सम्पन्न लोकतन्त्रको प्राणः सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा बोल्ने नागरिक समाजका प्रतिनिधिहरुले कुशासनका कारण नागरिकहरुमा अहिले चरम आक्रोश र असन्तुष्टि रहेको बताउँदै भ्रष्ट नेताहरुबाट लोकतन्त्रमाथि सर्वाधिक खतरा रहेको औल्याएका थिए ।
यसैगरी शान्ति समाज इलाम शाखाद्वारा मंसिर २६ गते इलाममा आयोजित नागरिक संवाद कार्यक्रममा “सामाजिक सद्भाव भड्काउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भएकाले सबै खाले आन्दोलन र प्रदर्शन गर्दा सामाजिक सद्भाव कायम राख्न अपिल”सहित संकल्प पारित गरिएको छ भने झापा शाखाद्वारा मंसिर २५ गते विर्तामोडमा आयोजित नागरिक संवाद कार्यक्रममा “पहिचानको विषयलाई लिएर उठेको आन्दोलनलाई संवादबाटै समाधान गर्न सहमति हेतु अब नागरिक समाजले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने”तर्फ ध्यानाकर्षणसहित संकल्प पारित गरिएको छ ।
समाजका सभापति रामकृष्ण बरालद्वारा अवधारणापत्र प्रस्तुत गरिएको तीन जिल्लाको नागरिक संवाद कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रत्येक व्यक्तिलाई आवतजावत गर्ने स्वतन्त्रता भएको मानव अधिकारको विश्वव्यापी मान्यता स्मरण गराउँदै कोशी प्रदेश नामाकरण विरुद्ध पूर्वाञ्चलमा आन्दोलनरत पक्षलाई सो अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको थियो । सरकारले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न नहुने र आन्दोलनरत पक्षले हिंसा र अराजकतालाई बढावा दिनु नहुने स्मरण गराउँदै पहाडीले संवादबाटै समाधान खोज्न स्थानीय नागरिक समाजलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।
समाजका तर्फबाट

रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२९ मंसिर २०८०