संविधानको सीमाभित्र रहेर सहमति खोज्न आग्रह

प्रेस विज्ञप्ति
संविधानको सीमाभित्र रहेर सहमति खोज्न आग्रह
सरकारद्वारा २०८० भदौ २७ गते प्रतिनिधिसभामा प्रस्तुत विद्यालय शिक्षा विधेयक (विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक) को विरोधमा नेपाल शिक्षक महासंघको आयोजनामा भइरहेको काठमाण्डौ केन्द्रीत सडक आन्दोलनप्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा कुनै पनि विधेयक वा संसोधन विधेयक प्रस्तुत गर्नु पूर्व सरोकारवालाहरुसँग छलफल गर्ने र विश्वासमा लिने दायित्व सरकारको हो । यसैगरी विधेयक/संसोधन विधेयक प्रस्तुत गर्दा त्यसको कारणहरु खुलाउनुपर्ने र त्यसको दीर्घकालिन प्रभावबारे आँकलन गर्ने दायित्व पनि सरकारको हो । तर त्यस्तो दायित्व सरकारले पूर्ण रुपमा बहन गरेको देखिदैन । यसैगरी कतिपय विधेयक/संसोधन विधेयकहरु स्वेच्छाचारी तवरमा प्रस्तुत भएको देखिन्छ जुन लोकतान्त्रिक पद्धतिको मर्म विपरित छ ।
जारी शिक्षक आन्दोलनका सन्दर्भमा शिक्षकहरुको गरिमाको सम्मान गर्न सरकारलाई र गरिमामय शिक्षण पेशाको मर्यादा कायम राख्न आन्दोलनरत पक्षलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज शिघ्र सहमति खोज्न संवद्ध सबै पक्षलाई विनम्र आग्रह गर्दछ । तर त्यस्तो सहमति संविधानको सीमाभित्रै रहेर खोजिनुपर्छ । यसैगरी शिक्षक आन्दोलनमाथि सरकारले कुनै प्रकारको दमन गर्नुहुदैँन र आन्दोलनरत पक्षले पनि अराजकतालाई बढावा दिने संभावना भएको कुनै पनि कार्य गर्नुहुदैँन । आन्दोलनका नाममा पठन पाठन बन्द गर्ने कार्य तत्काल अन्त्य गरि “शिक्षाको अधिकार” को सम्मान गर्न शान्ति समाज आन्दोलनरत पक्षलाई आग्रह गर्दछ । यसैगरी राज्यका अन्य निकायको तुलनामा शिक्षकहरुले पाउने सेवा सुविधा सम्बन्धमा रहेको विभेद अन्त्य गर्न समेत शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
जारी शिक्षक आन्दोलनका सन्दर्भमा सरकारले विश्वासको वातावरण सिर्जना गरि विभिन्न जिल्लाबाट आन्दोलनमा सहभागि हुन काठमाण्डौ आउनुभएका आदरणीय शिक्षकहरुलाई यथाशिघ्र कार्यस्थलमा फर्की पठनपाठन सुचारु गर्ने वातावरण सिर्जना गर्न र शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले सरकारसँग घनिभुत तवरमा वार्ता गरि सहमतिमा पुग्न शान्ति समाज आग्रह गर्दछ ।
“विद्यालय शान्ति क्षेत्र” भनेर शान्ति समाज लगायत नेपालको समग्र नागरिक समाजले विगतमा सञ्चालन गरेको अभियान स्मरण गराउँदै शैक्षिक क्षेत्रलाई राजनीतिको छायाँबाट मुक्त राख्नका लागि आवश्यक पहल गर्न समेत शान्ति समाज संवद्ध सबैलाई विनम्र आग्रह गर्दछ ।
समाजका तर्फबाट
रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२०८०/६/५