वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि देशव्यापी अभियान गरिने

वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि देशव्यापी अभियान गरिने
वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि देशव्यापी अभियान थाल्नेसहित ११ वटा प्रस्ताव पारित गर्दै मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) २०७६ मंसिर २७ र २८ मा दाङको तुलसीपुरमा सम्पन्न भएको छ । मानव अधिकार आन्दोलनको गन्तव्य ः लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य भन्ने मूल नारासहित सम्पन्न परिषद्मा देशभरीबाट २ सय ७० भन्दा बढी शान्तिवादीहरुको सहभागिता रहेको थियो । राष्ट्रिय परिषद्मा सीमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाँउ आन्दोलन, लगायतका प्रस्तावहरु पारित भएका थिए भने परिषद् बैठकको सेरोफेरोमा २० वटा कार्यक्रम सम्पन्न भएको थियो ।
यस क्रममा दाङका शैक्षिक प्रतिष्ठानहरुमा दुव्र्यसन विरुद्ध १० वटा अन्तरक्रिया, वृक्षारोपण (कपुर, रुद्राक्ष, श्रीखण्ड, लगायत विरुवा रोपिएको), बबई नदी सफाई, शान्ति काव्य प्रवाह, तुलसीपुर नगर सफाई, शान्ति र्याली, रक्तदान कार्यक्रम सम्पन्न भएको थियो भने सहभागिहरुले तुलसीपुरस्थित शान्ति राप्ति उद्यानको अवलोकन गरेका थिए । त्यस अवसरमा तुलसीपुरका मेयर घनश्याम पाण्डेले सन् २०२० को नेपाल भ्रमण वर्षका सन्दर्भमा घुम्न जाऔँ तुलसीपुर अभियानबारे प्रकाश पार्नुभएको थियो ।
मंसिर २७ गते पञ्चकन्याहरुले ४ वटा मैनवत्ती प्रज्वलीत गरि प्रारम्भ भएको परिषद् बैठकको सभापतित्व समाजका सभापति उत्तम पुडासैनलीले गर्नुभएको थियो । उद्घाटन सत्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवराज विश्वकर्मा, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, समाजका सल्लाहकार डा.गंगाधर अधिकारी, सामाजिक अभियन्ता लोकेश ढकाल, शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनाल, अधिकारकर्मी प्रताप पौडेल, पत्रकार महांसघ दाङका अध्यक्ष सविन प्रियासन, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला अधिकारकर्मी पद्मा चौधरी, ब्रहमकुमारी इश्वरीय विश्व विद्यालयका प्रमुख गिता दिदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै कवि अर्जुन पराजुलीले कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शान्ति समाज रुपन्देही शाखालाई गत वर्षको उत्कृष्ट शाखाका रुपमा सम्मान गरिएको थियो भने २०७५ मा भव्यताका साथ राष्ट्रिय परिषद् सम्पन्न गर्ने मोरङ शाखालाई प्रसंशा पत्रले सम्मान गरिएको थियो । मूल तयारी समितिका संयोजक तथा समाजका दाङ शाखा सभापति शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समाजका केन्द्रिय महासचिव सुसील बस्नेतले गर्नुभएको थियो ।
मंसिर २८ गतेको सत्रमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सम्बोधन गर्नुभएको थियो । यसैगरी परिषद् बैठकका सहभागिहरुको सम्मानमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मंसिर २७ गते रात्रीभोजन र दाङका समाजसेवीहरुले दिवा भोजन तथा जलपानको आयोजना गर्नुभएको थियो । परिषद् बैठकमा यातायात खर्च सहभागिहरु आफैले हालेका थिए र आयोजनाको सम्पूर्ण खर्च दाङका उद्योगी, व्यापारी, समाजसेवीहरुको सहयोगमा आतिथेय दाङ शाखाले बहन गरेको थियो । परिषद् बैठकले उदार सहयोग, न्यानो माया, आत्मियता, हार्दिकता र अभूतपूर्व ऐक्यवद्धताका लागि विभिन्न संघ संस्था र दाङका नागरिकहरुप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।
२०७७ को रा.प.बैठक कास्कीमा र २०७८ को रा.प.बैठक कपिलबस्तुमा आयोजना हुने भएको छ ।