सार्कलाई सक्रिय बनाउन आग्रह गर्दै दुतावास अगाडि शान्ति समाजको धर्ना

सार्कलाई सक्रिय बनाउन आग्रह गर्दै दुतावास अगाडि शान्ति समाजको धर्ना

सार्कलाई सक्रिय बनाउन आग्रह गर्दै दुतावास अगाडि शान्ति समाजको धर्ना
भारत र पाकिस्तानबीच सिमान्त क्षेत्रमा गोलाबारी र तनाव बढीरहेकोमा गहिरो चिन्ता व्यक्त गर्दै मानव अधिकार तथा शान्ति समाजले भदौ ३ गते ( २० अगस्ट) काठमाण्डौस्थित भारतीय र पाकिस्तानी राजदुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन गरेको छ । युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धको कुनै पनि संभावनालाई खारेज गर्न, दुई देशबीच वार्ता अघि बढाउन र ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्क लाई सक्रिय बनाउन आग्रह गर्दै शत्रुतालाई अन्त्य गर्न र मित्रतालाई गहिरो बनाउन आह्वान पनि गरेको छ ।
काठमाण्डौँ लैनचौरस्थित भारतीय दुतावास र महाराजगञ्जस्थित पाकिस्तानी दुतावास अगाडि दिउँसो २ बजेदेखी १ घण्टासम्म भएको धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर र टेकबहादुर सार्की कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, गीता श्रीस र नम्रता खरेल, काठमाण्डौँ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जरासहित दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो । धर्नामा सहभागिहरुले STOP WAR : PROMOTE PEACE, END ENMITY BRING PROSPERITY,WHERE IS SAARC ? PEOPLE ARE AGAINST WAR, ABOLISH NUCLEAR WEAPON, SPEAK PEACE, DECREASE TENSION: INCREASE FRIENDSHIP, ACTIVATE SAARC, YES TO PEACE NO TO WAR, GIVE UP ARROGANCE OF NUCLEAR WEAPON लेखिएका प्लेकार्ड बोकेका थिए ।
धर्नाको अन्त्यमा समाजका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखिएको पत्र दुतावासका वरिष्ठ अधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो । पत्रमा दक्षिण एशियाली राष्ट्रहरुमा नागरिक स्तरमा मित्रतालाई प्रगाढ बनाउने, सद्भाव र भाइचारा बढाउने उद्देश्यले शान्ति समाजले केही वर्ष अगाडि दक्षिण एशियाली सद्भाव यात्राको प्रारुप अघि सारेको स्मरण गराउँदै अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र आपसी समझदारीलाई अभिवृद्धि गर्ने उद्देश्यले थालिने नागरिक सद्भाव यात्रामा भारत र पाकिस्तान सरकारको नैतिक सहयोग र हार्दिकता प्राप्त हुनेछ भन्ने विश्वास पनि व्यक्त गरिएको छ ।

भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरिने

भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरिने

प्रेस विज्ञप्ति
भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरिने
पछिल्लो चरणमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनाव, सिमान्त क्षेत्रमा भएको गोलाबारी र हताहतीका घटनाप्रति मानव अधिकार तथा शान्ति समाज गहिरो चिन्ता व्यक्त गर्दछ । भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएमा दक्षिण एशियाको शान्ति भंङ्ग हुने र त्यसले विश्व शान्ति नै खलबल्याउने हुँदा द्वन्द चर्काउन होइन घटाउन र त्यसका लागि संवाद अघि बढाउन भारत र पाकिस्तानका सरकारलाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ । यस्तो बेला ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्क निस्कृय अवस्थामा रहनु दुर्भाग्यपूर्ण रहेको छ । भारत र पाकिस्तानबीच द्वन्द्ध घटाउन र सद्भाव बढाउनका लागि सार्क लाई सक्रिय बनाउन सार्कका सबै देशहरुले पहल गरुन भन्ने आग्रह पनि शान्ति समाज गर्दछ । यसै गरी भारत पाकिस्तानबीचको तनाव मथ्थर पार्ने दिशामा अन्तराष्ट्रिय समुदायले योगदान गर्नु पर्दछ ।
आणविक अस्त्रको उन्मादमा चुर्लुम्म डुबेका भारत र पाकिस्तानबीच बढ्दो तनावलाई मथ्थर पार्न, युद्धको होइन शान्तिको भाषा बोल्न, संवाद र सहकार्य प्रवद्र्धन गर्न र निष्कृय रहेको सार्कलाई सक्रिय बनाउन आग्रहसहित २०७६ भदौ ३ गते मंगलबार (२० अगस्ट) का दिन काठमाण्डौस्थित भारतीय दुतावास ( लैनचौर) र पाकिस्तानी दुतावास (महाराजगञ्ज) अगाडि दिउँसो २ बजे देखि ३ बजे सम्म एकसाथ एकघण्टा धर्ना प्रदर्शन आयोजना गरिएको छ । धर्ना प्रर्दशनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहनेछ ।
युद्ध विरोधी संस्था शान्ति समाजले २४ वर्षदेखी युद्ध र आणविक अस्त्रको विरोध गर्दै आएको छ । यसै क्रममा युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न आह्वानसहित आधा दशक अगाडिदेखी युद्ध निषेध ः शान्ति विशेष अभियान तिव्र पार्दै आएको छ ।
समाजका तर्फबाट

उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
२०७६/४/३१

विकृति विसंगतीप्रति व्यङ्गय

विकृति विसंगतीप्रति व्यङ्गय
मानव अधिकार तथा शान्ति समाजद्वारा प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गरिने शान्ति काव्य प्रवाहको ८२ औँ श्रृंखला २०७६ साउन ३० गते काठमाण्डौँमा सम्पन्न भएको छ । काव्य प्रवाहमा वरिष्ठ साहित्यकार मदनमणी दीक्षितको निधनमा शोक व्यक्त गरिएको थियो ।
२९ जना कविहरुले रचना प्रस्तुत गरेको काव्य प्रवाहको सभापतित्व समाजका सभापति उत्तम पुडासैनीले र सञ्चालन कोषाध्यक्ष रामकृष्ण बरालले गर्नुभएको थियो । नेताहरुले सरकारी जग्गा हडपेको, बाढी र डुवान पिडितहरुको राहतका लागि उल्लेख्य काम गर्न नसकेको, विकृति विसंगती बढ्दै गएको प्रति व्यङ्गय गर्दै कविहरुले कविता, गजल, मुक्तक वाचन गरेका थिए ।
शान्ति काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, मदनराज थापा, रत्ननीधि रेग्मी शुक्राचार्य, डा.जीवन अधिकारी, मदन कार्की, जयन्ता पोख्रेल, मेनुका पोखरेल आचार्य, ऋचा, मञ्जुश्री प्रधान, शर्मिला कार्की, पुनम घिमिरे, मुकुन्द पौडेल, त्रिभुवनचन्द्र वाग्ले, उर्मिला पन्त पाण्डेय, रुद्र अधिकारी, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, जसध्वज गुरुङ, भुवन शिवाकोटी, जनार्दन अधिकारी, रविन्द्र आशिष शैली, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रविन्द्र ढुङ्गेल, गणेश प्रसाद खतिवडा, प्रकाश बस्नेत गफाडी, नमराज घिमिरे, कृष्ण पहाडीको सहभागिता रहेको थियो ।

इमान्दारिताका साथ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन पुन आग्रह

इमान्दारिताका साथ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन पुन आग्रह

प्रेस विज्ञप्ति
इमान्दारिताका साथ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन पुन आग्रह
नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई इमान्दारिताका साथ टुङ्गोमा पुर्याउनुपर्नेमा सरकार र प्रमुख राजनीतिक दलहरुको जालझेल र झुक्याउने रणनीतिका कारण गम्भीर संकटको अवस्था उत्पन्न हुन थालेको छ । यस सम्बन्धमा मानव अधिकार तथा शान्ति समाजका तर्फबाट सदैव पिडितलाई न्याय र पिडकलाई सजाय हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको थियो । तर विगत र वर्तमानका सरकारहरुले विश्वासमा परेकाहरुलाई घात गर्दै पिडकलाई काखी च्याप्ने काम रोकिएन । यसै सन्दर्भमा शान्ति समाजको विराटनगरमा २०७५ मंसिरमा सम्पन्न २१ औँ राष्ट्रिय परिषद् बैठकले विस्तृत शान्ति सम्झौता अनुरुप ‘संक्रमणकालीन न्याय प्रक्रिया’को विषयलाई टुङ्गोमा पुर्याउनु पर्नेमा षडयन्त्र गरेर तुहाउने काम भएको भन्दै इमान्दारीताका साथ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह गरेको थियो । अहिले सरकार र राजनीतिक दलहरुको आत्मघाती कार्यकै कारण अन्तराष्ट्रिय जगतमा नेपाल एक्लिदै गएको देखिएको छ । यस सम्बन्धमा नेपाल सरकारको विश्वसनियता खण्डित हुदैँ गइरहेको र अनेकौ सम्भावनाकोबीच मानव अधिकार तथा शान्ति समाज, पिडितहरुलाई राहत र परिपुरणको अधिकार सुनिश्चित गरि पूर्ण रुपमा न्याय गर्न, पिडकहरुलाई दण्डित गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुसार, इमान्दारिताका साथ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार तथा सम्बद्ध सबै पक्षलाई पुन आग्रह गर्दछ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७६ साउन २०

संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह
(२०७५ मंसिर १४–१५ मा विराटनगरमा सम्पन्न मानव अधिकार तथा शान्ति समाजको २१ औँ रा.प.बैठकबाट पारित प्रस्ताव )
२०६३ मंसिर ५ गते नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष वितेको छ । एकातिर गत १२ वर्षमा दुई पटक संविधान सभाको निर्वाचन, २०७२ मा नेपालको संविधान जारी भई संविधान अनुसार स्थानीय प्रदेश र संघीय संसदको गरी तीन वटै तहको निर्वाचन सम्पन्न भएको छ र राजनीतिक संक्रमणको अन्त्य भएको छ । अर्कोतिर विस्तृत शान्ति सम्झौता अनुरुप ‘संक्रमणकालीन न्याय प्रक्रिया’लाई टुङ्गोमा पुर्याउनु पर्नेमा षडयन्त्र गरेर तुहाउने काम भएको छ ।
विस्तृत शान्ति सम्झौताको ५.२.४ मा ‘दुवै पक्ष सशस्त्र द्वन्द्धबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गराउन तथा युद्धबाट पीडित र विस्थापित व्यक्तिहरुको लागि राहत कार्य र पुनस्र्थापन गराउन राष्ट्रिय शान्ति तथा पुनस्र्थापन आयोग गठन गर्ने र त्यसमार्फत् यस सम्बन्धी काम अगाडि बढाउन सहमत छन् ।’ भन्ने व्यवस्था भएकोमा राष्ट्रिय शान्ति तथा पुनस्र्थापन आयोग गठन भएको देखिएन । यसैगरी विस्तृत शान्ति सम्झौताको धारा ५.२.५ मा ‘दुवै पक्ष सशस्त्र द्वन्दका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुको बारेमा सत्य अन्वेषण गर्न र समाजमा मेलपिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गर्न सहमत छन् ।’ भन्ने व्यवस्था रहेको थियो । विस्तृत शान्ति सम्झौता भएको आठ वर्ष पछि २०७१ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन भयो तर पिडितलाई न्याय र पिडकलाई सजाय गर्न नभइ पिडकहरुलाई उन्मुक्ति र आम माफी दिने नियतले दुवै आयोगहरुको म्याण्डेट कमजोर बनाउनुका साथै दलिय छत्र छायाँमा पदाधिकारीहरु नियुक्त गरिएको थियो । एकातिर सरकार प्रमुखहरुले बेला बेलामा शान्ति प्रक्रिया पुरा भइसकेको अभिव्यक्ति दिने गरेका छन् भने अर्कोतिर विस्तृत शान्ति सम्झौताले निर्दिष्ट गरेको संक्रमणकालीन न्यायको व्यवस्था अलपत्र परेको छ । गठित आयोगहरुको कार्यशैली पिडितमैत्री नदेखिएको, आयोगहरुमा पिडितहरुले दिएको उजुरी एकातिर पिडकहरुको हातमा पुग्न सक्ने अर्कोतिर पिडितहरुको सुरक्षा संकटमा पर्न सक्ने सम्भावनाप्रति यो राष्ट्रिय परिषद् बैठक गहिरो चिन्ता व्यक्त गर्दै पिडितहरुको सुरक्षामा गम्भीर बन्न सम्वद्ध सबैलाई आग्रह गर्दछ । यसैगरी पिडितहरुलाई राहत र परिपुरणको अधिकार सुनिश्चित गरि पूर्ण रुपमा न्याय गर्न र इमान्दारिताका साथ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार समक्ष यो रा.प.बैठक आग्रह गर्दछ ।

शान्ति समाज काठमाण्डौँ शाखाको २२ औँ साधारणसभा सम्पन्न

शान्ति समाज काठमाण्डौँ शाखाको २२ औँ साधारणसभा सम्पन्न

शान्ति समाज काठमाण्डौँ शाखाको २२ औँ साधारणसभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज काठमाण्डौँ शाखाको २२ औँ जिल्ला साधारण सभा २०७६ साउन १५ गते नयाँ नेतृत्व चयन गर्दै काठमाण्डौँमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले गर्नुभएको थियो भने विशिष्ठ अतिथि प्रदेश सभा सांसदहरु नरोत्तम वैद्य र छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकको मेयर सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, उपमेयर विन्दु पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठमाण्डौँ शाखाका का.वा सभापति जगन्नाथ पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कवि सुदेश सत्यालले कविता वाचन गर्नुभएको थियो । यसैगरी कार्यक्रमको सञ्चालन काठमाण्डौ शाखाका सदस्य ईश्वर पुडासैनीले र स्वागत मन्तव्य काठमाण्डौँ शाखा सदस्य नानीकाजी गिरीले गर्नुभएको थियो ।
कार्यक्रमका दौरान ३५ जना शान्ति समाजको आजीवन सदस्य बन्नुभएको थियो । नयाँ आजीवन सदस्य हरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
साधारण सभाको दोश्रो सत्रमा जिल्ला शाखाको तर्फबाट इश्वरा लिङदेनले शाखाको गतिविधि सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष विष्णु खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै बन्द सत्रले जगन्नाथ पुडासैनीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ जुन निम्न बमोजिम छ :
जगन्नाथ पुडासैनी सभापति
नानीकाजी गिरी उपसभापति
ईश्वर पुडासैनी सचिव
ईश्वरा लिंदेन सहसचिव
दुर्गा रानामगर कोषाध्यक्ष
राम सुधार महतो सदस्य
रमेश प्रसाद वराल सदस्य
उमा गोतामे सदस्य
प्रिति रमण सदस्य
विकास थापा सदस्य
रमेश कुमार वराल सदस्य
तारा रसाइली सदस्य
दिवाकर पुडासैनी सदस्य
सुरज कुमार वोहरा सदस्य
भगवान पुडासैनी सदस्य