9851240117

hurpes@gmail.com

Home

About us

Others

Press Releases

दुई अभियान प्रक्षेपण

प्रेस विज्ञप्ति
सदभाव प्रवर्द्धन र घोषित मितिमै निर्वाचनका लागि दुई अभियान प्रक्षेपण 
सदभाव  प्रवर्द्धन र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न दवाव स्वरुप मानव अधिकार तथा शान्ति समाजले दुई वटा अभियान प्रक्षेपण गरेको छ । पुष २५ देखि सद्भाव  प्रवद्र्धनको आग्रहसहित शान्ति समाजका जिल्ला शाखाहरुले प्रदर्शन प्रारम्भ गरेका छन । शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सद्भाव हाम्रो जीवनधारा,सहिष्णुता हाम्रो स्वाभिमान भन्दै पुष २५ गते समाजको अछाम र सल्यान शाखाले र पुष २६ गते समाजको काठमाडौं, रुपन्देही, पाल्पा लगायत शाखाले प्रदर्शन गरेका छन ।

प्रदर्शनमा, समाजलाई तोड्न होईन जोड्नका लागि योगदान गरौं, समाज रुपान्तरणका लागि चालक शक्ति सदैब अहिंसा हुनुपर्छ, अराजकता होईन, हिंसा र घृणा खारेज गरौं, अहिंसा, शान्ति र सद्भाव प्रवर्द्धन गरौँ, दिगो शान्तिका लागि समुदायबीच सुमधुर सम्बन्ध अपरिहार्य, सहिष्णुता भनेको सम्मान हो, स्वीकारोक्ति हो, ग्रहणशीलता हो, बिबिधताको सराहना हो, धार्मिक सद्भाव, जातीय सद्भाव, सामाजिक सद्भाव,राजनीतिक सद्भाव, स्थायी शान्तिको आधार नै सद्भाव, सामाजिक संजालको दुरुपयोग होईन,सदुपयोग गरौँ,घृणा र प्रतिशोध मुक्त सामाजिक संजाल,सामाजिक संजाललाई भ्रामक जंजालबाट मुक्त राखौं, सम्मृद्धिका लागि हिंसामुक्त नेपाल, हिंसाको कारक बन्ने आवेग माथि नियन्त्रण गरौँ, शान्तिको जगेर्ना गर्न बिबेक प्रयोग गरौं, अफवाहको पछाडी नलागौं भरपर्दो सुचनाको श्रोतमा बिश्वास गरौँ, उत्तेजना फैलाउनु अपराध हो, जिम्मेवार भएर सामग्री सम्प्रेषण गरौँ सामाजिक संजाल लगायत सूचना प्रविधिको बिबेक सम्मत प्रयोग गरौँ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । यसैगरी मानव अधिकार तथा शान्ति समाजले ३० जिल्लामा “शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” बिषयक नागरिक संवाद कार्यक्रम  आयोजना गर्दैछ । पुष २९ गते चितवन बाट शुरु हुने कार्यक्रममा प्रमुख वक्ता समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल लगायत नागरिक अगुवाहरु सहित राजनीतिक समाज, नागरिक समाज, बुद्धिजीवीहरुको सहभागिता रहनेछ ।

समाजका तर्फबाट
प्रकाश शाही
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
२६ पुष २०८२

2026-01-10 10:24:14

अमेरिकी कदमले गलत नजीर स्थापना

प्रेस विज्ञप्ति
अमेरिकी कदमले गलत नजीर स्थापना
३ जनवरी २०२६ मा अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई क्याप्चर गरेको घटनाप्रति मानव अधिकार तथा शान्ति समाज आपत्ति व्यक्त गर्दछ ।
तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित छ । अमेरिकाको यो कदमले गलत नजीर स्थापना गरेको छ जुन थप अशान्तिको कारक बन्न सक्छ ।
मदुरो अनेकौ गम्भिर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार छन तसर्थ मदुरो प्रति मानव अधिकार समुदायको असहमति रहिरहनेछ तर मदुरोलाई क्याप्चर गर्ने नाममा अमेरिकाले अवलम्वन गरेको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौम सत्तामाथी हस्तक्षेप हो तसर्थ निन्दनीय छ ।
समाजका तर्फबाट
रेनुका पौडेल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२२ पुष २०८२

2026-01-06 09:22:25

फागुन २१ को चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ—राष्ट्रपति पौडेल

प्रेस विज्ञप्ति
फागुन २१ को चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ—राष्ट्रपति पौडेल 
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समय सम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मान्यता र नागरिक सर्वोच्वताको खिलाफ हुने हुँदा घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने बिश्वास व्यक्त गरेको छ ।
२०८२ पुस ७ गते राष्ट्रपति कार्यालय महाराजगञ्जमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले “मुलुकमा अब खेलवाड गरिरहने अवस्था छैन, फागुन २१ गतेको चुनाव तलमाथि भयो भने देश अनिश्चय तिर जान्छ त्यही भएर फागुन २१ को चुनाव सफल पार्नु सबै नेपालीको दायित्व हो । यो सरकार आफूलाई प्राप्त निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गरेर बिदा हुन्छ” भन्नुभयो । 
प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, सभापति  रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, सलाहकार  रामप्रसाद जोशी, बाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बन्जारा, सदस्यता अपिल समित संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गौतम, रुपा पुडासैनी, मणिराम दाहाल, काठमाडौं शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति बाबुराम न्यौपाने र काठमाडौं शाखा सचिव रविना धमला हुनुहुन्थ्यो ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
७ पुस  २०८२
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू,
राष्ट्रपतिको कार्यालय महाराजगंज काठमाण्डौ नेपाल
 बिषयः निर्वाचन मार्फत लोकतन्त्र लयमा फर्किने अपेक्षा
सम्माननीय राष्ट्रपतिज्यू,
देशमा विद्धमान व्याप्त भ्रस्टाचार, कुशासन र दण्डहीनता बिरुद्ध २०८२ भदौ २३ गते जेन– जी द्वारा आब्हान गरिएको प्रदर्शनका दौरान सरकारद्वारा भएको वर्वर दमन÷हत्या र सो हत्या बिरुद्ध उत्पन्न तीव्र नागरिक आक्रोसको आडमा भदौ २४ गते भएको ध्वंस नेपालको इतिहाँसमा त्रासदी हो । तत्पश्चात उत्पन्न रिक्ततामा राजनीतिक निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले निर्बाह गर्नुभएको सार्थक भूमिका उल्लेखनीय छ । बिशेषत  त्यस्तो जटिल अवस्थालाई सामान्यीकरण गर्न सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको  योगदानको इतिहासले स्मरण गर्नेछ ।
उपरोक्त पृष्ठभूमिमा २०८२ भदौ २७ गते अन्तरिम सरकारको गठन भएको हो जसको मूल कार्यभार २०८२ फागुन २१ गते निर्वाचन गर्नु रहेको बिदितै छ । बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समय सम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मान्यता र नागरिक सर्वोच्वताको खिलाफ हुने हुँदा घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने बिश्वास मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।
तर एकातिर भाद्र २३ को दमन÷हत्याका मूल जिम्मेवारहरुलाई अहिलेसम्म कारबाही नभएको र अर्कोतिर नागरिक आक्रोसको आडमा भाद्र २४ को  ध्वंसका सुत्रधारहरुको पहिचान समेत गर्न नसकेको स्थिति दुर्भाग्यपूर्ण छ । घोषित मितिमै निर्वाचन नगर्न÷हुन नदिन र संक्रमणकाल लम्ब्याई आ आफ्नो अभिष्ट पुरा गर्न बिभिन्न कोणबाट चलखेल भईरहेको  सन्दर्भमा संक्रमणकाल लम्बिदै जानु लोकतन्त्र र नागरिक अपेक्षा विपरित भएकोले घोषित मितिमै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुको विकल्प नभएको र त्यसको प्रमुख दायित्व सरकारको भएको र सवै क्षेत्रबाट इमान्दार एवं सार्थक प्रयास हुनुपर्ने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।
प्रार्थी
रेनुका पौडेल 
सभापति, मानव अधिकार तथा शान्ति समाज, केकास
७ पुस २०८२


2025-12-22 17:23:23

सरकारी उदासिनता र केहि दलको भ्रष्ट मोहका कारण निर्वाचन अनिश्चित – पहाडी

प्रेस विज्ञप्ति
सरकारी उदासिनता र केहि दलको भ्रष्ट मोहका कारण निर्वाचन अनिश्चित – पहाडी

७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) का अवसरमा मानव अधिकार तथा शान्ति समाजले २०८२ मंसिर २४ गते झण्डै  दुई दर्जन  जिल्लामा “भाद्र २३ को दमन÷हत्या र २४ को ध्वंसका जिम्मेवारहरुलाई कारवाही गर” विषयक नागरिक संबाद कार्यक्रममा सम्पन्न  गरेको छ ।
समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले शिघ्र निर्वाचन आवश्यक भएको तर सरकारी उदासिनता र केहि दलको भ्रष्ट मोहका कारण निर्वाचन अनिश्चित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नु भएको छ ।
जेन्जी आन्दोलनको मर्म र नागरिक म्याण्डेट अनुरुप भ्रष्ट शिर्ष नेताहरुलाई कारवाही गर्नु पर्नेमा एकातिर सरकार उदासिन देखिएको र अर्कोतिर केहि दलले जस्को बिरुद्ध नागरिक विद्रोह भयो तीन कै नेतृत्वलाई निरन्तरता दिएर भ्रष्ट मोह प्रदर्शन गरेका  कारण नागरिक आक्रोस पुन बढ्न थालेकोतर्फ नागरिक अगुवा पहाडीले  ध्यानाकर्षण गराउनुभयो ।  भाद्र २३ को दमन÷हत्या र २४ को ध्वंसका जिम्मेवारहरुलाई कारवाही गरी दण्डहीनताको  अन्त्य गर्नुपर्नेमा पहाडीले जोड दिनु भयो ।
समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नागरिक अगुवाहरु अर्जुन पराजुली, विजयकान्त कर्ण, कृष्ण कँडेल, लेखक पत्रकारहरु श्रीकृष्ण अनिरुद्र गौतम, लक्ष्मीधर गुरागाई लगायतले सुशासन लोकतन्त्रको मेरुदण्ड भएको हुँदा सुशासन कायम हुनुपर्ने तर लोकतन्त्रको विकल्प खोज्नु नहुने स्मरण गराउनु भयो । यसैगरी जेन्जी अगुवाहरु माजिद अन्सारी, मनिष खनाल र उमंग लोहनीले सुशासन र स्वतन्त्रताका लागि भएको जेन्जी आन्दोलनको विभिन्न आयामहरुबारे चर्चा गर्नुभएको थियो ।
समाजले तयार गरेको  अवधारणा पत्र बाग्मती प्रदेश सचिव दिवाकर पुडासैनिले र  स्वागत काठमाडौं शाखा सभापति बिकास थापाले गर्नु भएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२४ मंसिर   २०८२

2025-12-10 15:48:14

भ्रष्ट शिर्ष नेतालाई कारबाही खोइ? भन्दै शान्ति समाजको प्रदर्शन

प्रेस विज्ञप्ति
भ्रष्ट शिर्ष नेतालाई कारबाही खोइ? भन्दै शान्ति समाजको प्रदर्शन
भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवस ९ डिसेम्वर मंसिर २३ गतेका दिन मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । “भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो, शिर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो, भ्रष्ट शिर्ष नेतालाई कारबाही खोइ?, नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन?, सुशासनका लागि आर्थिक दण्डहीनता अन्त्य गर “भन्दै काठमाडौं, रुपन्देही, सुर्खेत, नवलपुर, चितवन, दाङ, गुल्मी, अछाम, कास्की, सल्यान, महोत्तरी, म्याग्दी, झापा, मोरङ, पाल्पा, तेह्रथुम, पर्सा, गरी १७ जिल्लामा मंसिर २३ गते  प्रदर्शन भएको हो ।
यसै क्रममा शान्ति समाज काठमाडौं शाखाद्वारा दिउँसो १ बजेदेखी  माइतिघर मण्डलामा १ घण्टासम्म भएको प्रदर्शनमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूूर्व सभापति होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिवाकर पुुडासैनी, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गौतम र मणिराम दाहाल, काठमाडौं शाखा सभापति बिकास थापा,  कोषाध्यक्ष नवराज चपागाई, पुर्व सभापति ईश्वर पूडासैनी, शाखा कार्यसमिति सदस्यहरु रिता अधिकारी, सरस्वती गुरागाई, सिता घिमिरे, नरेन्द्र श्रेष्ठ, परशुराम आचार्य, लतिलपुर शाखा सभापति बाबुराम न्यौपाने, आजीवन सदस्यहरु जयराम पुुडासैनी, मनबहादुुर थापा, तुलसीराम भण्डारी, राजकुमार श्रेष्ठ लगायत अधिकारकर्मीहरुको सहभागिता थियो ।
यसैगरी ७७ औ मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाले मंसिर १७ देखी २३ सम्म अपाङता भएका व्यक्तिको अधिकार देखी जलवायु न्याय सम्म केन्द्रित रही सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो ।
समाजका तर्फबाट
सरिता शर्मा
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२३ मंसिर २०८२  

2025-12-09 14:39:04

स्रष्टा सम्मान पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

प्रेस विज्ञप्ति
स्रष्टा सम्मान पुरस्कार अर्पण कार्यक्रम सम्पन्न
मानव अधिकार तथा शान्ति समाजले  २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जना मध्ये ११ जना स्रष्टाहरुलाई प्रदान गरेको छ ।
२०८२ मङसिर ३ गते  काठमाण्डौमा आयोजित कार्यक्रममा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लक्ष्मी  मालीलाई  राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान,  भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता सम्मान, रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, वागदेवी राईलाई जोगमाया बराल स्रष्टा सौगात, पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात,  शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, गौरी तमुलाइ  जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान  गरिएको थियो ।
यसैगरि प्रा.चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, प्रा.डा.गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, पुरष्कृतहरुको तर्फबाट परिवारका सदस्य÷प्रतिनिधिहरुले ग्रहण गर्नुभएकोे थियो ।
पुरस्कृत स्रष्टाहरुले  नेपालीका अतिरिक्त नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारु, राई, मगर र गुरुङ गरी ९ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन । शान्ति समाज ले २०७७ साल देखि यो पुरस्कारहरु प्रदान गर्दै आएको छ ।
दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा.तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरिएकोमा स्वास्थ्य अवस्थाका कारण उहाँहरु उपस्थित हुन सक्नुुभएन । 
शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटी, कवि अर्जुन पराजुली, शान्ति समाजका पूर्व सभापतिहरु होमकान्त चौलागाई र रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिल्ली जैसी, सचिव दिवाकर पुडासैनी, सचिव प्रेम पटेल, सचिव तुुलसीराम सुनार, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, पुुर्व कोषाध्यक्ष किरण ढकाल र स्रष्टा  रामबाबु दाहालले सो पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा उपसभापतिहरु लक्ष्मीनारायण मिश्र र धन थापा, पूर्व बरिष्ठ उपसभापति तथा अनुशासन समितिका संयोजक कृष्णबहादुर रावलले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिब प्रकाश शाहीले गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरुले आफ्नो रचना वाचन गर्नुभएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
३ मङ्सिर  २०८२

2025-11-19 18:38:45

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links