प्रधानन्यायाधीशको राजिनामा/बर्हिगमनको माग गर्दै शान्ति समाजको जुलुस प्रदर्शन

प्रेस विज्ञप्ति
प्रधानन्यायाधीशको राजिनामा/बर्हिगमनको माग गर्दै शान्ति समाजको जुलुस प्रदर्शन
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा/बर्हिगमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । २०७८ कार्तिक २७ गते बिहान चितवनको पुलचोकमा आधा घण्टासम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा न्यायालयलाई प्रदुषित बनाउन पाइदैँन, सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिदैँन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश ः शिघ्र राजिनामा देउ, प्रधानन्यायाधीशले राजिनामा नदिए महाअभियोग लगाउ, वर्तमानको आवश्यकता ः न्यायालयको शुद्धिकरण, न्यायालय दुषित भो ः शुद्धिकरण आवश्यक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरु कृष्ण कँडेल र लिला खनाल, वरिष्ठ उपसभापति सुशिल बस्नेत, उपसभापतिहरु कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउत लगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र ३२ जिल्ला शाखाबाट प्रतिनिधिहरु सम्मिलित दुई दिवसीय अभिमुखिकरण कार्यक्रम कार्तिक २६ गते समाजको चितवन शाखाको आतिथेयमा गैडाकोटमा प्रारम्भ भएको छ भने २६ गते राति शान्ति काव्य प्रवाह सम्पन्न भएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७८ कार्तिक २७

शान्ति समाजद्वारा १६ स्रष्टाहरुलाई पुरस्कार अर्पण

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा १६ स्रष्टाहरुलाई पुरस्कार अर्पण
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरु २०७८ कार्तिक १६ गते काठमाण्डौमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ । वर्ष २०७८ को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणीमाधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान रामरिझन यादव, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल र वर्ष २०७७ को राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान निलम कार्की निहारिकालाई प्रदान गरिएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा आयोजित कार्यक्रमको सभापतित्व शान्ति समाजका सभापति गोविन्द खनालले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुरस्कृत स्रष्टाहरुलाई रु. २० हजार नगद राशीसहित ताम्रपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरुले कविता प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य समाजको उपसभापति रत्नलक्ष्मी श्रेष्ठले गर्नुभएको थियो ।

यसैगरी कार्तिक १५ गते शान्ति समाजद्वारा नेपालगञ्जमा आयोजित कार्यक्रममा पवित्रादेवि चौलागाई मानव अधिकार स्रष्टा सम्मान स्रष्टा विष्णुलाल कुमाल र श्रीनारायण दाहाल स्रष्टा सौगात स्रष्टा रविना चौधरीलाई प्रदान गरिएको थियो भने कार्तिक १२ गते इटहरीमा आयोजित कार्यक्रममा स्रष्टा मनु मञ्जिललाई भूमिप्रसाद बराल स्रष्टा सौगात प्रदान गरिएको थियो ।

समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ कात्र्तिक १६