9851240117

hurpes@gmail.com

Home

About us

Others

Press Releases

जलवायु न्याय हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति दिवस मनाइने

प्रेस विज्ञप्ति

जलवायु न्याय हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति दिवस मनाइने

मानव अधिकार तथा शान्ति समाजले “शान्तिका लागि सद्भाव: जलवायु न्याय हाम्रो अधिकार” भन्ने आह्वानसहित ४५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) मनाउने भएको छ । यस क्रममा २०८३ असोज ५ गते विभिन्न जिल्लामा प्रदर्शन, संवाद लगायतका कार्यक्रम आयोजना हुने छ । 

स्मरणीय छ, शान्ति समाजले विगत दुई दशकदेखि जलवायु न्याय केन्द्रित अभियान सञ्चालन गर्दै आएको छ भने हरित गृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्वरमा रहेका चीन र भारतको कारण हिमालय प्रभावित भएको हुँदा ती देशहरूबाट क्षतिपूर्ति उपलब्ध गराउन नेपालले अभियान अगाडि बढाउनुपर्छ भन्ने धारणासहित हिमालय बचाउ नदी जोगाउ अभियान समेत सञ्चालन गर्दै आएको छ । यसैगरी शान्ति समाजले हिमालय संरक्षणका विषयमा केन्द्रित रही चीन र भारतसँग सहकार्यमा निरन्तर जोड दिँदै आएको छ । 

२०६४ सालमा “जलवायु परिवर्तनका कारण विस्थापित/शरणार्थी हुनसक्ने सम्भावना र त्यसका कारण, मात्रा (सङ्ख्या) आदिबारे समयमै पहिचान गरी सम्भावित प्राकृतिक विपत्तिको सामना तथा व्यवस्थापन गर्न राज्य गम्भीर भई त्यस्तो बेला उद्धार, राहत र पुनर्वासका लागि आवश्यक जनशक्तिसहितको बलियो र स्थायी संयन्त्र र पूर्वाधार खडा गर्नुपर्छ । ” भन्दै शान्ति समाजले देशव्यापी रूपमा अभियान थालेको थियो जुन निरन्तर छ । स्मरणीय छ, शान्ति समाजले संविधानको प्रस्तावनामानै “जीवनचक्र परिस्थिति सन्तुलन” समावेश गर्न आह्वानसहित अभियान सञ्चालन गर्दै आएको छ । 

समाजका तर्फबाट

रेनुका पौडेल

सभापति, मानव अधिकार तथा शान्ति समाज

२२ भदौ २०८३

2026-09-07 14:23:48

प्रेसमा प्रहरीको छापा निन्दनीय

प्रेस विज्ञप्ति

प्रेसमा प्रहरीको छापा निन्दनीय

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते राति प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारे मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ। प्रेसबाट कुनै त्रुटि  भए नियामक निकायहरू मार्फत निरूपणको विधि छदा छदै पत्रकारको गिरफ्तारी आपत्तिजनक छ।  यसै गरी सो गिरफ्तारी पश्चात्  साउन २८ गते बिहान पत्रकार श्रेष्ठ सम्पादक रहेको जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेर कम्प्युटर सहित विभिन्न सामग्री नियन्त्रणमा लिनु निन्दनीय दुराशय युक्त देखिन्छ, जुन प्रेस स्वतन्त्रतामौलिक हक र नेपालको संविधानको उल्लङ्घन  हो । तसर्थ शान्ति समाज पत्रकार श्रेष्ठको शीघ्र रिहाइ र प्रेस माथिको आक्रमण बन्द गर्न सरकारलाई आग्रह गर्दछ।

स्मरणीय छ एकातिर नेपालको संविधानको प्रस्तावना मानै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको छ भने  संविधानको धारा १९ मा मौलिक हक अन्तर्गत सञ्चारको हक प्रत्याभूत गरिएको छ । जसको उपधारा २ मा सञ्चार माध्यमलाई बन्दजफत वा दर्ता खारेज वा त्यस्तो सामग्रीजफत गरिने छैन भन्ने सुनिस्चित गरिएको छ। यसै गरी नेपाल राज्य पक्ष रहेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रको धारा १९ स्मरणीय छ भने पत्रकारहरूको सुरक्षाको लागि सूचनाको श्रोत खुलाउन सञ्चार जगत् बाध्य नभएको पत्रकारिताको विशेष प्रिभिलेज सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता सबैले अवलम्बन गर्नुपर्छ 

 

रेनुका पौडेल

सभापति

मानव अधिकार तथा शान्ति समाज

२८ साउन २०८३ 

 

2026-08-13 10:03:46

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

प्रेस विज्ञप्ति
सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०८३ साउन २० गते राष्ट्रपति रामचन्द्र पौडेल र उप राष्ट्रपति रामसहाय प्रसाद यादव सँग भेटी सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि  शान्ति समाजले प्रारम्भ  गरेको तोड्न होइन, जोडन योगदान गर्न आग्रहसहितको सद्भाव एकता अभियानबारे अवगत गराएको छ । राष्ट्रपति कार्यालय महाराजगन्जमा भएको भेटमा राष्ट्रपति पौडेलले शान्ति समाजले लोकतान्त्रिक आन्दोलन, स्वतन्त्रता र शान्ति प्रक्रियामा निर्वाह गरेको भुमिका प्रसंशनीय रहेको भन्दै  सद्भाव प्रवर्द्धनको यस अभियानमा आफ्नो साथ र शुभकामना रहेको बताउनुभयो । यसैगरी उप राष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटमा उप राष्ट्रपति यादवले सद्भाव र सहिष्णुता प्रवद्र्धन अहिलेको प्रमुख आवश्यकता भएको र सवैले त्यसैको लागि योगदान गर्नुपर्ने बताउनुभयो ।
साउन २० गते शान्ति समाजको प्रतिनिधिमण्डलले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग भेटी छलफल गरेको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको छलफलमा संसदले यस विषयमा राष्ट्रिय सङ्कल्प पारित गरी साझा धारणासहित सबै क्षेत्रसँग सहकार्यको अपेक्षा शान्ति समाजले गरेकोबारे ध्यानाकर्षण गराइएको थियो । साथै ४ महिनाको सरकारको कार्य सम्पादनबारे शान्ति समाजले प्रकाशित गरेको अवधारणा पत्रबारे पनि जानकारी गराइएको थियो । 
यसैगरी नेपाली काङ्ग्रेसका सभापति गगन थापासँग साउन १९ गते संस्थापक सभापति कृष्ण पहाडीको आवास गौशालामा सद्भाव प्रवर्द्धन हेतु राजनीतिक समाज र नागरिक समाजबिच सहकार्य लगायत विषयमा छलफल भएको थियो ।
प्रतिनिधिमण्डलहरूमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सभापति रेनुका पौडेल, पूर्व सभापतिहरू होमकान्त चौलागाई, रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गोतामे, रोजिना विष्ट, पूर्व कोषाध्यक्ष किरण ढकाल, काठमाण्डौ शाखा सभापति विकास थापा, उपसभापति सार्जन चापागाई सचिव रविना धमला, ललितपुर शाखा सभापति बाबुराम न्यौपाने, काठमाण्डौ शाखाका पूर्व सभापति ईश्वर पुडासैनी  लगायतको सहभागिता थियो । 

शान्ति समाजले विभिन्न जिल्लामा सुरु गरेको सद्भाव एकता र्‍याली हाललाई स्थगन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सो र्‍यालीहरू जानकारी गराउँदा विद्यमान अवस्थामा प्रदर्शन नगर्न मौखिक अनुरोध गरेकोले ४ वटा र्‍याली पश्चात हाललाई स्थगन गरिएको हो । 
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२० साउन २०८३
 

2026-08-05 18:20:18

तोड्न होइन, जोडन योगदान गर्न आग्रह

प्रेस विज्ञप्ति 
तोड्न होइन, जोडन योगदान गर्न आग्रह 
“हाम्रो जीवन धाराः अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले माइतीघर काठमाण्डौमा आधा घण्टा प्रदर्शन गरेको छ ।  २०८३ साउन १८ गते सोमबार दिउँसो भएको  प्रदर्शनमा सहभागीहरूले हिंसा र घृणालाई खारेज गरौँ, तोड्न होइन जोडन योगदान गरौँ, पीडितलाई न्याय र दोषीलाई सजाय सुनिश्चित गर भन्ने प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति, सभापति, पूर्व सभापतिहरू, केन्द्रीय समितिका पदाधिकारीहरूसहित ३ दर्जन शान्तिवादीहरूको सहभागिता थियो । 
सद्भाव र सहिष्णुता प्रवद्र्धनका लागि शान्ति समाजले सुरु गरेको सद्भाव एकता अभियान अन्तर्गत पाल्पा सल्यान र सुर्खेतमा सद्भाव एकता र्‍याली सम्पन्न भईसकेको छ । 
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
१८ साउन २०८३

2026-08-03 16:02:18

शान्ति समाजले सुरु गर्‍यो सद्भाव एकता अभियान

शान्ति समाजले सुरु गर्यो सद्भाव एकता अभियान
मानव अधिकार तथा शान्ति समाजले सद्भाव एकता अभियान सुरु गरेको छ । यो अभियानको पहिलो चरणमा विभिन्न जिल्लामा एकता र्याली आयोजनाको क्रम सुरु भएको छ । “हाम्रो जीवनधारा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित शान्ति समाज सुर्खेत शाखाको आयोजनामा २०८३ साउन १६ गते बिहान वीरेन्द्रनगरमा एकता र्याली सम्पन्न भएको छ । कार्यक्रममा शान्ति समाजका महासचिव प्रकाश शाही लगायत सामाजिक अगुवाहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैगरी काठमाण्डौस्थित माइतिघर मण्डलामा २०८३ साउन १८ गते सोमबार दिउँसो २ बजे शान्ति समाजले प्रदर्शन गर्दैछ ।
सद्भाव तथा सहिष्णुता प्रवर्द्धनका लागि क्रियाशील शान्ति समाजले गत निर्वाचन पूर्व पनि दर्जनौँ जिल्लामा सद्भाव प्रवर्द्धन केन्द्रित नागरिक संवाद तथा प्रदर्शन गरेको थियो ।
यसैगरी समाजका संस्थापक सभापति कृष्ण पहाडीले समाज रूपान्तरणका लागि चालक शक्ति सदैव अहिंसा हुनुपर्नेमा पुनः जोड दिनुभएको छ । साउन १६ गते बिहान शान्ति समाज काठमाडौँ शाखाको २९ औँ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै पहाडीले विविधतालाई समस्याका रूपमा होइन, उत्सवका रूपमा ग्रहण गर्न सबैलाई आह्वान गर्नुभयो ।
शान्ति समाज काठमाडौँ शाखा सभापति विकास थापाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा नेपाली काँग्रेसका महामन्त्री गुरु घिमिरे, नेकपा एमालेका पूर्व सांसद डा.बिन्दा पाण्डे, नेकपाका राष्ट्रिय सभा सांसद मदन कुमारी शाह, वाग्मती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, शान्ति समाजका सभापति रेनुका पौडेल, पूर्व सभापतिहरू रामकृष्ण बराल, होमकान्त चौलागाई, गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार रामप्रसाद जोशी, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी लगायत अधिकारकर्मीहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा “विधिको शासनः आधारभूत स्वतन्त्रता सहितको सुशासन” विषयमा शान्ति समाजले तयार गरेको अवधारणा पत्र काठमाडौँ शाखा उपसभापति सार्जन चापागाईँले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सन्चालन शाखा सचिव रबिना पौडेल ले गर्नु भएको थियो ।

2026-08-01 11:59:52

न्यायिक छानबिन आयोग गठन गर, सद्भाव, सहिष्णुता र भाइचारा प्रवद्र्धन गर

प्रेस विज्ञप्ति
न्यायिक छानबिन आयोग गठन गर, सद्भाव, सहिष्णुता र भाइचारा प्रवद्र्धन गर
२०८३ साउन १० गते राती सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा न . ३  कप्तानगन्जमा  फरक समुदायबीच भएको विवादका सन्दर्भमा सुरक्षाकर्मीले गोली चलाउँदा १ जनाको मृत्यु भएको र झन्डै  दुई दर्जन घाइते भएको घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध  एवं मर्माहत भएको छ । सोही स्थानमा केही साता अगाडी उत्पन्न विवाद निरूपण हुन नसकेको पृष्ठभूमिमा सो घटना घटेको देखिन्छ । शान्ति समाजका सुनसरीस्थित सदस्यहरूबाट प्राप्त विवरण अनुसार मध्यरातमा स्थिति नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने विकल्प छँदाछँदै आवेगमा आएर सुरक्षाकर्मीले  अन्धाधुन्ध गोली चलाएको  देखिन्छ  । राज्य, सरकारको प्रमुख दायित्व नागरिकको जीवन रक्षा गर्नु हो । नागरिक कै  जीवन हरण हुने गरी भएको यो गोली काण्डको शान्ति समाज निन्दा गर्दछ र घटनाको स्वतन्त्र एवं निष्पक्ष छानबिनका लागि शीघ्र उच्च स्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पुन आग्रह गर्दछ । यसैगरी दोषीलाई कारबाही, पीडितलाई न्याय  र घाइतेहरूको उपचार लगायत राहतको व्यवस्था सुनिश्चित गर्नु पर्दछ ।
शान्ति समाजले समुदायबीच सुमधुर सम्बन्ध, सद्भाव प्रवद्र्धनका लागि सदैव व्यापक साझेदारी र सहकार्यमा जोड दिँदै आएको छ । देशमा कुनै पनि समूह, समुदायले अन्याय, असुरक्षा अनुभूत गर्नु नपरोस्, अहिंसा, शान्ति, सद्भाव र सहिष्णुता  सदैव जीवन धारा बनोस् भन्नका  खातिर  सबै क्षेत्रबाट  इमानदार पहल र योगदान अहिलेको आवश्यकता हो । तसर्थ बलको अत्यधिक प्रयोग वाट  समस्या समाधान हुन्छ भन्ने आत्मघाती एवं रुखो  व्यवहार त्यागेर संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्न सरकार लाई  शान्ति समाज आग्रह गर्दछ । यसैगरी घरमा आगो लागेको  वेला त्यस्तो आगो निभाउन परिवारका सबै सदस्यको कर्तव्य भएकोले सद्भाव, सहिष्णुता  र भाइचारा प्रवद्र्धनका लागि आ आफ्नो क्षेत्रबाट विशेष योगदान गर्न राजनीतिक  समाज, नागरिक समाज, सञ्चार जगत् सबै नागरिकलाई  शान्ति समाज  आह्वान  गर्दछ ।  

 समाजका तर्फबाट
 रेनुका पौडेल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
१३ साउन २०८३

2026-07-29 12:54:44

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links