शान्ति समाजको भद्र अवज्ञा, सिहंदरबार अगाडिबाट १६ गिरफ्तार

प्रेस विज्ञप्ति
शान्ति समाजको भद्र अवज्ञा, सिहंदरबार अगाडिबाट १६ गिरफ्तार

मानव अधिकार तथा शान्ति समाजले २०८० असोज २६ गते दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार (दक्षिण गेट) अगाडि विरोध प्रदर्शन गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउ, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय शिघ्र खारेज गर, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर भन्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु विकास थापा, सानु लामा, रिता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, द्वन्द पिडित साझा चौतारकिा का.वा. अध्यक्ष कल्याण बुढाथोकी, माओवादी पिडित संघका अध्यक्ष धर्मराज न्यौपानेसहित १६ जनालाई गिरफ्तार गरि नगर प्रहरी कार्यालय भृकुटीमण्डप कार्यालयमा राखेको छ ।
प्रदर्शनमा सहभागिहरुले हत्या हिंसा महिमामंडन गर्न पाइदैँन, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, पिडकलाई आम माफी दिने नियतले भइरहेको चलखेल बन्द गर, हिंसा र आपराधिकरणलाई बढावा दिने काम बन्द गर, महंगीले ढाड भाच्यो, नागरिकलाई राहत खोइ?, हत्या लगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको आर्थिक चलखेलबारे छानविन गर, ललिता निवास जग्गा घोटालामा अदालतको आदेश अनुरुप छानविन किन नगरेको?, सुन काण्डका नाइकेलाई कारबाही खोइ? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विस्तृत शान्ति सम्झौताको मर्म विपरित, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई (दशक लामो सशस्त्र द्वन्दका दौरान) आम माफी दिने नियतले भइरहेको चलखेलप्रति आपत्ति व्यक्त गर्दै शान्ति समाजले विभिन्न जिल्लामा समेत प्रदर्शन गरिरहेको छ । यस क्रममा शान्ति समाजको पाल्पा शाखाले असोज २१ गतेदेखि दिनहुँ प्रदर्शन गरिरहेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२६ असोज २०८०

न्यायको सार्वभौम मान्यता विपरित कैद माफी विरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

प्रेस विज्ञप्ति
न्यायको सार्वभौम मान्यता विपरित कैद माफी विरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजले २०८० असोज २२ गते दिउँसो राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेको छ । संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा शान्तिवादीहरुले राष्ट्रपति महोदयः न्यायको सार्वभौम मान्यता विपरित माफी मिनाहाको घोषणा किन ?, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने?, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामंडन गर्न पाइदैँन, हत्या लगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले सहभागीहरुमध्येबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई गिरफ्तार गरि प्रहरी वृत्त महाराजगञ्जमामा राखेको छ ।
अर्को विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालय सिंहदरबार (दक्षिण गेट ) अगाडि असोज २६ गते दिउँसो १ बजे हुनेछ ।
यसैगरी शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध केन्द्रीत रहि असोज २१ गते देखि देशव्यापी अभियान प्रारम्भ गरेको छ । यस क्रममा शान्ति समाजका पाल्पा, चितवन, दाङ, महोत्तरी, नवलपुर, शाखाले असोज २१ गते दाङ र सुर्खेत शाखाले २२ गते जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीलाई लेखिएको १० बुँदे ज्ञापनपत्र, प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । प्रदर्शनमा महंगीले ढाड भाच्यो, नागरिकलाई राहत खोइ?, अतिवादले क्षति मात्र गर्छ, ललिता निवास जग्गा घोटालामा अदालतको आदेश अनुरुप छानविन किन नगरेको?
सुन काण्डका नाइकेमाथि कारबाही खोइ?, नेपालको पहिचान शान्ति र अहिंसा हुनुपर्छ, सद्भाव र सहिष्णुता प्रवद्र्धन गरौँ, संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई मानव अधिकारमैत्री बनाऊ, पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर, हिंसा र आपराधिकरणलाई बढावा दिने काम बन्द गर, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय शिघ्र खारेज गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२२ असोज २०८०

शान्ति समाजले राष्ट्रपति र प्रधानमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन गर्ने

प्रेस विज्ञप्ति
शान्ति समाजले राष्ट्रपति र प्रधानमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन गर्ने
मानव अधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रीत रहि देशव्यापी अभियान थाल्ने भएको छ । यस क्रममा काठमाण्डौमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिने छ भने विभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीलाई लेखिएको ज्ञापनपत्र, प्रमुख जिल्ला अधिकारीलाई बुझाइने छ । शान्ति समाजले अघि सारेको १० बुँदे धारणा यस प्रकार छः
१. चुलिदो भ्रष्टाचार, दण्डहीनता र बढ्दो महंगीका कारण नागरिकहरुमा वितृष्णा बढ्दै गइरहेको हुँदा कुनै पनि बेला विष्फोट हुन सक्ने खतरातर्फ ध्यानाकर्षण गराउँदै सुशासनको प्रत्याभूति गर्न र दण्डहीनता अन्त्य गर्न सरकारलाई आग्रह ।
२. विभिन्न विकृति र विसंगतिका कारण पछिल्लो समय समाजमा विभिन्न खाले अतिवादले टाउको उठाउँदै गइरहेकोतर्फ गम्भीर चिन्ता व्यक्त गर्दै सद्भाव र सहिष्णुताको प्रवद्र्धन गर्न सबैलाई आग्रह ।
३. क. तीनै तहको अदालतले दोषी ठहर गरेका पात्रलाई राष्ट्रपतिद्वारा माफी दिने निर्णय समग्र न्याय प्रणालीको अपमान हो । गणतन्त्र दिवसको अवसर पारेर गणतान्त्रिक नेपालका राष्ट्रपतिले गरेको सो निर्णयले गणतन्त्रको बद्नामी चाहनेहरुलाई बल पुगेको छ ।
ख. २०८० असोज ३ गते संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा हत्याको जघन्य अपराधमा कारागार सजाय भोगिरहेका व्यक्तिलाई माफी दिने निर्णय लज्जास्पद छ । न्यायको सार्वभौम मान्यता विपरित भएको सो निर्णयले आपराधीकरणलाई बढावा दिनुका साथै लोकतन्त्र र संविधानलाईं कमजोर बनाएको छ ।
ग. संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने अधिकारको दुरुपयोग भइरहेकोतर्फ गम्भीर चिन्ता व्यक्त गर्दै त्यस्तो दुरुपयोग रोक्न सम्बन्धीत सबैलाई आग्रह ।
४. बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा सर्वोच्च अदालतको आदेश अनुरुप पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि छानविन गरि कारबाही गर्नुपर्छ ।
५. सुन काण्डका मूल दोषीहरुमाथि अझै कारबाही भएको छैन । कारबाही गर्नुपर्छ ।
६. नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई अझै कारबाही भएको छैन । शिर्ष नेतासहित सो प्रकरणमा संलग्न मूल पात्रहरुलाई कारबाही गर्नुपर्छ ।
७. वाइड बडी लगायत यती, ओम्नीसहितका घोटाला र विभिन्न जग्गा प्रकरणका दोषीहरुलाई कारबाही गर्नुपर्छ ।
८ २०४७ सालपछिका सबै पूर्व तथा वर्तमान प्रधानमन्त्री र मन्त्री परिषद्का दुई जना पूर्व अध्यक्षहरुको सम्पत्ति छानविन हुनुपर्छ ।
९. माओवादीको हिंसात्मक जनयुद्ध शुरु भएको दिन फागुन १ गते “जनयुद्ध दिवस” भनि विदा दिने आपत्तिजनक सरकारी निर्णय तत्काल खारेज गर्दै वर्ष २०८० को विदा सुचिबाट तत्काल हटाउनुपर्छ ।
१०. संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री हुनुपर्छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनुपर्छ ।
समाजका तर्फबाट

रामकृष्ण बराल, सभापति
मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
१८ असोज २०८०

हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार

प्रेस विज्ञप्ति
हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार

अन्तर्राष्ट्रिय अहिंसा दिवस (२ अक्टोवर) का अवसरमा मानव अधिकार तथा शान्ति समाजले असोज १५ गते अहिंसाको प्रवद्र्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दैै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार हो भन्दै शान्ति समाजले जनयुद्ध दिवसका नाममा फागुन १ गते विदा दिने सरकारी निर्णय शिघ्र खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
यस क्रममा असोज १५ गते बिहान शान्ति समाजका रुपन्देही, महोत्तरी, चितवन, नवलपुर, शाखाले प्रदर्शन गरेका छन् भने अछाम शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ । यस्तै समाजका दर्शन बढी शाखाहरुले असोज १५ गते साँझ प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् ।
२००७ को जुन महिनामा संयुक्त राष्ट्र महासभाले अक्टोवर २ लाई अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको छ । अक्टोवर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । महात्मा गान्धीलाई अहिंसात्मक आन्दोलन र सामाजिक परिवर्तनका लागि उत्प्रेरक मानिनछ ।
अहिंसालाई केन्द्रविन्दुमा राखेर क्रियाशील शान्ति समाजले सन् २००७ देखिनै अहिंसा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
यसैगरी १३ जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी शान्ति समाजले असोज १४ गते अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस (१ अक्टोवर) मनाएको छ । यस क्रममा शान्ति समाजको रुपन्देही शाखाले स्वास्थ्य शिविर आयोजना गरेको थियो भने काठमाडौं शाखाले कागेस्वरी मनोहर नगरपालिका गागलफेदीस्थित जेष्ठ नागरिक सेवा आश्रममा खाद्यान्न सहयोग गरेको थियो । यस्तै चितवन शाखाले देवघाटस्थित रोटरी करुणालय बृद्धआश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको थियो भने मोरङ शाखाले महिला जागृति तथा वृद्धाश्रममा पौष्टीक आहार उपलब्ध गराएको थियो ।
साथै शान्ति समाजका पाल्पा, नवलपुर, सुर्खेत, बागलुङ शाखाले विभिन्न स्थानमा फलफुल वितरण गर्नुका साथै महोत्तरी र दाङ शाखाले अन्तरक्रिया÷गोष्ठी आयोजना गरेका थिए । जेष्ठ नागरिक दिवसकै अवसरमा शान्ति समाजका पाँचथर, बाँके र तेह्रथुम शाखाले विविध कार्यक्रम आयोजना गरेका थिए ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
१५ असोज २०८०

संविधानको सीमाभित्र रहेर सहमति खोज्न आग्रह

प्रेस विज्ञप्ति
संविधानको सीमाभित्र रहेर सहमति खोज्न आग्रह
सरकारद्वारा २०८० भदौ २७ गते प्रतिनिधिसभामा प्रस्तुत विद्यालय शिक्षा विधेयक (विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक) को विरोधमा नेपाल शिक्षक महासंघको आयोजनामा भइरहेको काठमाण्डौ केन्द्रीत सडक आन्दोलनप्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा कुनै पनि विधेयक वा संसोधन विधेयक प्रस्तुत गर्नु पूर्व सरोकारवालाहरुसँग छलफल गर्ने र विश्वासमा लिने दायित्व सरकारको हो । यसैगरी विधेयक/संसोधन विधेयक प्रस्तुत गर्दा त्यसको कारणहरु खुलाउनुपर्ने र त्यसको दीर्घकालिन प्रभावबारे आँकलन गर्ने दायित्व पनि सरकारको हो । तर त्यस्तो दायित्व सरकारले पूर्ण रुपमा बहन गरेको देखिदैन । यसैगरी कतिपय विधेयक/संसोधन विधेयकहरु स्वेच्छाचारी तवरमा प्रस्तुत भएको देखिन्छ जुन लोकतान्त्रिक पद्धतिको मर्म विपरित छ ।
जारी शिक्षक आन्दोलनका सन्दर्भमा शिक्षकहरुको गरिमाको सम्मान गर्न सरकारलाई र गरिमामय शिक्षण पेशाको मर्यादा कायम राख्न आन्दोलनरत पक्षलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज शिघ्र सहमति खोज्न संवद्ध सबै पक्षलाई विनम्र आग्रह गर्दछ । तर त्यस्तो सहमति संविधानको सीमाभित्रै रहेर खोजिनुपर्छ । यसैगरी शिक्षक आन्दोलनमाथि सरकारले कुनै प्रकारको दमन गर्नुहुदैँन र आन्दोलनरत पक्षले पनि अराजकतालाई बढावा दिने संभावना भएको कुनै पनि कार्य गर्नुहुदैँन । आन्दोलनका नाममा पठन पाठन बन्द गर्ने कार्य तत्काल अन्त्य गरि “शिक्षाको अधिकार” को सम्मान गर्न शान्ति समाज आन्दोलनरत पक्षलाई आग्रह गर्दछ । यसैगरी राज्यका अन्य निकायको तुलनामा शिक्षकहरुले पाउने सेवा सुविधा सम्बन्धमा रहेको विभेद अन्त्य गर्न समेत शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
जारी शिक्षक आन्दोलनका सन्दर्भमा सरकारले विश्वासको वातावरण सिर्जना गरि विभिन्न जिल्लाबाट आन्दोलनमा सहभागि हुन काठमाण्डौ आउनुभएका आदरणीय शिक्षकहरुलाई यथाशिघ्र कार्यस्थलमा फर्की पठनपाठन सुचारु गर्ने वातावरण सिर्जना गर्न र शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले सरकारसँग घनिभुत तवरमा वार्ता गरि सहमतिमा पुग्न शान्ति समाज आग्रह गर्दछ ।
“विद्यालय शान्ति क्षेत्र” भनेर शान्ति समाज लगायत नेपालको समग्र नागरिक समाजले विगतमा सञ्चालन गरेको अभियान स्मरण गराउँदै शैक्षिक क्षेत्रलाई राजनीतिको छायाँबाट मुक्त राख्नका लागि आवश्यक पहल गर्न समेत शान्ति समाज संवद्ध सबैलाई विनम्र आग्रह गर्दछ ।
समाजका तर्फबाट
रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२०८०/६/५

बाल सैन्यको प्रयोग युद्ध अपराधः शान्ति दिवसमा विभिन्न जिल्लामा प्रदर्शन

प्रेस विज्ञप्ति
बाल सैन्यको प्रयोग युद्ध अपराधः शान्ति दिवसमा विभिन्न जिल्लामा प्रदर्शन
२०८० असोज ४ गते विभिन्नि जिल्लामा प्रदर्शन लगायतका कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) मनाएको छ । संक्रमणकालिन न्याय सम्बन्धी संसोधन विधेयकलाई मानव अधिकार मैत्री बनाउ र टुंगोमा पुर्याऊ, विस्तुत शान्ति सम्झौताको मर्म अनुरुप मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई दण्डित गर भन्दै शान्ति समाजका काठमाण्डौ, रुपन्देही, चितवन जिल्ला शाखाले प्रदर्शन गरेका छन् । यसैगरी एक दर्जन बढी जिल्लामा असोज ४ गते साँझ शान्ति संस्कृति निर्माणमा जोड दिँदै दीप प्रज्वलन लगायत कार्यक्रम आयोजना गरिएको छ ।
काठमाण्डौ बौद्धस्थित शान्ति स्तुपा अगाडि सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी लगायत शान्तिवादीहरुले पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर्दै संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह गर्नुभएको थियो ।
यसैगरी शान्ति समाजद्वारा रुपन्देहीको सैनामैनामा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका सल्लाहकार गोविन्द खनालले दशक लामो सशस्त्र द्वन्द्वमा अन्तर्राष्ट्रिय मानवीय कानुनले युद्ध अपराध ठहर गरेको बाल सैन्यको प्रयोग लगायत गम्भीर मानव अधिकार उल्लंघन र मानवता विरुद्धका विभिन्न घटनामा संलग्नहरुलाई विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप दण्डीत गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य डि.पी खनाल, पत्रकार हरिश ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
हिंसाको भविष्य हुदैँन, शान्तिको विकल्प हुदैँन भन्ने मान्यतासहित शान्ति समाजले स्थापनाकालदेखी नै (२०५३ साल) अन्तर्राष्ट्रिय शान्ति दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
४ असोज २०८०

नेम्वाङको निधनले शान्ति समाज मर्माहत

नेम्वाङको निधनले शान्ति समाज मर्माहत
संविधान सभा अध्यक्ष श्रद्धेय सुवास नेम्वाङको २०८० भदौ
२६ गते भएको असामयिक निधनले मानव अधिकार तथा
शान्ति समाज स्तब्ध एवम् मर्माहत भएको छ । विभिन्न
कालखण्डमा विशिष्ट योगदानका लागि प्रशिद्ध शालीन
व्यक्तित्व नेम्वाङ्गप्रति शान्ति समाज हार्दिक
श्रद्धान्जली सहित शोक सन्तप्त परिवारमा समवेदना व्यक्त
गर्दछ ।
लोकतन्त्र, शान्ति र मानव अधिकारको आन्दोलनका
क्रममा नेम्वाङ्गसँग शान्ति समाजको निकट सम्बन्ध
रहेको थियो । भदौ २६ गते दिउँसो स्वर्गीय
नेम्वाङ्गको पार्थिव शरीरमा माल्यार्पण सहित शान्ति
समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रामकृष्ण्
बरालद्वारा श्रद्धान्जली अर्पण गरिएको छ ।
समाजका तर्फबाट
रामकृष्ण बराल
सभापति
मानव अधिकार तथा शान्ति समाज
२०८०/५/२६
May be an image of 1 person and dais
All reactions:

4545

स्रष्टा सम्मान पुरस्कार २०८०–राजेश्वर नेपाली र डा. राजेन्द्र विमलसहित १५ जनालाई

प्रेस विज्ञप्ति
स्रष्टा सम्मान पुरस्कार २०८०–राजेश्वर नेपाली र डा. राजेन्द्र विमलसहित १५ जनालाई

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस क्रममा वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गर्नुभएका राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएको छ । (सो भन्दा अगावै शान्ति समाजले उहाँलाई २०८० को स्रष्टा सम्मानबाट पुरस्कृत गर्ने प्रक्रिया अघि बढाइसकेको थियो ।)
यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा.रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाण्डौ), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान डा. कृष्णराज चौधरी सर्वहारी (दाङ), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान प्रा.डा. सावित्री कक्षपती (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा.नवराज पाण्डेय (अर्घाखाँची)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाण्डौ), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर), श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्यप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल (बालकुमारी) (कञ्चनपुर)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
पुरस्कृत हुनेहरुमा ७ जना महिला स्रष्टा हुनुहुन्छ भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधि, मगर, र लिम्बु गरी ८ भाषामा विशेष योगदान गर्नुभएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा (२०८० कार्तिक अन्तिम साता) कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजले स्रष्टाहरुलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो ।

पुरस्कृत स्रष्टाहरुबारे ः
१. स्व.राजेश्वर नेपालीः वि.स.२००२ साल भदौ १९ गते बेलाग्राम धनुषामा जन्मनुभएका पत्रकार स्वतन्त्रता सेनानी एवं लोकतान्त्रिक आन्दोलनका अग्रज स्रष्टा राजेश्वर नेपालीका मैथिली भाषामा विचार क्रान्ती (कविता संग्रह), मिथिला मैथिली (कविता संग्रह), सोहागिन (कथा संग्रह) नेपालीमा गरिवको व्यथा (खण्डकाव्य), निसहाय मानव (खण्डकाव्य), नव नेपाल (हिन्दी कविता संग्रह) गरी मैथिली, नेपाली र हिन्दीमा दुई दर्जन कृतिहरु प्रकाशित छन् । २०८० भदौ ११ गते उहाँको निधन भएको थियो ।
२. प्रा.डा.राजेन्द्र विमलः वि.स. २००३ साल चैत्र १३ गते जनकपुरमा जन्मनुभएका स्रष्टा प्राध्यापक राजेन्द्र विमलका ई हमरे कथा थिक (कथासंग्रह), खहरेको तिर्खा (उपन्यास), रोएको जुन (उपन्यास), राजेन्द्र विमलका कथाहरू, मिथिलाको इतिहास, संस्कृति र कला–परम्परा गरी मैथिली, नेपाली र अंग्रेजीमा दुई दर्जन बढी कृतिहरु प्रकाशित छन् ।
३. डा. रामप्रसाद ज्ञवालीः २०२४ साल वैशाख ११ गते गुल्मीमा जन्मनुभएका स्रष्टा ज्ञवालीका औसीका फूलहरु (महाकाव्य), स्वप्नदृष्टि (महाकाव्य), एकादेशमा (खण्डकाव्य), जीवनका घुम्तीहरु (उपन्यास) गरि समालोचना, कविता, उपन्यास, नाटक र बालसाहित्यको क्षेत्रमा ४१ वटा कृतिहरु प्रकाशित छन् ।
४. सुलोचना मानन्धरः २०११ फागुन २९ गते झोछें काठमाण्डौमा जन्मनुभएकी स्रष्टा सुलोचना मानन्धरका नेपालभाषा (नेवारी)मा झ्यारखाना (कथासंग्रह), कर्मया भोग धैगु छु? (निबन्ध) लगायत ७ वटा र नेपालीमा इतिहासका जिउँदा पानाहरु (निबन्ध संग्रह), रात (कविता संग्रह) लगायत ८ वटा गरि कुल १५ कृतिहरु प्रकाशित छन् । उहाँको रात कविता संग्रहको अंग्रेजी अनुवाद समेत प्रकाशित भएको छ ।
५.डा. कृष्णराज चौधरी सर्वहारीः २०२८ साल भदौ ६ गते लमही दाङमा जन्मनुभएका स्रष्टा डा.सर्वहारीका थारु भाषामा सुख्ली (थारु भाषाको पहिलो बाल कथा संग्रह), जोन्हू मामा (थारु भाषाको पहिलो बाल कविता संग्रह), फुटल करम (थारु भाषाको पहिलो उपन्यास) गरि थारु, नेपाली र अंग्रेजी भाषामा गरि ३१ वटा कृतिहरु प्रकाशित छन् ।
६.प्रा.डा. सावित्री कक्षपतीः २०१६ साल साउन ४ गते मखनटोल तानसेनमा जन्मनुभएकी स्रष्टा कक्षपतिका उत्तरवर्ती चरणका नेपाली कथामा संस्कृति, पाल्पाका लोकगीतको अध्ययन लगायत ३ वटा कृति प्रकाशित छन् ।
७. प्रा.नवराज पाण्डेयः २०२३ साल जेठ ७ गते अर्घाखाँचीमा जन्मनुभएका स्रष्टा पाण्डेयका संस्कृत भाषामा परमानन्दचरितामृतम् (काव्य), कालिगण्डकी (नेपाली महाकाव्य), व्याकरणमहाभाष्यम् गरी संस्कृत र नेपाली भाषामा एक दर्जन कृतिहरु प्रकाशित छन् ।
८. मुकुन्द आचार्यः २००१ साल चैत्र ६ गते मकवानपुर गढीमा जन्मनुभएका स्रष्टा मुकुन्द आचार्यको भोजपुरी भाषामा भोजपुरी गद्य साहित्य (अनुसन्धानमूलक ग्रन्थ), भोजपुरी उखान र टुक्का (अनुसन्धानमूलक ग्रन्थ), डार एक फूल अनेक (भोजपुरी भाषामा धारावाहीक उपन्यास) लगायत भोजपुरी, नेपाली भाषामा अनुवाद समेत गरी एक दर्जन पुस्तक प्रकाशित छन् ।
९. बाजुराम पौडेलः २०१० चैत्र २० गते काठमाण्डौमा जन्मनुभएका स्रष्टा बाजुराम पौडेलका शान्ताश्री (महाकाव्य), उनी उर्मिला (महाकाव्य), जूनकीरी (बालमहाकाव्य), सिर्जना फस्टाउनुपर्छ (खण्डकाव्य), अर्को संसार (उपन्यास) गरी एक दर्जन बढी कृतिहरु प्रकाशित छन् ।
१०. कमलादेवी हेमचुरीः सन् १९६३ मे १ मा पाल्पामा जन्मनुभएकी स्रष्टा कमला हेमचुरीको ब्राम्हणबाद विरुद्ध बुद्ध र अम्वेडकर नामक कृति प्रकाशित छ भने उहाँले डा. भिमराव अम्बेडकर लिखित दुई वटा पुस्तकको नेपाली अनुवाद समेत गर्नुभएको छ । सामाजिक न्यायको आन्दोलनमा सक्रिय हेमचुरीका दर्जनौ लेख÷कार्यपत्र प्रकाशित छन् ।
११. लीला रानाः २०१० पुस ३ गते बैदीछाप स्याङ्जामा जन्मनुभएकी स्रष्टा रानाका मगर भाषामा बामरी सार रीलीङ झुरुम (कविता संग्रह) एक मुठ्ठी बुकी फूल (नेपाली कविता संग्रह) गरि आधा दर्जन कृतिहरु प्रकाशित छन् ।
१२. मधुराज केरुङः २०४९ असार २३ गते पाँचथरमा जन्मनुभएका स्रष्टा केरुङका लिम्बु भाषामा साम्याङफुङ (गजल संग्रह), तुम्दुमसेरी (कविता संग्रह), गरी ३ वटा कृतिहरु प्रकाशित छन् ।
१३. मधु शाही बस्नेतः २०४० माघ २ गते जन्मनुभएकी खर्पुनाथ हुम्ला निवासी स्रष्टा मधु शाहीका मधु माधव (कथा संग्रह), बुनु (कविता संग्रह), तिमी र म (गजल संग्रह) गरि ४ वटा कृति प्रकाशित छन् ।
१४. हंसावती कुर्मीः २०३५ माघ १ गते जन्मनुभएकी स्रष्टा हंसावती कुर्मी ‘हंसा’का अवधी भाषामा अजोरिया (कविता संग्रह), नेपालीमा विम्व प्रतिविम्व (कथा संग्रह), बिरानो बस्ती गरि ३ वटा पुस्तक प्रकाशित छन् ।
१५.मधु हमाल (बालकुमारी)ः २००९ मंसिर २५ गते जन्मनुभएकी कञ्चनपुर निवासी स्रष्टा मधु हमालका व्यथाको कथा (कथा संग्रह), सुजीत स्मृति लहर गरी दुई वटा कृति प्रकाशित छन् ।
समाजका तर्फबाट

रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः १७ भदौ २०८०

भ्रष्टाचारको विरोधमा स्रष्टाहरु

प्रेस विज्ञप्ति
भ्रष्टाचारको विरोधमा स्रष्टाहरु
ठूला ठूला भ्रष्टाचारका घटनामा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न स्रष्टाहरुले आग्रह गरेका छन् । २०८० साउन ३२ गते मानव अधिकार तथा शान्ति समाजद्वारा भ्रष्टाचार विरुद्ध केन्द्रीत रहि काठमाण्डौमा आयोजित शान्ति काव्य प्रवाहको ९२ औँ श्रृंखलामा स्रष्टाहरुले भ्रष्टाचार र दण्डहीनता विरुद्ध आफ्नो रचना प्रस्तुत गरेका थिए । भ्रष्टाचारका केही मामलामा कारबाहीको प्रक्रिया शुरु भएपनि मूल दोषीहरुलाई उन्मुक्ति दिइएकोप्रति स्रष्टाहरुले रोष व्यक्त गरेका थिए ।
शान्ति समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न शान्ति काव्य प्रवाहमा ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, भाग्यशाली अधिकारी, मेनका पोखरेल, रत्ननिधि रेग्मी, त्रिभुवनचन्द्र वाग्ले, रुद्र अधिकारी, जीवन अधिकारी, शान्ति रिसाल, शारदा पराजुली, विजयध्वज थापा, दुर्गाकिरण तिवारी, भुवन शिवाकोटी, कुसुम शर्मा, त्रिपुरा पौडेल, सरला तिमल्सिना, विमला दाहाल, ओमप्रसाद कोइराला, अच्युतप्रसाद पौडेल, रवीन्द्र आशिष शैली, डिल्लीप्रसाद मूलतिहुन, जनार्दन अधिकारी, गगनदीप सर्व, ताराप्रसाद चापागाई, उर्मिला पन्त पाण्डेय, रश्मि रिमाल, निर्मलरमण पराजुली सहित २७ जना स्रष्टाहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
३२ साउन २०८०

संसोधन विधेयकप्रति आपत्ति/शान्ति समाजद्वारा सभामुख र अध्यक्षको ध्यानाकर्षण

प्रेस विज्ञप्ति
संसोधन विधेयकप्रति आपत्ति/शान्ति समाजद्वारा सभामुख र अध्यक्षको ध्यानाकर्षण
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटी संसदमा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संसोधन विधेयकप्रति गम्भिर चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण गराएको छ ।
२०८० साउन १२ गते सभामुखको कार्यालय र अध्यक्षको कार्यालय सिंहदरबारमा भएको छुट्टाछुट्टै भेटघाटमा शान्ति समाजका तर्फबाट ज्ञापनपत्र प्रस्तुत गर्दै कुनै पनि विधेयक तर्जुमा गर्दा नै लोकतन्त्र र आधारभूत स्वतन्त्रताका मुल्यहरुप्रति संवेदनशिल हुँदै नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय मानव अधिकार÷मानवीय कानुन अनुकुल हुनुपर्नेतर्फ समेत ध्यानाकर्षण गराइएको हो ।
उक्त संसोधन विधेयक पारित भएमा हिंसालाई वैधानिकता प्रदान गर्र्ने खतरा रहेको हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संसोधन विधेयक कुनै हालतमा पारित हुनु हुदैँन भन्ने शान्ति समाजको धारणा अवगत गराइएको थियो ।
प्रतिनिधिमण्डलमा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, महासचिव रेनुका पौडेल, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यद्वय नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी सम्मिलित हुनुहुन्थ्यो ।
हिंसा र राजनीतिक अस्थिरतालाई बढावा दिने सो संसोधन विधेयकको विरुद्धमा मानव अधिकार तथा शान्ति समाजद्वारा साउन ८ गतेदेखि प्रारम्भ अभियानका क्रममा तेह्रथुम, मोरङ, सुर्खेत, दाङ, चितवन, पाल्पा, गोरखा र रुपन्देही गरि ८ जिल्लामा प्रदर्शन भइसकेको छ भने सम्वद्ध निकायहरुलाई ध्यानाकर्षण गराउने क्रम जारी छ ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
१२ साउन २०८०