एनसेल जस्ता महाघोटालामा संलग्नलाई दण्डीत गर्न देशव्यापी आन्दोलन थाल्ने संकल्प

प्रेस विज्ञप्ति
एनसेल जस्ता महाघोटालामा संलग्नलाई दण्डीत गर्न देशव्यापी आन्दोलन थाल्ने संकल्प
“एनसेल जस्ता महाघोटालामा प्रधानमन्त्री÷पूर्व प्रधानमन्त्रीहरु समेतको संलग्नताको तथ्य प्रकाशमा आएको छ, नागरिक स्तरबाट समेत यस्को छानविन गर्नुपर्छ र दोषीहरु जो कोही हुन कारबाही गर्नुपर्छ र यस्का लागि देशव्यापी रुपमा शान्तिपूर्ण आन्दोलन थाल्नुपर्छ ” भन्ने संकल्पसहित विराटनगरमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । २०८० मंसिर २८ गते मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाद्वारा एलिट क्लबको सभाकक्षमा सम्पन्न लोकतन्त्रको प्राणः सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा बोल्ने नागरिक समाजका प्रतिनिधिहरुले कुशासनका कारण नागरिकहरुमा अहिले चरम आक्रोश र असन्तुष्टि रहेको बताउँदै भ्रष्ट नेताहरुबाट लोकतन्त्रमाथि सर्वाधिक खतरा रहेको औल्याएका थिए ।
यसैगरी शान्ति समाज इलाम शाखाद्वारा मंसिर २६ गते इलाममा आयोजित नागरिक संवाद कार्यक्रममा “सामाजिक सद्भाव भड्काउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भएकाले सबै खाले आन्दोलन र प्रदर्शन गर्दा सामाजिक सद्भाव कायम राख्न अपिल”सहित संकल्प पारित गरिएको छ भने झापा शाखाद्वारा मंसिर २५ गते विर्तामोडमा आयोजित नागरिक संवाद कार्यक्रममा “पहिचानको विषयलाई लिएर उठेको आन्दोलनलाई संवादबाटै समाधान गर्न सहमति हेतु अब नागरिक समाजले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने”तर्फ ध्यानाकर्षणसहित संकल्प पारित गरिएको छ ।
समाजका सभापति रामकृष्ण बरालद्वारा अवधारणापत्र प्रस्तुत गरिएको तीन जिल्लाको नागरिक संवाद कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रत्येक व्यक्तिलाई आवतजावत गर्ने स्वतन्त्रता भएको मानव अधिकारको विश्वव्यापी मान्यता स्मरण गराउँदै कोशी प्रदेश नामाकरण विरुद्ध पूर्वाञ्चलमा आन्दोलनरत पक्षलाई सो अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको थियो । सरकारले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न नहुने र आन्दोलनरत पक्षले हिंसा र अराजकतालाई बढावा दिनु नहुने स्मरण गराउँदै पहाडीले संवादबाटै समाधान खोज्न स्थानीय नागरिक समाजलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।
समाजका तर्फबाट

रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२९ मंसिर २०८०

एनसेल घोटाला प्रकरणमा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारको संलग्नता

प्रेस विज्ञप्ति
एनसेल घोटाला प्रकरणमा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारको संलग्नता
नेपालमा झाँगिएर गएको भ्रष्टाचार नै लोकतन्त्र संस्थागत गर्ने मार्गमा प्रमुख वाधक भएको धारणा पूर्व प्रधान न्यायाधीश शुसिला कार्कीले व्यक्त गर्नुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा २०८० मंसिर २४ गते मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाण्डौमा सम्पन्न लोकतन्त्रको प्राणः सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै कार्कीले ठूलो संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको र विकल्प खोज्न पनि नहुनेमा जोड दिँदै भ्रष्ट नेताहरु कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै सांसद डा. अमरेशकुमार सिंहले एनसेल घोटाला प्रकरणमा वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारका सदस्यहरु र विभिन्न व्यक्ति र निकायहरुको संलग्नता र मिलेमतोबारे विस्तृत प्रकाश पार्नुभएको थियो । यस्तै पूर्व का.वा.महालेखा परीक्षक सुकदेव खत्री भटट्राईले एनसेल घोटाला प्रकरणमा राज्यका निकायहरुको बदमासीबारे चर्चा गर्नुभएको थियो । प्राध्यापक डा. लोकराज बरालले लोकतन्त्रको स्थायीत्वबारे प्रकाश पार्नुभएको थियो ।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले भ्रष्टाचार÷घोटालामध्ये पनि एनसेल प्रकरण महाघोटाला भएको बताउँदै दोषीहरुलाई दण्डीत गर्न देशव्यापी अभियान जारी रहने बताउनुभयो ।
समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न नागरिक संवाद कार्यक्रममा महासचिव रेनुका पौडेलले समाजद्वारा तयार गरिएको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने सचिव चन्द्रमणी बञ्जाराले शान्ति समाजद्वारा २०८० मंसिर १६ गतेदेखि २० गतेसम्म लोकतन्त्रको प्राणः सुशासन र सद्भाव शिर्षकमा ९ जिल्लामा आयोजित नागरिक संवाद कार्यक्रमबाट सर्वसम्मतिले जारी भएको नौ वटा नागरिक संकल्प प्रस्तुत गर्नुभएको थियो । कवि अर्जुन पराजुलीले भ्रष्टाचार विरुद्ध कविता प्रस्तुत गर्नुभएको कार्यक्रममा नागरिक अगुवाहरु डा. केदारनरसिंह केसी, श्याम श्रेष्ठ, विजयकान्त कर्ण, श्रीकृष्ण अनिरुद्र गौतम, होमकान्त चौलागाई, पत्रकार कृष्णमुरारी पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरका सन्दर्भमा एनसेल महाघोटाला प्रकरणमा संलग्नहरुलाई दण्डीत गर्नुपर्ने मागसहित शान्ति समाजका चितवन, रुपन्देही, पाल्पा, सुर्खेत, लगायत शाखाहरुले प्रदर्शन गरेका छन् ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२४ मंसिर २०८०

लोकतन्त्रको रक्षार्थ ९ जिल्लामा नागरिक संवाद/शान्ति समाज र कृष्ण पहाडीकै आलोचना समेत स्वीकार्य

प्रेस विज्ञप्ति
लोकतन्त्रको रक्षार्थ ९ जिल्लामा नागरिक संवाद/शान्ति समाज र कृष्ण पहाडीकै आलोचना समेत स्वीकार्य

लोकतन्त्रको रक्षार्थ सुशासनको प्रत्याभूति र सद्भाव प्रवद्र्धनमा केन्द्रीत रहि मानव अधिकार तथा शान्ति समाजले ९ जिल्लामा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । २०८० मंसिर १६ गते कास्कीको पोखराबाट शुरु भएको अभियान अन्तर्गत मंसिर २० सम्ममा स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर, चिवतन, गोरखा र नुवाकोटमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बरालसहित स्थानीय नागरिक समाजका प्रतिनिधिहरु र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेको नागरिक संवाद कार्यक्रममा सर्वसम्मतिबाट ९ वटा नागरिक संकल्प समेत जारी भएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन मंसिर २४ गते काठमाण्डौ रामशाहपथस्थित नेपाल बार एशोसियसनको सभाकक्षमा दिउँसो १ बजे शान्ति समाजद्वारा आयोजना गरिएको नागरिक संवाद कार्यक्रममा उक्त नागरिक संकल्प र नौ जिल्लामा व्यक्त नागरिक आवाजको सार प्रस्तुत गरिने छ । यो कार्यक्रम देशव्यापी रुपमा आयोजना गरिदैँ छ ।
लोकतन्त्र रक्षा अभियान अन्तर्गत शान्ति समाजले नागरिक संवाद कार्यक्रमको पृथक स्वरुप अघि सारेको छ भने नागरिक संवाद कार्यक्रमको प्रारम्भमै मानव अधिकार तथा शान्ति समाजकै कमि कमजोरी र समाजका संस्थापक सभापति कृष्ण पहाडीकै बारेमा पनि आलोचना गर्न पाउने जानकारी गराउँदै उपस्थित सहभागिहरुलाई मन्तव्य व्यक्त गर्न आग्रह गरिएको थियो ।
नागरिक संवाद कार्यक्रममा प्रस्तुत गरिएको अवधारणापत्र यसैसाथ संलग्न छ ।
समाजका तर्फबाट

रामकृष्ण बराल, सभापति
मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२१ मंसिर २०८०

लोकतन्त्रको प्राणः सुशासन र सद्भाव
(मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको संस्था हो र त्यसको रक्षाका लागि समेत प्रतिवद्ध छ । हिंसालाई बढावा दिने कुनै पनि प्रवृत्ति र प्रचलन वा परम्परालाई निरुत्साहीत गर्न अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापित शान्ति समाजले आफ्ना सदस्यहरुका लागि जारी गरेको आचारसंहितामा लोकतन्त्रप्रतिको निष्ठा अनिवार्य गरेको छ । विगत सात महिनामा कुशासन र दण्डहीनता विरुद्ध शान्ति समाजले सञ्चालन गरेको अभियानका क्रममा विभिन्न जिल्लामा सय वटा भन्दा बढी प्रदर्शन भइसकेको छ भने काठमाण्डौमा पाँच पटक गिरफ्तारी भएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस(१० डिसेम्वर)का अवसरमा २०८० मंसिर तेस्रो सातादेखि लोकतन्त्र रक्षामा केन्द्रीत रहि समाजद्वारा देशव्यापी रुपमा आयोजित नागरिक संवाद कार्यक्रममा प्रस्तुत अवधारणापत्र यस प्रकार छः)
१ लोकतन्त्र विरोधी आन्दोलनको सुत्रधार को हो?ः २०६२÷६३ को अभूतपूृर्व ऐतिहासिक जन आन्दोलनको बलमा नेपालमा २४० वर्ष पुरानो राजतन्त्रको उन्मुलन भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो । लोकतन्त्रको प्राण भनेकै मानव अधिकार, आधारभूत स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र सद्भाव हो । लोकतन्त्रमा प्रत्याभूत अधिकारकै दुहाई दिएर लोकतान्त्रिक गणतन्त्रकै हत्या गर्नुपर्छ भन्दै उन्मुलन भएको राजतन्त्र पुर्नस्थापनाको मागसहित २०८० मंसिर ७ गते काठमाण्डौमा प्रदर्शन गरि लोकतन्त्र विरोधी आन्दोलन चर्काउन खोजेको देखिन्छ । छेउ छाउमा जुनसुकै एजेण्डा जोडेपनि त्यो आन्दोलनको मूल उद्देश्य उन्मुलन भएको राजतन्त्र पुर्नस्थापना रहेको बुझिन्छ । लोकतन्त्रको हत्या गर्नुपर्छ भन्ने घोषित मागका कारण शान्ति समाजले त्यो आन्दोलनलाई लोकतन्त्र विरोधी आन्दोलनको संज्ञा दिएको छ । उक्त आन्दोलनका अभियन्ताहरुले आन्दोलन चर्काउन घृणा फैलाउने, हिंसा भड्काउने र विभिन्न समुदायमाथि निर्घात प्रहार गर्ने गरेका छन् । लोकतन्त्र विरोधी सो आन्दोलनका घोषित÷अघोषित ३ वटा स्वरुप देखिन्छ जस्को सुत्रधार पूर्व राजा ज्ञानेन्द्र शाह भएको प्रष्ट छ । पहिलो स्वरुपलाई नागरिक मोर्चाको रुपमा प्रस्तुत गर्न खोजिएको छ । २०७९ फागुन १ गते झापाको काकरभिट्टाबाट “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान” को नाममा शुरु भएको सो अभियानको उद्घाटन पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको विदितै छ । २०८० मंसिर ७ गतेबाट काठमाण्डौ केन्द्रित लोकतन्त्र विरोधी प्रदर्शन सोही अभियानको ब्यानरमा भएको देखिन्छ ।
संसद (प्रतिनिधिसभा) मा १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उद्देश्य राजतन्त्र पूर्नस्थापनाको देखिएता पनि २०७९ को आम निर्वाचन पछि सरकारमा समेत सामेल भएको राप्रपा घोषित रुपमा संविधान विरोधी आन्दोलनमा उत्रेको छैन तर राप्रपासहितको संलग्नतामा “राजनीतिक मोर्चा” निर्माण गरि लोकतन्त्र विरोधी आन्दोलन चर्काउने अभ्यास भइरहेको बुझ्न सकिन्छ । यसैगरी तेस्रो स्वरुपको रुपमा “धार्मिक मोर्चा” अघि सार्न खोजेको देखिन्छ । मंसिर ७ गतेबाट शुरु भएको सो लोकतन्त्र विरोधी आन्दोलनका क्रममा त्यसका केही अभियन्ताहरुले अबको शासनको स्वरुप “धर्म सभा”ले निर्धारण गर्ने बताइसकेका छन् । तिमध्ये केहीको पृष्ठभूमी आपराधिक छ । अपेक्षित रुपमा जनसमर्थन नपाएपछि त्यसका प्रमुख अभियन्ताहरुले काठमाण्डौँ उपत्यकाबासीलाई गाली गर्ने र काठमाण्डौमा नाकाबन्दी लगाउनेसम्मका धम्की दिएका छन् । अफ्वाह फैलाउने र अराजकतालाई बढावा दिने लोकतन्त्र विरोधी सो आन्दोलनको कुनै सैद्धान्तिक दर्शन छैन र नैतिक मुल्य देखिदैँन ।
१.१ आन्दोलनरत पक्षलाई शान्ति समाजको सुझावः क. लोकतन्त्र विरोधी आन्दोलनको कुनै भविष्य नहुने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको विनम्रताका साथ स्मरण गराउँदै लोकतन्त्र एवं मानव अधिकारका शास्वत मुल्यप्रति प्रतिवद्धता व्यक्त गर्न शान्ति समाज आग्रह गर्दछ ।
ख. यसैगरी क्षेत्र र समुदाय विशेषप्रति प्रहार गर्ने कार्य बन्द गर्न, घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति बन्द गर्न आग्रह गर्दछ ।
१.२ सरकारलाई सुझावः क. लोकतन्त्र विरोधी सो आन्दोलनका क्रममा पक्राउ परेकाहरुमध्ये हिंसा भड्काउने र घृणा फैलाउने कार्यमा संलग्नबाहेक पक्राउ परेका अन्यलाई रिहा गर्नुपर्छ ।
ख. मंसिर ६ गते राति भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा भएको महिलामाथिको दुव्र्यवहारको घटनाको निष्पक्ष छानविन गरि दोषीमाथि कारबाही गर्नुपर्छ ।
ग. राज्य÷सरकारको भूमिका सदैव अभिभावकको रुपमा हुनुपर्छ । प्रहरी प्रशासनको दुरुपयोग बन्द गर्नुपर्छ । कुशासन र दण्डहीनताका कारण नागरिक आक्रोश चुलिदै गएको छ । सुशासनको प्रत्याभूतिसहित दण्डहीनताको अन्त्य हुनुपर्छ । जनजीविकाको सवालमा सरकार सदैव संवेदनशिल हुनुपर्छ ।
२ नागरिकहरुको ठूलो पंक्ति निराश एवं असन्तुष्टः मंसिर ७ बाट शुरु भएको लोकतन्त्र विरोधी आन्दोलनले ज्यादा चर्चा पाउनुमा सरकारको अकर्मण्यता, कुशासन र दण्डहीनता मूल कारण रहेको छ । सरकार र प्रमुख राजनीतिक दलहरुको गलत रबैयाका कारण नागरिकहरुको ठूलो पंक्ति निराश हुनुका साथै असन्तुष्ट भएको तथ्य बेलैमा सबैले बुझ्नु जरुरी छ । नागरिकहरुको आक्रोश लोकतान्त्रिक पद्धतिप्रति नभएर सरकार र खास नेताहरुप्रति रहेको शान्ति समाजको बुझाई छ । बेलैमा संबोधन गरिएन भने स्थिति अझ जटिल हुदैँ जानसक्छ । नागरिक निराशा र असन्तुष्टिका प्रमुख कारणहरु यस प्रकार छन्ः
२.१ सरकारद्वारा ऐतिहासिक लोकतन्त्र दिवसको अवमुल्यन र हिंसाको महिमामण्डनः पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लोकतन्त्र दिवस वैशाख ११ गते विदा कटौती गर्नुका साथै लोकतन्त्र दिवसलाई अवमुल्यन गर्ने चेष्टा गरेको छ । यसैगरी माओवादीले हिंसात्मक जनयुद्ध शुरु गरेको फागुन १ गते विदा दिने गरी थोपरिएको सरकारी निर्णयले हिंसाको महिमामण्डन गरेको छ । २०६२÷६३ को अभूतपूर्व जन आन्दोलनको बलमा नै नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तन संभव भएको हो । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको अपमान गर्दै प्रचण्ड नेतृत्वको सरकारले गरेको सो निर्णयले वितृष्णा बढाउने काम गरेको छ । लोकतान्त्रिक गणतन्त्र लगायतका परिवर्तनहरु ऐतिहासिक जन आन्दोलनका बलमा नभई माओवादीको हिंसात्मक जनयुद्धका कारण संभव भएको हो भन्ने भाष्य निर्माण गर्ने माओवादी दुष्प्रयासमा प्रमुख दलहरु समेत मतियार बन्दा स्वतन्त्रताका पक्षधर सचेत नागरिकहरुको एउटा ठूलो पंक्तिमा आक्रोश र निरासा पैदा भएको छ । मानव अधिकार तथा शान्ति समाज फागुन १ गते जनयुद्ध दिवसका नाममा विदा दिने आपत्तिजनक सरकारी निर्णय तत्काल खारेज गर्न आग्रह गर्दछ ।
२.२ सत्तासिनहरुको अराजक आचरणः सत्तासिनहरुबाट बेला बखत प्रकट हुने अराजक आचरण पनि नागरिक आक्रोसको एउटा कारण हो । जस्तो कि प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) समेतको संलग्नतामा नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाद्वारा आयोजित सभाहरुमा प्रधानमन्त्री प्रचण्डले दिएको सडक आन्दोलन गर्ने धम्की आपत्तिजनक छ । एकातिर सरकारको नेतृत्व गर्नु, अर्कोतिर सडक आन्दोलनको कुरा गर्नु विरोधाभासपूर्ण हुनुका साथै लोकतान्त्रिक मुल्य विरुद्ध छ । त्यसमाथि पनि उक्त “समाजवादी मोर्चा”को एउटा घटकको नेतृत्वले “यो व्यवस्था (लोकतान्त्रिक गणतन्त्र) परिवर्तन गर्नुपर्छ” भनि बारम्बार दिएको अभिव्यक्तिले लोकतान्त्रिक प्रणाली र संविधानप्रति सत्तारुढ दल÷मोर्चा कति प्रतिवद्ध छ? भन्ने प्रश्न उठेको छ । वर्तमान व्यवस्था प्रति समाजवादी मोर्चा÷मोर्चाका घटकहरुको प्रतिवद्धता छ वा उपयोगिता मात्र हो? स्पष्ट गर्न प्रधानमन्त्री प्रचण्ड र मोर्चाका घटकहरुलाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ ।
यसैगरी १७ वर्ष पुग्दा पनि संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरु इच्छुक देखिएनन् । यसबाट पिडितपंक्ति आहत भएको छ भने शान्ति प्रक्रियालाई नेकपा माओवादी केन्द्रले सत्ताको सिढी मात्र बनाउन खोजेको आरोप लागेको छ । यस सम्बन्धमा संसदमा विचाराधिन संसोधन विधेयकलाई मानव अधिकारमैत्री बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन शान्ति समाज पुन संवद्ध सबैलाई आग्रह गर्दछ ।
२.३ आक्रोशको मूल कारणः भ्रष्टाचारको विगविगी, कुशासन र दण्डहीनताः वर्तमानमा नागरिक आक्रोशको मूल कारण, भ्रष्टाचारको विगविगि कुशासन र दण्डहीनता हो । भ्रष्टाचारका विभिन्न काण्डहरु प्रकाशमा आउँछन्, जनजनमा चर्चा हुन्छ तर मूल दोषिमाथि कारवाही हुदैँन । किनकी मूल दोषीहरुमा सत्तारुढ दल वा सत्तारुढ मोर्चाकै शिर्षनेता÷नेताहरु पर्दछन् । ललिता निवास (बालुवाटार) जग्गा घोटाला प्रकरणमा नीतिगत निर्णयमा जिम्मेवार दुई पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि छानविन गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई समेत सरकारले लत्याएको छ भने प्रधानमन्त्री प्रचण्डबाट बेला बेलामा न्यायालयलाई धम्क्याउने अभिव्यक्ति आउने गरेको छ ।
यसैगरी गणतन्त्र दिवस, संविधान दिवसको सन्दर्भ पारेर हत्या जस्तो जघन्य अपराधमा न्यायालयले दोषी ठहर गरेका पात्रहरुलाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिने जस्ता निर्णयले नागरिक स्तरमा सरकार धेरै बद्नाम भइसकेको छ ।
३ लोकतन्त्रको प्राणः सुशासन र सद्भावः लोकतन्त्रको प्राण भनेकै मानव अधिकार हो । आधारभूत स्वतन्त्रता हो । सुशासन हो र सद्भाव हो । सरकार र राजनीतिक दलहरु सुशासनमा चुक्दा अहिले लोकतन्त्रमाथि धावा बोल्नेहरु सलबलाएका छन् । लोकतन्त्रमाथि पहिलो खतरा कुशासनबाट छ, भ्रष्ट नेताहरुबाट छ । त्यस्ता नेताहरुलाई सम्बन्धित दलहरुले तह लगाउन सकेनन् । भ्रष्टाचारको विगबिगि बढेर लोकतन्त्र धरापमा पर्न लाग्दा पनि जन निर्वाचित संसदले प्रभावकारी भूमिका निर्वाह गर्न सकेन । लोकतन्त्रमाथि दोस्रो खतरा उन्मुलन भएको राजतन्त्रका कट्टर अनुयायी संकिर्णतावादीहरुबाट छ जस्ले धार्मिक एजेण्डालाई प्रमुख औजारको रुपमा प्रयोग गर्न खोजेका छन् । तेस्रो खतरा लोकतान्त्रिक गणतन्त्रलाई उपयोग गर्दै साम्यवादी सत्ता स्थापना गर्न खोज्ने स्वतन्त्रता विरोधी जडसुत्रवादीहरुबाट छ जस्ले जातीय एजेण्डालाई प्रमुख औजार बनाउन खोजेको देखिन्छ ।
४ लोकतन्त्र रक्षाका लागि नागरिक संकल्पः लोकतन्त्र रहेन भने स्वतन्त्रता पनि रहदैन चाहे त्यो प्रेस स्वतन्त्रता होस वा अभिव्यक्ति स्वतन्त्रता । दशकौ लामो संघर्ष, शहीदहरुको बलिदान, हजारौ योद्धाहरुको त्याग, लाखौ नागरिकको समर्पण पश्चात प्राप्त लोकतन्त्र केही भ्रष्ट नेताहरु र तिनका परिवारका सदस्यको कारणले धरापमा पर्न लागेको छ । यो स्थिति आउनुको मूल कारण सरकारको भ्रष्ट एवं स्वेच्छाचारी चरित्र, प्रमुख राजनीतिक दलहरुको विवेकशुन्य आचरण, कार्यकर्ताहरुको दास मानसिकता र संसदको संवेदनहीनता हो । लोकतन्त्रलाई जिवन्त राख्न सुशासन अनिवार्य भएको सत्य सबैले बुझ्नु जरुरी छ । यसैगरी शान्ति र स्थायीत्वका लागि समुदायबिच स्थिर र सुमधुर सम्बन्ध त्यति नै आवश्यक छ । तसर्थ लोकतन्त्रको रक्षाका लागि सुशासनको प्रत्याभुति र सद्भाव प्रवद्र्धन आजको आवश्यकता हो । त्यसका लागि भद्र नागरिक हस्तक्षेपको रुपमा सामुहिक अभियानको खाँचो छ । जिल्ला जिल्लामा नागरिक संकल्प जारी गरि सो सामुहिक अभियानको थालनी गर्न मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका पक्षधरहरुलाई मानव अधिकार तथा शान्ति समाज आह्वान गर्दछ । (१६ मंसिर २०८० मा सार्वजनिक गरिएको)

मिठाईदेबी बिश्वकर्मालाई समाजसेवा पुरस्कार/१५ स्रष्टालाई सम्मान

प्रेस विज्ञप्ति
मिठाईदेबी बिश्वकर्मालाई समाजसेवा पुरस्कार/१५ स्रष्टालाई सम्मान

११५ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार र १५ वटा स्रष्टा सम्मान पुरस्कार काठमाण्डौँ र दाङमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिएको छ । २०८० कार्तिक २४ गते काठमाण्डौमा सम्पन्न कार्यक्रममा वर्ष २०७९ को रु. १ लाख १० हजार राशीको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार श्री मिठाईदेबी बिश्वकर्मालाई उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले अर्पण गर्नुभएको थियो । यसैगरी अग्रज स्रष्टा राजेन्द्र बिमललाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले वर्ष २०८० को चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान अर्पण गर्नुभएको थियो । सोही कार्यक्रममा स्व. राजेश्वर नेपालीलाई प्रदान गरिएको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान उहाँका सुपुत्र जनप्रतिनिधि राघवेन्द्र साहले ग्रहण गर्नुभएको थियो । यस्तै डा.रामप्रसाद ज्ञवालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, सुलोचना मानन्धरलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा. कृष्णराज चौधरी सर्वहारीलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान, प्रा.डा. सावित्री कक्षपतीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, प्रा.नवराज पाण्डेयलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, मुकुन्द आचार्यलाई जोगमाया बराल स्रष्टा सौगात, बाजुराम पौडेललाई भूमिप्रसाद बराल स्रष्टा सौगात, कमलादेवी हेमचुरीलाई जनककुमारी रेग्मी स्रष्टा सौगात, लीला रानालाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, मधुराज केरुङलाई राधादेवी दाहाल स्रष्टा सौगात, हंसावती कुर्मीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कारद्वारा सम्मानित गरिएको थियो भने श्रीनारायण दाहाल स्रष्टा सौगातद्वारा सम्मानित मधु शाही बस्नेत हुम्लामा रहनुभएका कारण उहाँको नातेदारले पुरस्कार ग्रहण गर्नुभएको थियो । उहाँहरुलाई स्रष्टा अशेष मल्ल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, सचिव रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, पूर्व कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य नम्रता खरेल र रामबाबु दाहालले पुरस्कार अर्पण गर्नुभएको थियो । सबै पुरस्कारको राशी रु. २० हजार रहेको छ ।
कार्यक्रममा समसामयिक विषयमा स्रष्टा अर्जुन पराजुलीले र महाकवि देवकोटाप्रति श्रद्धासुमन सहित स्रष्टा रत्ननीधि रेग्मीले कविता प्रस्तुत गर्नुभएको थियो भने उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल र सचिवहरु लक्ष्मीनारायण मिश्र र प्रकाश शाहीले स्रष्टा सम्मान पुरस्कार लगायत सम्मानित व्यक्तित्वहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सम्मानित स्रष्टाहरुले आफ्नो रचना प्रस्तुतिका साथै मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व समाजका सभापति रामकृष्ण बरालले गर्नुभएको थियो । यसैगरी कार्तिक २४ गते दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा स्रष्टा मधु हमाललाई वर्ष २०८० को गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात पुरस्कार उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचनले प्रदान गर्नुभएको थियो । शाखा सभापति कोमल डि.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका निवर्तमान केन्द्रीय बरिष्ठ उपसभापति एवम पुरस्कार छनौट समितिका सदस्य सुशील बस्नेत र सचिव निर्मल नेपालीले विषयमाथि प्रकाश पार्नुभएको थियो भने ९ जना स्रष्टाले रचना प्रस्तुत गर्नुभएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२४ कार्तिक २०८०

इजरायल र कतारको दुतावास अगाडि शान्ति समाजको प्रदर्शन

प्रेस विज्ञप्ति
इजरायल र कतारको दुतावास अगाडि शान्ति समाजको प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित आतंकवाद र युद्ध विरुद्ध अभियानका क्रममा २०८० कार्तिक २३ गते मध्यान्ह् एकसाथ नेपालस्थित इजरायली दुतावास र कतारी दुतावास अगाडि शान्ति समाजले आधा घण्टा प्रदर्शन गरेको छ ।
युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न इजरायललाई आग्रहसहित “युद्धविरामका लागि विश्वव्यापी आह्वानलाई स्विकार गर्न, अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न र मानवता विरुद्धको अपराधलाई रोक्न” आह्वान गर्दै नेपालस्थित इजरायली राजदुतावास अगाडि प्रदर्शन गरिएको हो ।
यसैगरी शान्ति समाजका तर्फबाट इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको पत्र नेपालस्थित इजरायली दुतावासले बुझ्न नमानेको हुँदा इमेलबाट पठाइएको छ ।
पत्रमा शिघ्र युद्धविरामका लागि संयुक्त राष्ट्रसंघ लगायत विश्वव्यापी आह्वानलाई स्विकार गर्न इजरायललाई आग्रह गरिएको छ भने इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै मानवता विरुद्ध अपराध ठहरिने कार्य बन्द गर्न समेत ध्यानाकर्षण गराइएको छ ।
यसैगरी आतंकवाद विरुद्ध बलियोसँग उभिन कतारलाई आह्वान गर्दै सम्पन्न प्रदर्शनमा सन् २०२३ को अक्टोवर ७ का दिन हमासद्वारा इजरायलमा भएको आतंकी हमलाका दौरान हमासद्वारा बन्धक बनाइएका विपिन जोशी लगायत सबै बन्धकहरुको विना शर्त शिघ्र रिहाइका लागि जोड दिइएको छ । स्मरणीय छ, हमासका मुखिया इस्माइल हानीयेह कतारमा रहेको र खुला गतिबिधि गरिरहेको हुँदा कतार सरकारमार्फत जोशी लगायत सबै बन्धकहरुको रिहाईका लागि सार्थक पहल गर्न आग्रह गरिएको हो । कतारी दुतावास अगाडि चुन्नीखेल ललितपुरमा भएको प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट कतारका प्रधानमन्त्री शेख मोहम्मत विन अब्दुलरहमान विन जसिम अल थानीलाई लेखिएको ज्ञापनपत्र कतारी दुतावासमा बुझाइएको थियो । ज्ञापनपत्रमा आतंकवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदाय केन्द्रीत हुनुपर्ने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको अवगत गराउँदै कतारलाई आतंकवाद विरुद्ध बलियोसँग उभिन आह्वान गर्नुका साथै हमासद्वारा बन्धक बनाइएका विपिन जोशी लगायत सबै बन्धकहरुको विना सर्त शिघ्र रिहाइका लागि सार्थक पहल गर्न आग्रह गरिएको छ ।
काठमाण्डौ चण्डोलस्थित इजरायली दुतावास अगाडि भएको प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल, सचिवत्रय रामप्रसाद जोशी, लक्ष्मीनारायण मिश्र र प्रकाश शाही, केन्द्रीय सदस्यहरु नम्रता खरेल, देवराज भट्टराई, अरुण ज्ञवाली, जानुका अधिकारी, ज्योति बाल्मिकी, नुवाकोट शाखा सभापति नारायणमान डंगोल, सदस्यहरु सम्झना बुढा, रमेश बराल, मणिराम दाहाल, केदार दाहाल लगायत शान्तिवादीहरुको सहभागिता थियो भने ललितपुर चुन्नीखेलस्थित कतारी दुतावास अगाडि सम्पन्न प्रदर्शनमा समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, पूर्व सचिव बलबहादुर गाहा मगर, पूर्व कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, काठमाण्डौ शाखा उपसभापति विकास थापा सदस्यहरु ईश्वर पुडासैनी, नानीकाजी गिरी, रेजिना राई, गंगा खत्री, मन्दिर अमात्य, सुकदेव अधिकारी, शान्ता थापा लगायत शान्तिवादीहरुको सहभागिता थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२३ कार्तिक २०८०

भुकम्प पिडितका लागि शान्ति समाजद्वारा राहत सामग्री हस्तान्तरण

प्रेस विज्ञप्ति
भुकम्प पिडितका लागि शान्ति समाजद्वारा राहत सामग्री हस्तान्तरण

मानव अधिकार तथा शान्ति समाजले जाजरकोट भुकम्प पिडितका लागि रु. १ लाख १५ हजारको १०० थान ब्ल्यांकेट सहयोग गरेको छ । २०८० कार्तिक १९ गते शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाही र आजीवन सदस्य गोविन्द दाहालसहितको टोलीले जाजरकोटस्थित विपद् व्यवस्थापन आपुर्ति समिति सो न्यानो कपडा हस्तान्तरण गरेको हो ।
यसैगरी २०८० कार्तिक २ गते काठमाडौँ गागलफेदी स्थित जेष्ठ नागरिक सेवा आश्रम र टौदहस्थित निजानन्द आश्रमलाई शान्ति समाजका तर्फबाट दर्जनौ बस्त्रसहित नगद रु.१८ हजार सहयोग प्रदान गरिएको थियो ।

स्मरणीय छ मानव अधिकार तथा शान्ति समाजले विगत दुई दशकदेखि प्राकृतिक वा अन्य विपत्तिवाट सुरक्षाका लागि उद्धार, राहत र पूनर्बास हेतु प्रभावकारी एवं स्थायी संयन्त्र निर्माणमा जोड दिदैँ आएको छ भने विगत एक दशकदेखि आफ्नो क्षमताले भ्याएसम्म राहत प्रदान गर्दै आएको छ ।

समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२० कार्तिक २०८०

नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडि शान्तिका लागि प्रदर्शन

प्रेस विज्ञप्ति
नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडि शान्तिका लागि प्रदर्शन
मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित आतंकवाद र युद्ध विरुद्ध अभियानका क्रममा २०८० कार्तिक १४ गते दिउँसो नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक अगाडि शान्ति समाजले आधा घण्टा प्रदर्शन गरेको छ । युद्धग्रस्त गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपिन जोशी लगायत सबै बन्धकहरुको शिघ्र रिहाइका लागि पहल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहसहित प्रदर्शन भएको हो ।
मानव अधिकार तथा शान्ति समाजले हमासको आतंक र इजरायलको बर्बरताको निन्दा गर्दै आएको छ । हमासको आतंक र इजरायलको बर्बरता, दुवै विश्व शान्तिका लागि खतरा भएको धारणा शान्ति समाजको रहेको छ भने स्थापनाकालदेखि नै (२८ वर्षदेखी) । युद्ध र आणविक अस्त्र विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।
प्रदर्शनमा सहभागिहरुले UNITED NATIONS: TAKE EFFECTIVE ACTION TO PROTECT CIVILIANS IN GAZA, HAMAS: STOP TERRORISM, RELEASE ALL HOSTAGES INCLUDING BIPIN JOSHI WITHOUT CONDITIONS, ISRAEL: RESPECT INTERNATIONAL HUMANITARIAN LAW, STOP CRIMES AGAINST HUMANITY, BOTH THE ACTIONS OF HAMAS AND ISRAEL POSE A SEVERE THREAT TO GLOBAL PEACE, STOP WAR: PROMOTE PEACE HAMAS: WHERE IS OUR BELOVED BIPIN JOSHI? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, महासचिव रेनुका पौडेल, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, अधिकारकर्मीहरु बलबहादुर गाहा, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, नानीकाजी गिरी, तुलसीराम भण्डारी, रमेश बराल, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
सोही क्रममा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिवलाई लेखिएको पत्र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
सोही दौरान द्वन्द पीडित समुदायका तर्फबाट पनि न्यायका लागि ध्यानाकर्षण गराइएको थियो जस्मा द्वन्द पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, का.वा. अध्यक्ष कल्याण बुढाथोकी लगायत दर्जनौ द्वन्द पीडितको सहभागिता थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
१४ कार्तिक २०८०

राष्ट्रसंघ महासचिवलाई लेखिएको पत्र यस प्रकार छः
His Excellency António Guterres
Secretary-General, United Nations
विषयः गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न आग्रह ।
Your Excellency
२०५३ साल जेठ १९ गते स्थापित स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले स्थापनाकालदेखि नै युद्ध विरुद्ध र आणविक अस्त्रको विश्वव्यापी उन्मुलनका लागि अभियान सञ्चालन गर्दै आएको छ । “युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्दछ ।” “युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ ।” भन्ने मान्यतासहित शान्ति समाजले शुरु गरेको युद्ध निषेधः शान्ति विशेष अभियानका क्रममा सयौँ कार्यक्रमहरु सम्पन्न भइसकेको महामहिमलाई जानकारी गराउछौँ ।
७ अक्टोवर २०२३ का दिन हमासले इजरायलमा आतंकी हमला गरेपश्चात मध्यपूर्वमा शुरु भएको युद्ध र त्यसको विस्तारप्रति मानव अधिकार तथा शान्ति समाजले प्रारम्भदेखि नै गम्भीर चिन्ता व्यक्त गर्दै आएको छ । मानव अधिकार तथा शान्ति समाजले हमासको आतंक र इजरायलको बर्बरताको निन्दा गर्दै आएको छ । हमासको आतंक र इजरायलको बर्बरता, दुवै विश्व शान्तिका लागि खतरा भएको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।
आतंकवाद र युद्धलाई शिघ्र रोक्न समग्र विश्व एक हुनुपर्छ । यसै सन्दर्भमा युद्धग्रस्त गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपिन जोशी लगायत सबै बन्धकहरुको शिघ्र रिहाइका लागि पहल गर्न मानव अधिकार तथा शान्ति समाज संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गर्दछ ।
भवदीय
रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
३१ अक्टोवर २०२३

मानव अधिकारमैत्री ऐन बनाइ संसदको गरिमा जोगाउन आग्रह/२७ जना गिरफ्तार

प्रेस विज्ञप्ति
मानव अधिकारमैत्री ऐन बनाइ संसदको गरिमा जोगाउन आग्रह/२७ जना गिरफ्तार

संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाई संसदको गरिमा जोगाउन आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ । २०८० कार्तिक १२ गते दिउँसो संसद भवन ३ नम्बर गेट अगाडि नयाँ बानेश्वरमा भएको प्रदर्शनमा नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर्न, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै प्रदर्शन भएको हो ।
१ बजे प्रशर्दन शुरु हुने कार्यक्रम रहेको तर १० मिनेट अगावै जम्मा हुने क्रममा प्रहरीले गिरफ्तार गरेको हो । प्रदर्शनबाट संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत अधिकारकर्मीहरु कल्याण बुढाथोकी ( द्वन्द पिडित साझा चौतारकिा का.वा. अध्यक्ष), जगन्नाथ पुडासैनी, विकास थापा, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, सुन्दरराज पुडासैनी, नानीकाजी गिरी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, तुलसीराम भण्डारी, दुर्गा सापकोटा, नानीकाजी प्याकुरेल, वुद्ध रिसाल, नवराज चापागाई, भोलानाथ चालीसे, शिवकुमार बुढाथोकीसहित २७ जनालाई गिरफ्तार गरि बानेश्वर प्रहरी वृत्त तिनकुनेमा राखेको छ ।
प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी ः नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर, पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउः संसदको गरिमा जोगाउ, MAOIST USED CHILDREN AS SOLDIERS- THAT WAS A WAR CRIME, GOVERNMENT OF NEPAL : STOP GLORIFYING VIOLENCE, REVOKE DECISION TO GIVE A PUBLIC HOLIDAY ON FALGUN 1, PUNISH THE PERPETRATORS AND ENSURE JUSTICE TO CONFLICT VICTIMS, ENACT HUMAN RIGHTS FRIENDLY ACT-SAVE PARLIAMENT’S DIGNITY लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विस्तृत शान्ति सम्झौताको मर्म विपरित, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई (दशक लामो सशस्त्र द्वन्दका दौरान) आम माफी दिने नियतले भइरहेको चलखेलप्रति आपत्ति व्यक्त गर्दै शान्ति समाजले अभियान सञ्चालन गरिरहेको छ ।
यसैगरी शान्ति समाज दाङ शाखाले यसै विषयमा केन्द्रीय रहि कार्तिक १२ गते तुलसीपुरमा प्रदर्शन गरेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
१२ कार्तिक २०८०

हमासको आतंक र इजरायलको बर्बरता विरुद्ध काठमाण्डौमा प्रदर्शन

प्रेस विज्ञप्ति
हमासको आतंक र इजरायलको बर्बरता विरुद्ध काठमाण्डौमा प्रदर्शन
आतंकवाद र युद्ध विरुद्ध मानव अधिकार तथा शान्ति समाजले अभियान प्रारम्भ गरेको छ । यस क्रममा ७ अक्टोवर २०२३ का दिन हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलाका दौरान हमासद्वारा बन्धक बनाइएका विपिन जोशीसहित सबै बन्धकहरुको शिघ्र विना सर्त रिहाइको माग गर्दै २०८० कार्तिक १ गते साँझ काठमाण्डौको बौद्ध स्तुप अगाडि शान्ति समाजको आयोजनामा आधा घण्टा प्रदर्शन भएको छ ।
प्रदर्शनमा शान्तिवादीहरुले “हाम्रा प्रिय विपिन जोशी कहाँ छन्?” भन्दै जोशीसहित बन्धक बनाइएका सबैको रिहाइको माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा हमासको आतंकवादलाई बोक्ने र प्रायोजन गर्ने काम बन्द गर्न र इजरायलले गरेको मानवता विरुद्धको अपराधमा मतियार बन्ने काम बन्द गर्न अन्तर्राष्ट्रिय समुदाय लगायत विभिन्न देशहरुलाई आह्वान गरिएको थियो ।
प्रदर्शनमा हमासको आतंक र इजरायलको बर्बरताका कारण मानवता पराजित हुँदैछ, हमासको आतंकवाद र इजरायलको उद्दण्डताः विश्व शान्तिका लागि खतरा, STOP TERRORISM, STAND STRONG AGAINST TERRORISM, RESPECT INTERNATIONAL HUMANITARIAN LAW, ISRAEL : STOP CRIME AGAINST HUMANITY, STOP WAR : PROMOTE PEACE लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल, दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, जगन्नाथ पुडासैनी, उद्धव रायमाझी, ईश्वर पुडासैनी, नानीकाजी गिरी, सानु लामा, रिता अधिकारी, जयराम पुडासैनी, मणिराम दाहाल, सुन्दर पुडासैनी, बुद्धराज रिसालसहित तीन दर्जन बढीको सहभागिता थियो ।

समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२ कार्तिक २०८०

हमासको आतंकवाद र इजरायलको उद्दण्डताः विश्व शान्तिका लागि खतरा

प्रेस विज्ञप्ति
हमासको आतंकवाद र इजरायलको उद्दण्डताः विश्व शान्तिका लागि खतरा

७ अक्टोवर २०२३ का दिन हमासले इजरायलमा आतंकवादी हमला गरेपश्चात मध्यपूर्वमा शुरु भएको युद्ध र त्यसको विस्तारप्रति मानव अधिकार तथा शान्ति समाज गम्भीर चिन्ता व्यक्त गर्दछ ।
हमासद्वारा प्रदर्शित बर्बरता आतंकवादको निकृष्ट उदाहरण हो । इजरायलमा रहेका नेपालीसहित निहत्था नागरिकहरुको हमासद्वारा क्रुरतापूर्वक गरिएको जघन्य हत्याको जति निन्दा गरेपनि कम हुन्छ । यसैगरी सय भन्दा बढी निर्दोष नागरिकहरुलाई अपहरण गरी बन्धक बनाउने हमासको कृत्य आतंकवादको पराकाष्ठा हो । शान्ति समाज त्यसरी बन्धक बनाइएका विपिन जोशीसहित सबैको शिघ्र सकुशल रिहाइको माग गर्दछ ।
पछिल्लो चरणमा युद्धको शुरुवात आतंकवादी कृत्यबाट हमासले शुरु गरेको छ । प्यालेष्टिनी स्वराज आन्दोलनको प्रतिनिधित्व आतंकवादी हमासले गर्न सक्दैन । तसर्थ प्यालेष्टिनी स्वराजको नाममा हमासलाई बोक्ने काम कसैले पनि गर्नुहुदैँन र आतंकवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदाय केन्द्रीत हुनुपर्छ ।
यसैैगरी हमासको बर्बरताको प्रतिवाद गर्ने नाममा लाखौँ निर्दोष प्यालेष्टिनी जनतामाथि प्रदर्शन गरिने कुनै पनि प्रकारको बर्बरता मानवता विरुद्धको अपराध हो । इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्ने तर्फ शान्ति समाज ध्यानाकर्षण गराउँछ । उत्तरी गाँजाका झण्डै ११ लाख बासिन्दालाई बस्ती छोड्न इजरायलले जारी गरेको फरमान, गाँजास्थित अस्पताल खाली गर्ने आदेश, अन्तर्राष्ट्रिय कानूनले निषेध गरेको घातक अस्त्रको प्रयोग, गाँजामा विजुली, पानी र खाद्यान्न आपुर्ती रोक्ने जस्ता अमानवीय नाकाबन्दी मानवता विरुद्धकै अपराधमा पर्दछ जस्को शान्ति समाज निन्दा गर्दछ । हमासको आतंकवाद र इजरायलको उद्दण्डता दुवै विश्व शान्तिका लागि खतरा भएको हुँदा आतंकवाद र उद्दण्डतालाई रोक्न र युद्ध अन्त्यका लागि विशेष पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई शान्ति समाज आग्रह गर्दछ ।

समाजका तर्फबाट

रेनुका पौडेल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२९ असोज २०८०