प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्धा

प्रेस विज्ञप्ति
प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्धा
मानव अधिकार तथा शान्ति समाजले ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्धा’ शिर्षकमा विभिन्न कार्यक्रम आयोजना गरि ३० औँ विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे) मनाएको छ । यस क्रममा २०८० वैशाख २० गते शान्ति समाजका पाल्पा, काठमाण्डौ, दाङ, सुर्खेत, चितवन, नवलपुर, गोरखा र मोरङ शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शान्ति समाजका तर्फबाट तीन पृष्ठको अवधारणापत्र प्रस्तुत गरि सरकारलाई प्रेस स्वतन्त्रता प्रतिको आफ्नो प्रतिवद्धताको सम्मान गर्न स्मरण गराइएको छ भने व्यवसायिक नैतिकताको उच्चतम मापदण्ड कायम गर्न संवद्ध सबैलाई आग्रह गरिएको छ । यसैगरी राज्य, सञ्चार जगतबाट श्रमजिवी पत्रकारहरुको अधिकार संरक्षणका लागि थप प्रतिवद्धतासहित विशेष योजनाको खाँचो शान्ति समाजले औल्याएको छ ।
प्रेस स्वतन्त्रता दिवसका दौरान विश्वभरि कर्तव्य पालनाका क्रममा जीवन गुमाउन पुगेका पत्रकारहरुप्रति श्रद्धाञ्जली अर्पण गरिन्छ । वर्ष २०२२ मा युद्धग्रस्त युक्रेनमा १५ जना, मेक्सिकोमा १३ जना र हाइटीमा ७ जना गरि विश्वभरी ६७ जना पत्रकारहरुले जीवन गुमाएका थिए ।
नेपाल सन्दर्भमा २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्दका दौरान एक दर्जन बढी पत्रकारहरु सुरक्षा निकाय र ने.क.पा. (माओवादी) द्वारा मारिएका थिए । त्यसमध्ये माओवादीबाट मारिएका पत्रकार डेकेन्द्रराज थापा मानव अधिकार तथा शान्ति समाज दैलेख शाखाको पहिले सचिव र पछि सल्लाहकार हुनुहुन्थ्यो । दैलेख सदरमुकाममा वितरण हुने खानेपानी ५२ दिनसम्म अवरुद्ध भएपछि पत्रकार थापा माओवादीसँग वार्ताका लागि नागरिक समाजका तर्फबाट २०६१ असार १२ गते गाउँ जाँदा माओवादीले अपहरण गरि चरम यातना पश्चात अपहरणको ४५ दिनपछि २०६१ साउन २७ गते सास छँदै खाल्डोमा पुरि हत्या गरेका थिए ।
सशस्त्र द्वन्दमा कुनै संलग्नता नभएका पत्रकार÷अधिकारकर्मीलाई चरम यातना पश्चात माओवादीले गरेको हत्या मानवता विरुद्ध अपराधको श्रेणीमा पर्ने तर आजसम्म पनि माओवादी नेतृत्व÷पार्टीले यस सम्बन्धमा क्षमा याचना गरेको पाइदैन । उल्टो फागुन १ लाई जनयुद्ध दिवसका नाममा राष्ट्रिय उत्सवका रुपमा थोपर्ने र विगतका अपराधलाई जायज ठहर्याउने दुश्कृत्य माओवादी नेतृत्वको सरकारले गरेकोप्रति शान्ति समाजले तिव्र विरोध गर्दै आइरहेको छ ।
यसैगरी १० वर्षे सशस्त्र द्वन्दका दौरान सुरक्षाकर्मीद्वारा हिरासतमा यातना दिई पत्रकार कृष्ण सेन इच्छुकको हत्या भएको थियो । जनादेश साप्ताहिकका सम्पादक कृष्ण सेन इच्छुकलाई २०५९ जेठ ६ गते काठमाडौंबाट सुरक्षा निकायले गिरफ्तार गरि जेठ १३ गते हत्या भएको प्रकाशमा आएको थियो । स्रष्टा कृष्ण सेनका झण्डै आधा दर्जन कृतिहरु प्रकाशित छन् । कृष्ण सेनको गैरन्यायिक तवरमा क्रुरतापूर्वक भएको हत्यामा जिम्मेवारमध्ये कसैमाथि पनि कारवाही भएको छैन । तीमध्ये केही राज्यको संरक्षणमा त केही राजनीतिक संरक्षणमा छन् ।
यसैगरी १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा समान कामको समान ज्याला हुनुपर्ने, नीति निर्माणका क्षेत्रमा श्रमिकहरुको सहभागिता सुनिश्चित हुनुपर्ने लगायत श्रमिक अधिकारका पक्षमा प्लेकार्डसहित वैशाख १८ गते शान्ति समाजका पाल्पा, चितवन, सुर्खेत, दाङ र गोरखा शाखाले प्रदर्शन गरेका थिए । साथै शान्ति समाज झापा शाखाले अन्तरक्रिया र रुपन्देही शाखाले असहाय श्रमिकलाई सहयोग गरि श्रमिक दिवस मनाएका थिए ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
२० वैशाख २०८०