वैज्ञानिक शिक्षामा जोड र विज्ञान दिवस मनाउनेसहित प्रस्ताव पारित गर्दै परिषद् बैठक सम्पन्न

प्रेस विज्ञप्ति
वैज्ञानिक शिक्षामा जोड र विज्ञान दिवस मनाउनेसहित प्रस्ताव पारित गर्दै परिषद् बैठक सम्पन्न
मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक १० वटा प्रस्ताव पारित गरि पुस २९–३० गते नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न भएको छ । राष्ट्रिय परिषद्ले वैज्ञानिक शिक्षामा जोड दिँदै “शान्ति र विकासका लागि विश्व विज्ञान दिवस”– १० नोभेम्वर विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । सूचना प्रविधिमा पहुँच र उपभोग सबै नागरिकको अधिकार भएको तथ्यलाई मनन गर्दै, राष्ट्रिय परिषद् बैठकले सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित  गर्न र सूचना प्रविधि शिक्षालाई प्रारम्भिक तह देखि नै पाठ्यक्रममा समावेश गर्न र सूचना प्रविधि संस्कृतिको निर्माण र विस्तारमा योगदान गर्न सबैलाई आग्रह गरेको छ ।
परिषद् बैठकले विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृतिमा जोड दिँदै सोही अनुरुपको नीति, निष्ठा र नियम तर्जुमा एवं कार्यान्वयन गर्न राज्य÷समाजका सबै तह र तप्कालाई आह्वान गरेको छ ।
यसैगरी नेपालका दुई भीमकाय छिमेकी राष्ट्रहरू चीन र भारतबीचको द्वन्द र चीन र भारतको विभिन्न राष्ट्रहरूसँगको तनाबले निम्तिन सक्ने कुनै पनि युद्धको संभावनालाई निस्तेज÷खारेज गर्न नागरिक स्तरमै प्रभावकारी सहकार्यमा पुन जोड दिँदै दक्षिण एशियामा नेपालले शान्तिका लागि सेतुको भूमिका निर्वाह गर्नुपर्ने र नेपालको परराष्ट्र नीतिको आधार शान्ति र अहिंसा बनाउन विशेष आग्रह गरेको छ ।
शान्ति समाजको स्थापनार्थ २०५३ सालमा जारी भएको विधानको उद्देश्यमध्ये “महिलाहरूको राजनीतिक अधिकार तथा बाल बालिकाको अधिकार संरक्षणका लागि क्रियाशील रहने तथा महिलाहरू विरुद्ध हुने भेदभावलाई अन्त्य गर्न अभियान सञ्चालन गर्ने” रहेको स्मरण गर्दै परिषद् बैठकले महिला अधिकार मानव अधिकार भन्ने मूल आह्वानसहित महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं मन्त्रीमण्डल, संवैधानिक, कुटनीतिक लगायत नीति निर्माणका तहमा महिलाहरूको न्युनतम ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीत रही यो अभियानलाई सशक्त बनाउने र निरन्तर जारी राख्ने निर्णय पनि गरेको छ ।२७ वर्ष अघि शान्ति समाजको स्थापनार्थ जारी गरिएको विधानको उद्देश्यमा “छुवाछुत, भेदभाव, वालश्रम, कमैया लगायत मानव गरिमा विरुद्ध घात पु¥याउने प्रवृत्तिहरू अन्त्य गर्न कार्य गर्ने रहेको” र सोही उद्देश्य अनुरुप सामाजिक न्यायका लागि अभियानलाई निरन्तरता दिँदै सामाजिक न्यायको आन्दोलनमा उदाहरण बन्ने प्रतिवद्धता समेत राष्ट्रिय परिषद् बैठकले गरेको छ ।

यसैगरी चुरे विनास रोक्न शान्तिपूर्ण तवरमा सामुहिक हस्तक्षेप आवश्यक भएकोतर्फ ध्यानाकर्षण गराउँदै परिषद् बैठकले चुरे बचाउन, जंगल जोगाउन राज्यले ओठे प्रतिवद्धता होइन सार्थक नीति अवलम्वन गरि प्रभावकारी कार्यान्वयन गर्न विशेष आग्रह गरेको छ । परिषद् बैठकले “मेरो फोहोर मेरो जिम्मेवारी” भन्ने आहावान सहित अभियान सञ्चालन गर्ने, शान्ति समाजका सदस्यहरूले आफ्नो जन्मदिनमा वृक्षारोपण गर्ने र रोपिएका बिरुवा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै असहाय अवस्थामा सडकमा छाडिएका प्राणीहरूको उद्धार र संरक्षणका लागि राज्य÷समाजका जिम्मेवार निकायहरूको ध्यानाकर्षण गराउँदै यस सम्बन्धमा ठोस नीति सहित कार्य योजना लागू गर्न आग्रह समेत गरेको छ ।
दुई दिन सम्म चलेको २५ औँ राष्ट्रिय परिषद् बैठकको सम्पूर्ण खर्च आतिथेय नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाले सदस्य तथा शुभचिन्तकको सहयोगमा बहन गरेको थियो भने यातायात खर्च सहभागिहरु आफैले व्यहोरेका थिए ।
समाजका तर्फबाट
रेनुका पौडेल (अधिवक्ता)
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२०७९ माघ ४