वैज्ञानिक शिक्षामा जोड र विज्ञान दिवस मनाउनेसहित प्रस्ताव पारित गर्दै परिषद् बैठक सम्पन्न

प्रेस विज्ञप्ति
वैज्ञानिक शिक्षामा जोड र विज्ञान दिवस मनाउनेसहित प्रस्ताव पारित गर्दै परिषद् बैठक सम्पन्न
मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक १० वटा प्रस्ताव पारित गरि पुस २९–३० गते नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न भएको छ । राष्ट्रिय परिषद्ले वैज्ञानिक शिक्षामा जोड दिँदै “शान्ति र विकासका लागि विश्व विज्ञान दिवस”– १० नोभेम्वर विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । सूचना प्रविधिमा पहुँच र उपभोग सबै नागरिकको अधिकार भएको तथ्यलाई मनन गर्दै, राष्ट्रिय परिषद् बैठकले सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित  गर्न र सूचना प्रविधि शिक्षालाई प्रारम्भिक तह देखि नै पाठ्यक्रममा समावेश गर्न र सूचना प्रविधि संस्कृतिको निर्माण र विस्तारमा योगदान गर्न सबैलाई आग्रह गरेको छ ।
परिषद् बैठकले विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृतिमा जोड दिँदै सोही अनुरुपको नीति, निष्ठा र नियम तर्जुमा एवं कार्यान्वयन गर्न राज्य÷समाजका सबै तह र तप्कालाई आह्वान गरेको छ ।
यसैगरी नेपालका दुई भीमकाय छिमेकी राष्ट्रहरू चीन र भारतबीचको द्वन्द र चीन र भारतको विभिन्न राष्ट्रहरूसँगको तनाबले निम्तिन सक्ने कुनै पनि युद्धको संभावनालाई निस्तेज÷खारेज गर्न नागरिक स्तरमै प्रभावकारी सहकार्यमा पुन जोड दिँदै दक्षिण एशियामा नेपालले शान्तिका लागि सेतुको भूमिका निर्वाह गर्नुपर्ने र नेपालको परराष्ट्र नीतिको आधार शान्ति र अहिंसा बनाउन विशेष आग्रह गरेको छ ।
शान्ति समाजको स्थापनार्थ २०५३ सालमा जारी भएको विधानको उद्देश्यमध्ये “महिलाहरूको राजनीतिक अधिकार तथा बाल बालिकाको अधिकार संरक्षणका लागि क्रियाशील रहने तथा महिलाहरू विरुद्ध हुने भेदभावलाई अन्त्य गर्न अभियान सञ्चालन गर्ने” रहेको स्मरण गर्दै परिषद् बैठकले महिला अधिकार मानव अधिकार भन्ने मूल आह्वानसहित महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं मन्त्रीमण्डल, संवैधानिक, कुटनीतिक लगायत नीति निर्माणका तहमा महिलाहरूको न्युनतम ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीत रही यो अभियानलाई सशक्त बनाउने र निरन्तर जारी राख्ने निर्णय पनि गरेको छ ।२७ वर्ष अघि शान्ति समाजको स्थापनार्थ जारी गरिएको विधानको उद्देश्यमा “छुवाछुत, भेदभाव, वालश्रम, कमैया लगायत मानव गरिमा विरुद्ध घात पु¥याउने प्रवृत्तिहरू अन्त्य गर्न कार्य गर्ने रहेको” र सोही उद्देश्य अनुरुप सामाजिक न्यायका लागि अभियानलाई निरन्तरता दिँदै सामाजिक न्यायको आन्दोलनमा उदाहरण बन्ने प्रतिवद्धता समेत राष्ट्रिय परिषद् बैठकले गरेको छ ।

यसैगरी चुरे विनास रोक्न शान्तिपूर्ण तवरमा सामुहिक हस्तक्षेप आवश्यक भएकोतर्फ ध्यानाकर्षण गराउँदै परिषद् बैठकले चुरे बचाउन, जंगल जोगाउन राज्यले ओठे प्रतिवद्धता होइन सार्थक नीति अवलम्वन गरि प्रभावकारी कार्यान्वयन गर्न विशेष आग्रह गरेको छ । परिषद् बैठकले “मेरो फोहोर मेरो जिम्मेवारी” भन्ने आहावान सहित अभियान सञ्चालन गर्ने, शान्ति समाजका सदस्यहरूले आफ्नो जन्मदिनमा वृक्षारोपण गर्ने र रोपिएका बिरुवा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै असहाय अवस्थामा सडकमा छाडिएका प्राणीहरूको उद्धार र संरक्षणका लागि राज्य÷समाजका जिम्मेवार निकायहरूको ध्यानाकर्षण गराउँदै यस सम्बन्धमा ठोस नीति सहित कार्य योजना लागू गर्न आग्रह समेत गरेको छ ।
दुई दिन सम्म चलेको २५ औँ राष्ट्रिय परिषद् बैठकको सम्पूर्ण खर्च आतिथेय नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाले सदस्य तथा शुभचिन्तकको सहयोगमा बहन गरेको थियो भने यातायात खर्च सहभागिहरु आफैले व्यहोरेका थिए ।
समाजका तर्फबाट
रेनुका पौडेल (अधिवक्ता)
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२०७९ माघ ४

शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित

प्रेस विज्ञप्ति
शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा रामकृष्ण बराल काठमाण्डौँ र वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल पाल्पा निर्वाचित हुनुभएको छ ।
शान्ति समाजको २०७९ पुस ३० गते नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न २५ औँ राष्ट्रिय परिषद् बैठकका दौरान सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा उपसभापतिमा राजेन्द्र पौडेल चितवन र उपसभापति महिलातर्फ पुष्पा मल्ल सुर्खेत निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी महासचिवमा काठमाण्डौका रेनुका पौडेल, कोषाध्यक्षमा काठमाण्डौका किरण ढकाल, प्रदेश १ सचिवमा लक्ष्मीनारायण मिश्र तेह्रथुम, मधेश प्रदेश सचिवमा अमरबहादुर गौतम पर्सा, वाग्मती प्रदेश सचिवमा चन्द्रमणी बञ्जारा ललितपुर, गण्डकी प्रदेश सचिवमा सिताराम तिवारी गोरखा, लुम्बिनि प्रदेश सचिवमा सन्तोष अधिकारी क्षेत्री नवलपरासी पश्चिम, कर्णाली प्रदेश सचिवमा प्रकाश शाही सुर्खेत, सुदुरपश्चिम प्रदेश सचिवमा भक्तबहादुर विश्वकर्मा कैलाली, सचिव आदिवासी÷जनजाती रामप्रसाद जोशी नुवाकोट, सचिव मधेशीमा सन्तोष कुमार रौनियार सुनसरी, सचिव दलितमा निर्मल नेपाली दाङ र सचिव महिलातर्फ मीना ढकाल रुपन्देही निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी ४ जना महिला सदस्यमा नम्रता खरेल काठमाण्डौ, फूलमाँया सुनार रुपन्देही, जानुका अधिकारी नुवाकोट, मिरादेवी अधिकारी बारा र सदस्य खुलातर्फ ६ पदमा धनपति खनाल (डि.पी) रुपन्देही, ज्ञानेन्द्र निरौला झापा, तुलसीराम सुनार दाङ, विनोद अधिकारी चितवन, दिल्लीप्रसाद जैसी सल्यान र देवराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित सबै पदाधिकारी÷सदस्यहरुलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले पुस ३० गते अपरान्ह् आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७९ माघ १

मानव अधिकार उल्लंघनकर्तालाई पुरस्कृत गर्दा मानव अधिकार संस्कृति निर्माणमा बाधा

प्रेस विज्ञप्ति
मानव अधिकार उल्लंघनकर्तालाई पुरस्कृत गर्दा मानव अधिकार संस्कृति निर्माणमा बाधा

मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक २०७९ पुस २९ गते दलित पञ्चकन्याद्वारा उद्घाटन गरी नवलपरासी पश्चिमको भूमहीमा प्रारम्भ भएको छ । विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति भन्ने मूल आह्वानसहित प्रारम्भ भएको राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०६३ सालको ऐतिहासिक परिवर्तनपछि पनि मानव अधिकार उल्लंघनकर्ता बारम्बार पुरस्कृत भएका कारण मानव अधिकार संस्कृति निर्माण र विस्तारमा बाधा पुगेको धारणा व्यक्त गर्नुभयो ।
दण्डहीनतालाई बढावा दिएका कारण लोकतान्त्रिक मुल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको र यसमा प्रमुख राजनीतिक दल र शिर्ष नेताहरु नै दोषी रहेको पहाडीले बताउनुभयो ।
समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदिप आचार्य, नेकपा एमालेका डोलेश्वर भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशिल बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल र मूल तयारी समिति संयोजक सन्तोष अधिकारी क्षेत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा कवि अर्जुन पराजुली र सुदेश सत्यालले कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शान्ति समाजको काठमाण्डौ शाखालाई वर्ष २०७८–७९ को उत्कृष्ट शाखाका रुपमा र गत वर्ष सफलताका साथ राष्ट्रिय परिषद् बैठक आतिथेय गर्ने कपिलवस्तु शाखालाई प्रशंसापत्र प्रदान गरिएको थियो । यसैगरी पुस २९ गते दिउँसो भूमहीमा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति र्याली सम्पन्न भएको थियो भने राष्ट्रिय परिषद्को पूर्वसन्ध्यामा वृक्षरोपण गर्नुका साथै बिभिन्न कार्यक्रम सम्पन्न भएको थियो । २५ औ रा.प.बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि र पर्यवेक्षक गरि पौने तीन सयको सहभागिता रहेको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७९ पुस २९