राष्ट्रपति विद्यादेवी भण्डारी संविधान विपरित मार्गमा

प्रेस विज्ञप्ति
राष्ट्रपति विद्यादेवी भण्डारी संविधान विपरित मार्गमा
संसदका दुवै सदनबाट पारित भई आएको विधेयकलाई संविधान अनुरुप प्रमाणिकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी विमुख हुनु आपत्तिजनक छ । संसदबाट पारित विधेयकमा राष्ट्रपतिको असहमति भए त्यस्तो अवस्थामा एकपटक पुर्नविचारका लागि संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक अधिकार राष्ट्रपतिले प्रयोग गरिसक्नु भएको छ भने संसदका दुवै सदनबाट पुन पारित भइसकेको अवस्थामा राष्ट्रपतिले त्यसलाई प्रमाणिकरण गर्नु या राष्ट्रपति पदबाट राजिनामा दिनु बाहेक उहाँसँग अर्को विकल्प रहदैँन । संसदीय सर्वोच्चतालाई चुनौती दिँदै विधेयकलाई प्रमाणिकरण नगर्ने राष्ट्रपति भण्डारीको यो कदम संविधान विपरित हुनुका साथै लोकतन्त्र विरोधी छ ।
यसैगरी राष्ट्रपति पदको दुरुपयोग गर्दै संवैधानिक मर्यादा विपरित मोर्चाबन्दी गर्ने र राज्यको संवेदनशिल निकायलाई विवादमा तान्न खोज्ने राष्ट्रपति भण्डारीको आचरणको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । राष्ट्रपति भण्डारीको संविधान विरोधी यो कृत्यको सम्बन्धमा संवैधानिक मर्यादाको सीमाभित्र रहेर न्यायीक हल खोज्न पनि शान्ति समाज सरकार र जिम्मेवार राजनीति दलहरुलाई आग्रह गर्दछ । राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोध गर्ने नाममा कुनै पनि असंवैधानिक अभ्यास र अराजकतालाई बढावा दिने काम सरकारले गर्नुहुदैँन ।
यसै सम्बन्धमा उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति पदको मर्यादा र गरिमा विपरित गरेको टिप्पणीको शान्ति समाज निन्दा गर्दछ ।
समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति ः २०७९ असोज ६

शान्ति दिवसमा रुसी दुतावास अगाडि धर्ना : युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह

प्रेस विज्ञप्ति
शान्ति दिवसमा रुसी दुतावास अगाडि धर्ना : युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह
मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा असोज ५ गते रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित धर्ना प्रदर्शन गरेको छ ।
काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरुले रुस : युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुस : युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर, रुस : युद्ध रोक, शान्ति प्रवद्र्धन गर, रुस : युक्रेनमाथि आक्रमण बन्द गर, शान्ति दिवसको सन्देश : युद्ध निषेध, शान्ति विशेष लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, पूर्व उपसभापति रेनुका पौडेल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति सञ्जोग चाम्लिङ, दाङ शाखा सभापति नविन पोख्रेल, शान्तिवादीहरु गीता तिमल्सिना, ईश्वर पुडासैनी, जयराम पुडासैनी, नानीकाजी गिरी, रुपा गिरी, रमेश बराल, तुलसीराम भण्डारी, विकास थापा, दिवाकर पुडासैनी, बद्री पुडासैनी, राजेन्द्र खनाल, दुर्गा सापकोटा, रेजीना राईसहित तीन दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।
धर्ना पश्चात रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र रुसी राजदुतासबासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । पत्रमा रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि अभिभावकिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै असोज ५ गते शान्ति समाजका चितवन, दाङ, सुर्खेत, बाँके, नवलपुर, तेह्रथुम, रुपन्देहीसहित एक दर्जन शाखाहरुले धर्ना प्रदर्शन गरेका छन् ।
संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो । अहिंसा र युद्धविराम मार्फत शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउने गरिन्छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७९ असोज ५

१५ स्रष्टा सम्मान पुरस्कार घोषणा

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा १५ स्रष्टा सम्मान पुरस्कार घोषणा
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
यस क्रममा वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान– धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान– गोपाल अश्क (गोपालप्रसाद सर्राफ) (पर्सा), चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.नारायणप्रसाद खनाल (बागलुङ), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान– हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान– गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ (काठमाण्डौ), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान– त्रिभुवनचन्द्र वाग्ले ,(तनहुँ), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान– सीमा आभास (ओखलढुंगा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी पद्यप्रसाद दाहाल स्रष्टा सौगात– अशोक थारु (दाङ), राधादेवी दाहाल स्रष्टा सौगात–उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात–शशीकला मानन्धर (काठमाण्डौ), भुमीप्रसाद बराल स्रष्टा सौगात–गणेशकुमार राई (ओखलढुंगा), जनककुमारी रेग्मी स्रष्टा सौगात– गंगा कर्माचार्य पौडेल (स्याङ्जा), जोगमाया बराल स्रष्टा सौगात– हेमन्ती जोशी (डोटी), श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर (तनहुँ), श्रीनारायण दाहाल स्रष्टा सौगात– मनमाया विश्वकर्मा (भोजपुर) लार्ई प्रदान गर्ने निर्णय गरिएको छ ।
सात प्रदेशबाट सात जना महिलासहित पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, लोकतन्त्र, शान्ति र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुभएको छ भने संस्कृत, मैथिली, भोजपुरी, थारु, नेवारी, वाम्वुले राई र मगर भाषाको प्रवद्र्धनमा उल्लेखनिय योगदान गर्नुभएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
एक दशक अगाडिदेखी मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।

पुरस्कृत स्रष्टाहरुबारे :
१. धीरेन्द्र प्रेमर्षि : वि.स. २०२३ भाद्र १८ गते सिरहामा जन्मनुभएका स्रष्टा धिरेन्द्र प्रेमर्षिका ‘कोन सुर सजाबी?’ (मैथिली गीत संग्रह) र ‘समयलाई सलाम’ (गजल संग्रह)प्रकाशित छन् । स्रष्टा प्रेमर्षिका एक दर्जन अनूदित र आधा दर्जन सम्पादित कृति तथा दर्जनभन्दा बढी साङ्गीतिक एल्बमहरू प्रकाशित छन् । कक्षा १ देखि १२ सम्मका मैथिली र हिन्दी विषयक पाठ्यपुस्तक तथा शैक्षिक सन्दर्भ पुस्तकहरूका लेखकसमेत रहनुभएका प्रेमर्र्षि साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका त्रिवेणी व्यक्तित्व हुनुहुन्छ । २०६२÷६३ को जन आन्दोलनमा महत्वपूर्ण योगदान गरेको ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’का एक अभियन्ता समेत रहनुभएका पत्रकार एवं संस्कृतिविद प्रेमर्षिले मैथिली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको छ ।
२. गोपाल अश्क (गोपालप्रसाद सर्राफ) : वि.स. २०१८ मा पर्सामा जन्मनुभएका स्रष्टा गोपाल अश्कका भोजपुरी भाषामा ‘घंघोर’ (महाकाव्य), ‘फुलवा’ (उपन्यास), ‘कजरी’ (खण्डकाव्य)सहित १० वटा, नेपालीमा ‘निदाउन नसकेका रातहरु’ (कथा संग्रह)सहित ४ र हिन्दीमा ४ गरी १८ कृतिहरु प्रकाशित छन् । यसैगरी स्रष्टा अश्कले १० वटा पुस्तकको अनुवाद गर्नुका साथै ९ वटा सोध अनुसन्धान प्रकाशित छन् । भोजपुरी व्याकरणको सहलेखनका साथै अश्क लिखित नेपाली, भोजपुरी र हिन्दी भाषाका रचनाहरु विभिन्न विश्व विद्यालय÷विद्यालयहरुको पाठ्यपुस्तकमा समावेश छ भने अश्कले एक दर्जन पुस्तक÷ पत्रिकाको सम्पादन समेत गर्नुभएको छ ।
३. प्रा.डा.नारायणप्रसाद खनाल : वि.स. २००९ साल पुस २३ गते बागलुङमा जन्मनुभएका स्रष्टा प्रा.डा. नारायणप्रसाद खनालको ‘गुराँस’ (काव्य) ‘नारायणीका लहरहरु’ (निबन्ध संग्रह), ‘समीक्षाका आकारहरु’ (समालोचना संग्रह)सहित एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । ३४ वर्ष प्राध्यापन गर्नुभएका संस्कृत भाषाका विद्वान प्राध्यापक खनालको संस्कृतमा एउटा काव्य समेत प्रकाशित छ ।
४. हरिबहादुर थापा : वि.स. २०२९ वैशाख १० गते काभ्रेपलाञ्चोकमा जन्मनुभएका स्रष्टा हरिबहादुर थापाका वहुचर्चित कृति ‘रजगज’, ‘भ्रष्टाचारको सल्यक्रिया’, ‘विदेशी सहायताको विसंगती’, ‘दलिय द्वन्द’ लगायत आधा दर्जन कृतिहरु प्रकाशित छन् । वरिष्ठ पत्रकार थापाद्वारा भ्रष्टाचार विरुद्ध लिखित पुस्तकहरुको अंग्रेजी संस्करण समेत प्रकाशित भएको छ भने सुशासनका विषयमा विभिन्न पुस्तकहरुको समेत सम्पादन गर्नुभएको छ ।
५. गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ : वि.स. २००७ साल वैशाख ९ गते काठमाण्डौँमा जन्मनुभएका स्रष्टा गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’का ‘वाग्मती’ (महिमा काव्य), ‘मृत्युचक्र’ (महाकाव्य), ‘शहीद’ (कविता संग्रह)सहित खण्डकाव्य, उपन्यास र बालकथा संग्रह गरी ४८ कृतिहरु प्रकाशित छन् । स्रष्टा घिमिरे अभिनव साहित्य समाजका संस्थापक एवं वर्तमान अध्यक्ष हुनुहुन्छ ।
६. त्रिभुवनचन्द्र वाग्ले : वि.स २०२४ साल माघ ६ गते तनहुँ जिल्लामा जन्मनुभएका स्रष्टा त्रिभुवनचन्द्र वाग्लेको ‘नेपालको विकासमा दलित’, ‘दलित स्रष्टा र प्रतिभा’, ‘अकीर्ण आँखा’ (कविता संग्रह) र ‘अबिर’ (उपन्यास) गरी ५ पुस्तकहरु प्रकाशित छन् । दलित मुक्ति र सामाजिक न्यायको विषयमा कलम चलाउँदै आउनुभएका पत्रकार वाग्लेले करिव तीन दर्जन पुस्तकको सम्पादन समेत गर्नुभएको छ ।
७. सीमा आभास : वि.स. २०३९ साल साउन २० गते ओखलढुंगामा जन्मनुभएकी स्रष्टा सीमा आभासका ‘म स्त्री अर्थात आइमाई’, ‘साँझको संघारबाट’ (कविता संग्रह), ‘टापुका स्वरहरु’ कथा संग्रहसहित तीन पुस्तकहरु प्रकाशित छन् । लोकतन्त्रका लागि भएको आन्दोलनका क्रममा पटक पटक गिरफ्तार हुनुभएकी स्रष्टा आभासका स्वतन्त्रता र अधिकारका विषयमा दर्जनौ लेख रचनाहरु प्रकाशित छन् ।
८. अशोक थारु : वि.स २०११ असार १६ मा दाङमा जन्मनुभएका स्रष्टा अशोक थारुका थारु लोक साहित्यिक महाकाव्य ‘बर्किमार एक संक्षिप्त तुलनात्मक अध्ययन’ (थारु भाषामा परिमार्जित संस्करण समेत), ‘थारु लोक साहित्यमा इतिहास कला र दर्शन’, ‘थारु संस्कृति अन्तर्गतका लोक कलाहरुको शास्त्रीय पहिचान र विश्लेषण’, ‘गुर्बाबा थारु–नेपाली–अंग्रेजी शब्दकोष’, गरी आधा दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । थारु संस्कृतिको अध्ययन अनुसन्धानमा विशेष योगदान गर्नुभएका स्रष्टा थारुले थारु भाषामा प्रचलित लोक काव्यहरुको सम्पादन, भावानुवाद, विश्लेषण तथा समालोचना समेत गर्नुभएको छ ।
९.उषा हमाल : वि.स २०१६ कार्तिक १९ मा सल्यानमा जन्मनुभएकी स्रष्टा उषा हमालका ‘समय समुन्द्र ’(कविता संग्रह), ‘भिक्षुसंग प्रेम’ (यात्रा निबन्ध), ‘धानसँगै छमछमी’ (बाल कथा), सहित ११ वटा पुस्तकहरु प्रकाशित छन् । स्रष्टा हमालका रचनाहरु विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रिकामा ५ दशकदेखी प्रकाशित हुँदै आएको छ ।
१०. शशिकला मानन्धर :वि.स २०१६ साल असोज ६ गते काठमाण्डौमा जन्मनुभएकी स्रष्टा शशिकला मानन्धरका नेपाल भाषा (नेवारी) मा ‘नमि’ (कथा संग्रह), ‘जल्लथीगु लँपु’ (उपन्यास), ‘न्हूगु परसि’ (पूर्णाङ्की नाटक) सहित ९ र नेपालीमा दुई गरी ११ वटा कृतिहरु प्रकाशित छन् । नेपाल भाषामा पहिलो महिला उपन्यासकार, पहिलो पूर्णाङ्की नाटककारका रुपमा परिचित स्रष्टा मानन्धरले ४ वटा कृतिको अनुवाद समेत गर्नुभएको छ । वैज्ञानिक अधिकृतको रुपमा कार्य गरी अवकास प्राप्त गर्नुभएकी मानन्धरका दर्जनौ लेख रचनाहरु प्रकाशित छन् ।
११. गणेशकुमार राई : वि.स २०२७ साल जेठ २४ गते ओखलढुंगामा जन्मनुभएका स्रष्टा गणेशकुमार राईका ‘इक हिर्कटी’ (निबन्ध संग्रह), ‘वाम्विर’ (कविता संग्रह), ‘उङ रान्चो बाकिमे’ (बाल कविता संग्रह)सहित वाम्वुले राई भाषामा आधा दर्जन बढी कृतिहरु प्रकाशित छन् । यसैगरी स्रष्टा राईले वाम्वुले राई जाति : भाषा र संस्कृतिसहित ८ वटा कृतिको सम्पादन गर्नुभएको छ । स्रष्टा राईको सम्पादनमा ‘लिब्जु –भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिका तीन दशकदेखी प्रकाशन हुँदै आएको छ ।
१२. गंगा कर्माचार्य पौडेल : वि.स २०११ भदौ ३० गते स्याङ्जामा जन्मनुभएकी गंगा कर्माचार्य पौडेलका ‘गंगाका केही छालहरु’, ‘आँधीखोलाको सम्झना’ (कविता संग्रह), ‘भुइँचालो’ (बाल कथा संग्रह) लगायत बालकाव्य, बालउपन्यास, बाल कथासंग्रहका ३० भन्दा बढी पुस्तक र सह लेखनमा २६ पुस्तकहरु प्रकाशित छन् । कर्माचार्य पौडेलका आधा दर्जन बढी रचनाहरु पाठ्यपुस्तकमा समेत समावेश भएका छन् । कर्माचार्यले अपांग प्रतिभा पुरस्कार लगायत दर्जन बढी पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएको छ ।
१३. हेमन्ती जोशी : वि.स २०१८ साल भाद्र १८ गते डोटीमा जन्मनुभएकी स्रष्टा हेमन्ती जोशीका ‘प्रतिविम्व’ (कथा संग्रह), ‘पत्र पत्र जिन्दगी’(कथा संग्रह) सहित ५ कृतिहरु प्रकाशित छन् । हाल धनगढी निवासी स्रष्टा जोशी ५० को दशकदेखी निरन्तर लेख्दै आउनुभएको छ ।
१४. फूलकुमारी थापा मगर : वि.स २०१६ जेठ २६ मा तनहुँमा जन्मनुभएकी स्रष्टा फूलकुमारी थापा मगरका मगर भाषामा ‘इटन लेसा मास्टोकुङ’ (उपन्यास), ‘कानुङ कुरा;’ (संवाद), झोरले लाफाको, विम्व प्रतिविम्व (नेपाली उपन्यास) लगायत कृतिहरु प्रकाशित छन् । स्रष्टा थापा मगरका विभिन्न पत्र पत्रिकाहरुमा दर्जनौ रचना प्रकाशित छन् ।
१५. मनमाया विश्वकर्मा ( मनु विश्वकर्मा) ः २०३८ भदौ ८ गते भोजपुरमा जन्मनुभएकी स्रष्टा मनमाया विश्वकर्मा को ‘ऐजेरु बिज बुकी’ (कविता संग्रह) प्रकाशित भएको छ । स्रष्टा विश्वकर्माले कविता, गीत तथा कथाको क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७९ भदौ ३१