प्रेस विज्ञप्ति
भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयिकरण हुन थालेकोप्रति नागरिक अगुवाहरुद्वारा चिन्ता
विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयिकरण हुन थालेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा २८ औ स्थापना दिवसको सन्दर्भमा जेठ १९ गते काठमाण्डौमा आयोजित “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयक गोष्ठीमा प्रमुख अतिथिको रुपमा बोल्दै डा. पाण्डेले लोकतन्त्रको विकल्प खोज्न नहुने र भ्रष्टाचारमा संलग्नहरुलाई दण्डित गर्न ढिलो गर्न नहुने बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै नागरिक अगुवा कृष्ण पहाडीले शिर्ष नेताहरु भ्रष्ट भएका कारण नागरिकहरुमा निराशा बढ्दै गएको भन्दै भ्रष्ट नेताहरुलाई कारबाही गरि लोकतन्त्र बचाउनुपर्ने बताउनुभयो ।
समाजका का.वा. सभापति कृष्णबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव रेनुका पौडेलले शान्ति समाजद्वारा तयार गरिएको “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” शिर्षकको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणापत्रमा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय, जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य, स्वयंसेवी÷ स्वाबलम्बी अन्दोलन, मानवताको उच्चतम अभिव्यक्ति उपशिर्षकमा शान्ति समाजको कार्यक्षेत्र र वर्तमान सन्दर्भमा केन्द्रित अभियानहरुबारे प्रकाश पारिएको छ ।
कार्यक्रममा नागरिक अगुवा डा. केदारनरसिंह के.सी., समाजका पूर्व सभापति तथा सल्लाहकारद्वय उत्तम पुडासैनी र गोविन्द खनाल, पूर्व सभापतिहरु डा. गंगाधर अधिकारी र होमकान्त चौलागाई, कोषाध्यक्ष किरण ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्रष्टाहरु अर्जुन पराजुली, रामबहादुर पहाडी, रामेश्वरी पन्त र रत्ननीधि रेग्मीले भ्रष्टाचार विरुद्ध कविता प्रस्तुत गर्नुभएको थियो ।
शान्ति समाज स्थापना दिवसका अवसरमा जेठ १६ गतेबाट विभिन्न जिल्लामा शुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, पुस्तकदान, बस्त्रदान लगायत दर्जनौ कार्यक्रमहरु सम्पन्न भएको छ ।
यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्न जोड दिदै शान्ति समाजले शुरु गरेको अभियान अन्तर्गत विभिन्न जिल्लामा ७५ वटा प्रदर्शन भइसकेको छ भने शान्ति समाज पाल्पा शाखाले निरन्तर १७ वटा प्रदर्शन गरेको छ ।
२०५३ साल जेठ १९ गते मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । यसको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत मानव अधिकार तथा शान्ति समाज
१९ जेठ २०८०