केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्छः शान्ति समाज

प्रेस विज्ञप्ति
केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्छः शान्ति समाज
केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ । यसैगरी सञ्चार जगत राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीहरुको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको छ । ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा अघि सारिएको अवधारणापत्रमा युद्धको चपेटामा सय भन्दा बढी पत्रकारहरुको हत्याको निन्दा गर्दै जस्तोसुकै अवस्थामा पनि पत्रकारहरुको सुरक्षा हुनुपर्नेमा जोड दिइएको छ । यसैगरीे लोकतान्त्रिक एवं स्वतन्त्रताको आन्दोलनमा नेपालको सञ्चारजगतको विशिष्ट योगदान रहेको स्मरण गर्दै अबको बाटो भनेको मर्यादित एवं व्यवसायिक पत्रकारिताकाको क्षेत्रमा अर्को मानक स्थापित गर्नु रहेको र त्यसका लागि सम्वद्धहरुबाटै समीक्षा, मन्थन र मार्ग निर्धारण आवश्यक भएको धारणा शान्ति समाजको रहेको छ ।
३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा विभिन्न जिल्लामा कार्यक्रम भएको छ । युद्धको चपेटामा पत्रकारहरुः युद्ध अन्त्य गर, पत्रकारको सुरक्षा गर, मर्यादित एवं व्यवसायिक पत्रकारिताः केन्द्रविन्दुमा श्रमजीवि पत्रकारको सुरक्षा भन्ने आह्वानसहित २०८१ वैशाख २१ गते दाङमा संवाद कार्यक्रम र काठमाण्डौँ, संखुवासभा, चितवन जिल्लामा प्रदर्शन सम्पन्न भएको हो । यस्तै शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा अन्य जिल्लाहरुमा पनि कार्यक्रम भइरहेको छ ।
काठमाण्डौमा सम्पन्न कार्यक्रममा केन्द्रीय सभापति रामकृष्ण बराल, राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, शान्ति समाजका सल्लाहकार गोविन्द खनाल, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, समाजसेवी लालु लामा, पत्रकार रघु लामिछानेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन शान्ति समाजको दाङ शाखाले श्रमिकको पेशा तथा भौतिक सुरक्षाको सुनिश्चितता विषयमा अन्तरक्रिया र पाल्पा शाखाले मर्यादित काम श्रमिकको सम्मान हाम्रो अभियान भन्दै तानसेनको नारायणस्थान चोकका श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको थियो ।
समाजका तर्फबाट
रेनुका पौडेल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२१ वैशाख २०८१

अवधारणापत्र यस प्रकार छः

युद्धको चपेटामा पत्रकारहरुः युद्ध अन्त्य गर, पत्रकारको सुरक्षा गर
मर्यादित एवं व्यवसायिक पत्रकारिताः केन्द्रविन्दुमा श्रमजीवि पत्रकारको सुरक्षा
(३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे) २०२४ का सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित कार्यक्रमका लागि तयार गरिएको अवधारणापत्र यस प्रकार छ)
१. सन् १९९३ डिसेम्वरमा संयुक्त राष्ट्र महासभाले ३ मे लाई विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको थियो । स्मरणीय छ, सन् १९९१ को मे ३ मा नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनको समापनमा स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी भएको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ ।
२. युद्धको चपेटामा पत्रकारहरुः युद्ध अन्त्य गर, पत्रकारको सुरक्षा गरः ७ अक्टोवर २०२३ मा शुरु भएको इजरायल–हमास युद्धका कारण कम्तीमा ९७ जना पत्रकार÷सञ्चारकर्मीहरुको हत्या भएको छ । कमिटि टु प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार १६ जना घाइते, चार जना वेपत्ता र २५ जना पत्रकारहरु गिरफ्तार भएका छन् । यसैगरी २४ फेव्रुवरी २०२२ मा शुरु भएको रुस युक्रेन युद्धमा कम्तिमा १५ जना पत्रकारहरु मारिएका छन् । पत्रकार÷सञ्चारकर्मीहरुको हत्याको शान्ति समाज निन्दा गर्दछ । जस्तोसुकै अवस्थामा पनि पत्रकारहरुको रक्षा हुनुुपर्छ । रुस–युक्रेन र इजरायल–हमास युद्ध तत्काल अन्त्य हुनुपर्दछ ।
३. प्रेस स्वतन्त्रता र मर्यादित पत्रकारिताः प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ हो । लोकतान्त्रिक व्यवस्थामा नै प्रेस स्वतन्त्रता सुरक्षित हुन्छ । प्रेस स्वतन्त्रतालाई खण्डित गर्ने कुनै पनि कानून÷नियम लोकतान्त्रिक व्यवस्था÷समाजमा स्विकार्य हुदैँन । यसैगरी लोकतन्त्रको प्राण हरण गर्ने अभियान÷आन्दोलनको हिस्सा सञ्चारजगत बन्नु हुदैँन । लोकतन्त्रको विकल्प खोज्ने र अधिनायकतन्त्र को वकालत गर्ने काम सञ्चारजगत लगायत आधारभुत स्वतन्त्रताका पक्षपाति कसैले पनि गर्दैनन् ।
४. अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकारः अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १९ ले अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ जुन यस प्रकार छ ः “प्रत्येक व्यक्तिलाई बिचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुनेछ । यस अधिकारमा विना हस्तक्षेप आफ्ना विचारहरु राख्न पाउने स्वतन्त्रता, सीमानाको बन्देज विना कुनै पनि माध्यम मार्फत सूचना र विचारहरु प्राप्त गर्ने, खोज्ने तथा प्रसार गर्नेे स्वतन्त्रता समेत समावेश हुनेछ ।” यसै गरी विश्वव्यापी घोषणापत्रको धारा २९(२) ले “आफ्ना अधिकार र स्वतन्त्रताहरुको उपयोग गर्दा, प्रत्येक व्यक्ति अन्य व्यक्तिका अधिकार र स्वतन्त्रताहरुको उचित मान्यता र सम्मान हासिल गर्ने तथा लोकतान्त्रिक समाजमा नैतिकता, सार्वजनिक व्यवस्था र जनकल्याण हासिल गर्ने एक मात्र उद्देश्यका लागि कानुनले निर्धारण गरेका प्रतिवन्धहरुको मात्र अधीनमा रहनेछ” भन्ने सुनिश्चित गरेको छ ।
५. घृणात्मक अभिव्यक्ति अपराध होः अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो तर घृणात्मक अभिव्यक्ति भने अपराध हो । घृणात्मक अभिव्यक्ति अर्थात हेट स्पिच भन्नाले त्यस्तो अभिव्यक्तिलाई जनाउँछ जस्ले कुनै समूह वा व्यक्तिलाई जाति, धर्म, लिंग, जातीय उत्पत्ति, अपाङ्गता आदि जस्ता लक्षणका आधारमा आक्रमण गर्ने, धावा बोल्ने गर्दछ । कतिपय देशका कानुनहरुमा घृणात्मक अभिव्यक्तिलाई व्याख्या गर्दा त्यस्तो अभिव्यक्ति जस्ले हिंसालाई भड्काउछ, त्यसकारण निषिद्ध गरिएको छ । तसर्थ घृणालाई मलजल गर्ने र हिंसा भड्काउने सामग्रीहरु सम्प्रेषण गर्नुहुदैँन ।
६. प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिताः निष्पक्ष पत्रकारिता र सर्वमान्य आचारसंहिताको अवलम्वन, स्वतन्त्र पत्रकारिताको मुल्यप्रति निष्ठा, पेशागत मर्यादाको पालना, नागरिकप्रति उदारता एवं इमान्दारिताको प्रदर्शन तथा समाज रुपान्तरणको अभियानमा योगदानका कारणले नै प्रेसको भूमिका अद्वितीय एवं विशिष्ट हुन्छ । नेपालको सञ्चार जगत पनि यी मुल्य र मान्यताको कसीमा खरो उत्रिनुपर्छ । हामी कहाँ छौँ पुनरावलोकन गर्नुपर्छ र गन्तव्य तय गर्नुपर्छ ।
७. राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्छः स्वतन्त्र, निष्पक्ष एवं मर्यादित पत्रकारिताका लागि सञ्चार जगत् सर्वप्रथम राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्छ । त्यसका लागि पत्रकारहरुले दलिय आवद्धता त्याग्नुपर्छ । पत्रकारहरुको हक अधिकारका लागि स्थापित एवं कार्यरत संघ संगठनहरु दलिय आवद्धताबाट मुक्त हुनुपर्छ ।
८ कर्पोरेट क्षेत्रको स्वार्थको हतियार बन्नु हुदैँनः कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीहरुको स्वार्थको हतियार सञ्चारमाध्यमहरु बन्नु हुदैँन ।
९. केन्द्रविन्दुमा श्रमजीवि पत्रकारको सुरक्षाः नेपाल सन्दर्भमा श्रमजिवी पत्रकारहरुको सुरक्षा अनिवार्य आवश्यकता हो । श्रमजिवी पत्रकारहरुको हक हितको प्रत्याभूतिका लागि विशेष कार्ययोजनासहित सबल कार्यान्वयनका लागि संवद्ध सबैबाट विशेष पहल एवं दृढ इच्छाशक्तिको प्रदर्शन आवश्यक छ ।
१०. स्वतन्त्रताको आन्दोलनमा नेपालको सञ्चारजगतः नेपालको लोकतान्त्रिक एवं स्वतन्त्रताको आन्दोलनमा नेपालको सञ्चारजगतको विशिष्ट योगदान रहेको छ । विगतका विभिन्न कालखण्डमा निरंकुशता र हिंसा विरुद्ध सञ्चारमाध्यमले प्रदर्शन गरेको साहस इतिहासको सुनौलो पाना हो । अबको बाटो भनेको मर्यादित एवं व्यवसायिक पत्रकारिताकाको क्षेत्रमा अर्को मानक स्थापित गर्नु हो । त्यसका लागि सम्वद्धहरुबाटै समीक्षा, मन्थन र मार्ग निर्धारण आवश्यक छ ।