आलोचनालाई स्वागत गर्दै शान्ति समाजले मनायो स्थापना दिवस

प्रेस विज्ञप्ति
आलोचनालाई स्वागत गर्दै शान्ति समाजले मनायो स्थापना दिवस
कमिकमजोरी औल्याइदिन र आलोचनामार्फत बाटो देखाइदिन आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले २८ औँ स्थापना दिवस (२९ औ वर्ष प्रवेश) मनाएको छ । शान्ति समाज गलतलाई गलाउने अभियान भएको र मुल्य अर्थात मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका मुल्यहरुको आधारमा राजनीतिक समाजको मुल्यांकन गरिने समाजका संस्थापक सभापति कृष्ण पहाडीले बताउनुभएको छ । २०८१ जेठ १९ गते शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पहाडीले विकासको अधिकार अन्तर्गत विकट कर्णाली र मधेश केन्द्रीत अभियानबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा शान्ति समाजको कमीकमजोरी औल्याउन र आलोचना गर्न संसदमा प्रतिनिधित्व गर्ने पाँच वटा ठूला दलहरुलाई आमन्त्रण गरिएकोमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्व उपसभामुख पुष्मा भुसाल र नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै पूर्व महान्यायाधीवक्ता मुक्ति प्रधानले मन्तव्य व्यक्त गर्नुभएको थियो तर शान्ति समाजको बारेमा खासै आलोचना गर्नुभएन । त्यसरी आमन्त्रण गरिएका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कुनै प्रतिनिधि पठाएनन् ।
कार्यक्रममा आलोचनात्मक मन्तव्यका लागि आमन्त्रण गरिएका मधेश आन्दोलनका अग्रज पूर्व राजदुत डा. विजयकान्त कर्णले मधेश आन्दोलनका दौरान नेपालको सञ्चारमाध्यम र मानव अधिकार संस्थाहरु पुर्वाग्रही भएको धारणा व्यक्त गर्नुभएको थियो ।
यसैगरी आलोचनात्मक मन्तव्यकै लागि आमन्त्रण गरिएका नागरिक अभियन्ता गोविन्द छन्त्यालले आदिवासी जनजातीको अधिकार र पहिचानको आन्दोलनमा नेपालका मानव अधिकार संस्थाहरुले उदाहरणीय भूमिका निर्वाह गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा नागरिक अगुवाहरु अर्जुन पराजुली र नन्दकृष्ण जोशीको कविता र देउडा गीतसहितको प्रस्तुती र डा. केदारनरसिंह केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका पूर्व सभापतिहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, उत्तम पुडासैनी र संस्थापक सदस्य कृष्ण कँडेलले सुशासनका लागि नागरिक समाजको भूमिका विषयमा धारणा व्यक्त गर्नुभएको थियो । समाजका वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले समाजका तर्फबाट तयार गरिएको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने समाजका सचिव चन्द्रमणी बञ्जाराले हुलाकी मार्ग शिघ्र सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाण्डौ शाखा सभापति भगवान पुडासैनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको नागरिक संवाद कार्यक्रमको सञ्चालन महासचिव रेनुका पौडेलले गर्नुभएको थियो । कार्यक्रममा दर्जन बढी नागरिक समाजका प्रतिनिधिहरुले प्रश्नसहित जिज्ञासा राखेका थिए ।
यसैगरी शान्ति समाज स्थापना दिवसका दिन जेठ १९ गते शान्ति समाजको रुपन्देही, इलाम, दाङ, गोरखा, पाल्पा, सुर्खेत, सल्यान र महोत्तरी शाखाले सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक विषयक नागरिक संवाद कार्यक्रम आयोजना गरेका थिए । शान्ति समाज स्थापना दिवसकै अवसरमा जेठ १९ गते काठमाण्डौ र दैलेख शाखाले चियापान, चितवन, कैलाली र काभ्रे शाखाले वृक्षरोपण कार्यक्रम गरेका थिए भने नवलपुर, तेह्रथुम, म्याग्दी, बाँके, कपिलवस्तु र संखुवासभा शाखाले विविध कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएका थिए ।
शान्ति समाज स्थापना दिवसको अवसरमा दाङ शाखाले रक्तदानसहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२० जेठ २०८१