शान्ति समाजद्वारा थप दुई श्रष्टा सम्मान/सौगात पुरस्कार स्थापना

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा थप दुई श्रष्टा सम्मान/सौगात पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत मानवबहादुर रावल वातावरण श्रष्टा सम्मान र पद्यप्रसाद दाहाल श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ । यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व. मानबहादुर रावल (तानसेन,पाल्पा)का छोरा मानव अधिकार तथा शान्ति समाजका उपसभापति कृष्णबहादुर रावलले रु. २ लाख र स्व. पद्यप्रसाद दाहाल (मादी, संखुवासभा) का नातिनि तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने हुनुभएको छ । यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा यसै वर्ष (२०७८) देखी प्रदान गरिने छ ।
यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १३ पुगेको छ ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७८ भदौ १७

सभामुख, राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीसँग छलफल

प्रेस विज्ञप्ति
सभामुख, राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीसँग छलफल
मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७८ भदौ ११ गते सभामुख अग्निप्रसाद सापकोटासँग मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ । संसद सचिवालय सिंहदरबारमा भएको छलफलमा नेपाल राज्यपक्ष भएका मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ । साथै बारुदी सुरुङको प्रयोग, भण्डारण,तथा ओसारपसार माथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरु शिघ्र अनुमोदन हुनुपर्नेमा जोड दिइएको छ ।
भदौ ११ गते नै शान्ति समाजको प्रतिनिधिभण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्लिसिनासँग पनि छलफल गरेको छ । राष्ट्रिय सभा सचिवालय सिंहदरबारमा भएको छलफलमा हिमालय बचाउ नदी जोगाउ अभियान सर्वत्र उच्च प्राथमिकता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ । चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरणको खतरा बढेकोतर्फ समेत ध्यानाकर्षण गराइएको थियो ।
यसैगरी भदौ ९ गते मन्त्री पम्फा भुसालसँग समस्त नागरिकको उर्जाको अधिकार सुनिश्चित हुने गरि ठोस राष्ट्रिय कार्ययोजना निर्माण गर्न आग्रह गर्दै छलफल गरिएको थियो ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव बन्दना सिंह, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, उमा गौतम संलग्न हुनुहुन्थ्यो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
२०७८÷०५÷११

संक्रमणकालिन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन ध्यानाकर्षण÷रोम विधान अनुमोदन गर्न आग्रह

प्रेस विज्ञप्ति
संक्रमणकालिन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन ध्यानाकर्षण÷रोम विधान अनुमोदन गर्न आग्रह
मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७८ भदौ ८ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग संक्रमणकालिन न्याय, मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।
कानुन, न्याय तथा संसदीय मन्त्रालय सिंहदरबारमा भएको छलफलमा संक्रमणकालिन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन, यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय मानव अधिकार एवं मानवीय कानुनको मर्म अनुरुप ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’ लाई शिघ्र संसोधन गर्न शान्ति समाजले आग्रह गरेको छ ।
यसैगरी नेपाल राज्यपक्ष भएका मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ गर्न जोड दिँदै अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न समेत आग्रह गरिएको छ ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ लगायत संलग्न हुनुहुन्थ्यो ।
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
२०७८÷०५÷०८

सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह

प्रेस विज्ञप्ति
सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह
मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७८ भदौ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न आग्रह गरेको छ ।
यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुसल आ आफ्नो देश फिर्तिका लागि दक्षिण एशियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गरि एकिकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको छ । यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यानाकर्षण गराइएको छ ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न हुनुहुन्थ्यो ।
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
२०७८÷०५÷०७

अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुसल नेपाल फिर्तिका लागि प्रभावकारी कदम चाल्न आग्रह

प्रेस विज्ञप्ति
अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुसल नेपाल फिर्तिका लागि प्रभावकारी कदम चाल्न आग्रह
मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले २०७८ भदौ ४ गते गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।
गृह मन्त्रालय सिंहदरबारमा भएको छलफलमा अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुसल नेपाल फिर्तिका लागि आवश्यकता अनुसार अन्य मुलुकहरुसँग समेत समन्वय र सहकार्य गरि प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको हो । यसैगरी कोभिड १९ को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न आग्रह पनि गरिएको छ । प्रतिनिधिमण्डलले आणविक हतियार निषेध सन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरु शिघ्र अनुमोदन गर्न पनि आग्रह गरेको छ ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न हुनुहुन्थ्यो ।
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
२०७८÷०५÷०४

सन्दर्भ आपत्तिजनक अध्यादेश : लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको निन्दा

प्रेस विज्ञप्ति
सन्दर्भ आपत्तिजनक अध्यादेश : लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको निन्दा
प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरे लगत्तै सरकारले, राजनीतिक दलहरुको विभाजनलाई बढावा दिने गरि राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरे पश्चात राष्ट्रपतिबाट यस सम्बन्धी अध्यादेश जारी भएकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।
२०७७ वैशाखमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याइ गल्ति गर्दा शान्ति समाजले गत वर्ष पनि त्यस्तो अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको संज्ञा दिँदै निन्दा एवं भत्र्सना गरेको थियो भने अहिले शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले पनि सोही गल्ती दोहोर्याउदै गरेको लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको शान्ति समाज निन्दा एवं भत्र्सना गर्दछ ।
समाजका तर्फबाट
रामकृष्ण बराल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति :२०७८ भदौ २

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी वादीलाई

प्रेस विज्ञप्ति

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी वादीलाई

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ श्री उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरिएको छ । हाल सुदुरपश्चिम प्रदेश सभा सांसद रहनुभएकी वादीले मानव अधिकार÷सामाजिक न्यायका लागि गर्नुभएको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७८ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु. १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने छ ।
२०१८ साल फागुन ४ गते जन्मिनुभएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो । विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आउनुभएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसिले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सुचिमा १० आँै स्थानमा राखेको थियो ।

समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७८ असार २८

शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम

प्रेस विज्ञप्ति
शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम
विश्व रक्तदाता दिवस १४ जुन ( ३१ जेठ) का अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि शान्ति समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
२०७८ जेठ ३१ गते काठमाण्डौ जोरपाटीको दक्षिण ढोकास्थित शान्ति बाटिकामा शान्ति समाज काठमाण्डौ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा श्रीकृष्णराज पुडासैनी, रुपा भट्टराई, सुर्यमान तामाङ, सविता खनालसहित २७ जनाले रक्तदान गर्नुभएको थियो ।
यसैगरी शान्ति समाज नवलपरासी वर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिरहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शान्ति समाजका शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गर्नुभएको थियो ।
शान्ति समाज रौतहट शाखाद्वारा चन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेलसहित १६ जनाले रक्तदान गर्नुभएको थियो भने शान्ति समाज नुवाकोट शाखाद्वारा विदुरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति नारायण श्रेष्ठसहित ८ जनाले रक्तदान गर्नुभएको थियो ।
यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा सम्पन्न रक्तदान कार्यक्रममा डा. रेखा रेग्मीसहित २० जनाले र शान्ति समाज चितवन शाखाद्वारा रक्तदाता दिवसकै अवसरमा ६ जनाले रक्तदान गर्नुभएको थियो ।
यसैगरी शान्ति समाज ललितपुर शाखा र एकता बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा ललितपुरको नखिपोटमा आयोजित रक्तदान कार्यक्रममा ७ दर्जन बढीले रक्तदान गर्नुभएको थियो ।
जेठ ३१ गते नै शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा रुपन्देहीको वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल, शाखा सदस्य कृष्णप्रसाद पाण्डेसहित २ दर्जन बढीले रक्तदान गर्नुभएको थियो भने शान्ति समाज कपिलवस्तु शाखा र रेडक्रस वाणगंगा उपशाखाको संयुक्त आयोजनामा वाणगंगामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गर्नुभएको थियो ।
यसैगरी २०७८ जेठ २९ गते शान्ति समाज पर्सा शाखा र युवा समाज वीरगञ्जको आयोजनामा वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रम शान्ति समाजका सभापति प्रेम पटेल, उप सभापति जिनुमाया मानन्धर, सचिव सुनिन्द्र ठाकुर, सदस्य मृतुन्जय वर्णवाल, बिमल अग्रवाल लगायत ५२ जनाले रक्तदान गर्नुभएको थियो ।
यस्तै विश्व रक्तदाता दिवसका दिन जेठ ३१ गते शान्ति समाज दाङ शाखाले लामो समयदेखि रक्तदान गर्दै आएका ब्यक्ति र संघ संस्थाहरुको सहभागितामा रक्तदान जीवनदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल, कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज, मिति ः २०७८ जेठ ३१

चुरेको अत्यधिक दोहन र वातावरण विनास विरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने÷६ जिल्लामा वृक्षारोपण

प्रेस विज्ञप्ति
चुरेको अत्यधिक दोहन र वातावरण विनास विरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने÷६ जिल्लामा वृक्षारोपण
विश्व वातावरण दिवस ५ जुनका दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरिएको छ । जेठ २२ गते बिहान शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुल लगाएत १ सय भन्दा बढी संख्यामा बृक्षारोपण गरिएको छ ।
कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय वचाउ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गर्दै हालै सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिटी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने बताउनुभयो । वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सभापति खनालले सरकारको यो आत्मघाती कदमलाई वातावरण प्रतिगमनको संज्ञा दिनुभयो । वृक्षारोपण कार्यक्रममा केन्द्रिय सचिब मिना ढकाल, केन्द्रीय सदस्य बिष्णु भुसाल, आम्दा अस्पताल मेसु डा. राजेन्द्र बश्याल, पत्रकार महासंघ प्रदेश महासचिव बिक्रम खड्कासहितको सहभागिता थियो ।
यसैगरी जेठ २२ गते बिहान काठमाण्डौ गोठाटार खुर्सानीबारीस्थित असहाय गाईबाच्छा संरक्षण स्थलको डाँडामा शान्ति समाजद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित जनप्रतिनिधिहरु र अधिकारकर्मीहरुद्वारा काइयो, ज्याकारान्डा, कपुर, पारिजात र पिपल लगायतका ५० वटा विरुवा रोपिएको छ । जेठ २२ गते शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरस्थित केशवराज झुपाकुकमरी वृद्धाश्रमको प्राङ्गणमा शान्ति समाजका वरिष्ठ उपसभापति शुशील बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनारसहित १० जनाले वृक्षारोपण गर्नुभएको थियो । शान्ति समाज पर्सा शाखाद्वारा जेठ २२ गते विरगञ्जस्थित त्रिजुद्ध मा.वि प्रांगणमा सम्पन्न वृक्षारोपण कार्यक्रममा शाखा सभापति प्रेम पटेल, उपसभापति जिनुमाँया मानन्धरसहित १० जना अधिकारकर्मीहरुले वृक्षारोपण गर्नुभएको थियो । कपिलवस्तु शाखाद्वारा श्री सिद्धार्थ माध्यमिक विद्यालय बुन्ची कपिलवस्तुको प्राङ्गणमा आयोजित वृक्षारोपणमा शाखा सभापति गोविन्द पोख्रेल, सचिव माधव घिमिरे सहित अधिकारकर्मीले ५ प्रजातिको १२ वटा वृक्षारोपण गर्नुभएको थियो । विश्व वातावरण दिवसकै अवसरमा शान्ति समाज चितवन शाखाद्वारा प्रकृतिको संरक्षण गरौं रूख रोपौं भन्ने नारा सहित नव जागृत वन उपभोक्ता समुहको वनमा चितवन शाखा सभापति शम्भु राउतसहित अधिकारकर्मीहरु पुर्ण चन्द्र चापागाईं, रबिन खतिवडा, रितु न्यौपाने, सुप्रिया सापकोटाले वृक्षारोपण गर्नुभएको छ । सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित सम्मेलनबाट घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा जोड दिँदै विश्व वातावरण दिवस मनाइन्छ ।
समाजका तर्फबाट
सरिता पौडेल, कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज, मिति ः २०७८ जेठ २२

शान्ति समाजको २६ औँ स्थापना दिवस÷१६ जिल्लामा रक्तदान लगायत २२ वटा कार्यक्रम

प्रेस विज्ञप्ति
शान्ति समाजको २६ औँ स्थापना दिवस÷१६ जिल्लामा रक्तदान लगायत २२ वटा कार्यक्रम
मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा २०७८ जेठ १९ गते शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा १६ जिल्लामा कार्यक्रमहरु सम्पन्न भएको छ । यस क्रममा शान्ति समाज चितवन शाखाद्वारा आयोजित रक्तदानमा २५ जनाले र दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको थियो । साथै दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई १००० लिटरको पानी ट्याङ्की र कोरोना विशेष अस्पताल वेलझुण्डीलाई २ थान त्रिपाल सहयोग हस्तान्तरण गरेको छ ।
यसैगरी रुपन्देही शाखाले सृजनसिल समाजद्वारा सञ्चालित बाल गृहलाई खाद्यान्न सहयोग गर्नुका साथै प्रादेशिक अस्पतालमा कार्यरत र उपचाररतहरुलाई खाजा खुवाएको छ ।
शान्ति समाज काठमाण्डौ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाजलाई र कागेश्वरी मनोहरास्थित जेष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ ।
शान्ति समाज स्थापना दिवसको अवसरमा नुवाकोट शाखाले जेष्ठ नागरिक वृद्धाश्रम देविघाटलाई, पाल्पा शाखाले पाल्पाको नारायणस्थानमा श्रमिकहरुलाई, नवलपुर शाखाले गैंडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई, तेह्रथुम शाखाले म्याङलुङ आश्रममा खाद्य सामग्री सहयोग गरेको छ भने सुर्खेत शाखाले वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ सामाग्री, बागलुङ शाखाले जिल्ला कारागार बागलुङमा मास्क र स्यानिटाइजर, सिरहा शाखाले लाहानमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
यसैगरी कपिलबस्तु शाखाले स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री वितरण गर्नुका साथै बाजुरा शाखाले स्थानीय अस्पतालमा फलफुल वितरण गरेको छ । तेह्रथुम र झापा शाखाले कोभिड नियन्त्रणमा केन्द्रीत रहि सचेतना कार्यक्रम गरेका छन् । स्थापना दिवसकै अवसरमा नवलपरासी सुस्ता पश्चिम शाखाले बर्दघाट नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालमा उपचाररत बिरामीहरुका लागि १७ वटा सिलिण्डरमा अक्सिजन भरी सहयोग गर्ने कार्यक्रम रहेको छ भने मोरङ शाखाले लकडाउन प्रभावित सडक आश्रीत २०० जनालाई भोजन गराउँदै छ । साथै पाल्पा शाखाले १९ गते साँझ पाल्पामा दिप प्रज्वलन कार्यक्रम गर्दैछ ।
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना २०५३ जेठ १९ गते भएको थियो । समाजको संस्थापक सभापति कृष्ण पहाडी र संस्थापक महासचिव सुवास ढकाल हुनुहुन्छ भने कृष्ण कँडेल, लिला खनाल लगायत संस्थापक सदस्य हुनुहुन्छ । समाजको हाल केन्द्रीय सभापति गोविन्द खनाल हुनुहुन्छ भने सल्लाहकारमा पूर्व सभापतिद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी हुनुहुन्छ । यसैगरी पुर्व सभापति डा. गंगाधर अधिकारी यस अघि सल्लाहकार रहिसक्नुभएको छ । हाल ३९ जिल्ला शाखा र १४ सय भन्दा बढी आजीवन सदस्य रहेको शान्ति समाजमा स्थापना कालदेखी सदस्यता लिनेहरुको संख्या १२ हजार नाघेको छ । जगतमुखी जीवनमुखी सेवामुखी अभियान भन्ने आह्वानसहित शान्ति समाजले राहत सहयोगसहित विभिन्न सेवामुखी कार्यहरु समेत गर्दै आएको छ भने घृणा÷विखण्डनको वकालत गर्ने कुनै पनि मानव अधिकार संस्था र व्यक्तिसँग सहकार्य नगर्ने समाजको नीति रहेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल, कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज, मिति ः २०७८ जेठ १९