शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा हुने

प्रेस विज्ञप्ति
शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा हुने
मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाको आतिथेयमा २०७९ पुस २९–३० गते भूमहीमा हुने भएको छ । राष्ट्रिय परिषद् शान्ति समाजको सर्वोच्च नीति निर्णायक निकाय हो । २ सय ५० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहने २५ औँ राष्ट्रिय परिषद् बैठकका दौरान आगामी दुई वर्षका लागि २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन पनि हुनेछ । राष्ट्रिय परिषद् बैठकमा आधा दर्जन प्रस्तावहरुसहित वार्षिक गतिविधि प्रतिवेदन लगायतका दस्तावेजहरु प्रस्तुत हुनेछ ।
राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको नवलपरासी पश्चिम शाखाका निवर्तमान सभापति सन्तोष अधिकारी क्षेत्रीको संयोजकत्वमा मूल तयारी समितिसहित १३ वटा उपसमितिहरु गठन भएको छ । शाखा सभापति गणेश न्यौपानेको सभापतित्वमा बसेको जिल्ला कार्यसमिति बैठकले मूल तयारी समिति/उपसमितिहरु गठन गर्नुका साथै राष्ट्रिय परिषदको सेरोफेरोमा वृक्षारोपण, शान्ति र्याली, सफाई, लागू औषध/मदिरा दुव्र्यसन विरुद्ध शैक्षिक प्रतिष्ठानहरुमा सचेतना कार्यक्रम लगायत एक दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
समाजका तर्फबाट

रामकृष्ण बराल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
३ पुस २०७९

अध्यादेश लोकतान्त्रिक मुल्य, विधिको शासन र संक्रमणकालिन न्याय प्रक्रिया विरुद्ध

प्रेस विज्ञप्ति
अध्यादेश लोकतान्त्रिक मुल्य, विधिको शासन र संक्रमणकालिन न्याय प्रक्रिया विरुद्ध
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संसोधन) अध्यादेश २०७९ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । २०७७ वैशाखमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याई गल्ती गर्दा शान्ति समाजले त्यस्तो अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको संज्ञा दिँदै निन्दा गरेको थियो भने २०७८ भदौमा शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले सोही गल्ती दोहोर्याउँदै ल्याएको अध्यादेशको पनि शान्ति समाजले निन्दा गरेको थियो । वर्तमानमा, प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई संसद अधिवेशनको पूर्व सन्ध्यामा कामचलाउ सरकारले यस्तो अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो भने सार्वभौम संसदको अपमान पनि हो । विगतमा जस्तै लोकतान्त्रिक मुल्य र मान्यतालाई लत्याउदै स्वेच्छाचारी तवरमा ल्याइएको यो अध्यादेशको पनि शान्ति समाज निन्दा गर्दछ र तत्काल फिर्ता लिन सरकारलाई आग्रह गर्दछ ।
अर्कोतिर सरकारले राष्ट्रपति समक्ष पेस गरेको यो अध्यादेशमा उपदफा ९ मा थप गर्नका लागि राखिएको प्रावधानप्रति शान्ति समाज कडा आपत्ति प्रकट गर्दछ । अध्यादेश मार्फत थप्न खोजिएको बुँदामा “कुनै राजनीतिक दल वा समुहले मुलुकको विद्यमान राजनीतिक प्रणालीसँग असहमत रहि हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समुह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रहि शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिवद्धता जनाई नेपाल सरकार र त्यस्तो राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भई दायर भएका मुद्धा फिर्ता लिने गरी सहमति भएको रहेछ र त्यस्तो सम्झौताबमोजिम त्यस्ता राजनीतिक दल वा समुहका नेता तथा कार्यकर्ताका विरुद्धमा नेपाल सरकार वादी भई चलाइएका मुद्धा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भएपनि फिर्ता लिन बाधा पर्नेछैन” भन्ने उल्लेख छ ।
यो प्रावधानले भविष्यमा मुलुकमा विद्यमान लोकतान्त्रिक प्रणाली विरुद्ध हिंसात्मक क्रियाकलाप गर्न खोज्नेहरुलाई प्रोत्साहित गर्ने देखिन्छ भने हिंसालाई वैधानिकता दिने, दण्डहीनतालाई संस्थागत गर्ने र कानुनी राज्यको मान्यतालाई खण्डित गर्ने खतरा रहेको छ । यसैगरी कामचलाउ सरकारले यो अध्यादेश मार्फत ध्यान एकातिर मोडेर काम संक्रमणकालिन न्याय प्रक्रियालाई खण्डित गर्ने÷तुहाउने, अदालतमा विचाराधिन मुद्धा फिर्ता लिने, पिडकहरुलाई आम माफी दिने र पुरस्कृत गर्ने नियतले प्रेरित छ । तसर्थ यो अध्यादेश हरेक दृष्टिले आपत्तिजनक छ र कामचलाउ सरकारको यो कृत्यको शान्ति समाज पुन निन्दा गर्दछ ।
समाजका तर्फबाट
रामकृष्ण बराल
महासचिव, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७९ मंसिर २७

समाजसेवा पुरस्कार प्रदान

प्रेस विज्ञप्ति
समाजसेवा पुरस्कार प्रदान
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार”–२०७८ तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदानका लागि संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजद्वारा मंसिर २५ गते वुटवलमा आयोजित कार्यक्रममा लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले विनोद पहाडीलाई रु. १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्विनी प्रदेश प्रमुख अमिक शेरचन, पुरस्कृत व्यक्तित्व विनोद पहाडी, शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, तिलोत्तमा नगरपालीका प्रमुख रामकृष्ण खाँड, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, पत्रकार महासंघ रूपन्देही सभापति रामराज पोखरेल, अधिकारकर्मी रिमा बिसि, रूपन्देही शाखा सभापति खिमप्रसाद भट्टराई (कृष्ण) लगायत वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व पत्रकार विनोद पहाडी नेपाल राष्ट्रिय दलित संघको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७९ मंसिर २५

“महिला अधिकार : मानव अधिकार” विशेष अभियान प्रारम्भ

प्रेस विज्ञप्ति
“महिला अधिकार : मानव अधिकार” विशेष अभियान प्रारम्भ
“महिला अधिकार : मानव अधिकार” भन्ने उद्घोषसहित मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान प्रारम्भ गरेको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ( १० डिसेम्बर) का उपलक्ष्ममा मंसिर २४ गते १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै शान्ति समाजले यो अभियानको थालनी गरेको हो । महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं महिला शशक्तिकरणमा केन्द्रीत रही थालिएको यो अभियान निरन्तर चल्ने छ ।
यो अभियान अन्तर्गत मंसिर २४ गते शान्ति समाजका जिल्ला शाखाहरुले रुपन्देहीको वुटवल, चितवनको भरतपुर, पाल्पाको तानसेन, सल्यानको खलंगा, कैलालीको टिकापुर, मोरङको विराटनगर, अछामको मंगलसेन, संखुवासभाको खाँदवारी, बागलुङ सदरमुकाम, नुवाकोटको बट्टार, महोत्तरीको जलेश्वर, बाँकेको नेपालगञ्ज, अर्घाखाँचीको सन्धिखर्क र झापाको धुलावारी गरी १४ जिल्लामा प्रदर्शन गरेका थिए भने शान्ति समाज काठमाण्डौ र दाङ शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।
प्रदर्शनमा अधिकारकर्मीहरुले महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर भन्दै संवैधानिक निकायहरुमा महिलाको प्रतिनिधित्व न्युन किन?, नीति निर्माणका तहहरुमा महिलाको प्रतिनिधित्व न्युन किन ?, प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरुद्वारा प्रत्यक्षतर्फ महिला उम्मेद्वार न्युन किन ?, मन्त्रीमण्डलमा महिलाको प्रतिनिधित्व न्युन किन ?, कुटनीतिक नियुक्तिमा महिलाको प्रतिनिधित्व न्युन किन ?, महिलाहरुलाई होच्याउने÷अपमान गर्नेहरुलाई उन्मुक्ति किन ?, महिला विरुद्ध अझै पनि भेदभाव किन ?, महिलामाथि हुने हिंसामा दोषीलाई उन्मुक्ति किन ?, बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र किन ?, महिला अधिकार ःमानव अधिकार, व्यवहारमा चरितार्थ गरौँ लेखिएका प्डेकार्डहरु प्रदर्शन गरेका थिए ।
यसैगरी ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजका सुर्खेत, गोरखा शाखाले अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेका थिए ।
समाजका तर्फबाट
महासचिव, रामकृष्ण बराल
महासचिव, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७९ मंसिर २४

अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस : शान्ति समाजद्वारा सहयोगसहित दर्जन कार्यक्रम

प्रेस विज्ञप्ति
अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस ः शान्ति समाजद्वारा सहयोगसहित दर्जन कार्यक्रम
मानव अधिकार तथा शान्ति समाजद्वारा बाँके नेत्रहिन संघलाई रु. २५ हजार सहयोग प्रदान गरिएको छ । अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्वर मंसिर १७ का दिन नेपालगञ्जमा सो सहयोग हस्तान्तरण गरिएको हो ।
यसैगरी सोही दिवसका दिन शान्ति समाज पाल्पा शाखाले पाल्पास्थित सिविआरमा अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा र नवलपुर शाखाले गैंडाकोटस्थित अपांग जीवन विकास संस्थामा खाद्यान्न वितरण गरेको छ । यसैगरी शान्ति समाज रुपन्देही शाखाले देवीनगरस्थित नेपाल अपांग आश्रमका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
यस्तै शान्ति समाज दाङ शाखाले तुलसीपुरमा अपांगमैत्रि समाज निर्माण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शान्ति समाज केन्द्रीय कार्यसमितिको १५१ औँ बैठक मंसिर १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकको सेरोफेरोमा नेपालगञ्जका ६ वटा शैक्षिक प्रतिष्ठानमा लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको थियो भने मंसिर १६ गते नेपालगञ्जमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर भन्दै प्रदर्शन गरिएको थियो ।
यसैगरी विश्व शान्तिको कामना गर्दै नेपालगञ्जको त्रिभुवनचोकमा दिप प्रज्वलन र नेपालगञ्जमै बहुभाषिक शान्ति काव्य प्रवाह समेत आयोजना गरिएको थियो ।
साथै मंसिर १७ गते बिहान नेपालगञ्जस्थित शमसान भूमिमा शान्ति समाजको आयोजनामा वृक्षारोपण गर्नुका साथै रानी तलाउमा सांकेतिक तवरमा सफाई कार्यक्रम गरिएको थियो । कार्यक्रमहरुमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, पूर्व सभापतिहरु डा. गंगाधर अधिकारी र उत्तम पुडासैनी, वरिष्ठ उपसभापति शुसिल बस्नेत, उपसभापतिद्वय कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, सचिवहरु मीना ढकाल, पुष्पा मल्ल र नम्रता खरेल, स्रष्टा विष्णुलाल कुमाल, बाँके शाखा सभापति प्रेम शर्मा, सचिव घनश्याम वैश्य लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
समाजका तर्फबाट
रामकृष्ण बराल
महासचिव, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७९ मंसिर १७