श्रष्टा सम्मान अभियान : शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना

प्रेस विज्ञप्ति
श्रष्टा सम्मान अभियान : शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात र जनककुमारी रेग्मी श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।
यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि दोर्पु सोलुखुम्बुका प्रसिद्ध समाजसेवी स्व. गणेशबहादुर श्रेष्ठकी छोरी मानव अधिकार तथा शान्ति समाजकी उपसभापति रत्नलक्ष्मी श्रेष्ठले रु. दुई लाख र स्व. जनककुमारी रेग्मी (मार्से खोटाङ)की नातिनी तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने हुनुभएको छ । यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा यसै वर्ष (२०७८) देखी प्रदान गरिने छ ।
वि.स १९५८ चैत २२ गते सोलुखुम्बुको दोर्पु बजारमा जन्मनुभएको शिक्षासेवी गणेशबहादुर श्रेष्ठको २०५१ पौष १४ गते निधन भएको थियो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको मावली हजुरआमा जनककुमारी रेग्मी र उहाँकी सानी छोरीको वि.स २०१८ सालमा मार्से खोटाङस्थिति आफ्नै निवासमा अज्ञात समुहले हत्या गरेको थियो भने आजसम्म पनि हत्याराको पहिचान हुन सकेको छैन ।
यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १५ पुगेको छ ।
समाजका तर्फबाट
गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७८ असोज ७