प्रतिनिधिसमा विघटन विरुद्ध प्रदर्शन जारी/मोरङमा विपन्नहरुलाई कम्बल वितरण

प्रेस विज्ञप्ति
प्रतिनिधिसमा विघटन विरुद्ध प्रदर्शन जारी/मोरङमा विपन्नहरुलाई कम्बल वितरण
१. असंवैधानिक एवं स्वेच्छाचारी तवरमा प्रतिनिधिसभाको विघटन विरुद्ध मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुद्वारा विभिन्न जिल्लामा प्रदर्शनको क्रम निरन्तर छ । यस क्रममा रुपन्देही, दाङ, गोरखा, बाँके, तेह्रथुम, नवलपरासी सुस्ता पश्चिम, महोत्तरी, अछाम, सुनसरी, मोरङ, काभ्रे, कपिलवस्तु, काठमाण्डौ, नुवाकोट, नवलपुर र पाल्पा गरी १६ जिल्लामा विरोध प्रदर्शन भइसकेको छ भने पुस ६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि शान्ति समाजले प्रदर्शन गरेको थियो ।
२.मानव अधिकार तथा शान्ति समाजको २३ औँ राष्ट्रिय परिषद् बैठक “असंवैधानिक तवरमा प्रतिनिधिसभाको विघटन ः लोकतन्त्रमाथि प्रहार” भन्ने मूल नारासहित २०७७ फागुन २१–२२ गते पोखरामा आयोजना हुने भएको छ । समाजको कास्की शाखाको आतिथेयमा सम्पन्न हुने राष्ट्रिय परिषद् बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी २०० भन्दा बढी शान्तिवादीहरुको सहभागिता रहने छ । परिषद् बैठकका दौरान समाजको केन्द्रीय कार्यसमितिका २७ पदका लागि निर्वाचन पनि हुन गइरहेको छ भने निर्वाचन अधिकृतमा अधिवक्ता महेन्द्र पाण्डेलाई नियुक्त गरिएको छ । प्राध्यापक पाण्डे उच्च अदालत बार एसोसिएसन बुटवल का पुर्ब अध्यक्ष , ट्रान्स्परेन्सी इन्टरनेसनल नेपाल आबद्ध पारदर्शी सरोकार समूह रुपन्देही को अध्यक्ष र डेमोक्रेटिक लयर्स एसोसिएसन रुपन्देही को अध्यक्ष हुनुहुन्छ ।
३. मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनि लगायतकोे सहयोगमा मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा न. ७ का जेष्ठ नागरिक, विपन्न दलित परिवारलाई ३१५ थान कम्बल र ३५ थान सल बितरण गरिएको छ । २०७७ पौष २९ गते आयोजित कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्ति समाजले गर्दै आएको सेवामुखी कार्यको निरन्तरता स्वरुप भविष्यमा दलित विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिने सोच रहेको बताउनुभयो । मोरङ शाखा उपसभापति निर्मला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, पर्सा शाखा सभापति अमर गौतम अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे लगायत जनप्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समाजका तर्फबाट
सुशिल बस्नेत, महासचिव,
मानव अधिकार तथा शान्ति समाज,
मिति : २९ पुस २०७७