अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस/शान्ति समाजद्वारा तीन कार्यक्रम सम्पन्न

प्रेस विज्ञप्ति
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस/शान्ति समाजद्वारा तीन कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले १ अक्टोबर, असोज १५ गते बिहान काठमाडौंको कागेश्वरी मनोहरास्थित जेष्ठ नागरिक सेवा केन्द्रका जेष्ठ नागरिकहरुलाई मिठाई, फलफूल, हर्लिक्ससहित रु. २२५०० को खाद्यान्न सहयोग उपलब्ध गराएको छ । मानव अधिकार तथा शान्ति समाजका तर्फबाट सभापति उत्तम पुडासैनी र कोषाध्यक्ष रामकृष्ण बराल सेवा केन्द्रमा पुगि केन्द्रका अध्यक्ष पुष्कर प्याकुरेललाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी जेष्ठ नागरिक दिवसको अवसरमा मानबअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा “सिद्बबाबा दुर्गा भवानी शिबकुमारी सैंजु जेष्ठ नागरिक आश्रम“ का सम्मानित १० जना जेष्ठ नागरिकहरुलाई २१२५० मुल्यका लुगाहरु उपलब्ध गराइएको थियो भने साझा हस्पिटल प्रा.लिमा उपचारारत बिरामीहरुलाई फलफुल, दूध वितरण गरिएको थियो । कार्यक्रममा रुपन्देही शाखा सभापति धनपती खनाल (डि पि), केन्द्रिय सदस्यद्वय मिना ढकाल र कृष्ण पंगेनी, अधिकारकर्मी कमला पान्डे, कृष्ण पाण्डे, जमुना पौडेल लगायतको सहभागिता रहेको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाद्वारा असोज १५ गते तुलसीपुरस्थित केशवराज झुपाकुमारी बृद्ध सेवा समितिको प्राङगणमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीले जेष्ठ नागरिकहरुको सहभागिता बिना बनाईएका ऐन नियम कार्यान्वयन समेत हुन नसकेको र जेष्ठ नागरिकहरुले माग गर्दै आएको सार्वजनिक सवारीका साधनको भाडामा ५० प्रतिशत भाडा छुट,नि ः शुल्क औषधिको उपलब्धता लगायतका बारेमा ३ वटै तहका सरकार गम्भीर हुन नसकेको बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका महासचिब सुशील बस्नेतले जेष्ठ नागरिकहरुको बिशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चीत गर्नुपर्ने बताउनुभयो । शान्ति समाज दाङ शाखा सभापति शरद रेग्मीको सभापतित्वमा जेष्ठ नागरिकहरुको हक अधिकारमा केन्द्रित रहि आयोजित अन्तरक्रियामा अधिकारकर्मीहरु निर्मल नेपाली, सम्झना डाँगी, इन्द्रवहादुर बुढाथोकी, हुमाकान्त कँडेल, तुलसीराम सुनार, कमल डाँगी, उषा गौतम र पत्रकार बालाराम खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ असोज १५

संवाद मार्फत शिघ्र सहमति खोज्न सरकारलाई आग्रह

प्रेस विज्ञप्ति
संवाद मार्फत शिघ्र सहमति खोज्न सरकारलाई आग्रह
विगत १४ दिनदेखी अनसनरत सत्याग्रही डा. गोविन्द केसीको विग्रदो स्वास्थ्यअवस्थाप्रति मानव अधिकार तथा शान्ति समाज चिन्तित भएको छ । विगतदेखी वर्तमानसम्मका सरकारहरुले डा. केसीसँग गरेका सहमतिका सन्दर्भमा छलकपटपूर्ण व्यवहार दुर्भाग्यपूर्ण छ भने पछिल्लो चरणमा अपमानजनक व्यवहार निन्दनीय छ । एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै संवादमार्फत शिघ्र सहमति खोज्न र संवेदनशील बन्न मानव अधिकार तथा शान्ति समाज सरकारसँग आग्रह गर्दछ ।

समाजका तर्फबाट
सुशिल बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७७ असोज ११

११ श्रष्टाहरु विभिन्न पुरस्कारद्वारा सम्मानित

प्रेस विज्ञप्ति
११ श्रष्टाहरु विभिन्न पुरस्कारद्वारा सम्मानित
श्रष्टा सम्मान अभियान अन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न पुरस्कारहरुद्वारा ५ महिलासहित ११ जना श्रष्टाहरुलाई सम्मान गरिने भएको छ । यस क्रममा वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुति (विश्वभक्त दुलाल)लाई, राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान नीलम कार्की निहारिकालाई, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान व्याकुल माइला (प्रदिपकुमार राई) लाई, ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान प्रमोद प्रधानलाई र महाप्रसाद रिजाल लोकतन्त्र श्रष्टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी जोगमाया बराल श्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, राधादेवी दाहाल श्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, भुमीप्रसाद बराल श्रष्टा सौगात वसन्ती शाहीलाई, श्रीप्रसाद दाहाल श्रष्टा सौगात बालिका चौधरीलाई, श्रीनारायण दाहाल श्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत श्रष्टाहरु ५ जना महिला श्रष्टासहित ७ वटै प्रदेशका हुनुहुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका दिन विशेष कार्यक्रम आयोजना गरि जनही रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत श्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
एक दशक अगाडिदेखी मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र श्रष्टा सम्मानलाई अभियानको रुपमा अघि सारेको छ ।
पुरस्कृत श्रष्टाहरुबारे ः
वि.स २०११ साल चैत २१ गते धनकुटा जिल्लामा जन्मनुभएका श्रष्टा अशेष मल्लका ‘सडकदेखी सडकसम्म’ नाटक संग्रहसहित दुई दर्जन कृतिहरु र सयौ रचनाहरु प्रकाशित भएका छन् । नेपालमा सडक नाटकको जन्मदाताका रुपमा परिचित मल्लले शान्ति, मानव अधिकार, लोकतन्त्र, सामाजिक न्यायका पक्षमा समेत गरि १ सय भन्दा बढी सडक नाटकको लेखन÷निर्देशन गर्नुभएको छ ।

२०२४ साल चैत १ गते काठमाण्डौमा जन्मनुभएका श्रष्टा आहुति (विश्वभक्त दुलाल)का ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’सहित ५ वटा पुस्तक प्रकाशित छन् । सामाजिक न्याय र दलित मुक्तिको आन्दोलनका अथक योद्धा आहुतिका हजार भन्दा बढी लेख रचनाहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन् ।

२०३१ चैत २७ गते पाल्पामा जन्मनुभएकी श्रष्टा नीलम कार्की निहारिकाका बहुचर्चित उपन्यास योगमाया, चीरहरण, त्रिचालीस कथा (कथा संग्रह) सहित ११ वटा कृतिहरु प्रकाशित छन् । ऐतिहासिक विषयमा रुची राख्ने र इतिहासका पात्रलाई आख्यानमा ढाल्न रुचाउने कार्की उपन्यास र कथाको क्षेत्रमा चर्चित हस्ताक्षर हुनुहुन्छ ।

२०२९ चैत २५ गते ओखलढुंगामा जन्मनुभएका नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माईला (प्रदिप कुमार राई)का ‘विउ अक्षर’ (वाम्वुले राई भाषामा) सहित २ वटा कृतिहरु र दर्जनौ रचना प्रकाशित छन् ।

२०१५ असोज १५ गते विराटनगरमा जन्मनुभएका श्रष्टा प्रमोद प्रधानको ‘नेपाली बाल साहित्यको इतिहास’ लगायत ३२ वटा कृतिहरु प्रकाशित भएका छन् । त्यसमध्ये आधा दर्जन बढी कृति समालोचनाका र २१ वटा बाल साहित्य र अन्य कविता संग्रह रहेका छन् ।

२०१० साउन २८ गते कास्कीमा जन्मनुभएका हाल गैडाकोट नवलपुर निवासी श्रष्टा गोविन्दराज बिनोदी (गिरी)का ‘शूर्पणखा’ खण्डकाव्यसहित १ दर्जन बढी कृतिहरु प्रकाशित छन् भने लोकतन्त्र, स्वतन्त्रताको पक्षमा समेत गरी १५ सय भन्दा बढी फुटकर रचनाहरु सृजना गरिसक्नुभएको छ ।

२००४ जेठ २२ गते काठमाण्डौमा जन्मनुभएका नेपाली गजलको श्रीवृद्धि र उन्नयनमा अग्रणी श्रष्टा ज्ञानुवाकर पौडेलका ‘खण्डहर नयाँ नयाँ’ गजल संग्रहसहित ५ वटा कृति र सयौ रचनाहरु प्रकाशित भएका छन् ।

सुदुरपश्चिमको साहित्यिक गुलाबको रुपमा समेत परिचित श्रेष्ठ प्रिया पत्थरको जन्म २०२१ साउन ७ गते डोटीमा भएको हो । हाल टिकापुर कैलाली निवासी श्रेष्ठको पतिङ्गर, रंगभुमी लगायत १७ वटा कृति प्रकाशित छन् ।

२०२५ वैशाख १५ गते बझाङमा जन्मिनुभएकी खर्पुनाथ गाउँपालिका हुम्लाकी श्रष्टा वसन्ती कुमारी शाहीको ‘कर्णालीकी बुहारी’ निबन्ध संग्रह, ‘आधा जीवन’ उपन्यास गरी दुई पुस्तक र दर्जनौ रचनाहरु प्रकाशित छन् ।

२०३८ वैशाख ५ गते दाङमा जन्मनुभएकी बर्दिया निवासी श्रष्टा बालिका चौधरीको ‘जीवनका वक्र रेखाहरु’ नामक पुस्तक थारु र नेपाली भाषामा प्रकाशित हुनुका साथै अंग्रेजीमा प्रकाशोन्मुख रहेको छ । चौधरीले थारु भाषामा गीत, कविता लेख्दै आउनुभएको छ भने दर्जनौ लेख रचनाहरु प्रकाशित भएका छन् ।
२०३५ फागुनमा कलैया बारामा जन्मनुभएकी रौतहट निवासी श्रष्टा रेणु गुप्ताको ‘जोगी र चोरी’ (बाल लोककथा संग्रह) प्रकाशित भएको छ । यसका अतिरिक्त गुप्ताले भोजपुरी र बज्जिका भाषामा तीन वटा पुस्तकको अनुवाद गर्नुभएको छ । बज्जिका भाषाको लोक साहित्य क्षेत्रमा योगदानका लागि परिचित गुप्ताका भोजपुरी बज्जिका र नेपाली भाषामा दर्जनौ लघुकथा, कविता र लेखहरु प्रकाशित भएका छन् ।

समाजका तर्फबाट

सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७७ असोज ८

श्रष्टा सम्मान अभियान/थप तीन पुरस्कार स्थापना

प्रेस विज्ञप्ति
श्रष्टा सम्मान अभियान/थप तीन पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत स्व.पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान गरि थप तीन वटा पुरस्कार स्थापना गरेको छ । यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका तीन जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व. पवित्रादेवी चौलागाईका छोरा मानव अधिकार तथा शान्ति समाजका सल्लाहाकार होमकान्त चौलागाईले रु. २ लाख र चन्द्रकला खनाल तथा ज्ञानप्रसाद खनालका छोरा÷बुहारीहरु मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र राधिका खनाल तथा रुपन्देही शाखा सभापति धनपति खनाल र लक्ष्मी पन्त खनालले रु. ४ लाख शान्ति समाजलाई प्रदान गर्नुभएको छ । यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा यसै वर्ष (२०७७) देखी प्रदान गरिने छ ।
पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित छनौट समिति गठन गरिएको छ ।
यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १० पुगेको छ ।
समाजका तर्फबाट

सुशिल बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७७ असोज २

काठमाण्डौमा ६६ जनाद्धारा रक्तदान

प्रेस विज्ञप्ति
काठमाण्डौमा ६६ जनाद्धारा रक्तदान
देशैभरि रगतको आपुर्तिमा कमि भइरहेको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज, नयाँबस्ती युवा क्लब र गोकर्णेश्वर स्वयंसेवी परिचालन समितिको आयोजनामा २०७७ भदौ १७ गते काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विहान ८ बजेदेखी शुरु भएको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गर्नुभएको थियो ।
भौतिक दुरी कायम गरेर आवश्यक सजगताकासाथ रक्तदानको ब्यवस्था मिलाइएको थियो । शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले रक्तदान गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७७ भदौ १७ गते

स्वास्थ्यकर्मीहरुमाथि बढ्दो दुव्र्यबहारको विरोधमा शान्ति समाजद्धारा प्रदर्शन

प्रेस विज्ञप्ति
स्वास्थ्यकर्मीहरुमाथि बढ्दो दुव्र्यबहारको विरोधमा शान्ति समाजद्धारा प्रदर्शन
कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषिमाथि कारबाहीको मागसहित मानव अधिकार तथा शान्ति समाजले २०७७ भदौ ८ गते बिहान काठमाण्डौमा प्रदर्शन गरेको छ ।
स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौ भन्ने आग्रहसहित काठमाण्डौ जोरपाटीमा सम्पन प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडिमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको र उनीहरुको कर्मप्रति मुक्तकण्ठले प्रशंसा गर्दै यस्तो संवेदनशील क्षेत्रमा कार्यरतहरुको सदैव सबैले सम्मान र सहयोग गर्न आग्रह गर्नुभएको थियो । प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ भदौ ८ गते