युद्ध अपराध हो भन्दै चीनियाँ र भारतीय दुतावास नजिक धर्ना/वुटवल र दाङमा पनि प्रदर्शन

प्रेस विज्ञप्ति
युद्ध अपराध हो भन्दै चीनियाँ र भारतीय दुतावास नजिक धर्ना÷वुटवल र दाङमा पनि प्रदर्शन
युद्ध अपराध हो भन्ने स्मरण गराउँदै मानव अधिकार तथा शान्ति समाजले असार ४ गते मध्यान्ह् काठमाण्डौस्थित चीनियाँ र भारतीय दुतावास नजिकै एकसाथ दुई वटा धर्ना प्रदर्शन गरेको छ ।
चीनियाँ र भारतीय सेनाबिच हालै सिमान्त गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु हताहत र घाइते भएका थिए । एशियाका दुई भिमकाय मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दुखद हुनुका साथै दक्षिण एशिया र विश्व शान्तिकै लागि पनि खतरा भएको भन्दै चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न, वार्ताबाटै समस्याको समाधान खोज्न, आवेग होइन विवेकको प्रदर्शन गर्न, उत्तेजनालाई बढाउने होइन समझदारीलाई विस्तार गर्न र युद्धका कुनै पनि संभावनालाई खारेज गर्न आग्रहसहित प्रदर्शन गरिएको थियो । चीनियाँ दुतावास अगाडि भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रिय सचिव बलबहादुर गाहा मगर, केन्द्रिय सदस्य नम्रता खरेल, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, उपसभापति नानीकाजी गिरी, सचिव ईश्वर पुडासैनीसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो । यसैगरी भारतीय दुतावास नजिक भएको प्रदर्शनमा शान्ति समाजका सभापति उत्तम पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्य गीता तिमल्सिना, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जरासहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो । प्रदर्शनमा सहभागिहरुले Stop war : Promote peace, Yes to Peace, No to War लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए ।
यसैगरी असार ४ गते बिहान चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न आग्रह गर्दै शान्ति समाज रुपन्देही शाखाले वुटवलमा र दाङ शाखाले तुलसीपुरमा प्रदर्शन गरेका थिए । वुटवलको प्रदर्शनमा शान्ति समाजका केन्द्रिय उपसभापति गोविन्द खनाल, केन्द्रिय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी, खनाल, सचिव अर्जुन ज्ञवाली, तुलसीपुरको प्रदर्शनमा केन्द्रिय महासचिव सुशिल बस्नेत, दाङ शाखा सभापति शरद रेग्मी, पूर्व सभापति डिल्ली धिताल, निर्मल नेपालीसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता रहेको थियो । स्मरणीय छ, युद्ध निषेध ः शान्ति विशेष भन्ने मूल नारासहित मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान सञ्चालन गर्दै आइरहेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७७ असार ४ गते

नागरिक प्रतिवेदन सार्वजनिक

नागरिक प्रतिवेदन सार्वजनिक
रुकुम पश्चिम चौरजहारी सोतीमा घटेको घटनाबारे मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले गरेको स्थलगत अध्ययन अनुगमन पश्चात नागरिक प्रतिवेदन जेठ ३० गते वुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । स्थलगत अध्ययन अनुगमनमा संविधानसभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनाल, बरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाई अधिवक्ता शिव गौडेल, पत्रकारद्वय माधव नेपाल र विनोद परियार संलग्न हुनुहुन्थ्यो ।

वातावरण दिवसमा विभिन्न जिल्लामा वृक्षारोपण र सरसफाई कार्यक्रम

वातावरण दिवसमा विभिन्न जिल्लामा वृक्षारोपण र सरसफाई कार्यक्रम
मानव अधिकार तथा शान्ति समाज बाँके शाखाद्वारा ५ जुन अर्थात विश्व वातावरण दिवसका अवसरमा २०७७ जेठ २३ गते बिहान बाँकेस्थित हिन्दू समसान भूमिमा नीम, पिपल, सिसम, तुलसी, मसला, सागोन, अमला, जामुन लगायत विरुवा रोपिएको छ ।
यस्तै शान्ति समाज रुपन्देही शाखाको आयोजनामा विश्व वातावरण दिवसका दिन बिहान बुटवलको ग्लोबल पिस पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
यसैगरी शान्ति समाज दाङ शाखाले रक्त सञ्चार केन्द्र तुलसीपुर र राप्ती प्रादेशिक अस्पतालको हाता बाहिर झाडी सरसफाई गरेको छ भने शान्ति समाज काठमाडौं शाखाले जेठ २३ गते काठमाडौंको जोरपाटीस्थित कपुर बाटिकामा सरसफाई गरेको छ ।
स्थापना कालदेखी नै वातावरण संरक्षणका लागि आवाज उठाउँदै आएको मानव अधिकार तथा शान्ति समाजले विगत १४ वर्षदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान सञ्चालन गर्दै आएको छ ।

शान्ति समाज स्थापनाको २५ वर्ष/६ जिल्लामा प्रदर्शन

शान्ति समाज स्थापनाको २५ वर्ष/६ जिल्लामा प्रदर्शन
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज २५ वर्षमा प्रवेश गरेको छ ।
२०५३ जेठ १९ गते स्थापित शान्ति समाजले स्थापना दिवसका सन्दर्भमा जेठ १९ गते बिहान काठमाण्डौ, रुपन्देही र दाङमा प्रदर्शन गरेको छ । कार्यक्रमका दौरान रुकुम पश्चिम घटनाको सत्य तथ्य छानविनका लागि संसदिय समिति गठन गर, दोषीमाथि कानुनसम्मत कारबाही गर, पिडितलाई न्याय ः पिडकलाई सजाय, समतामुलक समाज निर्माण गरौँ, जातीय विभेद अन्त्य गरौँ, शान्ति समाजको स्थापना ः सामाजिक न्यायका लागि लगायतका प्लेकाड प्रदर्शन गरिएको थियो ।
शान्ति समाज काठमाण्डौ शाखाद्वारा काठमाण्डौको जोरपाटीमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले साढे दुई दशक देखी शान्ति, न्याय र स्वतन्त्रताका पक्षमा शान्ति समाज क्रियाशील रहेको चर्चा गर्दै अभियानमा साथ दिने र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । संकटका बेला झनै सक्रिय हुने गरेको शान्ति समाजका विरुद्ध मानव अधिकारकै आवरणमा घृणा र विखण्डनको वकालत गर्ने केही व्यक्ति र संस्था भने सक्रिय देखिएको भन्दै सभापति पुडासैनीले राष्ट्रिय स्वाभिमानका पक्षमा शान्ति समाजको अभियान निरन्तर रहने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनमा शान्ति समाजले निर्वाह गरेको विशिष्ट भुमिकाको चर्चा गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजका सल्लाहकार होमकान्त चौलागाई, गोकर्णेश्वर वडा न. ५ का वडाध्यक्ष नारायण सुवेदी, शान्ति समाजका कोषाध्यक्ष रामकृष्ण बराल, पुर्व महासचिव कुमारराज सुवेदी, काठमाण्डौँ शाखा सभापति जगन्नाथ पुडासैनीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी शान्ति समाज रुपन्देही शाखाद्वारा रुपन्देही सैनामैना नगरपालिकास्थित मुर्गियामा आयोजित प्रदर्शनमा बोल्दै वरिष्ठ उपसभापति गोविन्द खनालले रुकुम पश्चिम घटनामा पिडितलाई न्याय र पिडकलाई सजाय नभएसम्म अभियान निरन्तर रहने बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी, शान्ति समाज केन्द्रिय सदस्य कृष्ण पंगेनी, विभागीय संयोजक लालहरी पाण्डे, रुपन्देही शाखा सभापति धनपति खनाल, अर्जुन ज्ञवाली, वडा न. ३ का वडाध्यक्ष रत्न बहादुर पाण्डे, नागरिक अभियन्ता नर बहादुर सुनार, नेपाल सिलाई संघका सुवास परियारले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै शान्ति समाजका महासचिव सुशिल बस्नेतले रुकुम पश्चिम घटनामा सत्तारुढ नेकपाका केही प्रभावशाली नेताहरुले समाजलाई गुमराह गर्ने गरी खेलेको न्याय विरोधी भूमिकाप्रति आपत्ति व्यक्त गर्नुभयो । कार्यक्रममा नागरिक अभियन्ताहरु छवि परियार, शरद रेग्मी, डिल्लीराज धिताल, निर्मल नेपाली, उषा गौतम लगायत दर्जन बढी वक्ताहरुले शान्ति र सामाजिक न्यायका बारेमा प्रकाश पार्नुभएको थियो ।
शान्ति समाजको २५ औँ स्थापना दिवसका सन्दर्भमा सामाजिक न्यायका विषयमा केन्द्रित रहि विभिन्न जिल्लामा प्रदर्शन हुन गइरहेको छ ।
यसैगरी रुकुम पश्चिम चौरजहारीमा घटेको घटनाका सन्दर्भमा पिडितलाई न्याय ः पिडकलाई सजाय भन्ने आग्रहसहित जेठ १८ गते मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको आयोजनामा विराटनगरमा, कपिलबस्तु शाखाको आयोजनामा जितपुर ४ कपिलबस्तुमा र कैलाली शाखाको आयोजनामा टिकापुरमा विरोध प्रदर्शन गरिएको थियो |

नवलपरासी सुस्ता पश्चिममा प्रदर्शन

नवलपरासी सुस्ता पश्चिममा प्रदर्शन
रुकुम पश्चिम चौरजहारीमा पाँच जनाको मृत्यु र एक जना वेपत्ता भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागि संसदिय समिति गठन गर्न, दोषीमाथि कानुनसम्मत कारबाही गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज नवलवरासी सुस्ता पश्चिमले जेठ १७ गते बिहान बर्दघाट चोकमा विरोध प्रदर्शन सहितको कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनालले घटनाको सत्य तथ्य अन्वेषण गर्न शिघ्र संसदीय समिति गठनमा जोड दिँदै दोषीलाई कारवाही र पिडितलाई न्याय नहुदा सम्म आन्दोलन जारी रहने बताउनुभयो ।
संविधान सभा सदस्य बिक्रम खनालले सरकारले अहिले गठन गरेको समितिबाट आम जनताले सामाजिक न्याय पाउने अपेक्षा गर्न नसक्ने बताउदै यो घटनामा सरकार गम्भिर नभएको बताउनु भयो । नेपाल पत्रकार सहासंघ नवलपरासीका कोषाध्यक्ष रविलाल पाण्डेय, दलित संघका राजेन्द्र सुनार लगायतका वक्ताहरुले घटनाको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताउनु भयो । मानव अधिकार तथा शान्ति समाज नवलपरासी सुस्ता पश्चिम शाखाका सभापति सन्तोष अधिकारी, अधिकारकर्मीहरु प्रकाश न्यौपाने र गणेश न्यौपानेले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मानव अधिकार तथा शान्ति समाज नवलपरासी सुस्ता पश्चिम शाखाको आयोजनामा भएको कार्यक्रममा, राजनीतिक दलका प्रतिनिधि, नागरीक समाजका प्रतिनिधि, मगर संघ, दलित संघ, सुनचादि व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनका सहभागी सबैलै जातिय भेदभावको अन्त्य गरौं, रुकुमको घटनामा संसदिय समिति गठन गर, दोषिलाई कारवाही गर, छुवाछुतको अन्त्य गर लेखिएका प्ले कार्ड बोकेका थिए ।
यसैगरी जेठ १७ गते बिहान रुपन्देहीस्थित देवदह नगरपालिका खैरेनीमा रुकुम घटनाको विरोधमा विभिन्न संस्थाहरुद्वारा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठमाण्डौमा विरोध प्रदर्शन/ दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन

काठमाण्डौमा विरोध प्रदर्शन÷ दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन
रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाको निन्दा गर्दै सो घटनाको उच्च स्तरीय निष्पक्ष छानविन र दोषीहरुलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा जेठ १६ गते बिहान काठमाण्डौको बौद्धमा विरोध प्रदर्शन सम्पन्न भएको छ ।
५ जना नागरिकको मृत्यु भएको, एक जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन उपयुक्त कदम चाल्नका लागि शान्ति समाजले ध्यानाकर्षण गराउँदै आएको छ ।
विरोध प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले २५ वर्षदेखि शान्ति समाजले दलित अधिकार मानव अधिकार भन्ने नारासहित सामाजिक न्यायका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको बताउँदै रुकुम पश्चिमको घटनामा संलग्न दोषीहरुलाई कानुन सम्मत कारबाही नभए दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन थाल्ने बताउनुभयो । समाजका सल्लाहकार होमकान्त चौलागाई र काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनीले दण्डहीनताका कारण मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भइरहेको बताउनुभयो । प्रदर्शनको संयोजन काठमाण्डौ शाखा सचिव ईश्वर पुडासैनीले गर्नुभएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा जेठ १५ गते तुलसीपुरमा प्रदर्शन सम्पन्न भएको थियो ।

रुकुम घटनाको निन्दा/विभिन्न जिल्लामा शान्ति समाजको विरोध प्रदर्शन

रुकुम घटनाको निन्दा/विभिन्न जिल्लामा शान्ति समाजको विरोध प्रदर्शन

देशका विभिन्न भागमा घटेका जातीय विभेद÷हिंसाका घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गर्दै आएको छ । जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको दुर्दान्त घटनाले शान्ति समाज मर्माहत भएको छ । चार जना होनहार नागरिकको मृत्यु भएको र दुई जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै, घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न शान्ति समाजले निरन्तर जोड दिँदै आएको छ । दण्डहिनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु वृद्धि भइरहेको छ । रुकुम पश्चिममा घटेको दुर्दान्त घटनाका दोषीहरु मथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने धारणा शान्ति समाजको रहेको छ ।
रुकुम पश्चिम घटनाका सन्दर्भमा संसदीय छानविन समिति गठन गर्न, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र पिडितहरुलाई न्याय प्रदान गर्न शान्ति समाज पुन आग्रह गर्दछ ।
यसै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा, उच्च अदालत वुटवल बार एशोसिएसन लगायतका संस्थाहरुको आयोजनामा जेठ १५ गते विहान वुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन सम्पन्न भएको छ । प्रदर्शन पश्चात शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले सम्बोधन गर्नुभएको थियो ।
अर्को प्रदर्शन जेठ १५ गते दिउँसो शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा र शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा जेठ १६ गते विहान ८ बजे बौद्धमा हुँदैछ ।
यसैगरी शान्ति समाजका सदस्यहरु, दलित अगुवा र सामाजिक अभियन्ताहरुको सहभागितामा जेठ १४ गते अपरान्ह वुटवलमा विरोध प्रदर्शन सम्पन्न भएको थियो ।
समाजका तर्फबाट
सुशिल बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७७ जेठ १५ गते

शान्ति समाज रुपन्देहीद्वारा सञ्चारकर्मीहरुलाई ९० हजारको खाद्यान्न सहयोग

शान्ति समाज रुपन्देहीद्वारा सञ्चारकर्मीहरुलाई ९० हजारको खाद्यान्न सहयोग

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले लकडाउनका कारण उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै रुपन्देहीस्थित श्रमजिवी पत्रकारहरुका लागि रु. ९० हजारको खाद्यान्न सहयोग गरेको छ । २०७७ जेठ ३ गते वुटवलस्थित नेपाल पत्रकार महासंघको जिल्ला कार्यालयमा १ हजार २ सय ५० केजी चामल, १०० केजी दाल, ५० लिटर तेल, सावुन सहितको सामग्री नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसीलाई शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल सम्मिलित शान्ति समाजको टोलीले हस्तान्तरण गरेको थियो । सो प्रयोजनका लागि साझा हस्पिटल वुटवलबाट रु. २९ हजार, शान्ति समाजका सदस्यहरु खेमलाल कंडेलबाट रु. १७ हजार, कमल ढुंगानाबाट रु. १७ हजार, गणेश पाण्डेबाट रु. ११ हजार, ज्ञानप्रसाद खनालबाट रु. ११ हजार र शैशव खनालका अभिभावकबाट रु. ५ हजार सहयोग प्राप्त भएको थियो ।

सीमा अतिक्रमण अपराध/कृष्ण पहाडीसहित २२ अधिकारकर्मी गिरफ्तार

सीमा अतिक्रमण अपराध/कृष्ण पहाडीसहित २२ अधिकारकर्मी गिरफ्तार
भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध मानव अधिकार तथा शान्ति समाजले २०७७ वैशाख ३० गते दिउँसो भारतीय दुतावास लैनचौर अगाडि बिरोध प्रदर्शन गरेको छ । बिरोध प्रदर्शनबाट प्रहरीले विख्यात अधिकारकर्मी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढुंगेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्य गीता तिमल्सिना, अधिकारकर्मीहरु जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।
विरोध प्रदर्शनका क्रममा सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले भारतले गरेको सीमा अतिक्रमणको विरोधमा २०७७ वैशाख ३० गते विहान तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेत, दाङ शाखा सभापति शरद रेग्मी, पुर्व सभापतिहरु मोहन धिताल, निर्मल नेपाली, उपसभापति तुलसीराम सुनुवार, सचिव निर्मला डाँगी, सहसचिव उषा गौतम, सदस्य भीमलाल मरासिनी लगायतको सहभागिता थियो ।

अतिक्रमण विरुद्ध वुटवलमा शान्ति समाजको प्रदर्शन/अर्को प्रदर्शन भारतीय दुतावास अगाडि हुने

अतिक्रमण विरुद्ध वुटवलमा शान्ति समाजको प्रदर्शन/अर्को प्रदर्शन भारतीय दुतावास अगाडि हुने
मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध वुटवलस्थित अस्पताल लाइनमा २०७७ वैशाख २९ गते दिउँसो धर्ना प्रदर्शन गरेको छ । प्रदर्शनमा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल, केन्द्रिय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, अधिकारकर्मीहरु लालहरी पाण्डेय, विक्रम खड्का, अर्जुन ज्ञवाली, कपिल ज्ञवाली, धनकुमारी खनाल, कृष्ण पाण्डे लगायतको सहभागिता थियो ।
विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भुमी संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार स्वेतपत्र जारी गर, भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सद्भाव कायम गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजले भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध २०७७ वैशाख ३० गते मंगलबार दिउँसो १२ बजे भारतीय दुतावास लैनचौर खानी विभाग अगाडि धर्ना प्रदर्शन आयोजना गर्दैछ । विद्यमान अवस्थाका कारण सहभागिता संख्या सिमित गरी आवश्यक दुरी कायम गर्दै प्रदर्शन गरिने छ ।