शान्ति समाजद्वारा वृद्धाश्रमहरुलाई सहयोग

शान्ति समाजद्वारा वृद्धाश्रमहरुलाई सहयोग
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस १ अक्टोवरका दिन मानव अधिकार तथा शान्ति समाजका तर्फबाट देशका विभिन्न वृद्धाश्रमहरुलाई नगद सहयोग प्रदान गरिएको छ । यस क्रममा काठमाण्डौँ र विराटनगरका दुई वटा वृद्धाश्रमलाई नगद सहयोग प्रदान गरिएको छ । यस प्रयोजनका लागि शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, आजीवन सदस्यहरु शोभा खनाल, स्रष्टा रामबाबु दाहाल र पुजन पौडेलले आफ्नी हजुरआमा स्व. कृष्णकुमारी दाहाल र आमा स्व. राधादेवी दाहाल (निधन १२ असोज २०७६) को स्मरणमा रु. ५० हजार सहयोग प्रदान गर्नुभएको थियो । त्यसमध्ये रु. २५ हजार काठमाण्डौँको टौदहस्थित श्री निजानन्द वृद्धाश्रमलाई सभापति उत्तम पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल लगायतले र विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमलाई अपिल समिति संयोजक डिकप्रसाद घिमिरे, मोरङ शाखा सभापति डिल्लीबहादुर कार्की, सचिव भेषराज पोखरेल, कोषाध्यक्ष सुदिप रिजाल, पत्रकार महासंघ मोरङका उपसभापति शुशिला पाठक र मनोहर कोइराला सम्मिलित टोलीले रु. २५ हजार हस्तान्तरण गरेको थियो भने दुवै वृद्धाश्रमका गरी ६० जना जेष्ठ नागरिकहरुलाई जलपान समेत गराइएको थियो ।
यसैगरी शान्ति समाज रुपन्देही शाखाले बुटवल उपमहानगरपालिका २ मा अबस्थित श्री सिद्द्बाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रम (पाका पुस्ता)मा रु. १३ हजार आर्थिक सहयोग प्रदान गरेको छ । कार्यक्रममा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोबिन्द खनाल, केन्द्रिय सदस्य अन्जु गौतम, रुपन्देही शाखा सभापति धनपती (डि पि) खनाल, विभागीय संयोजक लालहरि पाण्डे, रुपन्देही शाखा सदस्य बिजि पौडेल, सहसचिव कपिल ज्ञवालीसहितको टोली सहभागी थियो ।
यस्तै शान्ति समाज दाङ शाखाले जेष्ठ नागरिक दिवसको अवसरमा बृद्ध आश्रममा खाद्यान्न बितरण, अन्तरक्रिया र श्रद्धाञ्जली कार्यक्रम गरेको छ । शान्ति समाज दाङका उपसभापति तुलसीराम सुनारको सभापतित्व एवं बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज समितिका अध्यक्ष खुमानन्द अधिकारीको प्रमुख आतिथ्यमा बृद्धबृद्धालाई खाद्यन्न बितरण, जेष्ठ नागरिकको अधिकारका बिषयमा अन्तरक्रिया र शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका माता स्वर्गीय राधादेवी दाहालको स्मृतीमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
कार्यक्रममा केन्द्रीय महासचिव सुशील बस्नेतले जेष्ठ नागरिकका अधिकारलाई सुनिश्चीत गराउन सदैव पैरबी गरिने बताउनुभएको थियो ।
असोज १२ गते शान्ति समाज काठमाण्डौँ शाखाले रु. १३०५० बौद्धिक अपांगता भएका ब्यक्तिहरुको सेवामा समर्पित स्वस्थ समाज नेपाललाई नगद सहयोग प्रदान गरेको थियो ।