सार्कलाई सक्रिय बनाउन आग्रह गर्दै दुतावास अगाडि शान्ति समाजको धर्ना

सार्कलाई सक्रिय बनाउन आग्रह गर्दै दुतावास अगाडि शान्ति समाजको धर्ना

सार्कलाई सक्रिय बनाउन आग्रह गर्दै दुतावास अगाडि शान्ति समाजको धर्ना
भारत र पाकिस्तानबीच सिमान्त क्षेत्रमा गोलाबारी र तनाव बढीरहेकोमा गहिरो चिन्ता व्यक्त गर्दै मानव अधिकार तथा शान्ति समाजले भदौ ३ गते ( २० अगस्ट) काठमाण्डौस्थित भारतीय र पाकिस्तानी राजदुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन गरेको छ । युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धको कुनै पनि संभावनालाई खारेज गर्न, दुई देशबीच वार्ता अघि बढाउन र ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्क लाई सक्रिय बनाउन आग्रह गर्दै शत्रुतालाई अन्त्य गर्न र मित्रतालाई गहिरो बनाउन आह्वान पनि गरेको छ ।
काठमाण्डौँ लैनचौरस्थित भारतीय दुतावास र महाराजगञ्जस्थित पाकिस्तानी दुतावास अगाडि दिउँसो २ बजेदेखी १ घण्टासम्म भएको धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर र टेकबहादुर सार्की कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, गीता श्रीस र नम्रता खरेल, काठमाण्डौँ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जरासहित दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो । धर्नामा सहभागिहरुले STOP WAR : PROMOTE PEACE, END ENMITY BRING PROSPERITY,WHERE IS SAARC ? PEOPLE ARE AGAINST WAR, ABOLISH NUCLEAR WEAPON, SPEAK PEACE, DECREASE TENSION: INCREASE FRIENDSHIP, ACTIVATE SAARC, YES TO PEACE NO TO WAR, GIVE UP ARROGANCE OF NUCLEAR WEAPON लेखिएका प्लेकार्ड बोकेका थिए ।
धर्नाको अन्त्यमा समाजका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखिएको पत्र दुतावासका वरिष्ठ अधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो । पत्रमा दक्षिण एशियाली राष्ट्रहरुमा नागरिक स्तरमा मित्रतालाई प्रगाढ बनाउने, सद्भाव र भाइचारा बढाउने उद्देश्यले शान्ति समाजले केही वर्ष अगाडि दक्षिण एशियाली सद्भाव यात्राको प्रारुप अघि सारेको स्मरण गराउँदै अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र आपसी समझदारीलाई अभिवृद्धि गर्ने उद्देश्यले थालिने नागरिक सद्भाव यात्रामा भारत र पाकिस्तान सरकारको नैतिक सहयोग र हार्दिकता प्राप्त हुनेछ भन्ने विश्वास पनि व्यक्त गरिएको छ ।