११ श्रष्टाहरु विभिन्न पुरस्कारद्वारा सम्मानित

प्रेस विज्ञप्ति
११ श्रष्टाहरु विभिन्न पुरस्कारद्वारा सम्मानित
श्रष्टा सम्मान अभियान अन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न पुरस्कारहरुद्वारा ५ महिलासहित ११ जना श्रष्टाहरुलाई सम्मान गरिने भएको छ । यस क्रममा वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुति (विश्वभक्त दुलाल)लाई, राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान नीलम कार्की निहारिकालाई, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान व्याकुल माइला (प्रदिपकुमार राई) लाई, ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान प्रमोद प्रधानलाई र महाप्रसाद रिजाल लोकतन्त्र श्रष्टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी जोगमाया बराल श्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, राधादेवी दाहाल श्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, भुमीप्रसाद बराल श्रष्टा सौगात वसन्ती शाहीलाई, श्रीप्रसाद दाहाल श्रष्टा सौगात बालिका चौधरीलाई, श्रीनारायण दाहाल श्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत श्रष्टाहरु ५ जना महिला श्रष्टासहित ७ वटै प्रदेशका हुनुहुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका दिन विशेष कार्यक्रम आयोजना गरि जनही रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत श्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
एक दशक अगाडिदेखी मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र श्रष्टा सम्मानलाई अभियानको रुपमा अघि सारेको छ ।
पुरस्कृत श्रष्टाहरुबारे ः
वि.स २०११ साल चैत २१ गते धनकुटा जिल्लामा जन्मनुभएका श्रष्टा अशेष मल्लका ‘सडकदेखी सडकसम्म’ नाटक संग्रहसहित दुई दर्जन कृतिहरु र सयौ रचनाहरु प्रकाशित भएका छन् । नेपालमा सडक नाटकको जन्मदाताका रुपमा परिचित मल्लले शान्ति, मानव अधिकार, लोकतन्त्र, सामाजिक न्यायका पक्षमा समेत गरि १ सय भन्दा बढी सडक नाटकको लेखन÷निर्देशन गर्नुभएको छ ।

२०२४ साल चैत १ गते काठमाण्डौमा जन्मनुभएका श्रष्टा आहुति (विश्वभक्त दुलाल)का ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’सहित ५ वटा पुस्तक प्रकाशित छन् । सामाजिक न्याय र दलित मुक्तिको आन्दोलनका अथक योद्धा आहुतिका हजार भन्दा बढी लेख रचनाहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन् ।

२०३१ चैत २७ गते पाल्पामा जन्मनुभएकी श्रष्टा नीलम कार्की निहारिकाका बहुचर्चित उपन्यास योगमाया, चीरहरण, त्रिचालीस कथा (कथा संग्रह) सहित ११ वटा कृतिहरु प्रकाशित छन् । ऐतिहासिक विषयमा रुची राख्ने र इतिहासका पात्रलाई आख्यानमा ढाल्न रुचाउने कार्की उपन्यास र कथाको क्षेत्रमा चर्चित हस्ताक्षर हुनुहुन्छ ।

२०२९ चैत २५ गते ओखलढुंगामा जन्मनुभएका नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माईला (प्रदिप कुमार राई)का ‘विउ अक्षर’ (वाम्वुले राई भाषामा) सहित २ वटा कृतिहरु र दर्जनौ रचना प्रकाशित छन् ।

२०१५ असोज १५ गते विराटनगरमा जन्मनुभएका श्रष्टा प्रमोद प्रधानको ‘नेपाली बाल साहित्यको इतिहास’ लगायत ३२ वटा कृतिहरु प्रकाशित भएका छन् । त्यसमध्ये आधा दर्जन बढी कृति समालोचनाका र २१ वटा बाल साहित्य र अन्य कविता संग्रह रहेका छन् ।

२०१० साउन २८ गते कास्कीमा जन्मनुभएका हाल गैडाकोट नवलपुर निवासी श्रष्टा गोविन्दराज बिनोदी (गिरी)का ‘शूर्पणखा’ खण्डकाव्यसहित १ दर्जन बढी कृतिहरु प्रकाशित छन् भने लोकतन्त्र, स्वतन्त्रताको पक्षमा समेत गरी १५ सय भन्दा बढी फुटकर रचनाहरु सृजना गरिसक्नुभएको छ ।

२००४ जेठ २२ गते काठमाण्डौमा जन्मनुभएका नेपाली गजलको श्रीवृद्धि र उन्नयनमा अग्रणी श्रष्टा ज्ञानुवाकर पौडेलका ‘खण्डहर नयाँ नयाँ’ गजल संग्रहसहित ५ वटा कृति र सयौ रचनाहरु प्रकाशित भएका छन् ।

सुदुरपश्चिमको साहित्यिक गुलाबको रुपमा समेत परिचित श्रेष्ठ प्रिया पत्थरको जन्म २०२१ साउन ७ गते डोटीमा भएको हो । हाल टिकापुर कैलाली निवासी श्रेष्ठको पतिङ्गर, रंगभुमी लगायत १७ वटा कृति प्रकाशित छन् ।

२०२५ वैशाख १५ गते बझाङमा जन्मिनुभएकी खर्पुनाथ गाउँपालिका हुम्लाकी श्रष्टा वसन्ती कुमारी शाहीको ‘कर्णालीकी बुहारी’ निबन्ध संग्रह, ‘आधा जीवन’ उपन्यास गरी दुई पुस्तक र दर्जनौ रचनाहरु प्रकाशित छन् ।

२०३८ वैशाख ५ गते दाङमा जन्मनुभएकी बर्दिया निवासी श्रष्टा बालिका चौधरीको ‘जीवनका वक्र रेखाहरु’ नामक पुस्तक थारु र नेपाली भाषामा प्रकाशित हुनुका साथै अंग्रेजीमा प्रकाशोन्मुख रहेको छ । चौधरीले थारु भाषामा गीत, कविता लेख्दै आउनुभएको छ भने दर्जनौ लेख रचनाहरु प्रकाशित भएका छन् ।
२०३५ फागुनमा कलैया बारामा जन्मनुभएकी रौतहट निवासी श्रष्टा रेणु गुप्ताको ‘जोगी र चोरी’ (बाल लोककथा संग्रह) प्रकाशित भएको छ । यसका अतिरिक्त गुप्ताले भोजपुरी र बज्जिका भाषामा तीन वटा पुस्तकको अनुवाद गर्नुभएको छ । बज्जिका भाषाको लोक साहित्य क्षेत्रमा योगदानका लागि परिचित गुप्ताका भोजपुरी बज्जिका र नेपाली भाषामा दर्जनौ लघुकथा, कविता र लेखहरु प्रकाशित भएका छन् ।

समाजका तर्फबाट

सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७७ असोज ८