हिंसा भड्काउने र विखण्डनलाई बढावा दिने विरुद्ध नागरिक अगुवाहरुको चेतावनी

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७३ चैत १७ गते सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी र दण्डहीनताको अन्त्य विषयक गोष्ठी काठमाण्डौँमा सम्पन्न भएको  छ । समाजका संस्थापक सदस्य कृष्ण कंडेलको सभापतित्वमा सम्पन्न गोष्ठीमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक, आयोगका पुर्व सदस्य गौरी प्रधान इन्सेकका अध्यक्ष सुवोध प्याकुरेल नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्याय, नन्दकृष्ण जोशी, अधिवक्ता दिनेश त्रिपाठी, शोभाकर बुढाथोकी, आनन्दराम पौडेल, वरिष्ठ पत्रकार कृष्ण मुरारी भण्डारी र उत्तम पुडासैनीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
घृणात्मक अभिव्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रताको जामा पहिरयाई हिंसा भड्काउने र विखण्डनलाई बढावा दिने कृत्यमा कतिपय तप्का संलग्न रहेकोप्रति आपत्ति व्यक्त गर्दै त्यस्तो प्रवृत्ति विरुद्ध सामुहिक रुपमा अघि बढ्ने प्रतिवद्धता नागरिक अगुवा तथा अधिकारकर्मीहरुले व्यक्त गरेका थिए । घृणाको खेतीबाटै हिंसाको मलजल गर्ने र गृहयुद्ध चर्काउन चाहने तप्काले नागरिक समाजको घटक र अधिकारकर्मीहरुलाई नै प्रयोग गरी अघि बढ्न खोजेको रणनीतिप्रति सजग हुदैँ विगतका ऐतिहासिक आन्दोलनमा योगदान गर्ने नागरिक समाज सदैव सद्भाव र स्वाभिमानकै आवाज लिएर देशका कुना कन्दरामा पुग्ने प्रतिवद्धता पनि व्यक्त गरिएको थियो ।
निषेधको राजनीति संस्थागत हुदैँ गइरहेकोप्रति आपत्ति व्यक्त गर्दै नागरिक अगुवा एवं अधिकारकर्मीहरुले राजनीतिक दल तथा मोर्चाहरुलाई सुध्रन आग्रहसहित घृणाको होइन सद्भावको राजनीति गर्न आग्रह पनि गरेका थिए । कार्यक्रममा  स्वागत मन्तव्य समाजको काठमाण्डौँ शाखाका सभापति रामकृष्ण बरालले र सञ्चालन सचिव पुष्पा केसीले गर्नुभएको थियो ।