शान्ति समाजद्वारा अन्तरक्रिया, विभिन्न संस्थालाई नगद तथा पुस्तक सहयोग

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा अन्तरक्रिया, विभिन्न संस्थालाई नगद तथा पुस्तक सहयोग
अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी अन्तराष्ट्रिय दिवस ३ डिसेम्बरका दिन मानव अधिकार तथा शान्ति समाज दाङ शाखाद्वारा मंसिर १८ गते तुलसीपुरमा आयोजित कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि समर्पित रोशन गिरीलाई सम्मान गरिएको छ । शान्ति समाज दाङका उपसभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, शान्ति समाजका महासचिव सुशील बस्नेत, अपांगता भएका व्यक्तिहरुको उत्थानका लागि निरन्तर क्रियाशील अधिकारकर्मीहरु तिलसरा पुन, यज्ञ बिक, रजनी शाह एवं हुमाकन्त कँडेल र पत्रकार गोपाल शर्मा, शान्ति समाज दाङका पूर्व सभापति सुरेश श्रेष्ठ, सल्यानका पूर्व सभापति शिवशंकर गिरी, सदस्यहरु उषा गौतम, निर्मला योगीले अपांगता भएका व्यक्तिहरुको अधिकारको विषयमा केन्द्रीत रहि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अपागंता भएका व्यक्तिहरु सम्बन्धी अन्तराष्ट्रिय दिवसकै सन्दर्भमा शान्ति समाज रुपन्देहीले मंसिर १८ गते बुटवल १५ स्थित लुम्बिनी अपांग दुष्टिबिहिन अनाथ आश्रमलाई सेतो छडि, खाद्यान्न÷तरकारी सहयोग प्रदान गरेको छ । शान्ति समाजका तर्फबाट केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, शाखा सभापति धनपति खनाल(डिपी), सह सचिव कपिल ज्ञवाली, कोषाध्यक्ष कृष्ण भट्टराईसहितको टोलीले सहयोग हस्तान्तरण गरेको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजले काठमाण्डौ बौद्धस्थित एउटै परिवारका अपाङ्गता भएका ५ जनालाई रु. १५ हजार नगद सहयोग प्रदान गरेको छ । शान्ति समाजका सभापति उत्तम पुडासैनीसहित पदाधिकारीहरुले मंसिर १८ गते काठमाण्डौमा उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।
यस भन्दा पूर्व २० नोभेम्बरः अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले असहाय बाल बालिकाको सरक्षणका लागि कार्यरत सुनौलो पाइला परिवार काठमाडौं लाई रु १५ हजार नगद सहयोग प्रदान गरेको थियो ।
बाल अधिकार दिवसकै दिन शान्ति समाज दाङ शाखाले केही असहाय बालबालिकालाई सहयोग स्वरुप खाद्यान्न, शैक्षिक सामग्री र केहि नगद सहयोग प्रदान गरेको थियो ।
पुस्तक सहयोग प्रदान गर्ने सन्दर्भमा कृष्ण पहाडीसँग रहेको ३०० र शान्ति समाजसँग रहेका १०० गरि ४०० पुस्तक कैलालीस्थित टिकापुर सामुदायिक पुस्तकालयलाई प्रदान गरिएको छ । कृष्ण पहाडीले यसअघि आफुसँग रहेका दर्जनौ बस्त्र केहि सामाजिक संस्थालाई प्रदान गरिसक्नु भएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन मंसिर २५ गते मध्यान्ह् १२ बजे शान्ति समाजले आणविक हतियार निषेध सन्धीलाई शिघ्र अनुमोदन गर्न र आणविक अस्त्ररहित विश्वको आह्वानसहित काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका राजदुतावास अगाडि एकसाथ प्रदर्शन गर्दैछ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७७ मंसिर १८