रुकुम घटनाको निन्दा/विभिन्न जिल्लामा शान्ति समाजको विरोध प्रदर्शन

रुकुम घटनाको निन्दा/विभिन्न जिल्लामा शान्ति समाजको विरोध प्रदर्शन

देशका विभिन्न भागमा घटेका जातीय विभेद÷हिंसाका घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गर्दै आएको छ । जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको दुर्दान्त घटनाले शान्ति समाज मर्माहत भएको छ । चार जना होनहार नागरिकको मृत्यु भएको र दुई जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै, घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न शान्ति समाजले निरन्तर जोड दिँदै आएको छ । दण्डहिनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु वृद्धि भइरहेको छ । रुकुम पश्चिममा घटेको दुर्दान्त घटनाका दोषीहरु मथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने धारणा शान्ति समाजको रहेको छ ।
रुकुम पश्चिम घटनाका सन्दर्भमा संसदीय छानविन समिति गठन गर्न, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र पिडितहरुलाई न्याय प्रदान गर्न शान्ति समाज पुन आग्रह गर्दछ ।
यसै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा, उच्च अदालत वुटवल बार एशोसिएसन लगायतका संस्थाहरुको आयोजनामा जेठ १५ गते विहान वुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन सम्पन्न भएको छ । प्रदर्शन पश्चात शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले सम्बोधन गर्नुभएको थियो ।
अर्को प्रदर्शन जेठ १५ गते दिउँसो शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा र शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा जेठ १६ गते विहान ८ बजे बौद्धमा हुँदैछ ।
यसैगरी शान्ति समाजका सदस्यहरु, दलित अगुवा र सामाजिक अभियन्ताहरुको सहभागितामा जेठ १४ गते अपरान्ह वुटवलमा विरोध प्रदर्शन सम्पन्न भएको थियो ।
समाजका तर्फबाट
सुशिल बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७७ जेठ १५ गते