मूल दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन प्रदर्शन

मूल दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन प्रदर्शन

मूल दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन प्रदर्शन
१. बिभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत बिधेयकहरुमा निहित स्वतन्त्रता बिरोधि प्रावधान हटाउन आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले २०७६ फागुन ११ गते दिउँसो काठमाण्डौँ माइतिघरमा प्रदर्शन गरेको छ । वाईडबडी÷न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति बिरोध गर्दै शान्ति समाजले एक घण्टा प्रदर्शन गरेको हो । यसैगरी पछिल्लो संस्करणमा तत्कालिन मन्त्री एवं मन्त्रि परिषद्का प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटा लगायत माथि गहिराईमा छानवीन गरि कारवाही प्रकृया अघि बढाउन शान्ति समाजले सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
यसैगरी संसदमा प्रस्तुत सुचना प्रबिधि लगायत संचारक्षेत्रसंग सम्बन्धित आधा दर्जनभन्दा ज्यादा बिधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन पनि शान्ति समाजले प्रदर्शन मार्फत पुन ध्यानाकर्षण गराएको छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा लगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।
२.अहिंसावादी पदयात्रीहरुसँग छलफल
जय जगत भन्ने मूल नारासहित भारतदेखि जेनेभासम्म शुरु भएको पदयात्राका क्रममा नेपाल आइपुगेका पाँच जना पदयात्री र शान्ति समाजका सदस्यहरुबिच छलफल सम्पन्न भएको छ । शान्ति समाज केन्द्रिय कार्यालयमा फागुन ११ गते सम्पन्न छलफलमा पदयात्रीहरुले पदयात्राको उद्देश्य र शान्ति समाजका सदस्यहरुले जगतमुखी जीवनमुखी सेवामुखी उद्देश्य अनुरुप सञ्चालित अभियानका अनुभव आदान प्रदान गरेका थिए । स्मरणीय छ, अहिंसालाई मूल मन्त्र मानि महात्मा गान्धीको विचार प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु भएको जय जगत अभियानले अहिंसा, जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना र सामाजिक न्यायका लागि एक वर्षे पदयात्रा प्रारम्भ गरेको जनाएको छ । ५० जना पदयात्रीमध्ये नेपाल आएका ५ जना पदयात्रीमा सन्तोष सिंह, कैलाश भाई, कम्तुरी पट्टेल, सवनम शाह र सिताराम रहेका छन् । कार्यक्रममा शान्ति समाजका तर्फबाट जय जगत अभियानलाई रु. १६ हजार सहयोग पनि हस्तान्तरण गरिएको थियो ।
३. हिमालय बचाउँ ः नदी जोगाउँ अभियान ः प्रदेश नम्बर १ का ५ जिल्लामा कार्यक्रम
विगत १४ वर्षदेखी जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियानका साथसाथै हिमालय बचाउँ आन्दोलन समेत सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले हिमालय बचाउँ नदी जोगाउँ शिर्षकमा केन्द्रित रहि प्रदेश नम्बर १ मा २०७६ फागुन तेस्रो साता आधा दर्जन कार्यक्रम आयोजना गर्ने भएको छ ।
अभियानको पहिलो चरण फागुन १४ गते संखुवासभाबाट प्रारम्भ भई फागुन १९ गते मोरङमा समापन हुनेछ । अभियानका लागि दर्जन अभियन्ताहरु फागुन तेस्रो साता काठमाण्डौबाट संखुवासभा जादैँ हुनुहुन्छ ।